सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

नेपाल समृद्ध बनाउने आधारहरू

सोमबार, ०५ चैत २०७४, ११ : ०६
सोमबार, ०५ चैत २०७४


राजनीतिक आन्दोलनले नै परिवर्तनका सबै ढोकाहरू खुल्नेगर्छ । विश्व मानव समाजको ऐतिहासिक अध्ययनबाट यसको पुष्टि पनि भइरहेको छ । नेपालमा पनि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनले आज हामी यो उचाइमा आइपुगेका छौँ । मूलतः समाजमा विद्यमान सबैखाले समस्याको समाधन राजनीतिले गर्छ । हरेक खराबीहरू हटाउने महत्वपूर्ण अस्त्र नै राजनीति हो । अर्थात यसले सबै परिवर्तनकारी सामाजिक–आर्थिक आयामहरूको निर्धारण गर्छ । यही धरातलीय सच्चाइको कारण कुनै पनि समाजमा अग्रगामी राजनीतिक व्यवस्थापनविना अन्य तपशीलको मुद्दाहरू वैठान सम्भव हुँदैन । त्यसैले सार्वभौमतः राजनीति प्रधान पक्ष मात्र नभएर राजनीतिक पाठ्यपुस्तकको पहिलो च्याप्टर पनि हो भनेर बुझ्न जरुरी छ । 

कुनै पनि समाजमा सङ्घर्षको राप र चापमा गरिएको अग्रगामी राजनीतिक व्यवस्थापनले असम्भवलाई पनि सम्भव बनाइदिन्छ । परम्परागत मनोविज्ञान, सोच, चिन्तन र संस्कृतिलाई विस्थापन गरिदिन्छ । असहज र जटिललाई सहज बनाइदिन्छ । विकट पहाडहरू सम्याइदिन्छ । सोच्दै नसोचेको बाटाहरू खुलाइदिन्छ अनि देख्दै नदेखेको सम्भावनाहरू देखाइदिन्छ । औसत सोच्ने तरिका र मनोविज्ञानमा जागरण र आमूल रूपान्तरण ल्याइदिन्छ । यही जागरण नै अजय शक्ति र अतुलनीय ऐतिहासिक सम्पत्ति बन्दछ । आज यही जागरणको राप र तापमा हामी  समृद्धिको सपना देख्न सक्ने भएका छौँ । यो सर्वाधिक खुशी र गर्वको विषय हो ।

वास्तवमा आज समृद्धि साझा मुद्दा भइसकेको छ । यति गुलियो र लोकप्रिय समृद्धि विगतमै देखेको भए कति जाति हुन्थ्यो ? आज सबैले गुमेको र छुटेको महशुस गरिरहेको हुनुपर्छ । तर राजनीतिक विज्ञानको आँखाबाट हेर्दा हिजो दूरदर्शी दल वा नेता नभएर समृद्धि दुर्लभ भएको होइन । आज एकाएक फिल्मी शैलीमा समृृद्धि सोच्ने नेता जन्मिएको पनि होइन । औसत यिनै नेता र दलहरू विगतमा पनि निर्णायक तहमै थिए । तर गाँठी कुरा अर्कै छ । हिजो र आजको राजनीतिक चरित्र र चेत नितान्त भिन्नछ । ऐतिहासिक प्रक्रियाअन्तर्गत आज राजनीति एक स्टेप अघि बढेको छ । एक हदसम्म राजनीतिक समस्या समाधन भएको छ र बाँकी समाधन हुँदै जाने सम्भावनाको प्रक्रिया आरम्भ भएको छ । विकसित राजनीतिक परिवेशले विकास, समृद्धि र समाजवाद जस्ता तपशीलका मुद्दाहरूलाई आममा स्थापित हुनुको साथै साझा नारा बनाइदिएको छ । 

यसैको बलमा आज समृद्धि साझा यथार्थ र स्थापित नारा हुनुको साथै कार्यान्वयनको सिलसिलामा गइसकेको छ । सायद तीस वर्षअघि यो काल्पनिक र अव्यावहारिक हुन्थ्यो ।  पछिल्लो समय सबैले सोलोडोलो समृद्धिको नारामार्फत जनतामा भावनात्मक ब्ल्याकमेलिङ गरिरहेका छन् । समृद्धिको वर्गचरित्र बारे बहस भएको छैन । तर यसको राजनीतिक अन्तरवस्तु र पद्धति फरक छ । समृद्धि पनि वर्गीय हुन्छ । न्यायपूर्ण र अन्यायपूर्ण हुन्छ । अन्तरविरोध वा असमानताको दूरी बढाउने र घटाउने हुन्छ । परम्पारगत र प्रगतिशील हुन्छ । यसका प्रक्रियाहरू भिन्न छन् । भौतिक संरचना निर्माण नै समृद्धिको सार होइन । मानव विकास सूचकाङ्कको समानुपातिक र न्यायिक अभ्यास, पहुँच र समान अवसरको सग्लो रूप नै समृद्धि हो । यसमा व्यापक र रणनीतिक कोणबाट समृद्धिका आधारहरू बारे चर्चा गरिएको छ ।

(क) श्रम संस्कृति : श्रम गर्ने आम संस्कृति समृद्धिको आधारभूत पक्ष हो । उपभोक्तावादी संस्कृति हावी भएको समाजमा काम गर्ने संस्कृति हुँदैन, जुन समृद्धिका लागि अनिवार्य हुन्छ । श्रमलाई पनि श्रेष्ठता र निचताको कोणबाट हेर्ने गरिन्छ । सबैखाले कामप्रति समान र सम्मानपूूर्ण व्यवहारको कमी देखिन्छ । आममा श्रम गर्नेभन्दा चिया गफ लगाएर कमिसनको पछि दौडने प्रवृत्ति हाबी हुन्छ । हालीमुहाली उनीहरूकै हुन्छ । श्रमप्रति आदर र सम्मानको संस्कृति हुँदैन । श्रमलाई हेलाहोचो गरिन्छ । श्रम संस्कृति संस्थागत नभएको समाजमा सिङ्गो श्रमजगत उपेक्षित हुन्छ । श्रम र श्रमिकहरू प्रतिष्ठाको विषय बन्दैन । नेपालमा श्रम गर्दा लाज मान्नुपर्ने र हीन मनोविज्ञानको प्रवृत्ति बढ्दोछ । यस्तो मनोविज्ञानले श्रमलाई अपमान गर्दछ । श्रमलाई अपमान गर्नु भनेको समृद्धि असम्भव हुनु हो । त्यसैले साँचो समृद्धिका लागि सबैभन्दा पहिला राजकीयरूपमा श्रम संस्कृति विकास गर्दै श्रम र श्रमिकहरूलाई सम्मान गर्ने परिपाटी बसाल्नुपर्छ ।

(ख) कृषि आधुनिकीकरण र वैज्ञानिकीकरण ः पछिल्लो तथ्याङ्कहरू नियाल्दा नेपाल अझै कृषि प्रधान मुलुक हो । यसकारण समृद्धिका लागि यसको आधुनिकीकरण अनिवार्यछ । आज पनि पैँसट्ठी प्रतिशत जनता यस क्षेत्रमा निर्भरछ । यसको गार्हस्थ उत्पादनमा एक तिहाइभन्दा बढी योगदान छ । कुल श्रम शक्तिको तिन चौथाइ कृषि पेसामा निर्भर छ । यद्यपि उनीहरू नितान्त परम्परागत निर्वाहमुखी खेती प्रणालीमा आश्रित छन् । सत्ताइस लाख हेक्टर खेतीयोग्य जमिनमा करिब पैतालीस प्रतिशतमा मात्र सिंचाइ सुविधा छ । पूर्णकालीन कृषि श्रमको ग्यारेन्टी छैन । अझैसम्म मौसमी श्रम कायाम छ । त्यसैले वास्तविक समृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिकीकरण र व्यावसायीकरण जरुरी छ । यसका लागि जग्गा व्यवस्थापन, छनौट र चाक्लाबन्दी गरी व्यावसायिक खेती प्रणाली लागू गर्नुपर्छ । सिंचाइ सुविधामार्फत आममा कृषि श्रमलाई व्यावसायिक र पूर्णकालीन बनाउनुपर्छ । तब मात्र साँचो समृद्धि सम्भव छ । 

योजनाबद्ध रूपमा राष्ट्रिय पुँजी लगानीलाई प्रोत्साहन गर्दै स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्दछ । राष्ट्रियतामा आँच नआउने र घाटा नहुने शर्तमा बाह्य लगानी भित्र्याउनु पर्छ । विद्युत उत्पादन गरी आम विद्युतीकरण मार्फत विद्युतीय र सौर्य ऊर्जा उपयोग नीति अख्तियार गर्नुपर्दछ । अधिकतमरूपमा पर्यटन, रेलवे लाइन, सडक, खानेपानी र स्मार्ट सिटी जस्ता भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्दछ । 

(ग) औद्योगीकरण : मुलुकको समग्र औद्योगिक विकास नै समृद्धिको कोशेढुङ्गा हो । राष्ट्रिय औद्योगिक पुँजीको पूर्ण आकारमा विकास समृद्धिको मुल कडी हो । यद्यपि अर्थतन्त्रमा आज वित्तीय पुँजी हावी छ ।  उद्योग क्षेत्रले ग्राहस्थ उत्पादनमा करिब पन्ध्र प्रतिशत योगदान र तीन प्रतिशत मात्र श्रमशक्ति खपत गरिरहेको छ । समृद्धिका लागि यो असाध्यै न्यून योगदान हो । आयत–निर्यात आँकडा हेर्दा पनि डरलाग्दो असमानता देखिन्छ । कुल निर्यात एक खरब दश अरब हाराहारी छ भने आयत झण्डै आठ खरब देखिन्छ । सानो र पछौटे उत्पादनको कारण व्यापार असन्तुलन बिग्रिएको हुन्छ । पेट्रोलियम पदार्थ आयतमा मात्र वार्षिक तीस अरबभन्दा बढी खर्च भइरहेको छ । साँचो समृद्धिका लागि आयात–निर्यातको यो तथ्याङ्क उल्ट्याउन सक्नुपर्छ । अर्थात निर्यात बढी र आयत कम हुनुपर्छ । त्यसका लागि आम आधुनिकीकरण र वैज्ञानिकीकरणसहितको औद्योगिकीकरण अनिवार्य हुन्छ । उत्पादन र निर्यात क्षेत्र बढाउनुपर्छ । गार्हस्थ उत्पादनमा कम्तीमा दुईतिहाई हिस्सा योगदान पुर्याउनुपर्छ । त्यसैले नयाँ औद्योगिक नीति अनुरूपको तीव्र राष्ट्रिय औद्योगिकीकरण आजको आवश्यकता हो । यसले मात्र वृहत समृद्धिलाई मूर्तीकरण गर्दछ । 

(घ) रोजगारी : नेपालमा डेढ करोडभन्दा बढी श्रमशक्ति रहेको छ । यसमध्ये झण्डै चालीस प्रतिशत बेरोजगार देखिन्छ । रोजगारीमा रहेको जनशक्तिमा पनि झण्डै पचास लाख वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीबाट गार्हस्थ उत्पादनमा लगभग एक तिहाइ योगदान रहेको छ । पचास प्रतिशत परिवार यसैमा निर्भरछ । तर विपेशणमा आधारित अर्थतन्त्र दिगो र भरपर्दो हुँदैन । कृषिमा विशाल श्रमशक्ति रुमल्लिएको छ । यो निर्वाहमुखी आंशिक कालीन रोजगारीमा आधारित छ । यसलाई जोड्दा सारतः दुइतिहाई बढी श्रमशक्ति बेरोजगार देखिन्छ । आन्तरिक रूपमा यो जनशक्तिको पूर्णकालीन उपयोग गर्ने अल्पकालीन र दीर्घकालीन लक्ष्य र योजनामार्फत अघि बढ्न सके मात्र समृद्धिको वस्तुवादी कार्यान्वयन सम्भव देखिन्छ ।  यसको लागि कृषि आधुनिकीकरण, औद्योगिकीकरण र पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्छ । आम रोजगारी सिर्जना नै समृद्धिको महत्वपूर्ण आधार हो । 

(ङ) शिक्षा, स्वास्थ्य र आवास : अझै पनि लगभग एक तिहाई जनसङ्ख्या  गरिबीको रेखामुनि रहेको छ । यो प्रगतिशील समृद्धिका लागि ठूलो तगारो हो । एकतिहाई नागरिकहरू अझै निरक्षर छन् । करिब पचास प्रतिशत उच्चशिक्षाबाट वञ्चित छन् । स्वास्थ्य क्षेत्रमा पनि क्षेत्रीय र वर्गीय असन्तुलन डरलाग्दो छ । यसमा दश प्रतिशत धनीले तीस प्रतिशत र दशै प्रतिशत गरिबहरूले केवल दुई प्रतिशत भौतिक स्रोतसाधनमा पहुँच राख्छन् । अस्पताल र डाक्टरहरू गाउँमा भेटिदैन । गाउँ र सहरमा स्वास्थ्य सेवाको असन्तुलन अकल्पनीयछ । यता नेपालमा पच्चीस प्रतिशत परिवारहरू भूमिहीन रहेको छ । मुलुकभरी चालीस लाख झुप्राहरू नदी किनार र वनआसपासमा छरिएका छन् । उनीहरूको उचित व्यवस्थापन समृद्धिको प्रमुख आधार हो । त्यसैले मानव विकास सूचकाङ्कमा अन्तरनिहित असन्तुलनको अन्त्य विना समृद्धि सम्भव हुँदैन । यो असाध्यै गम्भीर विषय हो ।

यसैगरी योजनाबद्ध रूपमा राष्ट्रिय पुँजी लगानीलाई प्रोत्साहन गर्दै स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्दछ । राष्ट्रियतामा आँच नआउने र घाटा नहुने शर्तमा बाह्य लगानी भित्र्याउनु पर्छ । विद्युत उत्पादन गरी आम विद्युतीकरण मार्फत विद्युतीय र सौर्य ऊर्जा उपयोग नीति अख्तियार गर्नुपर्दछ । अधिकतमरूपमा पर्यटन, रेलवे लाइन, सडक, खानेपानी र स्मार्ट सिटी जस्ता भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्दछ । 

यता श्रम संस्कृति निर्माण, कृषि आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, रोजगारीको अवसर र लगानीमैत्री वातावरण निर्माण समृद्धिको मूलभूत आधारस्तम्भहरू हुन् । त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सरसफाइको  शतप्रतिशत समानुपातिक र समान उपलब्धता नै समृद्धिको मानक हो । समृद्धिमा मानव विकास सूचकाङ्क न्यायिक र समानुपातिक हुन्छ । समृद्धि भनेको ठूलाठूला भौतिक संरचना निर्माण मात्र होइन । उच्च मानव विकास सूचकाङ्कको समान र समानुपातिक उपलब्धता र सहज पहुँच विस्तार नै वास्तविक समृद्धि हो । अबको समृद्धिमा उपर्युक्त राजनीतिक, आर्थिक तथा सांस्कृतिक मार्गचित्रहरू स्पष्टरूपमा देखिनु अनिवार्य हुन्छ । नत्र यो चुनावी राजनीतिको लागि मागी खाने भाँडो मात्र बन्ने खतरा छ । यसमा सकै गम्भीर कन्न जरुरी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप