मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

सुन तस्करी प्रकरणको रहस्य खुल्दै, १० दिन म्याद लिएर तीव्र अनुसन्धान

बिहीबार, ०४ साउन २०८०, २१ : ५२
बिहीबार, ०४ साउन २०८०

आज मिति २०८० साल साउन महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ । 
सुन तस्करीको पोल खुल्दै
अवैध सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ र कम्पनीका मालिक भनिएका व्यक्ति सामान्य ‘ज्यामी’ भएको खुलेसँगै राजश्व अनुसन्धान विभागले यही क्युसमेतलाई आधार मानेर अनुसन्धान अधि बढाएको छ । 
अनुसन्धानका क्रममा रहस्यहरु खुल्ने क्रम सुरु भएको विभागका अधिकारीहरुको भनाइ छ । 


मालिक भनिएका दोलखाका दिलीप भुजेलले २० हजार लिएर अरुका लागि कम्पनी खुलाएको खुलासा भएको हो । उनी सामान्य ज्यामीका रुपमा कार्यरत रहेको रातोपाटीले बुधबारको रिपोर्टमा उल्लेख गरेको छ । 
नेपालमा त्रिभुवन विमानस्थलको बाटो भएर ठुलो परिणाममा सुन तस्करीका घटना विगतमा पनि निकै हुने गरेका थिए । विक्रम संवत् २०५० को दशकको नेपालमा अत्यधिक सुन तस्करी हुने गरेको पुराना अभिलेखले देखाउँछ ।

पक्राउ पर्नेको संख्या ९ पुग्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ थप दुईजना पक्राउ परेका छन् । काठमाडौँको कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार श्रेष्ठको ठेगाना खुलेको छैन । काठमाडौँबाटै पुष्करराज भट्टलाई पनि पक्राउ गरिएको छ । यससँगै पक्राउ पर्नेको संख्या ९ पुगेको छ । 

राजश्व अनुसन्धान विभागले समातेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा पुगेको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको रातोपाटीलाई जानकारी दिए ।

१० दिनको म्याद
सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।
आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् ।

मल्हात्राको दाबी
व्यापारी दिपककुमार मल्होत्राले बुधवार समातिएको झण्डै एक क्विन्टल तस्करीको सुनबारे आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको प्रष्टीकरण दिएका हुन् ।

थप समाचार

कांग्रेस बैठक
कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार पनि जारी रह्यो । मंगलबारदेखि जारी बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । 

राप्रपाले ताेक्यो जिम्मेवारी
सङ्गठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ । राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेतासमेतलाई समेटेर जिम्मेवारी तोकेको हो ।

जनमत पार्टीको कारबाहीमा परेका शिवचन्द्र कुशवाहाले आफू सो पार्टीमा नरहेको प्रतिक्रिया दिएका छन् । पार्टीले कारबाही गरेको घोषणापछि रातोपाटीको सम्पर्कमा आएका कुशवाहाले आफूले कहिल्यै जनमत पार्टीको सदस्यता नलिएको दाबी गरे ।

सर्वोच्चको आदेश
संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्थाविरुद्ध दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश र अन्तरिम आदेशका लागि प्रतिवादीहरुलाई छलफलमा झिकाउने आदेश दिएको छ ।

राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । 
पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क गरे ।

कोशीको विवाद
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमले सर्वोच्चलाई लिखित जवाफ पेश गरेका छन् । तीनै जनाको जवाफमा सरकार गठन प्रक्रियामा संविधानको उल्लंघन नगरेको जिकिर रहेको स्रोतको दाबी छ ।

अर्थको ८१ बुँदे मार्गदर्शन
बजेट कार्यान्वनका लागि अर्थमन्त्रालयले ८१ बुँदे मार्गदर्शन जारी गरेको छ । बिहीबार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको हो।

अन्य दैनिक घटनाक्रम
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक वर्षमा गरेका काम कारबाहीको फेहरिस्तसहितको रिपोर्ट कार्ड सार्वजनिक गरेको छ ।  सीआईबीले बिहीबार आर्थिक वर्ष २०७९÷८० को कार्यप्रगति सार्वजनिक गर्दै  विभिन्न मुद्दामा कुल १२५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

महिला विश्वकप फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार भएको दोस्रो खेलमा आयोजक अस्ट्रेलियाले आयरल्यान्डलाई १—० गोलले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा अस्ट्रेलियाले निर्णायक गोल गरेको थियो ।

नेपालमा विदेशी फिल्मको दबदबा देखिएको छ । आर्थिक वर्ष २०७९–८० मा देशभरका हलमा कुल १३५ फिल्म रिलिज हुँदा विदेशी फिल्मले धेरै कमाएका छन् ।
गत आर्थिक वर्षमा नेपालमा विदेशी फिल्ममात्र कुल ७८ वटा प्रदर्शनमा आएकामा ती फिल्मले ७९ करोडभन्दा धेरै रुपैयाँ कमाएका छन् । 

यो पनि छुट्यो कि ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप