सुदूरको नियति : नेपालमा रोपाइँ सकियो, स्याउ टिप्न भारत जाने युवाको लर्को
धनगढी । खेतीपातीको काम सकिएपछि सुदूर पश्चिमेली भारततिर पलायन हुन थालेका छन् । सिजन अनुसारको मजदुरी गर्नका लागि नेपाली युवा भारत पस्न लागेका हुन् । रोपाइँको काम सकेर धेरै नेपाली छोटो अवधिको कामका लागि भारत जाने गरेका छन् । अहिले भारत जाने त्यस्ता युवाको त्रिनगर भन्सार नाकामा लर्को लाग्ने गरेको छ ।
‘यता कामधन्दा सकिएकाले केही कमाउने आसमा भारत पुगेका छौ’, कैलालीको गौरीगङ्गा नगरपालिका १० नुक्लिपुरका ठगवीर चौधरी भने–‘अब दीपावलीमा मात्रै फर्किन्छौँ ।’ त्ससबेलासम्म अहिले रोपिएको धान समेत पाकेर काट्ने बेला हुने भएकाले अहिलेलाई खाली समयमा भारतको हिमाञ्चल प्रदेशको सिमलातर्फ जान लागेको उनको भनाइ छ ।
उनीसँगै अन्य ४ जना युवा सिमला पुगेको बताउँदै स्थानीय तथा नुक्लिपुर होम स्टेका अध्यक्ष दिनेश दहितले लगत्तै ४० जना युवाको समूह साउन ५ गते सिमलाको लागि हिँड्ने तयारीमा रहेकाे बताए । उनीहरु कोही यसअघि पनि सिमला गएर स्याउ टिप्ने काम गरिसकेका छन् भने, कोही पहिलो पटक जाँदै छन् ।
कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू भारततर्फ गइरहेको बताइएको छ । यहाँ उपयुक्त रोजगारी नपाइने भएकाले तन्नेरीदेखि ६० वर्ष लागिसकेका व्यक्ति पनि मजदुरीका लागि उतै गइरहेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का जीवन मगरले भने, ‘गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी हरेक वर्ष जानु पर्दैनथ्यो । तर, कुनै किसिमको रोजगारी छैन र कृषि पेसाले मात्रै गुजारा चल्दैन । त्यसैले काम गर्न भारत जानुपर्ने बाध्यता छ ।’
रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरू भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि नेपालीहरू जाने गरेका हुन् । खास गरेर उनीहरू स्याउ टिप्ने, घाँस काट्ने लगायतको कामका लागि भारत जाने गरेका छन् । साउनमा गएकाहरू तीन÷चार महिना काम गरेर दसैँ वा तिहारमा फर्किने गरेका छन् ।
चार÷पाँच महिना काम गर्न पाएमा चाडपर्वको बेला ४०५० हजार रुपियाँ कमाएर फर्किने उनीहरू बताउँछन् । गाउँघरबाट समूह बनाएर धेरै मान्छे भारतमा काम गर्न जान थालेपछि कोही रहरले पनि कामका लागि उता जाने गरेका छन् भने, कोही बाध्यताले । घरको आर्थिक अवस्था कमजोर भएपछि नचाहेर पनि कोही व्यक्ति बाध्यताले मजदुरी गर्न भारततर्फ जाने गर्दछन् ।
यसो त सुदूरपश्चिमेलीहरु अहिले मात्रै होइन, वाह्रैमास कामको खोजीमा भारत जाने गरेका छन् । यहाँको ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीय स्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर हुँदै आएका छन् ।
काम गर्न भारत जानेका यकिन तथ्याङ्क भने छैन । हालसम्म कुनै पनि निकायले भारतमा काम गर्न जाने मजदुरको तथ्याङ्क राखेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले भारत जानेको तथ्याङ्क राख्ने उद्देश्यले त्रिनगर भन्सारमा नागरिक सहायता कक्ष राखे पनि त्यो व्यवस्थित हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
कांग्रेसको १५ बुँदे आन्तरिक सर्कुलर : एमालेलाई नबिच्क्याउने, गालीगलौज नगर्ने
-
विश्वकी सबैभन्दा अग्ली र सबैभन्दा होची महिला चियाका लागि भेटेपछि...
-
भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक