सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
अवैध सुन प्रकरण

सुनको तस्करीको भित्री गाँठो कहिले खुल्छ ?

बिहीबार, ०४ साउन २०८०, २१ : ३०
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७० असारमा कोटेश्वरबाट ३५ किलो सुन बरामद गर्यो । त्यतिबेला सीआईबीका प्रमुख थिए डीआइजी प्रकाश अर्याल (महानिरीक्षकबाट अवकाश) ।

तातोपानी नाका हुँदै काठमाडौं भित्रिएको उक्त सुन कन्टेनर (सामान बोक्ने गाडी)को अगाडि फल्सबटम बनाएर राखिएको थियो । सुराकीका आधारमा प्रहरीले सुन बरामद गर्यो ।

प्रहरीले त्यसबेला सुन धनी भनिएका ग्याम्जो लामालाई बौद्धबाट पक्राउ गरेको थियो । उक्त सुनमा जोडिए सुनसरीका मोहनकुमार अग्रवाल । उनलाई कालिकास्थानबाट प्रहरीले नियन्त्रणमा लियो । गाडी धनी तातोपानीकै नाङगेल भनिने ओमबहादुर बज्राचार्य माइतीघर मण्डलाबाट नियन्त्रणमा परे । यद्यपि सुनको मालिक र राजनीतिक ‘नेक्सस’ खुलेन ।

सुराकीको विषयलाई लिएर ठूलो लफडा चल्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका डीआइजी हेमन्त मल्ल ठकुरीले अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई विषयविस्तार लगाएपछि सबै लफडा सामसुम भयो ।

यो घटनापछि एकै पटक २०७४ भदौमा अपराध महाशाखाले ८८ किलो सुनसहित गाडी नियन्त्रणमा लियो । महाशाखाको नेतृत्वमा थिए एसएसपी दिवेश लोहनी (एआईजीबाट अवकाश) । तत्कालीन समयमा गाडी चालक मनोज अधिकारी पक्राउ परे पनि सुनका मालिक भनिएका चिनियाँ नागरिक पान विइ मिङ र भारतीय व्यापारी अनिल कुमार शर्माको नाम जोडिएको थियो । तर, उनीहरु पक्राउ परेनन् ।

प्रहरीले थप अनुसन्धान गरेन । सुन भन्सार विभागमा बुझायो । सरकारी ढुकुटीमा सुन पुगे पनि ८८ किलो सुन कसले ल्यायो भन्नेबारे नेपालका राजनीतिक र व्यापारिक ‘नेक्सस’ खुलाइएन ।

लोहनी महाशाखामै हुँदा विमानस्थलबाट २०७५ माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हरायो । उक्त सुनसँग जोडिएका विमानस्थलकै कर्मचारी सनम शाक्यको मृत्यु भएपछि रहस्य बाहिरिएको थियो । सुनसँग जोडिएका मुख्य आरोपित चुडामणी उप्रेती उर्फ ‘गोरे’ को नाम खुलेपछि उनलाई पक्राउ गर्ने भन्दै लोहनीले डीएसपी प्रजित केसीको कमाण्डमा मोरङमा टोली पठाए तर त्यतिबेला प्रहरीले उनलाई फेला पार्न सकेन । सुन कहाँ पुग्यो, अहिलेसम्म रहस्यमै छ ।

संगठित अपराध सजाय ऐन अन्तर्गत अनुसन्धान गर्न छानबिन समिति बन्यो । समितिमा तत्कालीन सह–सचिव ईश्वरराज पौड्याल संयोजक थिए । समितिले अनुसन्धान गर्दैगर्दा गोरेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो । समितिले तत्कालीन समयमा उनीसहित ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

गोरेकै बयानमा सुन ल्याउने भूमिका खेलेका केहीलाई इन्टरपोलको सहयोगमा दुबईबाट नेपाल ल्याईयो । मुद्दा चलाईएका अधिकांश छुटे । गोरे लगायत केही अहिले पनि जेलमै छन् । त्यतिबेला पनि राजनीतिक ‘नेक्सस’ प्रतिवेदनमा खुलेन । तर, समितिले सुन तस्करीमा राजनीतिक दल र व्यापारीको सहयोग हुने गरेको सुझाव सरकारलाई दिएको थियो ।

पछिल्लो पटक भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करी गरेको घटनामा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन् । तर, प्रहरीले उनीहरुको न बयान लिएको छ, न प्रतिवादी नै बनाएको छ । राजनीतिक शक्तिको आडमा हुँदै आएको पक्षपोषणका परिघटनालाई यो घटनासँग पनि जोड्छन् विज्ञहरु ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले शक्तिकेन्द्रको सहयोग बिना नेपालमा भएका ठूला सुन तस्करी सम्भव नरहेको दाबी गरे । उनले भने, ‘जबसम्म सुन तस्करीमा जोडिएका राजनीतिक नेक्ससलाई लिएर गहिराइमा पुगी अनुसन्धान गरिँदैन, तबसम्म यसको गाँठो फुक्दैन ।’

साढे ३३ किलो सुन हराएको र सनम शाक्यको मृत्यु प्रकरणको छानबिन गर्न बनेको समितिका संयोजक एवं पूर्व डीआईजी पुष्कल रेग्मीले अन्तर्राष्ट्रिय व्यापारीको नेक्सस बिना नेपालमा हुँदै आएका ठूला सुन तस्करी सम्भव नरहेको बताउँछन् । उनले रातोपाटीसँग भने, ‘टनका टन सुन नेपाल ल्याउने क्षमता नेपाली व्यापारीका छैनन्, यसमा अन्तर्राष्ट्रिय व्यापारीको नेक्सस पक्कै हुन्छ । जबसम्म गहिराइमा पुगेर अनुसन्धान गरिँदैन, यसको गाँठो फुक्दैन ।’

.........

सुन ल्याउने एक्सेस र नेक्सस खोज्नुपर्छ

राजेन्द्र सिंह भण्डारी

पूर्व एआईजी, नेपाल प्रहरी

rajendra_DKzx0LGdKm

नेपालमा सुन तस्करी राजनीतिसँग जोडिएको हुन्छ । लोकतन्त्र आएपछि तस्करीको स्केल बढ्यो । सुन हङकङ र दुबई हुँदै नेपाल आएका धेरै घटना छन् । अहिले तस्करी भएर आएको टनका टन सुनको व्यापारिक जोखिम कोही एक्लैले लिन सक्दैन । यसमा सानो लगानीले पुग्दैन । ठूलै नेटवर्कको सहयोग लिनुपर्छ ।

त्यसमा राजनीतिक होस् वा प्रशासनिक । अहिलेसम्मका ठूला तस्करीमा नेपाल ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा मात्रै प्रयोग भएको हो । जबसम्म यसको ओरिजिन र डेस्टिनेशसन खोजिँदैन, तबसम्म गाँठो फुक्दैन । त्यसैले सुनको एक्सेस र नेक्सस दुवै खोज्नुपर्छ । गहिराइमा पुगेर अनुसन्धान नगर्दासम्म ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप