सुन भित्र्याउने रेडी ट्रेड : चैत १९ मा दर्ता, दुई महिनामा २८ पटक सामान आयात

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा एक गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् २१ वर्षीय दिलीप भुजेल । गाउँमै प्लस टु सम्मको अध्ययन गरेपछि रोजगारीको खोजीमा करिब १० महिना अगाडि मात्रै दिलीप काठमाडौँ आएका थिए । काठमाडौँ आएर सुरुमा ज्यामी मजदुरको काम गरेका दिलीप अहिले पनि चाउमिन उद्योगमा सामान्य मजदुर र चाउमिन पुर्याउने रनर ब्वाईको काम गर्छन् ।
तर साउन २ गते मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट दिलीपको नामबाट खुलेको रेडी ट्रेड प्रालिले हङकङबाट ल्याएको सामान राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लियो । अवैध सामान तस्करी गरी ल्याएको भन्दै भन्सार एजेन्टको काम गर्ने राजेन्द्र राई सहितका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेपछि कम्पनीका ‘मालिक’ रहेका दिलीप भुजेललाई पनि प्रहरीले बुधबार राति १० बजे साँखुबाट पक्राउ गरेको थियो ।
कम्पनी रजिस्ट्रारको कार्यालयको रेकर्ड अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखी स्थापना भएको कम्पनीको उद्देश्यमा विदेशबाट सामान आयात गर्ने उल्लेख गरिएको छ । कम्पनीको अधिकृत पुँजीमा २५ लाख रुपैयाँ राखिएको छ ।
तर पहिले साधारण ज्यामी र त्यसपछि चाउमिन उद्योगमा रनर ब्वाईको काम गरिरहेका यिनै दिलीप भुजेलको स्वामित्व रहेको कम्पनीको नाममा हालसम्म २८ पटक सामान आयात भएको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट रातोपाटीलाई प्राप्त रेडी ट्रेडको कम्पनीबाट आयात भएको सामानको लिष्ट हेर्दा १५ पटक ब्रेक प्याड, १२ पटक सेभर मेसिन र एकपटक मेकानिकल मोटर आयात भएको छ ।
२०२३ को मे १७ अर्थात् २०८० साल जेठको ३ गतेबाट मात्रै सामान आयात गर्न थालेको देखिएको छ । पहिलोपटक २०८० जेठ ३ गते चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट नेपालका लागि सामान पैठारी भएको देखिन्छ । त्यतिबेला सामान आयात गर्दा दाह्री काट्ने मेसिन अर्थात् सेभर आयात भएको देखिन्छ । कुल २ सय थान दाह्री काट्ने मेसिनको तौल ६६ किलोग्राम र त्यसको भन्सारमा घोषित मूल्य ४०० डलर राखिएको छ । त्यसको ४ दिनपछि २०२३ को मे २१ अर्थात् २०८० जेठ ७ गते सोही ट्रान्सपोर्ट कम्पनीबाट २ सय थान सेभर ४ सय डलरको मूल्याङ्कन गरेर नै सामान छुटाइएको छ ।
त्यस्तै २०२३ मे २४ अर्थात् २०८० जेठ १० गते जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट ४० थान ब्रेक प्याड आयात भएको देखिन्छ । उक्त ४० थान ब्रेक प्याडको कूल तौल ३४ किलोग्राम उल्लेख गरिएको छ भने त्यसको भन्सारमा घोषित मूल्य १२० डलर राखिएको छ ।
रेडी ट्रेड प्रालिको नाममा सामान आयात गर्दा कहिले ब्रेक प्याड त कहिले दाह्री काट्ने सेभर ल्याएको पाइएको छ । ब्रेक प्याड र दाह्री काट्ने सेभर दुवै चीनबाट आयात भएको छ । २०२३ को मे २६ अर्थात् २०८० जेठ १२ गते ताइवानबाट मेकानिकल मोटरसमेत आयात भएको देखिएको छ । ताइवानको तलमुड कम्पनी लिमिटेडबाट ५२ किलोग्राम तौल भएको ४८० अमेरिकी डलर भन्सार मूल्य घोषित भएको सामान आएको देखिन्छ ।
आयात भएको सामानमध्ये दाह्री काट्ने मेसिन अर्थात् सेभर चिनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट आयात भएको देखिन्छ भने ब्रेक प्याड भने १५ पटक नै जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेडबाट आयात भएको देखिन्छ । राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएपछि नियन्त्रणमा लिएको सुन रहेको ब्रेक प्याड पनि जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेडबाट नै आयात भएको देखिन्छ ।
ब्रेक सुमा सुन भेटिएको कम्पनीबाट यसअघि १५ पटक ब्रेक प्याड आयात
राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलको भन्सार कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको सामानमा भेटिएको सुन ब्रेक प्याडमा राखेर ल्याएको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार ब्रेक प्याडकै साइज र बनोटमा बाहिर ब्रेक प्याडमा हुने केमिकल नै लगाएर ती सामानहरू आयात गरिएको पाइएको छ । भन्सार कार्यालयको एक्स रे मेसिनमा बढी घनत्व भएको सङ्केत दिएपछि कर्मचारीले उक्त सामान खोल्नसमेत लगाएका छन् । तर सामान खोलेर हेर्दा पनि ब्रेक प्याड नै जस्तो देखिएपछि कर्मचारीले उक्त सामान जाँचपास गरेको पाइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
हेर्नुहोस् रेडी ट्रेडले कुन मितिमा कुन ट्रान्सपोर्ट कम्पनीबाट के सामान आयात गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?