मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

बजार भाउ अनुसार केन्द्रीय बैंकको टक्सार महाशाखाले लिन्छ अवैध सुन

बिहीबार, ०४ साउन २०८०, १५ : १७
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । राजश्व अनुसन्धान विभागले ठूलो परिणाममा अवैध सुन समातेको छ । हङकङबाट ‘ब्रेक प्याड’मा राखेर ल्याइएको अवैध सुन प्रकरणबारे यतिबेला थप अनुसन्धान भइरहेको छ । राज्यका सबै निकाय मिलेर अवैध सुन आयात प्रक्रियामा अनुसन्धान गरिरहेका छन् । तर, नेपालमा अवैधरुपमा भित्रिएको सुन बरामद भएको यो पहिलो घटना होइन ।

यसअघि पनि पटक–पटक सरकारका विभिन्न निकायले अवैध सुन समातेका छन् । राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, नेपाल प्रहरी र अध्यागमन विभागले समेत यसअघि सुन समातेको उदाहरण छन् । यसरी राज्यको एउटा निकायले समातेको सुन राज्यकै अर्को निकायमा जान्छ ।

यसरी, समातिएको सुन नेपाल राष्ट्र बैंकमा जान्छ । बैंकको टक्सार विभागमा अनुसन्धानपछि सक्कली वा नक्कली र कति परिणामको सुन हो भन्ने एकीन भएपछि थप अनुसन्धान अघि बढ्छ । उक्त अनुसन्धान सकिएपछि सुन पुनः केन्द्रीय बैंकमा नै जान्छ ।

अवैधरुपमा आयात भएको र भ्रष्टाचार भएको सुन वा चाँदी केन्द्रीय बैंकको मातहत रहेको टक्सार महाशाखाले प्राप्त गर्छ र सो बराबरको रकम राज्यलाई सुन समात्ने निकायमार्फत जम्मा गरिदिन्छ । यसका साथै, कर छली वा भ्रष्टाचार गरेर जम्मा गरिएको सुन समेत प्रहरीले जफत गर्ने गर्छ ।

यसरी भन्सार कार्यालय, अध्यागमन विभाग, राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरीले विभिन्न समयमा विभिन्न स्थानबाट सुन जफत गरेपछि अवैध ओसारपसार गर्ने, अवैध कारोबार गर्ने वा अवैधरुपमा सुन राख्ने व्यक्तिविरुद्ध अदालतमा मुद्दा पर्छ । विभिन्न स्थानमा जफत गरिएको सबै सुन समात्ने सम्बन्धित निकायमा जान्छ भने मुद्दामामिलाको विषय नेपाल प्रहरी र राजश्व अनुसन्धानले हेर्छ ।

अदालतले अवैधरुपमा ल्याएको सुन वा भ्रष्टाचारको भनेर फैसला गरेपछि सम्बन्धित निकायले उक्त सुन वा चाँदीलाई आफ्नो सम्पत्तिका रुपमा प्रयोग गर्न पाउने बाटो खुल्छ । र, उक्त सुनका सुद्धताका आधारमा तत्कालीन समयको बजार मूल्यअनुसार नेपाल राष्ट्र विभागलाई हस्तान्तरण गर्छ । केन्द्रीय बैंकले तत्कालीन प्रचलित मूल्यअनुसार उक्त सुन वा चाँदीको मूल्य सम्बन्धित निकायको खातामा जम्मा गरिदिन्छ ।

सुन वा चाँदी राष्ट्र बैंकले लिएबापत सम्बन्धित निकायको खातामा जम्मा गरिएको रकम राजश्वका रुपमा संघीय सरकारले प्रयोग गर्छ ।

५ वर्षमा राष्ट्र बैंकले लियो ६२० किलो सुन

केन्द्रीय बैंकको टक्सार विभागले पछिल्लो ५ वर्षको अवधिमा ६२० किलोग्राम सुन प्राप्त गरेको छ । नेपाल सरकारका विभिन्न निकायले विभिन्न समयमा जफत गरेको उक्त सुन राष्ट्र बैंकहुँदै टक्सार विभागले प्राप्त गर्ने गर्छ । आर्थिक वर्ष २०७४÷७५ देखि चालू आर्थिक वर्षको हालसम्म टक्सार विभागले उक्त परिमाणको सुन प्राप्त गरेको महाशाखा बताउँछ । 

५ वर्षको अवधिमा ६२० किलोग्राम सुन र ४८० किलोग्राम चाँदी प्राप्त गरेको छ । यस्तै, चालू वर्षको हालसम्मको अवधिमा साढे ९ किलोग्राम सुन र १५४ किलोग्राम चाँदी प्राप्त भएको छ महाशाखाले यसरी प्राप्त गरेको सुन प्रत्येक दसैँमा सुन र चाँदीका असर्फी बनाएर बजारमा बिक्री वितरण गर्ने गर्छ । तर, असर्फी बनाएकै भरमा ठुलो मात्रामा आउने सुनको मौज्दात सकिँदैन । सोही कारण, नेपाल सरकार वा सरकारका अन्य निकायले आवश्यकताअनुसार किन्ने समेत गर्छन् ।

कुनै मन्दिरमा सुनको गजुर वा सुनको प्रयोग गर्नुपरेमा टक्सार महाशाखामार्फत लिइन्छ ।  यस्तै, बजारमा व्यापारीलाई समेत सुन बिक्री गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप