बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

खाणविरुद्ध बोल्नेलाई केसीको प्रश्न– मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिड्ने ?

बिहीबार, ०४ साउन २०८०, १७ : ५३
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा गरेका छन् । केन्द्रीय समितिको बैठकमा केसीले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिँडेको भन्दै पार्टीका नेताहरुको आलोचना गरे ।

सर्वोच्चले दोषी ठहर गरेका रेशम चौधरीलाई आम माफी दिएको उल्लेख गर्दै उनले किनारा नलागेको मुद्दामा आफ्नै नेताहरु न्यायालय र न्यायाधीश भएको बताए । ‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आम माफीले चोख्याउन मिल्ने ? अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई किनारा नलाग्दै आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिँड्ने ?’ केसीले भने ।

महामन्त्री गगन थापालाई संकेत गर्दै केसीले ख्याल नगरी संसदीय दलको नेता परिवर्तनको माग उठाएको बताए । ‘एउटा व्यक्तिलाई संसदीय दलको नेता चाहियो भन्दैमा समयको ख्याल नै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्नन् कि,’ केसीले भने । महामन्त्री गगन थापालाई हतार नगर्न केसीको आग्रह थियो । 

उनले महामन्त्री थापाले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकामा पनि प्रश्न उठाए।  ‘कार्यतालिकामा धेरै कुरा आउलान् रूख सिंगै बोकेर आउँछ कि भनेको, रूखबाट खसेका पात मात्रै टिपेर ल्याइएको छ,’ उनले व्यङ्ग्य गरे।

यस्तै केसीले पार्टीको वरिष्ठ नेतामा गोपालमान श्रेष्ठलाई मनोनित गर्न सभापतिलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप