बीपीको व्यक्तित्व र व्यवहारलाई फर्केर हेर्दा...
२०७२ वैशाखको भुइँचालोपछि विश्वश्वरप्रसाद (बीपी) कोइरालाका अनेकन् राजनीतिक एवं साहित्यिक कृतिहरू पुनः अध्ययन गर्दा उनको जीवनयात्राको सम्बन्धमा नयाँ ढङ्गले विचार गर्नुपर्ने बोध भएको थियो, ८२ वर्ष नाघेको मलाई ।
यसै प्रसङ्गमा गुल्मी जिल्लाका काउले गाउँका दिवंगत आफ्ना सद्गुरुदेव सत्यदेव स्वामीका यी वाणीको हठात् सम्झना भयो मलाई, ‘सबभन्दा ठूलो पुस्तक मनुष्य जीवन हो । जीवनलाई प्रष्टसँग पढ्दा तिमी ज्ञानी हुनेछौ ।’ अनि नेपालको आधुनिक राजनीतिक जीवनका एक मूर्धन्य नायक बीपीलाई वर्तमानको परिप्रेक्ष्यबाट हेर्न जरुरी लाग्यो ।
आफ्ना राजनीतिक लक्ष्य एवं गन्तव्य सुस्पष्ट हुँदाहुँदै पनि वर्तमान राजनीतिक नेतागण बदलाको राजनीति चलाउन र सत्ता भागबन्डालाई जीवनधारा बनाउन कटिबद्ध छन् । यसरी तिनीहरू मुलुककै अहित हुने गरी एकअर्काप्रति वैरत्व साँधिरहेकै छन् । अहिले त यस्तो स्थिति छ भने २००७ सालमा र त्यसपछि पनि कायमै रहेको घनघोर शीतयुद्धताका संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत रुसबीचका राजनीतिक–कूटनीतिक भीडन्तहरूमा तिनका पछौटे स्थानीय राजनीतिक दलहरूले एकअर्कालाई वर्ग शत्रु ठान्नु कुनै आश्चर्य थिएन । निरङ्कुश सामन्ती राणाशासनका अवशेष उन्मूलन गर्दै नेपालको उज्ज्वल मार्ग प्रशस्त गर्ने र समाज रूपान्तरण गर्ने आफूहरू मित्रशक्ति हौँ भन्ने सत्यबोध त्यस अवस्थामा नेपालका ‘सोसल डेमोक्रेसी’ र ‘कम्युनिजम्’का पक्षधर पात्रलाई कसरी हुन सक्थ्यो होला ? तिनीहरू त एकअर्कालाई अमेरिकी साम्राज्यवादका दलाल सोसल फासिस्ट र स्टालिन तानाशाहका पिट्ठुहरू’को गालीगलोजको मादकतामा लट्ठिएर सत्ताको महत्त्वाकांक्षी राजदरबार, प्रतिशोधकामी राणाहरू र नेपालमा आफ्नो एकछत्र वर्चस्व स्थापित गर्न चाहने दक्षिणी हैकमवादीहरूपट्टि बेखबर थिए ।
राजनीतिको यस्तो मादकतालाई क्रोध र भयको थप इन्धनले चर्काइरहेको थियो । नेकपा राजनीतिको एउटा धार क्रोधबाट लक्षित थियो भने काङ्ग्रेसको राजनीतिक धार कम्युनिस्टविरोधी भयले आक्रान्त । कम्युनिस्टहरू बीपी ‘अमेरिकी साम्राज्यवादलाई नेपालमा आफ्नो युद्ध अखडा बनाउन दिन सचेष्ट छन्’ भन्थे ।
काङ्ग्रेसहरू पुष्पलाल मौका पाउनेबित्तिकै स्तालिनको सेना बोलाई ‘नेपालबाट प्रजातन्त्र निमिट्यान्न पार्न चाहन्छन्’ भन्ने प्रचार गर्न चुक्दैनथे । यसर्थ २००८ सालको राजनीति बडो कहालीलाग्दो थियो । कम्युनिस्टहरूको क्रोधको सिङ्गो तारो बीपी थिए भने काङ्ग्रेसीका पुष्पलाल । यत्तिकैमा २००८ सालको कात्तिक २० गते मानवीय एवं राजनीतिक रूपको यस्तो दुर्भाग्यपूर्ण घटना भयो जसले नेपालको इतिहासमाथि नै अनिष्टकारी दुष्प्रभाव पार्यो । बीपी र पुष्पलाल दुवैले यस्तो त घोर दुःस्वप्नमा पनि सोचेका थिएनन् होला, तर राणाहरू र इन्डियन शासकहरू त त्यस्तै मौका ढुकिरहेका थिए ।
गृहमन्त्री बीपीको आदेशमा काठमाडौंमा सुरक्षा कानुन लागू भयो । मुख्यतः सुरक्षा कानुनकै विरोध गर्न भनेर अखिल नेपाल विद्यार्थी फेडरेसन अघिअघिझैँ नेपाल छात्र संघ, संस्कृत छात्र संघ र नेपाल स्टुडेन्ट्स युनियन सम्मिलित हुने गरी विद्यार्थी संघर्ष समिति गठन गर्न अघि बढ्यो । नेछासं यसपटक समितिमा सम्मिलित भएन । तीन विद्यार्थी संघहरूको संघर्ष समितिले कात्तिक २० गते सहरभरि विरोध प्रदर्शन गरी भूगोल पार्कमा आमसभा गर्यो, जसमा बोल्नका लागि नेछासंलाई पनि बोलाइएको थियो । तनावपूर्ण वातावरणमा तर अनुशासित तवरले भाषण भइरहेका थिए । फेडरेसनका अध्यक्ष प्रचण्डराज सिंह,
नेछासंका अध्यक्ष सुरेन्द्रराज शर्मा, नेछासंकै अर्का नेता बासु रिसाल, ने.स्टु.यू.का अध्यक्ष गोपालचन्द्र अमात्यले भाषण सकेर संछासंका अध्यक्ष श्रीप्रसाद गौतमले बोल्दाबोल्दै पुलिसका अफिसर जवान आई पुर्जी देखाउँदै ती पाँचै जनालाई पक्रेर लगे । पुलिसको त्यस्तो उत्तेजक व्यवहार हुँदा पनि भाषण सुन्न आएका विद्यार्थी र जनसमूह आक्रोशित तर शान्त थिए । उक्त कार्यक्रमको सञ्चालक मैले उनीहरूलाई सम्झाइबुझाइ आफू भाषण गर्न लाग्दा साँझ पर्न थालिसकेको थियो । सरकारको दमन नीतिको विरोध गर्दै मैले पक्राउ परेका विद्यार्थी नेतालाई छुटाउन जुलुस लिएर हनुमानढोका पुलिसथाना जान आह्वान गरेँ ।
अन्यायविरुद्ध उर्लेको र विद्यार्थी मित्रहरूप्रति ऐक्यबद्धताको यो स्वाभाविक अभिव्यक्तिले कुनै अनिष्टकारी दुष्परिणाम पनि ल्याउन सक्छ भन्ने सजगता ममा आएन । म र अन्य छात्र नेताहरू अग्रिम पङ्क्तिमा थियौँ र आक्रोशित भीड पछिपछि । गद्दी बैठकबाट अघि बढेर श्वेतभैरवको मन्दिरनेर पुग्दानपुग्दै टियर ग्यास साथै गोली पड्केको आवाज आयो । मेरै लाइनमा रहेका सइद्उद्दिन, निकै पछाडि रहेका चिनियाँकाजी र राममान श्रेष्ठ गोली लागी घाइते भए
गम्भीर रूपले घाइते भएका विश्वनिकेतन हाइस्कुलका चौध वर्षीय छात्र चिनियाँकाजीको सोही राति साढे १० बजेतिर वीर अस्पतालमा मृत्यु भयो । यसबाट अस्पतालभित्र मात्र नभएर राजधानीभरि नै वातावरण स्तब्ध र आक्रोशपूर्ण भयो । अनि चिनियाँकाजीको शवलाई हस्तान्तरण गर्नेबारे पनि अस्पतालका अधिकारीहरू र विद्यार्थी संस्थाबीच चर्काचर्की हुन थाल्यो । राति १२ बजेतिर एकजना पुलिस अधिकारीले मलाई वारेन्ट पुर्जी देखाई पक्रेर हनुमानढोका थाना लग्यो ।
यस प्रकार भोलिपल्टका जुलुस र सहिद चिनियाँकाजीको दाहसंस्कार कार्यक्रममा म सम्मिलित हुन पाइनँ । त्यस जुलुसमा नेपाल प्रजापरिषद्, नेपाल कम्युनिस्ट पार्टी,नेपाली राष्ट्रिय काङ्ग्रेसले पनि भाग लिएका थिए, तर जुलुसको अन्त्यतिर काङ्ग्रेसको झन्डालाई च्यातिदिई फेरि भीडन्तको परिस्थिति खडा हुँदा म त्यहाँ भएको भए मैले फेरि जुलुसलाई लैनचौरनिकट बीपी निवास रङ्गमहल घेर्न जान निश्चय नै उत्तेजित गर्ने थिएँ ।
म भाषण गर्दा शब्द होइन आगो बर्साउने गर्छु भनी धेरैजना भन्थे । अनि त झन् ठूलो हत्याकाण्ड हुनसक्ने थियो जुन भाग्यवश टर्यो । राजनीतिमा क्रोध र आक्रोशबाट धेरै अनिष्ट भएका छन् ।
त्यस रातको गोलीकाण्डबाट एक निर्दोष विद्यार्थीको हत्याले नेपालको राजनीतिमा चारवटा मुख्यमुख्य दुष्परिणाम ल्यायो : (१) नेपालमा प्रजातान्त्रिक बहुदलीय राजनीतिक अभ्यास नराम्ररी बिथोलियो जुन आजसम्म सुध्रिन सकेको छैन । (२) नेपालको सरकारी नीति निर्माण र शासनयन्त्रमा इन्डियन सरकारको हस्तक्षेप चल्यो, जुनकि अद्यापि छ ।
यस सिलसिलामा एउटा पत्याइनसक्नुको घटनाको मात्र उल्लेख गरुँ । इन्डियन राजदूतले नेपालको प्रधानमन्त्रीको रूपमा मातृकाप्रसाद कोइरालाको नाममा स्वीकृति दिएको भनी भुवनलाल जोशी र लिओ रोजले आफ्नो साझा पुस्तकमा लेखे, (‘डेमोक्र्याटिक इनोभेसन इन नेपाल’, सन् १९६६पृष्ठ १३३ ) । त्योभन्दा १५ वर्षअघि सन् १९५१ नोभेम्बर १२ का दिन प्रधानमन्त्री मोहनशमशेरले संयुक्त मन्त्रीमण्डल विघटनपछि नारायणहिटी राजदरबारबाट गणेशमान सिंहसँगसँगै फर्किंदा अद्भुतलाग्दो एउटा मनको बह पोखेका थिए, ‘के अब नेपालको प्रधानमन्त्री नेपालीले नै छान्न पाउला ?’
सिंह मूढप्रायः ठानिने मोहनशमशेरको शंकालाई वास्ता नगरी बरु उनको मूर्खताप्रति मनमनै हाँसेछन् । सिंहलाई २५ वर्षपछि बनारसमा बीपी र आफू इन्दिरा गान्धीको कूटनीतिक थुनामा रहँदा ती वाक्यको सम्झना भई ‘समाज’ दैनिकका सम्पादक मणिराज उपाध्यायलाई बनारसमा भेट्दा बताएको उपाध्यायले नै मलाई सुनाए ।
विशाल र सबल चीन नेपालको उत्तरी छिमेकी हुँदा पनि तथाकथित ‘सुरक्षा सिन्ड्रोम’ले ग्रस्त अंग्रेज शासनका उत्तराधिकारी इन्डियन शासकका कारण आज नेपाल–भारत सम्बन्ध जुन भासमा जाकिएको छ, त्यसबाट उठ्न दशकौँ लाग्ने दूरावस्थाका लागि त्यही हस्तक्षेप जिम्मेवार छ ।
त्यस्तो दृश्यावली बीपीप्रति इन्डियन राजदूतको घनघोर ‘एलर्जी’ का कारण नेपालमा तत्काल नै उत्पन्न भएको राजनीतिक अस्थिरताको दुष्परिणाम थियो ।
३) २००७ सालको क्रान्तिका नेता बीपी ७ वर्षसम्म सत्ताबाट बाहिरिए । र ४) उपरोक्त दुर्घटनाको तीन महिना नबित्दै डा. के.आई.सिंह विद्रोह काण्डमा नेकपा महासचिव मनमोहन अधिकारीको दुस्साहसिक निर्णयका कारण पार्टीमाथि सरकारले प्रतिबन्ध लगायो ।
राजा त्रिभुवनको उदारताले गर्दा मात्र कम्युनिस्टविरोधी हत्याकाण्ड हुन पाएन, तर कुनै समयमा राणा केशरशमशेरका विश्वासपात्र रहेका मातृकाप्रसाद कोइराला र राजनीतिज्ञ बीपीको मूल चारित्रिक विभेद के थियो भने पहिलाचाहिँ ईष्र्यालु कर्मचारी मनोवृत्तिकै मानिस थिए र दोस्रोचाहिँ बदलाको कुनै भावना नराख्ने राजनेता । बीपीले त आफूमाथि सांघातिक हमला गर्ने गोर्खा दलका नेता भरतशमशेरलाई पनि क्षमा गरिदिएका थिए ।
अनेक इतिहासकार तथा राजनीतिक विश्लेषकहरूले विद्यार्थी सभापछिको त्यस दुर्घटनालाई लिएर जुनजुन राज्य, शक्ति र व्यक्तिहरूको भूमिकाको उल्लेख गर्दै जे–जे लेखे पनि तिनमा कतै पनि नउल्झेर मैले नै त्यस दिनको भूमिकाबारे आज आएर विचार गर्दा आफू क्रोधवश उत्तेजनामा आई त्यस्ता राजनीतिक दुष्परिणामका निम्ति एउटा कारण बन्न पुगेको भन्ने लाग्छ ।
बीपीविरुद्ध देशी–विदेशी षड्यन्त्रकारीहरूका जे–जस्ता योजना भए पनि मैले त्यस दिन जुलुस लिएर हनुमानढोका पुलिसथाना जान भीडलाई नउक्साएको भए तिनीहरू आफ्ना उद्देश्यमा त्यति छिट्टै जसरी सफल हुन पाए त्यसरी सफल कदापि हुने थिएनन् ।
मेरा सद्गुरुदेवले मलाई २०५८ सालको असोजमा ‘लोभ, ईष्र्या, महत्वाकांक्षा एवं क्रोधलाई तिनीहरू जन्मिने बेलामै देख्नसक्नु सजगता हो’ भन्ने सन्देश टिपाएका थिए । तर २०६२ सालको कात्तिकमा आफ्नै ‘१९९७ सालदेखि २०१७ साल– एक अवलोकन’ प्रकाशित हुँदा पनि २००८ सालको उक्त घटनाप्रति आत्मालोचना गर्नुपर्ने सजगताको महत्त्व ममा नआएकोले साह्रै थकथक हुन्छ ।
सद्गुरुदेवको शरीर छुटेपछि मैले अर्को सन्त नेपालपुत्र, हाल देवघाटबासी स्वामी महीधराचार्यको सान्निध्यता पाएँ । उनले पनि एउटा सत्संगका बेला मलाई जीवनको कुनै पनि क्षेत्रमा कार्यरत मानिसले आफूले भोगेका राम्रा–नराम्रा कुराहरूलाई निर्धक्कसँग भन्नैपर्छ भनी सजग गराएका थिए । ‘एक अवलोकन’ को दोस्रो संस्करण २०६३ माघमा छापिँदा पनि आफ्नो भूलको सच्याउन नसकेकोमा झनै दुःख लाग्छ । यस प्रकारले मलाई गुरुदेवले सम्झाएका सजगताको महत्त्व आज बल्ल बुझेको लाग्छ ।
आज पनि हाम्रा समाजमा दुई–चारजना होइनन् कि अधिक संख्यामा दक्षिणपक्ष भएको चर्चा चलिरहेकै छ । तिनीहरू ‘कूटनीतिक’ भेषमा रहेका ताम्रवर्णीय जासुसहरूको उठबसमा देशलाई नस्ल र जातपातको आधारमा चिराचिरा पार्न लागिपरेका छन् । मुलुकमा आज पनि राष्ट्रिय स्वाभिमान भएका नेताहरूको खडेरी नै छ । राजनीतिक दल तथा सामाजिक क्षेत्रका ‘अगुवाहरू’ विदेशी एजेन्डाअनुसार परिचालित छन् । यसर्थ टङ्गप्रसाद आचार्यपछिका मूर्धन्य राष्ट्रिय प्रतीक बीपीका थप उज्याला पक्षहरू जनसमक्ष आउनैपर्छ ।
विशेषतः इन्डियन प्रधानमन्त्री नेहरूको विरोधका कारणबाट बीपी त्यसरी सत्ताबाट बाहिरिएका भए पनि पहिला त राजा त्रिभुवनलाई र त्यसपछि राजा महेन्द्रलाई बीपीविरुद्ध उभ्याउनमा काङ्ग्रेसभित्रैका मातृकाप्रसाद कोइराला र केशरशमशेरका चालहरूको पर्याप्त सङ्केत मैले आफ्नो लेख ‘एक अवलोकन’मा गरिसकेको छु ।
आफ्नो निजी र राजनीतिक व्यवहारमा कुशल पुष्पलाल ‘आयातीत विचारधाराका नेपाली प्रवर्तक’ भनी काङ्ग्रेस क्षेत्रबाट आरोपित हुँदाहुँदै पनि लोकप्रिय राजनेता हुँदै गएका तथ्यबाट बीपी अन्जान थिएनन् । आफ्नो ‘सोसलिस्ट’ आवरण नेपाली जनमानसका लागि नपचेको पनि उनलाई थाहा भएकै कुरा हो, तर उनले गल्तीबाट सिक्दै गए र आफूलाई २०१५ सालको आमनिर्वाचनरूपी महासङ्ग्रामका विजेता देखाइछाडे ।
प्रधानमन्त्रीको रूपमा अब उनलाई खतरा प्रमुख प्रतिपक्ष दल गोरखा परिषद् र नेकपाबाट होइन महत्त्वाकाङ्क्षी राजा महेन्द्रबाट थियो । महेन्द्रले त आफूलाई पिता राजा त्रिभुवनको कोपबाट अर्थात् डाँडो काटिनबाट बचाएका व्यक्तिमाथि नै ईष्र्याको राजनीति चलाए, जसलाई बीपीले आखिरीसम्म पत्याएनन् । आफूलाई सत्ताच्युत गरे पनि संसदीय प्रजातान्त्रिक व्यवस्थामाथि नै राजा महेन्द्रले आघात पार्ने छैनन् भन्नेमा बीपी विश्वस्त थिए ।
प्रधानमन्त्रीकालमा बीपी देशका समस्या र विदेश नीतिबारे प्रतिपक्षका नेताहरूसँग बरोबर विचारविमर्श गर्दथे भनी काङ्ग्रेसनिकट लेखक मदनदेव भट्टराई आफ्ना संस्मरणमा र पत्रकार जगत नेपालले ‘पहिला संसद ः बीपी–महेन्द्र टकराव’ मा उल्लेख गरेका छन् । अझ नेकपाका तत्कालीन केन्द्रीय सदस्य र पछिको कालखण्डमा स्वतन्त्र माक्र्सवादी चिन्तक कृष्णराज वर्मा त बीपी र नेकपा महासचिव डा. केशरजङ्ग रायमाझीबीच व्यक्तिगत मित्रता रही उनी कहाँ बरोबर विचारविमर्श गर्ने गरेको मलाई सुनाएका थिए ।
उत्तरगण्डक प्रान्तीय कमिटीले ‘कालो दिवस’ ठानेको फागुन ७ गतेका प्रजातन्त्र दिवस २०१६ सालमा टुँडिखेल खरिको बोटको एकै मञ्चमा बसेर प्रधानमन्त्री कोइराला र महासचिव रायमाझीले सँगसँगै मनाएको घटना पनि केही वर्षअघि वर्माले मलाई बताएका हुन् । यो नेपालको राजनीतिको दुई प्रमुख राजनीतिक विचारधाराबीच अप्रतिम सद्भावको द्योतक थियो । यस्तो सद्भावले निरन्तरता पाएन, यसलाई दुर्भाग्यपूर्ण मान्नुपर्दछ ।
बीपीले २०१५ सालको माघमा इन्डियाको औपचारिक भ्रमण गर्दा ‘भारत कोसीमा हिमालसम्म फैलिएको छ’ भनी प्रधानमन्त्री नेहरूले संसद्मा दिएको वक्तव्यको जोडदार ढङ्गले प्रतिवाद गर्दा नेहरूले क्षमायाचना गरेका थिए ।
चीनको औपचारिक भ्रमण गर्दा चिनियाँ समकक्षी चु एन लाइसँग बिहान, दिउँसो र साँझसम्मको एउटा अत्यन्त महत्त्वपूर्ण बैठकमा हुने संवेदनशील विषयहरूको जानकारी इन्डियन सरकारलाई नहोस् भन्ने हेतुले बीपीले प्रतिनिधिमण्डलका सदस्य रहेका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई कुनै न कुनै बहाना पारेर वार्ताक्रमबाट हटाएको उल्लेख जगत नेपालको उपर्युक्त कृतिको १९३–१९८ पृष्ठमा पाइन्छ ।
सोसल डेमोक्रयाट बीपीप्रति चिनियाँ नेतृत्वको व्यवहार समभावको रहेको तथ्य पनि बीपी र चु एन लाइबीच कायम व्यक्तिगत मित्रताबाट पुष्ट हुन्छ । सगरमाथाको सम्बन्धमा प्रतिनिधि सभामा प्रधानमन्त्री कोइरालाका स्पष्ट उक्ति (‘कल्पना’ दैनिक, २०१७ वैशाख १८) र नेपाल–चीनबीच सम्पन्न शान्ति तथा मैत्री सन्धि उनको सफल विदेश नीति ठहर्र्छ, जुन कि प्रधानमन्त्री आचार्यको नीतिकै निरन्तरता थियो ।
यहाँ बीपीले दक्षिणी राजनीतिज्ञको दोहोरो चरित्रको टिप्पणी गरेको पनि सम्झना हुन्छ । उनी भन्छन्, ‘धेरै दिनको दासताले हिन्दुस्तानीहरूको हृदय संकुचित भएको छ र दृष्टिमा दोष आएको छ । दासप्रवृत्ति ठाउँठाउँमा रसमय–समयमा झल्किरहन्छ । अलि हात माथि पर्यो भने फुर्फुराउन थाल्छन् तल पर्यो भने दासलाई ‘नसुहाउने’ दाँत किच्च देखाउँछन्, (जेल जर्नल, पाना १५०) ।’
पञ्चायत शासनको सिङ्गो तारो बीपी नै थिए । बीपी जेलपर्दा राजा महेन्द्रसँग कसैगरी सम्झौता गराउन काङ्ग्रेसभित्रका विभिन्न नेता, इन्डियन सोसलिस्ट नेता जयप्रकाश नारायण, युगोस्लाभ नेता टिटोका सल्लाहकारले सम्झाउँदा पनि बीपी आफ्नो अडानबाट नडगेको उल्लेख पनि ‘जेल जर्नल’मा छन् ।
०२५ सालमा जेलबाट छुटेपछि देशैभित्र पञ्चायतविरुद्ध त आन्दोलन चलाउने धारणा बनाई उनले विराटनगरघरमा सम्पादक मणिराज उपाध्यायलाई अन्तर्वार्ता दिए । अन्तर्वार्ता ‘समाज’मा छापियो, तर आफ्नै दलभित्रका र पञ्चायत पक्षका षड्यन्त्रकारीका चालबाजीले गर्दा बीपी प्रवासमा बसेर दोस्रो सशस्त्र संघर्ष चलाउने निष्कर्षमा पुगे जुन कि पहिल सुवर्णशमशेरको नेतृत्वमा २०१८–१९ सालमा भएको सशस्त्र संघर्षजस्तै घातक र निरर्थक साबित भयो ।
बीपी विदेश प्रवासमा रहँदासम्म देशमा प्रजातन्त्रको पुनस्र्थापना आन्दोलन असम्भव देखेर आचार्यले उनलाई नेपाल फर्केर आन्दोलनको नेतृत्व लिने आग्रह गरे । यस्तो आग्रहलाई काङ्ग्रेसका नेताहरू खण्डन गर्छन्, तापनि बीपी आफूप्रति इन्डियन प्रधानमन्त्री गान्धीको कूटनीतिक यातनालाई चुनौती दिँदै र आफूलाई नेपालमा इन्डियन राजनीतिक स्वार्थवाहक बनाउने चेष्टाको प्रतिरोध गर्दै राष्ट्रिय मेलमिलापको नारामा २०३३ साल पुस १६ गते नेपाल फर्के ।
राजनीतिमा नयाँ मोड
तत्काल नै नेपालको राजनीतिले नयाँ मोड लियो । अनेक खतराहरूले भरिएको यो साहसिक राजनीतिक जोखिम थियो । त्यसलाई झेल्न पनि बीपी सफल भए । बीपीलाई पञ्चायतविरोधी गतिविधिको केन्द्रीय पात्र तथा मार्गदर्शक बन्न धेरै समय लागेन ।
यसै प्रसङ्गमा चावहल मित्रपार्कस्थित भाइको घरबाट चल्ने बीपी राजनीति दुई घटनाबाट पनि उल्लेखनीय छ । एउता, प्रजातन्त्रवादी साहित्यकार बीपीको कम्युनिस्ट कवि भूपिसित भेट्ने मन । अर्को, टङ्कप्रसाद आचार्यले देशको राजनीतिक संरक्षकत्व लिनुपर्नेबारे । एउटा मानवीय सम्बन्धको अप्रतिम अभिव्यक्ति र भेटघाट । अर्कोचाहिँ बीपीको राजनीतिक सुझबुझ र दूरदृष्टि ।
पहिलाको परिचय लोकनृत्य सर्जक भैरवबहादुर थापाको कलमबाट अर्को मणिराज उपाध्यायको कलमबाट हुन्छ । दुवै मार्मिक र भावुकतापूर्ण छन् । यी संस्मरणहरूको मर्म बुझ्न दुवै लेख पूरै पढ्नुपर्दछ ।
विपक्षी दलहरूप्रति सद्भाव राख्ने समदर्शी प्रधानमन्त्रीका रूपमा, राजनीतिक सुझबुझ र दूर भविष्यसम्म दृष्टि राख्ने अर्थात् आजको भागबन्डाको राजनीतिलाई दशकौँ अगाडि देख्न सक्ने र ‘राजाको निरङ्कुशताको विरोध गर्दा दलहरूको मिलेमतोको निरङ्कुशताको बीजारोपण हुने’ खतरा देख्ने मेधावी राजनीतिज्ञ थिए बीपी, (‘टङ्कप्रसाद आचार्य र आजको नेपाल’ जन्म शताब्दी स्मारिका, ‘पञ्चायत र बहुदलबीच भएको जनमत’, २०६९, पृष्ठ ११६–१२३ र भैरवबहादुर थापाकृत ‘समर्पण’, २०६७, पृष्ठ ९१–९५) । वर्मा, उपाध्याय र थापा नाम चलेका व्यक्ति हुन्, जसमध्ये तेस्रा आज पनि हाम्रो माझमै छन् ।
बीपी सारनाथमा र पुष्पलाल बनारसमा निर्वासित जीवन बिताउँदा मुलुकमा पञ्चायतको अन्त्य गर्न काङ्ग्रेस र नेकपाबीच कुनै प्रकारको संयुक्त कार्यका लागि पुष्पलालको बारम्बारको प्रस्तावप्रति बीपीको प्रतिक्रिया सधैँ नकारात्मक रह्यो । तर त्यसो भयो भन्दैमा पुष्पलालले बीपीको राजनीतिक महत्तालाई इन्कार गरेनन् । उनी त आफूकहाँ भेट गर्न आउने प्रत्येक व्यक्तिलाई सारनाथ गएर बीपीसँग भेटघाट गर्न लगाउन चुक्दैनथे । केही वर्षपछि यो सद्प्रयास गणेशमानसिंह तथा कृष्णप्रसाद भट्टराईको राजनीतिक सुझबुझबाट सुसम्पन्न भयो भन्दा पनि पञ्चायतविरोधी संघर्षमा बीपीको प्रधान भूमिकाको अवमूल्यन हुन सक्दैन ।
अब मामिलालाई अर्को पक्षबाट हेरौँ । आफ्ना पिता कृष्णप्रसाद कोइरालाले आफ्नै बन्द व्यापार र खेतीपातीबाट सुसम्मृद्ध जीवनयापन गर्दा बीपी यो संसारमा आएका थिएनन् । उनले चरम अभावको जिन्दगी झेल्दै पूरै शरीर विषाक्त गर्न सक्ने घाउ आउँदा चिरफारका लागि चाहिने आवश्यक क्लोरोफर्म सुँघाउने खर्च जोहो गर्न नसक्दा आफ्नो आमाको प्रेरणाबाट आत्मिक शक्ति जगाएर बिनाक्लोरोफर्म चिरफार गराउने सामथ्र्य राखेको र आठ वर्षको उमेरमा नाङ्गो खुट्टा र एकसरो खद्दरको पहिरनमा काशीमा पढ्न बसेको वर्णन ‘आफ्नो कथा’मा पाइन्छ । नेपालको कुनै अर्को राजनीतिक नेताले यस्तो संघर्षपूर्ण र अभावग्रस्त जीवन बिताएनन् ।
इन्डियन स्वाधीनता आन्दोलनको लहरबाट उनमा राजनीतिक जागृति आयो । अनि १५ वर्ष पुग्दानपुग्दै उनमा महात्मा गान्धीले जस्तै आफ्नो देश नेपालमा आन्दोलन संगठन गर्ने विचारमा समाजवादी सैद्धान्तिक अवधारणा पुष्ट हुन थाल्दछन् । यो साँचो हो, त्यतिन्जेलसम्म र त्यसपछिका वर्षहरूमा उनी नेपाल तथा इन्डियाबीच राजनीतिक, सांस्कृतिक, सामाजिक मात्र नभई भौगोलिक रूपले पनि अभिन्नता रहेको धारणा राख्दै प्रवासी राजनीतिक आन्दोलनमा सक्रिय थिए । यो पनि साँचो हो, ती युवकमा राणाशासन–विरोधी भावना टङ्गप्रसाद आचार्य र गणेशमान सिंहको जस्तो देशीय परिवेशको थिएन ।
वियोगान्त पाटो
बीपीले आफ्नो सोसलिस्ट अवधारणालाई मूर्तरूप दिन कार्यकर्ता, संस्कृति र संस्कार विकसित गर्न सकेनन् । यो नेपाली इतिहासको वियोगान्त पाटो हो । उनी संस्कृतिको क्षेत्रमा मनोवैज्ञानिक सिगमन्ड फ्रायडबाट धेरै प्रभावित थिए । उनले स्वामी विवेकानन्दको अवधारणाले आफूलाई आकर्षण नगरेको बताएका छन्, ‘आफ्नो कथा’ मा । उनले कदाचित् आध्यात्मिक चिन्तक जे. कृष्णमूर्तिको सत्संग पाएका भए नेपालको आध्यात्मिक सम्पदा सुसम्मृद्ध हुनेथ्यो ।
कुनै बेला अनावश्यक ढङ्गले राष्ट्रदेव श्रीपशुपतिनाथको महत्त्वमाथि शङ्का गर्ने बीपी २०३३ सालपछिका राजनीतिक गतिविधिहरू प्रारम्भ गर्नुअघि शुभआशीर्वाद लिन आचार्यपत्नी रेवन्तकुमारीकहाँ पुग्थे भनी मणिराज उपाध्याय स्मरण गर्दछन् ।
जस्तै अनिश्वरवादी पनि नेपाली सनातन आध्यात्मिक समाजमा बहिष्कृत हुँदैन भन्ने र वेदान्त पनि कुनै अनिश्वरवादी आध्यात्मिक हुन नसक्ने विचारलाई मान्यता दिँदैन भन्ने तथ्यको यो एउटा पुष्टि हो । तर नेपाली माटोमा जन्मेको, हुर्केको र बढेको नहुँदाहुँदै त्यो व्यक्ति राणाशासन–विरोधी संघर्षको महानायक कसरी बन्यो र बन्न सक्यो ? यो राजनीतिक रहस्यको समुचित उद्घाटन गर्न सक्ने को होला ? यसकारण बीपी एक विलक्षण व्यक्ति (फिनोमेना) हुन् । जसले उनीबारे लेखेका छन्, ती आजसम्म अपूर्ण, एकसरो र व्यक्तिपूजक छन् । आफ्ना नायकका कतिपय गल्ती–त्रुटिप्रति ओैँला ठड्याउन सक्ने प्रतिभाशाली प्रदीप गिरिले यो रहस्य भेदन गर्न सक्नेथे तर उनी बितिसके । उनले आफ्नो दुखेसो यसरी व्यक्त गरेको स्मरण नगरिरहन सकिन्न, ‘आज नेपालमा कोइरालाका नाममा जसले जे भने पनि हुन्छ । दुर्भाग्यवश, कोइरालाको नाममा झन्डै २५ वर्षदेखि शासन गरिरहेको उहाँको उद्धरणसमेत ठीक–बेठीक जहाँबाट दिए पनि काङ्ग्रेसले अझै पनि उनको एउटा विश्वसनीय जीवन लेख्न÷लेखाउन सकेको छैन । विडम्बना के छ भने उनीसँगै खाएका, पिएका र हुर्किएका उनकै पारिवारिक दायराका सदस्यहरू लगातार मन्त्री प्रधानमन्त्री छन् । कोइरालाका रचनाहरूको एउटा आधिकारिक संकलन समेत छैन । बीपीको नाम वा नाराको उपयोग मात्र छ । कुरा यत्ति हो– नाम र नारा त चाहिएला तर समय अनुकूल नाराको पनि परिमार्जन र परिष्कार आवश्यक छ । साहित्य र संस्कृतिका क्षेत्रमा यस्तो खाँचो झन् चर्कोरूपमा बिझेको छ । आज हाम्रा पाठक वा लेखकले बुझेको बीपी उनीहरूको चाहनाको तस्बिर हो, यथार्थ होइन । यस्तो यथार्थमा पुग्न वाद, प्रतिवाद र संवादले मद्दत गर्दछ । ‘कान्तिपुर’को कोसेलीमा दुई साताअघि (१६ साउनमा)को अङ्कमा यस विषयमा लेख लेख्ने विष्णु सापकोटा यसैले धेरै–धेरै धन्यवादका पात्र हुन् ।
गणेशराज शर्मा पनि सामथ्र्यवान् थिए र उनी सकारात्मक काम गरी उहिल्यै बितिहाले । बीपीको प्रकाशमा आउन नसकेका विभूति र उत्तरदानअनावृत्त गर्न काङ्ग्रेसइतरकै कोही सचेष्ट हुन्छ भने त्यो नेपालको इतिहासप्रति ठूलो योगदान ठहर्ने छ ।
अन्त्यमा, २०३९ सालमा आफ्नो देहावसानको केही दिनअघि मात्र बीपीले राष्ट्र र राष्ट्रियताका बारेमा आफ्ना विचारहरू टेपमा रेकर्ड गराएका थिए । उक्त टेपको सम्पादन गरी गणेशराज शर्माले ‘राष्ट्र, राष्ट्रियता र राजनीति’ शीर्षकमा पुस्तक प्रकाशित गरेका थिए । त्यसमा बीपीले नेपालको राष्ट्रियता एवं राष्ट्रिय हितमा आघात गर्ने गरी कालान्तरमा हाम्रो दक्षिणी छिमेकी मुलुकका निहित स्वार्थी तत्त्वहरूले हाम्रो देशको विखण्डनको चेष्टा गर्ने गराउने तर समस्त जाति र जातीयताका नेपालीहरूको देशप्रेम तथा शौर्यबाट त्यस्तो दुष्चेष्टा विफल भइछाड्ने विश्वास व्यक्त गरेका छन् ।
यही राजनीतिक इच्छापत्रद्वारा विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली राजनीतिका एक मूर्धन्य व्यक्तित्व सिद्ध हुन्छन् । अतः यिनी टङ्गप्रसाद आचार्य र पुष्पलालसँगसँगै प्रत्येक देशभक्त एवं स्वाभिमानी नेपालीले सधैँ सम्झिरहनुपने नाम हुन् ।
बीपी निकै मानवीय गुणहरू भएका पुरुष हुन् । यो स्मृति आलेखमा उनी आफ्नो कटु अनुभवबाट विशेषतः देशी–विदेशी राजनीतिक चलखेल बुझेका, समझदार, समभाव राख्ने उदार प्रधानमन्त्रीका रूपमा देखिन्छन्, (वर्मा वर्णन)।
अनि बडेमानमा छिमेकी देशहरूसितका विविध सम्बन्धप्रति आफ्नो मुलुकका समुचित राष्ट्रिय हितको आधारमा संवेदनशीलका साथै परिपक्व राजनीतिज्ञका रूपमा पनि देखिन्छन्, (जगत नेपाल वर्णन) ।
साहित्यिक सर्जकहरूप्रति पूर्वाग्रहविना सुसम्मान भाव राख्ने स्रष्टा हुन्, बीपी । २०३३ सालको राजनीतिक एवं मौसमी कठोरताको एक दिन थापा संयोजित बीपी–भूपि मिलन साँझमा भूपिको सूक्ष्म राजनीतिक व्यङ्ग्यात्मक ठट्टा सुन्दा खित्का छाडेर हास्याहास्यै गर्दा ‘ओहो, मैले त १७ वर्षसम्म हाँस्नै बिर्सेको रहेछु ! आज भूपिले हँसाइ दिनुभयो ! आभारी छु, भूपिप्रति’ भनेपछि ‘ओहो, आज यहाँ हामीमाझ सुशीला भएकी भए उनी पनि कत्ति रमाउँदिहुन्’ भन्ने उद्गारबाट आफ्नी जीवनसँगिनीप्रति उच्च सम्मान र प्रेम मात्र होइन एक अत्यन्त संवेदनशील कवि मनोभावको पनि दर्शन पाइन्छ, (थापा वर्णन) ।
अनि देशको भविष्यप्रति अत्यन्त सजग रही सुदूरद्रष्टा राजनीतिक महारथीको रूपमा देखिन्छन्, बीपी २०३७ सालको जनमत सङ्ग्रहको ‘पञ्चायत जीत’ को दुई दिनपछि आचार्यनिवास बानेश्वरमा आफ्नो उद्गारबाट, (उपाध्याय वर्णन) ।
आफ्नै राजनीतिक दलका सतही अनुयायी (उत्तराधिकारीहरूले नचिनेका) नजानेका–नबुझेका वियोगान्तक नायकको रूपमा पनि देखिन्छन्, बीपी, (गिरि वर्णन) ।
बीपी नाजी हिटलरले यहुदी जातिमाथि गरेको उत्पीडन, चलाएको दमन र अत्याचाका विरोधी थिए । उनी आफ्ना सोसलिस्ट अवधारणबाट र अन्तर्राष्ट्रिय सोसलिस्ट सङ्गठनसँग जोडिएका नाताले पनि इजरायली राज्य चलाउने व्यक्तिहरूप्रति सहानुभूति र ऐक्यबद्धता राख्दथे । आफू प्रधानमन्त्री भएपछि उनले त्यस राज्यलाई मान्यता दिई राजनयिक सम्बन्ध राखे ।
इजरायलका नयाँ शासकहरू आफ्ना सैद्धान्तिक गुरु र अन्नदाता जिइनवादी यहुदी सङ्गठनको प्रभावमा आएर आफैँले त्यहाँ मूल बासिन्दा प्यालेस्टाइनीहरूविरुद्ध आफ्नै दमनकुण्ड–होलोकोस्ट बनाई जाति विनाश चलाएको बर्बरताको जानकारी बीपीलाई भए–नभएको त अनुमानको कुरा हो । तर आफू स्वयं त्यस्ता अपराध– अत्याचाकारविरोधी रहेकाले उनी इजरायली शासकीय नेतृत्वसमूहले प्यालेस्टाइनी जातिविरुद्ध चलाएका समूल संहार ध्येय र व्यवहारलाई विरोध नगरी कदापि रहन सक्दनथे । अनि आफूलाई हिटलरले प्रताडन गरेको जातिका सन्तानहरू भन्ने यहुदी शासकहरू आफैँ नै आज नाजी शासन भएको उक्राइनी सत्तालाई सघाउन पुगेको देख्नपर्दाे हो त के हिटलरविरोधी बीपी चुप लाग्दा होलान् त ?
उनको स्मृतिदवस समय नै परेर वा पारेर काङ्ग्रेसभित्र पार्टी नेतृत्व आवश्यक भएको कुरा चर्किनु अनि सम्भवतः सरकार परिवर्तनद्वारा मुलुकमा झेलेन्स्की प्रकरण तीव्र हुनु, के यो पनि योजनाबद्ध संयोग हो कि ?
यसरी एक राष्ट्रिय विभूतिका रूपमा मातृभूमिका जनसाधारणलाई राजनीतिक– साहित्यिक धरोधर छाडेर गएका बीपीलाई उनको ४०ओैँ स्मृति जयन्तीमा जय नेपालको अभिवादन !