मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
सम स्मृति दिवस

समले चिहाएको सन्ते दमाईको ‘चिसो चुह्लो’

शनिबार, ०६ साउन २०८०, १२ : २५
शनिबार, ०६ साउन २०८०

बालकृष्ण सम नेपाली साहित्यमा परिष्कारवादी धाराका उत्कृष्ट कवि हुन् । उनका धेरै कविता तथा नाटक राष्ट्रभक्तिले ओतप्रोत छन् । नाटक र कविता सिर्जनामा सबैभन्दा बढी कलम चलाएका समले कवितामा विधामा महाकाव्यस्तरको लेखन क्षमता प्रदर्शन गरेका छन् । उनको एक मात्र महाकाव्य हो– चिसो चुह्लो (२०१५) । 

तत्कालीन नेपाली समाजमा व्याप्त छुवाछूतको अवस्था ज्यादै दयनीय थियो । त्यही विषयवस्तु चिसो चुह्लो महाकाव्यमा समले प्रस्तुत गरेका छन् । 

सन्ते दमाईलाई चिसो चुह्लो महाकाव्यमा मुख्य नायकका रूपमा समले उभ्याएका छन् भने नायिकामा क्षेत्रिनी गौरीलाई बनाएका छन् । यिनै दुई पात्रमार्फत् उनले तत्कालीन जातीय छुवाछूतको अवस्था र नेपाली समाजले भोग्नु परेको पीडाको चित्रण गरेका छन् । 

किन लेखे चिसो चुह्लो ?

चिसो चुह्लो बालकृष्ण समले लेख्नुभन्दा अगाडिका कविहरूले महाकाव्य लेखिसकेका थिए । नेपाली महाकाव्यमा बाढी ल्याउने काम लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । उनले शाकुन्तल (२००२), सुलोचना (२००३), महाराणाप्रताप (२०२४), वनकुसुम (२०२५) प्रमिथस (२०२८) लगायतका महाकाव्य लेखिसकेका थिए । 

यी सबै महाकाव्यमा देवकोटाले पौराणिक कथा र नायकलाई आधार मानेर लेखेको पाइन्छ । “देवकोटाले महाभारतको दुष्यन्त र शाकुन्तलको कथा कालिदासले अभिज्ञान शकुन्तलम् नाटकमा जुन कथा प्रयोग गरे, त्यो कथा शाकुन्तल महाकाव्यमा देवकोटाले पनि प्रयोग गरे,” प्राडा कृष्णहरि बराल भन्छन्, “प्रमिथस पनि ग्रिसेली मूल कथालाई आधार बनाएर नेपाली राणा शासनलाई व्यङ्ग्य गरिएको थियो ।” 

त्यसपछि सोमनाथ सिग्द्यालले पनि आदर्श राघव परम्परागत महाकाव्यको मान्यताअनुसार लेखे । त्यही क्रममा बालकृष्ण समलाई पनि महाकाव्यमा नयाँ प्रयोग गर्ने विचार आयो र त्यहीअनुरूप चिसो चुह्लो प्रयोगधर्मी महाकाव्य लेखेको बताउँछन् बराल । 

समले सामाजिक कथालाई चिसो चुह्लोमा प्रयोग गरेका थिए । समाजमा विद्यमान विभिन्न जातिको विखण्डन र विभेदलाई मिलाउनुपर्छ भन्ने मान्यता यस महाकाव्यमार्फत् उनले राखेका थिए । 

‘चिसो चुह्लो’ (२०१५) प्रकाशित हुने बित्तिकै यो कृतिको नायक साधारण दलित परिवारको पात्र राखिएकाले थुप्रै पाठक तथा साहित्यकारहरूले महाकाव्य नै होइन भने । 

किनभने संस्कृत साहित्यले परिभाषा गरेअनुसार त्यो फर्मूलामा थिएन । उच्च कुलको वीर योद्धा महाकाव्यको पात्र हुनुपर्छ भनेर सिद्धान्तनिष्ठ भएर बसेकाहरूलाई यो विषय अपाच्य बनेको थियो । 

यो महाकाव्य प्रकाशित हुनेवित्तिकै डा. तारानाथ शर्माले मिठो भोजनपछिको झुसिलो डकार भनिदिए । उनले अध्ययन गरेका महाकाव्यमा भेटेका परम्परागत गुणहरूलाई यस महाकाव्यले लत्याएको थियो । 

“महाकाव्य जति मात्रामा कवितात्मक उथलपुथल ‘स्पोन्टेनियस अभरफ्लो’ भनेका छन् नि वर्डस्वर्थले त्यस्तो हुनुपर्छ, त्यो दृष्टिले यो कृति कमजोर भएको हुनाले महाकाव्य जस्तो भएन,” बराल भन्छन्, “त्यही भएर ताना शर्माले समका कृतिहरू मध्येमा यसलाई झुसिलो डकार भने ।” 

तर पछि ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’ कृतिमा तारानाथ शर्माले यसको समर्थनमा लेखेका छन्– ‘ठूला घरानाहरूको एकाधिकार जसरी राजकाजमा युगको विकास सँगसँगै हट्तै गइरहेछ र जनतन्त्रवाद, समाजवाद र साम्यवादको फलाको जताततै आज सुन्न पाइन्छ । त्यसरी नै साहित्यमा पनि खालि कल्पनाका उडन्ते ईश्वरका बारेका कुराहरू र ठूलाबडा भनाउँदाहरूको विषयका कुराहरूको एकाधिकार हटी तिनको ठाउँमा युग युगदेखि चुसिएका, हेपिएका र हप्काइएका तल्लो वर्गका जनताहरू आउन थालेका छन् । यो वैज्ञानिक विकास हो, प्रगति हो ।’

यस महाकाव्यलाई अमान्य घोषित गर्नेहरूलाई शर्माले कडा जवाफ पनि दिएका छन्, “समले पनि यसै प्रगतिको भलमा बगेर दमाईलाई आफ्नो महाकाव्यको मुख्य पात्र बनाएकोमा अवश्य नै हामीले उनलाई जस दिन जान्नुपर्छ । दमाईलाई किन महाकाव्यको मुख्य पात्र बनाउन सकिँदैन भन्ने तर्क बाहुनवादका ढुँडीमा हुर्केका र काट्टो घिच्न पल्केकाहरूबाट सुन्न पाइएको छैन । प्रजातन्त्रेली नेपालमा भोलि कुनै योग्य दमाई प्रधानमन्त्री नहुन सक्नु सम्भव छैन, त्यस बेलामा पनि हाम्रो नेपाल राष्ट्रै रहनेछ–बिग्रने छैन । त्यस्तै ‘चिसो चुह्लो’ पनि सन्ते दमाईलाई मुख्य पात्र बनाउँदैमा महाकाव्यै नहुने भन्ने कुरो ढाँट कुरो हो– यो अवश्य नै महाकाव्य हो ।”

तर, परम्परागत संरचनाका आधारमा मात्र नभएर कलात्मक लेखनका दृष्टिमा पनि चिसो चुह्लो लेखनका क्रममा केही कमजोरी भएको बताउँछन् बराल । 

“महाकाव्यको मुख्य पात्र ठाउँ ठाउँमा भएका कवि सम्मेलनमा जान्छ, सुन्छ  । तर, त्यो स्तरको पात्र हुँदैन । कमजोर पात्रहरूले पनि ठूलो बौद्धिक जस्तो कुरा गर्छन्, जसले पढेको छैन, उसले दार्शनिक प्रवचन दिन सक्दैन,” बराल भन्छन्, “यस्ता तर्क मुख्य पात्रले गरेको हुँदा र कवितात्मक उथलपुथल कम भएको हुँदा लेख्नका लागि लेखिदिए जस्तो भएको छ ।” 

त्यो क्रान्तिकारी कदम आफ्नो व्यवहारमा पनि उनले देखाउन सकेनन् र नायक नायिकामार्फत् आफ्नो लेखनको उद्देश्य पनि देखाउन सकेनन् भन्छन् बराल । 

यति हुँदाहुँदै पनि एक पक्ष सबल र एक पक्ष कमजोर भएर यो कृति आएको स्वीकार्छन् उनी । छुवाछूतको विभेद हुनुहुँदैन भन्ने मान्यता चाहिँ समले अगाडि बढाए । नेपाली महाकाव्यको इतिहासमा यो कृतिले विशिष्ट स्थान ओगटेको छ । किनभने समले जीवनको ५५ वर्षको परिपक्व उमेरमा यो कृति तयार पारेका थिए । त्यो उमेरसम्म उनले समाजमा देखेभोगेका विकृति र विसङ्गतिपछि यो कृति लेखेका थिए । तर सोच चाहिँ समको राम्रो थियो ।

सबल तथा कमजोर पक्ष

चिसो चुह्लो प्रयोगधर्मी महाकाव्यका रूपमा आएको थियो । किनभने संस्कृत महाकाव्य परम्परामा कम्तीमा सात आठ सर्ग आयाम हुनुपर्ने व्यवस्था थियो । नेपालीमा सबैभन्दा पहिले भानुभक्त आचार्यले संस्कृतकै महाकाव्यको नेपाली परिवेशअनुसार भावानुवाद गरेर रामायण लेखे । त्यसको संरचनाले नेपाली महाकाव्यका संरचना र विधिविधानको आधार तयार गर्यो । 

त्यही मूल्यमान्यतामा आधारित भई लक्ष्मीप्रसाद देवकोटा, शम्भुप्रसाद ढुङ्ग्याल लगायतले महाकाव्य लेखे । तर, त्यो आयाम चिसो चुह्लोले समात्न नसकेको बराल बताउँछन् । 

उनी कथ्य प्रयोगका दृष्टिले, कथानक प्रयोगका दृष्टिले, जीवन जगत्को व्यापक चित्रणका दृष्टिले महाकाव्य भए पनि प्राविधिक रूपमा त्यो कमजोर थियो भन्छन् । 

“महाकाव्यमा कविता र आख्यानको व्यापक मिश्रण आवश्यक पर्छ, महान् जनजीवनको चित्रण हुनुपर्छ, महान् व्यक्ति वा चरित्रको प्रस्तुति हुनुपर्छ भन्ने मान्यता महाकाव्यको हुन्छ,” बराल भन्छन्, “हामी जस्तो सामान्य व्यक्तिभन्दा महाकाव्यका व्यक्तिको दुर्जनसँगको सङ्घर्ष, उसमाथि नायकको विजय हुने परिपाटी महाकाव्यको धर्म थियो ।” 

विभिन्न छन्दको प्रयोग, सर्ग परिवर्तन हुन लाग्दा छन्द परिवर्तन गर्नुपर्ने लगायत अनेक नियम छन् । ती नियमभन्दा भिन्न प्रयोग समले सो महाकाव्यमा गरेका छन् । 

महाकाव्यमा अत्यन्त भाव हुनुपर्ने, आलङ्कारिक हुनुपर्ने, प्रतीकात्मक हुनुपर्ने र सँगसँगै कथानकको सन्तुलन पनि हुनुपर्ने परम्परागत मान्यता थियो । चिसो चुह्लो यी मान्यताभित्र पूर्ण रूपमा समेटिन सकेन । यसभित्र समले सबैभन्दा बढी गरिबीको कुरा ल्याए, जुन यथार्थवादी उपन्यासहरूमा आउँछ । यी कुरालाई कवितामा ढालेर समले लेखे । 

यसमा उनले विभिन्न वैदिक छन्द प्रयोग गरेका छन् । अरू छन्द र ठाउँ ठाउँमा गद्य पनि प्रयोग गरेका छन् भन्छन् बराल । त्यसका साथै ठाउँ ठाउँमा गजल पनि हालेका छन् । 

महाकाव्यको पात्र अनुकरण गर्न लायक हुनुपर्ने मान्यता विरुद्धमा यो महाकाव्य आएको थियो । “महाकाव्यको पात्रगत प्रयोगका क्रममा समले महाकाव्यको नायक नै सन्ते दमाईलाई बनाए, गौरी क्षेत्रिनीलाई नायिका बनाए,” बराल भन्छन्, “समाजमा अहिलेसम्म पनि छुवाछूतको भेद छ, त्यो हुनु हुँदैन भन्ने मान्यता त्यतिबेलै समले प्रस्तुत गरे ।”  

तर, यसमा नायकले व्यक्त गर्न नसके पनि नायिकालाई प्रेम गर्छ । “त्यसमा कथानक पनि ठूलो छ । तर, नायक माथिल्लो तहको धीरोदात्त हुनुपर्ने त्यस्तो भएन, नायक नायिका दुवै तलका परे,’ बराल भन्छन्, “कतिले यसलाई महाकाव्यजस्तो भएन भनेका छन् ।” 

सामाजिक क्रान्ति ल्याउने भनेर उनले नायकले नायिकालाई भगाउन पनि सकेको छैन, लिएर जान पनि सकेन तर प्रेम भएको छ ।

प्रेम भनेको अन्तरजातीयमा पनि हुन्छ, भावनात्मक कुरा हो । कसैले छेकेर छेकिने होइन भन्ने देखाउन खोजेका थिए समले । तर जसरी क्रान्तिकारी भनेर विषय छनोट गरेका थिए, त्यो अनुसार महाकाव्यमा उतार्न नसकेको डा. दुर्गाबहादुर घर्ती बताउँछन् । 

किनभने उनले उभ्याएका नायक नायिका बोल्नै सक्दैनन् । नायकले नायिकासँग र नायिकाले नायकसँग आफ्नो कुरा भन्नै सक्दैनन् । नायिकाको विवाहमा सनाही बजाएर अघि अघि हिँड्छ नायक । उसको रुवाइ सनहीमा अभिव्यक्त भएको छ । तर नायकमा आँट, साहस र चुनौतीको सामना गर्न सक्ने क्षमता देखिँदैन । उनले छुवाछूतविरुद्ध क्रान्तिकारी विषय उठाए पनि छुवाछूतको अन्त्य हुनुपर्छ, अन्तरजातीय विवाह हुनुपर्छ भन्ने किसिमले महाकाव्यमा देखाउन सकेनन् । 

मानवतावादी चिन्तन

बालकृष्ण समको समयमा सामाजिक परम्परा र धार्मिक विश्वासले अत्यन्तै गाँजेको थियो । रूढिवादी सामाजिक परम्पराले नेपाली समाज थिलथिलो पारेको थियो । छुवाछूत प्रथा चरम अवस्थामा थियो । त्यस्तो अमानवीय सामाजिक परिवेशलाई समले नजिकबाट नियालेका थिए । त्यसको प्रतिम्बन समका साहित्यमा चिसो चुह्लोमार्फत् प्रकट भएको हो । 

उत्तम साहित्य निःस्वार्थमा सिर्जित हुन्छ भन्छन् डा. देवीप्रसाद सुवेदी । उनका अनुसार यो कृति समको निःस्वार्थ सिर्जना हो । किनभने यस्ता साहित्यमा मानिसले मानिसलाई मानववादी दृष्टिले नियाल्छन् । 

“समले ‘चिसो चुह्लो’ महाकाव्यमा विशुद्ध मानववादी चिन्तन अँगालेका छन्,” डा. सुवेदी भन्छन्, “आफ्नो हित सल्काई अर्काको हित उकास्ने विशुद्ध मानववादी विचार यसमा प्रकट भएको छ ।” 

महाकाव्यमा गौरीले सामाजिक बन्धनका कारण आपसमा मिलन हुन नसकेको कुरा यसरी व्यक्त गरेकी छिन्ः 

मेरो सन्ते हाम्रो प्रियता मावनतामा परिणत होस्

मानवताकै यज्ञशालामा तिम्रो मेरो हवन चलोस्

आत्मबलिदान गरेर जगत्मा मानिसलाई उँचो पार

सन्तप्त चिसो चुलोलाई तपस्याले तप्त बनाऊ

बन्धनमा हाम्रो जीवन बित्यो, एक्ला एक्लै हामीले

त्यस सिक्रीलाई छिनाल्न सकेनौँ

अब मेरो प्रेमको बलले तिमी मनुष्य मात्रको बन्धन तोड । (पृ. ३१७)

समको आफ्नै भोगाइ ! 

हरेक सर्जकले समाजमा देखे भोगेका कुरालाई सूक्ष्म मूल्याङ्कन गरी सिर्जना भर्ने काम गर्छन् । समले पनि नेपाली समाजको छुवाछूत जस्तो कुपरम्परालाई चित्रण गर्ने काम गरेको प्रस्ट देखिन्छ । 

यो महाकाव्य लेख्नुको कारणबारे छुट्टै रहस्य सुनेको बताउँछन् उपप्राध्यापक डा. दुर्गाबहादुर घर्ती । प्राध्यापक दैवज्ञराज न्यौपानेले स्नातकोत्तर तहमा घर्तीलाई पढाउँदा बालकृष्ण समको आफ्नै लुगा सिलाउने दमाईकी छोरीसँग आकर्षण थियो भनेर अनौपचारिक रूपमा सुनाउँथे । 

सो आकर्षणको विषयलाई समले सूचीकारकी छोरीलाई क्षत्रीकी छोरीमा प्रतिविम्बत गरेर आफूलाई सन्ते दमाईमा रूपान्तरित गरेका हुन् भनेको उनी सम्झन्छन् । समको जीवनीगत अध्ययन गर्दा यस्तो भेटिने डा. घर्ती सुनाउँछन् । 

तर डा. बराललाई चिसो चुह्लो उपन्यासमा समले आफ्नो जीवनको कथा हालेको जस्तो लाग्दैन । त्यत्रा कवि एउटा महाकाव्य त लेख्नै पर्यो तर पौराणिकमा नयाँ खाले अरूले नै लेखिसके भन्ने लागेर उनले जातपात हुनुहुन्न, यो बन्धन तोडिनुपर्छ भन्ने भिन्न खालको विषय समेटेर यो महाकाव्य लेखेको हुन सक्छ भन्छन् बराल । त्यसैले त विषयवस्तु प्रयोगका दृष्टिले यो महाकाव्य अहिलेसम्म पनि सान्दर्भिक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप