पुष्पलाल : स्वनामधन्य क्रान्तिकारी परिव्राजक
पुष्पलाल श्रेष्ठ कुनै महत्त्वाकाङ्क्षा नराखीकनै एउटा खास राजनीतिक अभियानको अर्थात् नेपाल कम्युनिस्ट आन्दोलनको केन्द्रविन्दु बन्न पुगेका व्यक्तित्व हुन् । नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहासको एउटा निर्णायक समयमा आफ्नो भावावेशलाई नियन्त्रण गर्न नसक्दा आफैँले संस्थापन गरेको नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन तथा फुटको बाटोमा पुर्याउने व्यक्ति पनि दुर्भाग्यवश पुष्पलाल नै हुन पुगे ।
डा. केआई सिंहको सिंहदरबार फौजी काण्डमा नेकपा प्रधान कार्यालयका इन्चार्ज रहेका मनमोहन अधिकारीलाई डा. सिंहले टङ्कप्रसाद आचार्यमार्फत बोलाउन पठाउँदा इन्कार गरेपछि लगत्तै गौरीभक्त प्रधानलाई फौजी ‘कु’को समर्थनमा माइक फुकी फुकी प्रचार गर्न पठाउने ‘बालव्याधि’ दुस्साहसका कारण ५–५ वर्षसम्म प्रतिबन्धित भएर भूमिगत कार्य चलाउन परेको पार्टीले वैधताका लागि सङ्घर्ष त जित्यो । तर मुलुकको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दायित्व आएको घडीमा समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारीबाट उनी आफ्नै गल्तीले गर्दा चुके । उक्त महाभूल उनले त्यतिबेला गरे जब २०१३ साल भदौमा महासचिव अधिकारीलाई उपचारका कारण पनि चिनियाँ पार्टीको आठौँ महाधिवेशनमा बन्धु प्रतिनिधिमणडलका नेताको रूपमा भाग लिन पठाउँदा उनले कार्यवाहक महासचिव दायित्व लिन ठाडै मानेनन् । यी दुई विरोधाभाषलाई ध्यानमा राखेर उनको शब्दचित्र कोरिएको छ ।
मेरा दुई नायक भए राष्ट्रिय राजनीतिको दृष्टिबाट टङ्कप्रसाद आचार्य र कम्युनिस्ट राजनीतिको दृष्टिबाट पुष्पलाल । शारीरिक रूपमा यी दुवै जना होचा कदका तर विचार र कार्यक्षमताका दृष्टिबाट बडो अग्ला व्यक्तित्व हुन् ।
राणा शासनविरुद्ध ‘षड्यन्त्र’ मा लागेको आरोपमा शहीद भएका जेठा दाजु गङ्गालाल श्रेष्ठपछिका चार जना भाइहरू क्रमशः पुष्पलाल, गौरीलाल, देवीलाल, विजयलाल र बहिनी पुष्पलता सक्रिय राजनीतिक कार्यकर्ता हुन पुगे । पूरै परिवार पछि गएर माहिला दाजुले संस्थापना गरेको कम्युनिस्ट पार्टीमा लाग्यो । यसरी प्रिय भाइबहिनीहरू काङ्ग्रेसमा र पुष्लाल भाइबहिनीहरू कम्युनिस्ट पार्टीमा लाग्नु नेपालको राजनीतिमा एउटा रोचक समानता हो । विश्वेश्वरप्रसाद कोइराला र पुष्पलालमा राजनीतिक समानता पनि इतिहासको विधान कदाचित यत्ति नै रहे पनि यी दुवै मुलुकमा प्रजातन्त्र पुनस्र्थापना गर्ने मूल उद्देश्यमा अलग अलग धारबाट सदा प्रतिबद्ध, सततः क्रियाशील भएका राजनीतिक शिखर पुरुष हुन् । त्यो मूल उद्देश्य सहयोद्धा गणेशमान सिंहको प्रधान नायकत्वमा तथा पुष्पलालका मतभिन्नतावादी भएपछि सुझबुझयुक्त रही उनकै अनुसरणकर्ता भएका मदन भण्डारीको सहनायकत्त्वमा सुसम्पम्न्न हुनु पनि इतिहासकै न्याय रहेछ ।
कलकत्तामा सन् १९४९ को अप्रिल २२ तारिखका दिन पुष्पलालले नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी तथा मोतीदेवी श्रेष्ठको संलग्नताबाट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने विचार गरे । अनि सोही सालको सेप्टेम्बर १५ तारिखका दिन नेकपाको स्थापनाको विधिवत् घोषणा गरी पार्टी घोषणापत्र जारी गरे । पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भन्ने भारतीय कम्युनिस्ट अयोध्यासिंह समेतको ६ सदस्यीय केन्द्रीय सङ्गठन समिति गठन गरिनुभन्दा पहिले पुष्पलालले धेरै राजनीतिक अनुभव बटुलिसकेका थिए । डा. सुरेन्द्र केसीले आफ्नो शोधग्रन्थ ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’मा उक्त आन्दोलनको पष्ठभूमिमा नेपाल कम्युनिस्ट पार्टीको गठन प्रक्रियाको चर्चा गर्दा सूर्यबहादुर भारद्वाजको हवला दिएर पुष्पलाल १९९८ सालमा कम्युनिस्ट विचारधारा मान्ने सङ्गठन ‘नेपाल प्रजातन्त्र सङ्घ’ मा संलग्न भइसकेको भन्ने उल्लेख गरेका छन् । परन्तु पुष्पलालले नेकपाको स्थापना गरेर क्रान्तिकारी राजनीतिक जीवन चलाउन थालेपछि उनलाई सोही नेपाल प्रजातन्त्र सङ्घका अध्यक्ष प्रेमबहादुर कंसाकार, उनका सहयोगी माणिकलाल श्रेष्ठ, लाल कम्युनिस्ट पार्टीका गणेश हलुवाई र कीर्तिपुरका स्थानीय किसान नेता बासुपासाको निरन्तर कोपभाजन एवं लाञ्छनापात्र बन्नु पनि कस्तो विडम्बना !
एक पटक त मैले उनलाई दिल्लीमा मेरो अफिसमा फाटेको प्यान्ट र प्वाल परेको कपडा जुत्ता लगाएर आएको देख्दा मेरो मन रोएको थियो ।
आकर्षक व्यक्तित्व
विसं २००४–२००५ सालको विद्यार्थी र प्रजा पञ्चायत आन्दोलनको सिलसिलामा आफू पुष्पलालबाट प्रत्यक्ष प्रभावमा परेको सम्झना मलाई छैन । मलाई गोपालप्रसाद रिमाल, गोपालदास श्रेष्ठ, विजयबहादुर मल्ल, त्रिपुरबरसिंह प्रधान र तिलकराज शाहीको सम्झना आउँछ । मैले त्यतिबेला पुष्पलाललाई लक्षित गर्न सकिनँ । परन्तु मलाई त कलकत्ताको आफ्नो होस्टेलको कोठामा हिक्मतसिंह भण्डारीले पुष्पलाललाई ल्याउँदाको उनको सुन्दर अनुहार, तेजिला आँखा र प्रभावशाली व्यक्तित्वको जुन सम्झना छ । त्यो नै अविस्मरणीय रहेको छ । उनको आकषर्ण शक्ति मलाई त्यही दिनमै अनुभव भएको थियो । त्यो शक्ति उनीसँग प्रबल सङ्गठन भएको बेलामा होस् वा आफ्ना पूर्वशिष्यहरू खासगरी आनन्दबहादुर क्षेत्रीको नामले मोहनविक्रम सिंहद्वारा प्रहार गरिएको लाञ्छना सहँदा होस् वा आफ्ना पुराना साथीहरू मनमोहन अधिकारी, तुलसीलाल अमात्य, नरबहादुर कर्माचार्य, हिक्मतसिंह भण्डारी, शम्भुराम श्रेष्ठ, निर्मल लामा, भरतराज जोशी, मदन भण्डारी, जीवराज आश्रित, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित आदिले साथ छोड्दै आफू सङ्गठनविहीन, प्रभावहीन र नाम मात्रको नेपाल कम्युनिस्ट पार्टीका महासचिव रहेको अवस्थामा परेर दिल्लीको गोविन्दबल्लभ अस्पतालमा मुटुको व्यथाले शरीर छोड्नुभन्दा अघिको बेलामा होस्, सदैव साथै रहेको म अनुमान गर्नसक्छु । पुष्पलाल त कुनै घना जङ्गलमा एक्लै पर्दा पनि वनजङ्गलका जन्तुहरूलाई भेला गरेर पार्टी सङ्गठन खोल्न सक्ने क्षमता भएका बहादुर हुन् । भूमिगत अवस्थाको राजनीति गर्दा उनी जस्तो विपन्न अवस्थामा रहेका नेता अरू कोही थिएन होला । एक पटक त मैले उनलाई दिल्लीमा मेरो अफिसमा फाटेको प्यान्ट र प्वाल परेको कपडा जुत्ता लगाएर आएको देख्दा मेरो मन रोएको थियो । त्यस अवस्थामा पनि उनका आँखा त्यतिकै तेजिला र व्यक्तित्व त्यतिकै प्रभावशाली अनि मुस्कान त्यतिकै मनमुग्धकारी थियो ।
पुष्पलालले राणाशाहीको विरूद्ध साझा आन्दोलनताका नेताहरू, विशेष गरी, विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमण रेग्मीका अहङ्कारी प्रदर्शन देखेका थिए । उनले नेपालको राजनीतिमा अब आमूल परिवर्तनकारी शक्तिको अत्यावश्यकता भएको बुझे । त्यस्तो शक्तिको सङ्गठन र विस्तार अनिवार्य भएको अनुभव गरेपछि मात्र उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने अठोट गरेका हुन् । त्यस क्रममा उनी काठमाडौँदेखि कलकत्ता र बनारसदेखि दार्जिलिङ्सम्म पुगेका थिए ।
क्रान्तिकारी परिव्राजक
मुलुकमा नेकपाको संस्थापनाको सिलसिलामा आफू जस्तै युवकहरूलाई लिएर अगाडि बढ्दा कतै र कहीँ ‘संस्थापकहरू’ र ‘केन्द्रीय सङ्गठन समिति’लाई लिएर केही भ्रमहरू रहे होलान् । त्यो त व्यावहारिक त्रुटि–कमजोरी थिए, सिद्धान्त र सङ्गठनसँग जोडिएका परम महत्त्वका कुरा थिएनन् । त्यस्तो ‘बातको बतिङ्गड’ त नेकपा आफैँ विभिन्न गुटमा विभाजित भएपछि गुटगुटको नेतृत्व गर्नेहरूलाई आफ्नो औचित्य सिद्ध गर्न मात्र परेको हो । चाहे त्यो गुट ‘वामपन्थी’, ‘क्रान्तिकारी’ वा ‘संशोधनवादी’ जुनसुकै लेबुलको होस् ।
नेकपाको गठनअघि पनि आफूलाई ‘कम्युनिस्ट’ भन्नेहरू कोही थिए होलान् । तर सङ्गठन गर्नेमा अग्रसरता लिने हिम्मत, दूरदृष्टि पुष्पलाललाई छाडेर अरू कसैमा न देखिए, न त अरू कसैले उनीबाहेक झोला बोकी बोकी मार्क्सवादी पुस्तकहरू बेच्दै हिँड्ने निष्ठा देखाउन सके, न नेकपाको गठन प्रक्रियामा कार्ल मार्क्सका कालजयी ‘कम्युनिस्ट घोषणापत्र’ र अरू केही मार्क्सवादी पुस्तकहरूको अनुवाद पनि अत्यन्त जरुरी भएको कुरालाई अरू कसैले बुझ्न सके । हामी पछि पछि राजनीतिक हलचलको बेला ‘बोल्सेभिकहरूको जस्तो जोस’, ‘अङ्ग्रेजहरूको जस्तो धैर्यता’ र ‘अमेरिकीहरूको जस्तो कार्यकुशलता’ प्रत्येक कम्युनिस्टमा हुनुपर्छ भन्ने गथ्र्याैं । तर २००६ सालको समयमा त रवीन्द्रनाथ ठाकुरको ‘एक्ला चलो, एक्ला चलो’ भन्ने विख्यात नारा उठाएर इसाइ धर्म–प्रचारकहरूको जस्तो ‘मिसिनरी उत्साह’ देखाउने अरू कोही होइन पुष्पलाल नै हुन् । त्यही उत्साहले उनलाई दार्जिलिङमा रत्नलाल ब्राह्मणको सम्पर्कमा ल्यायो भने भने उनै ब्राह्मणमार्फत प्रसिद्ध भारतीय कम्युनिस्ट नेता नृपेन चक्रवर्तीकहाँ पुर्यायो । कम्युनिस्ट पार्टी जस्तो क्रान्तिकारी एवं जिम्मेदार संस्था गठन गर्नमा उच्च मार्क्सवादी शिक्षा प्राप्त गर्नुपर्ने, सङ्गठनका विधिविधानहरू जान्नुपर्ने प्रथम आवश्यकताहरू पनि पुष्पलालले बङ्गालका अनुभवी कम्युनिस्टहरूबाट नै थाहा पाए ।
यसरी काठमाडौँका सडकदेखि बनारसका गल्ली गल्लीहरूसम्म पुष्पलालको राजनीतिक यात्रा प्रबल एवं दृढ हुँदै गइरहेको थियो । त्यसपछि उनले कलकत्ताका सडकहरूबाट सुरु भएर नेपालभरि र अनेक विदेशी मुलुकहरूको परिभ्रमण गरे ।
नेकपाले आफ्नो स्थापनाको घोषणा गर्दा जारी गरेको घोषणापत्र पार्टीको पाक्षिक मुखपत्र ‘कम्युनिस्ट’ को रूपमा प्रकाशमा आएको थियो । त्यस पाक्षिकको प्रथम अङ्क नै त्यस रूपमा आएको थियो । जसको शिरमा ‘पहाड पर्वत, खोलानाला जग्गाजमिन सबको, मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबैको’ भन्ने पार्टी परेड गीत अङ्कित गरिएको थियो ।
एक दिनको कुरा
यहाँनेर एउटा कुरा सम्झन्छु, एक दिन पीएलको ढोकाटोलको घरमा पार्टी कामको सिलसिलामा जाँदा उनी एक्लै थिए । आवश्यक कुराहरू सकिएपछि मैले उनीसँग एउटा जिज्ञासा राखेँ ।
प्रत्येक कम्युनिस्ट पार्टी आफूलाई मजदुर तथा किसान वर्गको, सर्वहारा वर्गको अगुवा पार्टी भन्छ । तर त्यसको नेतृत्वमा त प्रायः मध्यमवर्गीय बुद्धिजीवी समुदायका मानिसहरू नै हुन्छन्, खास मजदुर वर्ग र किसानबाट आएको त धेरै कम देखिन्छन् । यस्तो किन हुन्छ ? अनि कम्युनिस्ट पार्टी यी दुई वर्गहरूका मात्र हितैषी र संरक्षक हो भने अरू वर्गका मानिसहरू त्यसको सहाराबिना नै रहनुपर्ने ? त्यस्तो किन ? त्यस प्रसङ्गमा उनले कम्युनिस्ट पार्टीको नेतृत्वमा रहने मानिसहरू पहिले जुनसुकै वर्ग वा समुदायमा पैदा भएका किन नहुन् एक कम्युनिस्टका हैसियतले उनीहरू मजदुरवर्गीय एवं सर्वहारावर्गीय विचारधाराका हुन जान्छन् र त्यस्तै हुनुपर्छ अन्यथा उनीहरूलाई कम्युनिस्ट नेता भन्न सकिन्न भनेको म झलझली सम्झिन्छु । विचारधाराको यो सर्वाेच्चतालाई मान्दामान्दै पनि उनीहरू समाजका अरू दलित पीडित एवं मध्यम वर्गहरूको सहयोगको ठुलो महत्त्वलाई कदापि अवमूल्यन गर्दैनन् भनेको म सम्झन्छु ।
अरू कम्युनिस्ट नेताहरू अर्थात् प्रधानमन्त्री हुँदा मनमोहन अधिकारी, उपप्रधानमन्त्री हुँदा माधवकुमार नेपाल, शिक्षामन्त्री हुँदा साहित्यकार मोदनाथ प्रश्रित, राजदूत हुँदा तुलसीलाल अमात्य, सांसद हुँदा शम्भुराम श्रेष्ठ, राजसभा स्थायी समितिका सभापति र मन्त्री हुँदा डा. केशरजङ्ग रायमाझी, ‘गाउँ फर्क’ का अध्यक्ष हुँदा कमलराज रेग्मी, मन्त्रीहरू हुँदा डीपी अधिकारी, राधाप्रसाद घिमिरे, शैलेन्द्रकुमार उपाध्याय, साहना प्रधान, नीलाम्बर आचार्य, (२०६५ सालतिरका गणेश शाह), प्राध्यापक हुँदा हिक्मतसिंह भण्डारी, संविधान निर्माण सुझाव समितिका सदस्य हुँदा निर्मल लामा र नेकपा (मशाल) का सर्वेसर्वा हुँदा मोहनविक्रम सिंहलाई, उपप्रधानमन्त्री हुँदा वामदेव गौतम र भरतमोहन अधिकारीलाई, मन्त्री हुँदा झापाली ‘क्रान्तिकारीत्रय’ भनी श्रेय लिने राधाकृष्ण मैनाली, सीपी मैनाली, केपी शर्मा ओली र २०६६ सालमा फेरि प्रधानमन्त्री हुँदा माधवकुमार नेपाललाई र यस्तै अरूहरूलाई सत्ताको न्यानोपन भोग्दा कस्तो लागेको थियो होला, त्यो त जान्दिनँ । तर पुष्पलाल आजीवन ‘सर्वहारा मजदुर वर्गको अगुवा’ रहे भन्ने कुरामा चाहिँ कतै कुनै शङ्का छैन । नेकपाको दोस्रो महाधिवेशनमा वैचारिक भ्रमका कारण त्यस्तो विचार परिवर्तन गर्दाको बेलामा पनि पुष्पलालले आफ्नो त्यो छवि गुमाएनन् ।
यसरी काठमाडौँका सडकदेखि बनारसका गल्ली गल्लीहरूसम्म पुष्पलालको राजनीतिक यात्रा प्रबल एवं दृढ हुँदै गइरहेको थियो । त्यसपछि उनले कलकत्ताका सडकहरूबाट सुरु भएर नेपालभरि र अनेक विदेशी मुलुकहरूको परिभ्रमण गरे । अन्त्यमा दिल्लीको गोविन्दबल्लभ पन्त अस्पताल पुगुन्जेलसम्म उनको कम्युनिस्ट पदयात्रा, मार्क्सवादी ‘चरैवेति’ मा पुगेर रूपान्तरित भयो । त्यहीँ परमविश्राम लियो भन्नुमा कुनै अत्युक्ति हुने छैन ।
प्रतीकात्मक अभिव्यक्ति
उनको देहावसानपछि अस्थीकलश काठमाडौँमा ल्याइयो । राजधानीका मूल सडकहरूमा राजनीतिक अभिव्यक्तिको मौन जुलुसद्वारा त्यसको प्रदर्शन गराउँदा उनका पहिलेका सहकर्मीहरू र हाल ‘विपक्षी’ भएका शम्भुराम श्रेष्ठ तथा निर्मल लामाबीच कलश रहेको गाडीमा को अघि बस्ने र कसको हातमा कलश रहने भन्ने कुरामा त्रिभुवन विमानस्थलबाहिर चोकमा केही बेर किचलो भएको आफैँले देखेको हुँ । कसैलाई पनि पीडा पार्ने त्यस्तो व्यवहार भए पनि पुष्पलालको अस्थी शोभाभगवती मन्दिर नजिकै विष्णुमती नदीमा प्रवाह गरिनु अत्यन्त मार्मिक र प्रतीकात्मक अभिव्यक्ति थियो । त्यहीँ नै उनका दाजु क्रन्तिवीर शहीद गङ्गालालको शरीरले वीर शहीद दशरथचन्दका साथ परमविश्राम लिएको थियो । जसरी गङ्गालाल र दशरथचन्दको बलिदानबाट निरङ्कुश राणाशासनको अन्त्यको प्रारम्भ भएको थियो । त्यसरी नै पुष्पलालको अस्थी विसर्जनले पनि एकतन्त्री पञ्चायत शासनको समाप्तिको थालनी गरेको हो ।
अन्त्यमा म यो प्रकरणलाई पीएलबारे मैले श्रद्धाञ्जली स्वरूप ‘विश्वमित्र’ पत्रिकामा लेखेको ५२ सालको लेखलाई उद्धृत गरेर टुङ्ग्याउनु उचित सम्झन्छु ।
“२०५२ सालको असार महिनादेखि चर्केको राजनीतिक कोलाहलबीच पुष्पलाल स्मृति प्रतिष्ठानबाट पीएलको स्मृतिमा लेख लेख्न अनुरोध गरिएको पत्र मलाई प्राप्त भयो । म तत्कालै अप्ठेरो स्थितिमा परेँ । एउटा सिङ्गो इतिहास रहेको एक व्यक्तिलाई सीमित पृष्ठमा कसरी चित्रण गर्ने ? परम्परावादी शैली, प्रशंसाको पुल बाँधेर व्यक्तिपूजाको स्तरमा पुर्याउने तरिकाबाट हटेर मूल्याङ्कन गर्दा ‘विधर्मी कलम’ चलाएको आरोप लाग्न सक्थ्यो । आखिर ७ सालको संस्कृतिअनुसार प्रत्येक कम्युनिस्ट नेता, त्यसमाथि पनि महासचिव पद ओगटेको व्यक्ति कार्यकर्ताद्वारा सर्वगुण सम्पन्नका रूपमा पुजिन्थे । तर आजको दृष्टिमा त पीएल न त देवत्व प्राप्त पात्र थिए न त ‘परमहंस’को कोटीमै पुगेका व्यक्ति । प्रतिष्ठानलाई छाप्न अप्ठ्यारो पर्ने लेख पठाउनुभन्दा आफ्नो यही स्तम्भबाट पीएलबारे शब्द व्यक्त गर्नु श्रेयस्कर लागेकाले उहाँलाई बेग्लै कलेवरमा प्रस्तुत गर्न चेष्टा गरेको छु ।
पुष्पलाल जहाँ हुनुहुन्थ्यो त्यहाँ उहाँ सँगसँगै आन्दोलनले पनि गति लिइरहेको अनुभूति हुन्थ्यो ।
नेपालका चार सुपुत्र
वामपन्थी मित्र हरिश्चन्द्र आचार्य नेपालका चार सुपुत्रहरूमा भगवान वेदव्यास, भगवान बुद्ध र विश्वेश्वरप्रसाद कोइरालाको नामपछि पुष्पलालको उल्लेख गर्न चुक्नुहुन्न । अघिल्ला दुई जना पौराणिक भगवान् हुनुहुन्छ भने पछिल्ला दुई राजनीतिक रूपका भगवान् बीपीलाई आज पनि भगवानसरह ठान्ने काङ्ग्रेसजनहरू धेरै नै छन् तर पीएललाई त्यस कोटीमा राख्ने आचार्य जस्ता भक्त त अत्यन्त कम होलान् । आचार्यको जस्तो दृष्टिकोण नेताप्रति कार्यकर्ताको अगाध भक्ति र विश्वासको द्योतक हो । त्यस्तो हुनु स्वाभाविकै हो किनभने पीएल कार्यकर्ताहरूलाई साँच्चै ‘आफ्नो आँखाको नानी’ जत्तिकै माया गर्नुहुन्थ्यो । ‘आफ्नो आँखाको नानीलाई जत्तिकै माया... यो वाक्यांश कम्युनिस्टहरूमाझ त्यतिबेलाको एउटा अत्यन्त लोकप्रिय उक्ति हो ।
‘कार्यकर्ताहरूलाई सात सालपछिको राजनीतिक सङ्घर्षमा पठाउँदा ती कतै ‘मुक्तिसेना’ को नामको दुरूपयोग गर्ने पुलिसको बर्बरतामा पर्ने हुन् ? वा पञ्चायत कालमा प्रवासबाट कार्यकर्ताहरूलाई कुनै गम्भीर दायित्व दिएर पठाउँदा तिनीहरूको जिउज्यान जोखिममा पर्ला कि ? पीएललाई सात सालदेखि ०३५ सालसम्म अनवरत रूपमा यो पीरले छोडेन । कार्यकर्ता आजको जस्तै कारखानाका कन्भेयर बेल्टमा तम्तयार भएर आउने वस्तु थिएनन् । तिनताका कार्यकर्ता जुटाउन त तपस्या नै गर्नुपथ्र्याे । अतः कार्यकर्ताहरूको घरघरमा गएर तिनका आमाबुबालाई पनि पीएल राजनीतिक प्रेरणा दिँदै हिँड्नुहुन्थ्यो । यसरी पीएल परिवारहरूमा पनि प्रिय व्यक्ति हुनुहुन्थ्यो ।
पुष्पलाल जहाँ हुनुहुन्थ्यो त्यहाँ उहाँ सँगसँगै आन्दोलनले पनि गति लिइरहेको अनुभूति हुन्थ्यो । प्रत्येक बैठकमा कार्यकर्ताहरूका लागि राजनीतिक कामको जिम्मा, अघिल्लो काम कार्यान्वयन भए नभएको बारे प्रतिवेदन, त्यसबारे समीक्षा, आलोचना तथा आत्मालोचना अनि फेरि सङ्घर्ष बढाउने दायित्व, यो नित्य क्रम थियो । यस प्रसङ्गमा उहाँ कठोर शिक्षकसरह हुनुहुन्थ्यो । तर नेताहरूले पीएललाई या त आफ्नो महत्त्वाकाङ्क्षाको बाटोमा बाधक या आफ्नो अभीष्ट सिद्धिमा प्रयोग गर्नसकिने साधन वा ‘क्रान्तिकारी’ शब्दाडम्बरले भरिएको राजनीति गर्नका लागि सजिलोसँग परित्याग गर्न सकिने व्यक्ति ठाने । पीएल पार्टी सत्ताको केन्द्रबिन्दुमा भएको समयदेखि मुटुको व्यथाद्वारा दिल्लीमा निधन नहुन्जेलसम्म उहाँप्रति पार्टी नेताहरूको व्यवहार शब्दशः राहु, केतु आदिको जस्तै थियो । स्वयंमा पीएल समझदार, सहिष्णु, सद्भावनायुक्त र सकारात्मक अर्थमा सम्झौतावादी नेता हुनुहुन्थ्यो । सहृदयता र स्नेहीपन त उहाँको चरित्रगत विशेषता नै थियो । तर २००८ सालमा पार्टी केन्द्रीय समितिले उहाँलाई ‘उग्र वामपन्थी पथ–विचलनवाद’ को आरोपमा महासचिव पदबाट हटाएर उहाँको स्थानमा मनमोहन अधिकारीलाई बहाल गरेपछि पीएलमा नेतामा अनिवार्य रूपले हुनुपर्ने गुण पनि क्षीण हुँद गयो । उहाँ २०१७ पछि त विभिन्न गुट–उपगुटमा विभक्त कम्युनिस्ट पार्टीका नाइकेहरूका ‘पक्ष’ वा ‘विपक्ष’ मा प्रयुक्त गरिने व्यक्ति बन्न पुग्नुभयो । आफूले जन्माएका– हुर्काएका सन्तानहरूले नेपालका पहाड–पर्वत, फेदी र मधेश ढाक्दाढाक्दै पनि उहाँ आफ्नो जीवनका आखिरी दिनहरूमा त एक्लो प्राणी रहनुभयो । सिङ्गो पार्टीलाई फुटाउनमा प्रमुख कारक तत्त्व भएबापत नियतिले नै उहाँलाई त्यस्तो सजाय दियो । त्यस अर्थमा पीएल कम्युनिस्ट इतिहासका एक वियोगान्त पुरुष हुनुहुन्थ्यो ।
वियोगान्त पुरुष
२००७ देखि २०३५ सम्म नै पीएल एक न एक निहुँ र कारणमा शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी, मनमोहन अधिकारी, डा. केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, निर्मल लामा, नरबहादुर कर्माचार्य, शम्भुराम श्रेष्ठ, विष्णुबहादुर मानन्धर, गौरीभक्त प्रधान, हिक्मतसिंह भण्डारी, केशरमणि पोखरेल, कृष्णदास श्रेष्ठ आदिको कोपभाजन बन्नुभयो । तिनको राजनीतिक घातका तारो बन्नुभयो । देशभित्र राजनीति गर्दा तथा २०१७ सालपछि विदेशमा प्रवासी जीवन बिताउँदा आफूले भोगेको व्यथा र कथा पीएलले मलाई दिल्लीमा १८ सालदेखि २५ सालका बीच अनेक पटक बताउनुभएको थियो ।
पार्टीका संस्थापक महासचिव पीएलले यिनै नेताहरूका कारण आफ्नै दलको एउटै महाधिवेशनको पनि अध्यक्षता गर्ने सौभाग्य पाउनुभएन । भूमिगत रूपमा पहिलो महाधिवेशन हुँदा पीएल महासचिव पदबाट हटाइसकिनुभएको थियो । २०१४ सालमा पहिलो पटक खुला रूपमा भव्यतासँग भएको दोस्रो महाधिवेशनमा ‘भुइँफुट्टा’ डा. केशरजङ्ग रायमाझी सर्वेसर्वा हुनुभएको थियो । २०१८ सालमा बनारसमा भएको तेस्रो महाधिवेशनले तुलसीलाललाई अधिपति बनायो भने गोरखपुरमा आयोजित चौथो भेला महाधिवेशन नभईकन सम्मेलन मात्र थियो । त्यसमा पनि मूल निर्देशक ०१७ सालको दरभङ्गा सम्मेनलमा ‘गणतन्त्रवादी सशस्त्र सङ्घर्ष’ का प्रणेता मोहनविक्रम सिंह हुनुहुन्थ्यो ।
‘काङ्ग्रेस– विरोधलाई नै सात सालपछि कम्युनिस्ट राजनीतिको मूलधार बनाउनुभएका पीएलले (२०१७ पछि) बिस्तारै बिस्तारै काङ्ग्रेससँग मिलेर जनआन्दोलन गर्नुपर्ने आवश्यकता र अपरिहार्यतालाई बुझ्दै आउनुभएको थियो । यसै क्रममा उहाँलाई विश्वका शास्त्रीय मार्क्सवादी प्रस्थापना र स्वयं कम्युनिस्ट इन्टरनेसनलका सम्बन्धित प्रस्थापनाले मार्गदर्शन गरेको हुनुपर्छ । उहाँले संयुक्त जनआन्दोलनको विचारलाई अघि बढाउनुभयो । तर उहाँ आफू नै कार्यरत दलभित्र त्यस विचारले पूर्ण समर्थन पाएन भने अर्काेतिर रायमाझीको ‘राजावादी’ दललगायत विभिन्न उग्र कम्युनिस्ट गुटहरूले काङ्ग्रेससित राजनीतिक मित्रताको विचारमाथि प्रचण्ड प्रहार गरे । यहा ‘संशोधनवादी’ र ‘क्रान्तिकारीहरू’को एकमतता आफैँमा विडम्बनापूर्ण घटनाक्रम थियो ।
बनारसमा तुलसीलाल अमात्यले पीएललाई भान्सा अलग गरेर राजनीतिक उपेक्षाभाव गरेको लगत्तैपछि मोहनविक्रम सिंहले निर्मल लामाको समर्थनबाट ‘गद्दार पुष्पलाल’ नामक लाञ्छनापूर्ण प्रकाशनद्वारा पीएलमाथि राजनीतिक बज्राघातमा पार्नुभयो । पीएललाई २०३५ सालमा भएको हृदयाघातको बीउ त्यतिबेला नै रोपिएको थियो भन्नु अत्युक्ति नहोला ।
पीएलका लागि मोहनविक्रम र निर्मल लामा जुलियस सिजरका लागि बुटस र मार्क एन्टोनी जस्ता भएका थिए सुयोग्य उत्तराधिकारी । नाटकमा मोहनविक्रमले ब्रुटसको भूमिका खेल्नुभयो तर ‘एन्टोनी’ ठानिएका निर्मल लामा त ‘केसियस’ को भूमिकामा पो देखा पर्नुभयो । अनि दुःस्वप्नको चेतावनी दिन सिजरकी प्रख्यात पत्नी मूल नाटकमा जस्तो त्यहाँ उपस्थित थिइनन् । उनी त ‘पापी पेट पाल्न’ काठमाडौँको सरकारी कलेजमा प्राध्यापन गर्दै थिइन् ।
पेट पाल्ने कुरा मूल हुँदो हो त मार्क्सकी जेनीले जर्मनीमा र लेनिनकी क्रुप्स्कायाले रूसमा सम्पन्नवाल र सुविधापूर्ण जागिर पाउने थिए होलान् । तर ‘दास क्यापिटल’ तथा अन्यान्य कालजयी रचना र ‘राज्य तथा क्रान्ति’ लगायत अनेक शास्त्रीय कृतिहरू प्रकाशमा आउने थिए होलान् ? के रूसमा अक्टोबर क्रान्ति सम्पन्न हुने थियो ?
नेतृत्व उत्तराधिकारका लागि आखिरी आशा रहेका मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रितलाई वामआन्दोलनमा त्यतिबेलाकै सर्वाधिक आकर्षण रहेको नक्सलवादले तानेर लगिदिँदा पीएल ठहरै हुनुभएको थियो ।
आफूले अघि बढाएको संयुक्त जनआन्दोलनको लाइनलाई समय र परिस्थितिले प्रभावकारी बनाउँदै लगेको पीएलले देख्न पाउनुभएन । तर जीवनभर आफूले राजनीतिक प्रतिद्वन्द्वी ठहर््याएका काङ्ग्रेसी गणेशमान आफ्नो संयुक्त जनआन्दोलन नीतिका ‘सहप्रणेता’ भएको पाउँदा पीएललाई कति सुखद् आश्चर्य हुँदो हो । त्यो कल्पना मात्र गर्न सकिन्छ ।
......
पीएलको निधनपछि आफूलाई सही उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न तँछाड मछाड गरिरहेका पूर्वनिन्दकहरू आज सरकारी सहायता पाएको पुष्पलाल स्मृति प्रतिष्ठानमार्फत् होस् वा एमाले दलभित्रबाट होस् राजनीतिक घात–प्रतिघातमा पीएललाई प्रशंसामा उछिन्ने होडबाजीमा लागेको देख्दा कतै यिनीहरू इतिहासको पानामा उनीलाई समुचितरूपमा मूङ्याङ्कन हुनबाट वञ्चित गर्ने भए भन्ने मात्र आशङ्का लागिरहन्छ ।