सुन तस्करीले २०५० को दशकमा बदनाम थियो सरकारी विमान, भनिन्थ्यो ‘सुनचरी’
काठमाडौँ । नेपालको राष्ट्रिय ध्वजावाहक विमानलाई कुनै बेला ‘सुनचरी’ नामले समेत चिनिन्थ्यो । तत्कालीन समयमा ‘शाही नेपाल वायुसेवा निगम’ भनेर चिनिने राष्ट्रिय ध्वजावाहक विमान सेवालाई विक्रम सम्वत् २०५० को दशकमा ‘सुनचरी’ नामले समेत पुकार्नुको पछाडि सुन तस्करी काण्डमा प्रयोग हुनु नै हो ।
२०५५ सालमा गठित तत्कालीन संसदीय छानबिन समितिको रिपोर्टमा अन्तर्राष्ट्रिय उडान भर्ने शाही नेपाल वायु सेवा निगमको जहाजमार्फत सुन तस्करी हुने गरेको उल्लेख छ ।
तत्कालीन प्रतिनिधि सभाले सांसद परि थापाको संयोजकत्वमा बनाएको राजस्व चुहावट छानबिन समितिले त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार तथा देशका अन्य भन्सार नाकाबाट हुने तस्करी तथा राजस्व चुहावटका बारेमा अध्ययन गरेको थियो । सो अध्ययनले शाही नेपाल वायुसेवा निगम मार्फत विभिन्न देशबाट सुन लगायत विभिन्न सामग्री तस्करी हुने देखाएको थियो ।
सो प्रतिवेदनमा भनिएको छ, ‘विमानमा कार्गो गरेर मालसामान ओसार पसार गर्दा वैध अथवा अवैध सामान भन्नेसँग विमानसेवाको खास सरोकारभन्दा पनि ढुवानी भाडासँग सरोकार रहन सक्छ । तर विमानमै गलत नियतले अवैध सामान फिट गरी ल्याउने भन्ने अत्यन्त गम्भीर विषय हो । विगतमा कयौं पटक हङ्गकङ्ग, बैंकक र सिंगापुर, दुबईबाट काठमाडौं उडान गर्ने विमानमा सुन लगायत बहुमूल्य धातु फिट गरी ल्याउने गरेको प्रकाशमा आएका घटना छन् । कतिपय घटनाहरूमा पक्राउ समेत परेका छन् । यिनै क्रियाकलापले गर्दा शाही नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका विमानलाई सुनचरी सम्मको नामकरण नै भएको छ ।’
प्रतिवेदनमा अवैध ओसार पसार गरे बापत र जहाजमा अवैध रूपमा सामान फिट गरे बापत विमान सेवाका पदाधिकारीहरूलाई केही न केही सजाय र जरिवाना अवश्य हुनु पर्ने भए पनि त्यस्तो नभएको जनाइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘विदेशमा विमानमा सामान फिट गर्ने भन्ने कुरा विमान सेवाका पदाधिकारी र सदस्यहरूको संलग्नता बिना सम्भव रहँदैन । यो विषय विदेशमा फिट गरी ल्याउँदासम्म मात्र नभई विमानस्थलमा अवतरण भएपछि पनि ह्याङ्गरमा राखी प्राविधिकहरू र व्यवस्थापन समेतको मिलोमतो बिना पार गर्न सक्ने अवस्था रहँदैन । यसै गरी विमानको सिटमा, ट्वाइलेटमा वा विमानका अन्य भागमा बेवारिसे सामान फेला पर्ने समेत विमान सेवाका कर्मचारीको मिलोमतो बिना सम्भव छैन । त्यस्तै प्रकाशमा आए अनुसार अवैध रूपमा विदेशी मुद्रा, सुन र वहुमूल्य मालसामान ओसार पसार गरिदिनेमा विमान सेवाका चालक, परिचारक, परिचारिका, लोडर, विमान सफा गर्ने तल्लो तहका कर्मचारी संलग्न रही विमानको लागि क्याटरिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको गाडी, फोहोर फाल्ने थैला जस्ता साधनहरूबाट अवैध रूपमा सामान पार गर्ने बुझिएको छ । यस कार्यमा यदाकदा उच्च पदस्थ कर्मचारी र राजनैतिक व्यक्तिहरूको समेत नाम गाँसिने गरेको छ । यसैगरी शानेवानिका परिचारक, परिचारिका र तल्लो तहका कर्मचारीहरूले स्वीपर, लोडरले अवैध तरिकाले विदेशी मुद्रा तस्करी गर्न सघाउने समेत पाइएको छ । कतिपय केश हाल पनि कारवाहीको प्रक्रियामा छन् ।’
२०५५ सालमा सुन, विदेशी मुद्रा तस्करी लगायतका अन्य कार्यमा संलग्न रहेको प्रमाणित भई निगमबाट ६ जनालाई विभागीय कारवाही भएको, स्वीपर राजु पोडे विदेशी मुद्रा अपचलन गरेको अभियोगमा, कप्तान केशव कृष्ण श्रेष्ठ, विमान परिचारिका तुलसा बस्नेत, विमान परिचारिका रेणु क्षेत्री र वरिष्ठ क्याबिन एटेण्डेन्ट उत्तम कुमार श्रेष्ठ अवैध रूपमा सुन पैठारी गरेको अभियोगमा विभानस्थल भन्सार मार्फत कारबाहीमा परेको, तुम्लीङ्गटार स्टेशनका स्वीपर बुद्धिबहादुर कुमाल यात्रुको झोलाबाट पैसा र सुन चोरी गरेको अभियोगमा कारबाहीमा परेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै तत्कालीन शाही नेपाल वायु सेवा निगमकी परिचारिका शान्ता खनाल विदेशी मुद्रा अवैध निकासी सम्बन्धी अभियोगमा राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको, निगमकी एक विमान परिचारिका अवैध सामान पैठारी गरेको अभियोगमा जापानमा पक्राउ परी जापानमै कारबाही भइरहेको, विमानका कप्तानदेखि विमान परिचारिका र स्वीपरसम्म अवैध कारोबारमा लागि राजस्व चुहावट लगायतका क्रियाकलापमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०४७–४८ देखि २०५४–५५ सम्म अवैध सुन पैठारी सम्बन्धी ४५१ जनाबाट आयात भएको सुन जफत गरी ४४१ वटा मुद्दा फैसला गरिसकेको र १० वटा मुद्दा फैसला हुन बाँकी रहेको विवरण उल्लेख गरेको छ ।
तत्कालीन संसदीय छानविन प्रतिवेदन : २०५० सालमा चाँदीभित्र सुन राखेर तस्करी
तत्कालीन राजस्व चुहावट सम्बन्धी संसदीय समितिको प्रतिवेदन अध्ययन गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुने देखिन्छ । समातिएको सुन बापत सुराकी खर्चको नाममा करोडौँ रकम हिनामिना हुने गरेको देखिन्छ । साथै मुद्दा अघि नबढाउन तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले नै दबाब दिएको कुरा प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ–
मिति २०५० माघ २३ का दिन काठमाडौं बागबजार बस्ने मेहताव उदिन र नकिम उदिन समेतले भन्सारका कर्मचारीहरुसँग मिलेमतो गरी चाँदीभित्र सुन लुकाई शाही नेपाल वायुसेवा निगम २३० को दुबई–काठमाडौंको उडानबाट सूर्यबहादुर महर्जन मार्फत छली आएको सुन पक्राउ परेको थियो । उक्त सुन मुद्दाको मिति २०५५ आषाढ २३ गते फैसला भई रु.७८ लाख ५ हजार ३६६ रुपैयाँ सुराकी खर्च भुक्तानी भएको कागजातबाट देखियो । उक्त सुन मुद्दामा प्रहरी प्रधान कार्यालयबाट भएको छानबिन सम्बन्धी प्रतिवेदन समेत उपलब्ध छ । यस मुद्दामा समेत फैसला अध्ययन विश्लेषण गर्नु जरूरी देखिन्छ भने सुराकीलाई भुक्तानी दिएको रकम वास्तविक सुराकीले नपाई काल्पनिक सुराकीहरूले भुक्तानी लिएका छन् भन्ने बुझिएको छ । उक्त सुराकी खर्च त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मिति २०५५ असार २६ गते भुक्तानी भएको छ । यस सम्बन्धी समितिबाट कागजात माग भएकोमा ‘माननीय अर्थ मन्त्री रामशरण महतले चालु केशहरूलाई नहेरी दिनको लागि समितिका सभापतिलाई टेलिफोनबाट सम्पर्क गरेको बुझियो । यसमा उल्लेखित केश २०५० सालको भएको र फैसला, भुक्तानी मात्र २०५५ असार २६ मा भएकोले चालु अवधिको केश भन्न नमिल्ने छ भने अर्कोतर्फ छानबिन समितिमा अर्थमन्त्रीले यस प्रकारको प्रभाव र दबाब दिन तथा आग्रह गर्न नमिल्ने समेत उप–समितिले महसुस गरी समिति समक्ष प्रतिवेदन गरेको छ ।
यस सम्बन्धमा भन्सार प्रशासक युवराज भुषाललाई समिति समक्ष उपस्थित गराई जानकारी माग गर्दा सुराकीको भुक्तानीको कागजातबाट सुराकी पहिचान हुने हुँदा यस्ता कागजात पेस गर्न वा देखाउन बाध्य नगरियोस् भन्ने मनसाय व्यक्त गरेका छन् । त्यस्तै गरी मिति २०५४÷८÷३० को कोरियन कुटनीतिज्ञको मुद्दा सम्बन्धी सम्पूर्ण जिम्मा तत्कालीन प्रशासकले लिने भनि आफ्नो जिम्मेवारीबाट समेत पन्छिएका छन् । कोरियन नागरिकको केश र मेहताव उदिन, नकिम उदिनको केशको सुराकी खर्च भुक्तानी सम्बन्धमा छानबिन गरिनु पर्ने देखिन्छ । समिति समक्ष सुराकीले नै भुक्तानी पाएको भन्ने निश्चित आधार तथा प्रमाण पेस गर्न इन्कार गरिएकोले थप शंकास्पद भएको छ । माननीय अर्थमन्त्रीले समितिलाई दबाब दिनु उचित होइन । यस प्रकरणमा अर्थ मन्त्रीको मनसाय उचित मानिएन ।
मिति ०५५÷४÷१७ मा समितिले २५ वटा अवैध सुन पैठारी सम्बन्धी मुद्दाका फाईल माग भएकोमा भन्सार विभागबाट ती मुद्दा फैसलाका नक्कलमात्र प्राप्त हुन आएका छन् । यी फैसला अध्ययन गर्दा विदेशी नागरिकहरूले सुन चोरी पैठारी गरेकोमा बिगो र जरिवाना दुवै असुल गरेकोमा मिति ०५४÷८÷३० को फैसलामा जस्तो जरिवाना छुट दिएको पाइएन । ती मुद्दा सम्बन्धी सम्पूर्ण कागजात र सुराकी खर्च भुक्तानीको विवरण समेत माग भएकोमा उल्लेखित विवरण प्राप्त नभएकोले थप विश्लेषण गर्न सकिएन । भन्सार विभाग र त्रिभुवन विमानस्थल भंसार कार्यालयमा रहेको अवैध सुन पैठारी सम्बन्धी मुद्दाका सम्पूर्ण फाइलहरूमा थप छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी कार्यालयमा स्वदेशी वस्तु खपत : कसरी होला कार्यान्वयन ?
-
प्रहरीका भान्से रुम्बाको हत्यामा सानो हतियार प्रयोग, अनुसन्धान विभागका इन्स्पेक्टरसँग सोधपुछ
-
निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतको अस्वीकार
-
श्रीमतीको नाम जोडेर प्रश्न उठेपछि रक्षात्मक बने सभापति पोखरेल
-
एमपक्स सङ्क्रमण पुष्टि भएका बिरामीको अवस्था कस्तो छ ?
-
रवि लामिछानेको सांसद पद निलम्बन