कांग्रेस बैठकमा प्रकाश स्नेहीको कटाक्ष : महामन्त्री बिचराहरू चरी जेलैमा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले महामन्त्रीहरुलाई विचरा बनाइएको टिप्पणी गरेका छन् । सानेपामा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सबै अधिकार सभापतिलाई रहेको बताए । ‘महामन्त्रीहरु विचरा बबुरा चरी जेलैमा, सबै अधिकार सभापतिलाई हुने रहेछ’, उनले भने, ‘अनि केही कुरा हुँदैन, त्यही भएर सबै कुरा बाहिर आउँछ। सभापतिले पनि महामन्त्रीलाई सघाउनुपर्छ।’
पार्टीलाई बलियो बनाउन डा.शेखर कोइरालाले नेतृत्वलाई निरन्तर साथ दिइरहेको पनि उनले बताए। ११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले जनताका मुद्दा सम्बोधन गर्न नसक्ने बताए । उनले आफूहरु टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए। ‘११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले कसरी जनअपेक्षा सम्बोधन गर्छ ?’, उनले भने, ‘हामी केन्द्रीय सदस्य कहिले बैठक बस्ला भनेर टुलुटुलु हेरेर कुर्न बाध्य भएका छौँ।’
उनले कांग्रेसभित्रको चरम गुटबन्दीले पार्टी झन् संकटमा पर्ने बताए। ‘पार्टीभित्र चरम गुटबन्दी छ। ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौँ कि अरु जनताबारेमा पनि सोचेका छौँ’, उनले भने, ‘अमेरिका बस्ने र दुबईमा बस्ने युवाले हाम्रोबारे सामाजिक सञ्जालमा के कमेन्ट गरेको छ हेरेका छौँ हामीले ?’
उनले २०६३–६३ को दोस्रो जनआन्दोलनमा जन्मिएको बच्चा बालिग भएर युरोप र अमेरिका जान्छु भन्दा तिनका लागि दलहरुले कुनै योजना ल्याउन नसकेको पनि उनले बताए।
‘नेपाली कांग्रेस ३० वर्षयता सत्तामा छ। बीपीसँग समय थियो, सत्ता थिएन भन्नुहुन्छ महामन्त्रीजीले’, उनले भने, ‘महामन्त्रीले यो बैठकमा कार्ययोजना प्रस्तुत गर्नुभएको छ। तर त्यसमा सामाजिक न्याय र महिला हिंसा किन समेटिएको छैन ? दलितलाई पनि बेवास्ता गरिरहेका छौँ अनि कसरी पार्टी जीवन्त हुन्छ।’ उनले सम्बोधनका क्रममा कांग्रेसले भ्रष्टाचार भन्नेबित्तिकै मुख थुन्छ, कानमा रुवा हाल्छ भन्ने धारणा जनतामाझ बनेको पनि बताए।
‘जनतामाझ रहेको यस्तो धारणा चिर्न एकसाता भ्रष्टाचारविरोधी अभियान चलाउनुपर्छ’, उनले भने, ‘तपाईंहरु काम दिनुस्, हामी २०८४ मा पहिलो मात्रै होइन, कांग्रेसलाई २०१५ को हैसियतमा लैजान्छौँ।’
कांग्रेसले जनताका एजेन्डा नै भुलेर रूमल्लिरहेको पनि उनले बताए। ‘२१ औँ शताब्दीमा मुद्दाले राजनीति गर्ने हो। खै त ५० लाख नेपालीहरुको मुद्दा कांग्रेसले उठाएको ?’, उनले भने, ‘हरेक दिन सात सय नेपाली विदेश जान्छन्, सातजना नेपालीको लास आउँछ, तिनका आमा छोराछोरी रोइरहेका छन्। त्यसको दायित्व कांग्रेसको हो कि होइन ?’
उनले अहिले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले कामको कुनै प्रगति देखाउन नसकेको पनि उनले बताए। ‘संघका मन्त्रीहरुले एक महिना मैले के काम गरेँ भन्नुपर्दैन ?’, उनले भने, ‘स्थानीय तहमा आधाआधीभन्दा नेतृत्व छ तर तिनीहरुको मूल्यांकन कसले गर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै