सीआईबीको रिपोर्ट कार्ड : ठग सहकारीमाथि एक्सनदेखि बालुवाटार जग्गा घोटालाको फाइल ‘ओपन’सम्म
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक वर्षमा गरेका काम कारबाहीको फेहरिस्तसहितको रिपोर्ट कार्ड सार्वजनिक गरेको छ । सीआईबीले बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै विभिन्न मुद्दामा कुल १२५ जनालाई पक्राउ गरिएको जनाएको छ ।
यस्तै विभिन्न शीर्षकमा ४३ वटा मुद्दा दायर भएको छ । सीआईबीका अनुसार ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसूर, जवासम्बन्धी कसुर, नागरिकता ऐन तथा लिखतसम्बन्धी कसूर, संगठित अपराधलगायतका कसुरमा मुद्दा दर्ता र आरोपीहरुलाई पक्राउ गरिएको हो ।
सीआईबीले आर्थिक अपराध अनुसन्धानको सिलसिलामा सहकारी ठगी–२, ठगी–४, लिखत–१ र भीओआईपी २ गरी ८ वटा मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाएको छ ।
जसअनुसार १७ अर्ब रकम अपचलन गरेर ठगी गर्ने कार्यमा संलग्न शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मा सहित ७ जनालाई विभिन्न मितिमा पक्राउ गरि आवश्यक कारवाही गरिएको छ । यस्तै सीआईबीले विभिन्न सहकारी ठगीसम्बन्धी अध्ययनसमेत गरिरहेको छ।
यस्तै पृथ्वीबहादुर शाहको ठगी एवं आपराधिक कार्यदखि धर्मको नाममा ठगी गर्ने शिवसुत गौरी बाबालाई पनि सीआईबीले कानुनी दायरामा ल्याएको छ ।
यस्तै क्रिकेटमा सट्टेबाजी गराउने पूर्व राष्ट्रिय खेलाडी महवुव आलम, राष्ट्रिय खेलाडी मोहमद आदिल आलम र स्थानीय नितेश गुप्तालाई पनि कानूनी दायरामा ल्याइएको सीआईबीको रिपोर्ट कार्डमा उल्लेख छ ।
यस्तै लिखत, ठगी, वैदेशिक रोजगार, नागरिकता ऐन अन्तर्गत कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको पनि सीआईबीको रिपोर्टमा उल्लेख छ ।
यस्तै नेपाल सरकारको १४३ रोपनी जग्गा (ललिता निवास) जग्गा घोटाला प्रकरणलाई सीआईबीले आफ्नो कार्यप्रगतिको सूचीमा महत्वका साथ समावेश गरेको छ । जुन मुद्दाको फाइल ओपन भएसँगै प्रहरीले १७ जना व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । उनीहरुमाथि अझै अनुसन्धान चलिरहेको छ ।
यस्तै अदातलको विभिन्न फैसलाले सजाय ठहर भई फरार रहेका विभिन्न १२५ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । जसबाट ३० करोड भन्दा बढी जरिवना असुली र १२९ वर्ष १ महिना २४ दिन कैद सजाय फर्छ्यौटको लागि अदालतमा बुझाइएको छ ।