शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

खानेपानी अभावको ठाउँमा प्राकृतिक सल्लेपोखरी

सोमबार, ०५ चैत २०७४, १० : २२
सोमबार, ०५ चैत २०७४

दीपेन्द्र राई/सयन्द्र राई
 

सल्ले (खोटाङ)– पूर्वमा नेवार गाउँ । दक्षिणमा पौडेल बस्ती । पश्चिममा मगर गाउँ । उत्तरमा विश्वकर्मा बस्ती । चार गाउँको बीचमा सल्लेपोखरी ।

हलेसी–तुवाचुङ नगरपालिका–९ सल्ले खोटाङमा रहेको सल्लेपोखरी प्राकृतिक पोखरी हो । पोखरी कहिलेदेखि अस्तित्वमा थियो भनेर स्थानीयले भन्न सक्दैनन् । स्थानीय समाजसेवी चक्रकुमार श्रेष्ठ भन्छन्, ‘बाउबाजेले समेत परापूर्वकालेदेखि पोखरी रहेको बताउँदै आए ।’

नेवार, पौडेल, मगर र विश्वकर्मा बस्तीबीचमा रहेको पोखरीबारे एउटै भनाइ छ, ‘परापूर्वकालमा पोखरीवरिपरि घना जंगल थियो । सर्वप्रथम मगर समुदायले जंगल फाँडेर बस्ती बसाए । जंगल फाँड्दा इनार भेटियो । बस्ती विस्तारक्रममा इनारको स्वरूप पोखरीमा परिवर्तन भयो ।’ 

साबिक सल्ले गाउँ विकास समितिको ३ र ४ नम्बर वडामा रहेको सल्लेपोखरीको मुहान छैन । हराभरा बनाउन पोखरीवरिपरि अशोकको बिरुवा रोपिएका छन् । नेवार, पौडेल, मगर र विश्वकर्मा समुदाय मिलेर बसेको ठाउँमा सल्लेपोखरीले सुन्दरता थपेको छ । ‘सल्लेपोखरी टेक्नासाथ जोकोही पोखरी पुग्छन् । पोखरीलाई पृष्ठभूमि बनाएर फोटो खिच्छन्,’ समाजसेवी श्रेष्ठले थपे, ‘पोखरीलाई पर्यटकीयस्थल बनाउन स्थानीय लागिपरेका छन् । सांस्कृतिक अध्ययन गर्न चाहनेले एकैठाउँमा चार समुदाय भेट्नु उत्तिकै सुखद मानिन्छ ।’ 

‘खानेपानी समस्या हुँदासमेत स्थानीयले पोखरीको पानी कहिल्यै खाएनन्,’ उनले सुनाए, ‘तर, स्थानीयका गाईबस्तुलाई पोखरीको पानी खुवाइन्छ । भैंसी आहाल बस्छन् । नुहाउन र लुगा धुन त छँदै छ । स्थानीयले घर बनाउँदा पोखरीकै पानी प्रयोग गर्छन् । मैले थाहा पाईकन दुई÷तीनपटक पोखरीको पानी सुक्यो । नत्र पोखरी पूर्वपट्टिको सुक्दै गए पनि पश्चिमपट्टि रहिरहन्छ ।’

स्थानीय विश्वकुमार पौडेल (७१) का अनुसार पोखरीको पानी सुक्यो भने अनिकाल लाग्छ । ‘पानी परेन भने नागपूजा गर्छौं,’ पौडेलले जोडे, ‘पूजा गरेपछि पानी परिछाड्छ । पानीको रङ परिवर्तन भए देशमा अनिष्ट हुन्छ ।’ 

संवत् २०३७ सालअघि साबिक सल्लेका ३ र ४ नम्बर वडावासीले स्थानीयलाई खानेपानी समस्या थियो । ०३७ पछि खानेपानी व्यवस्थापन गरियो । पोखरी पूर्वपट्टिसमेत एक धारा निर्माण गरिएको छ । ‘बाउबाजेले पहिले–पहिले धाराको पानी पोखरीमा लगाउन दिँदैनथे,’ उनले रहस्य खोले, ‘पोखरीम पानी लगाए रोगव्याधि लाग्छ भन्थे । त्यस्तो लक्षणसमेत नदेखिएको होइन । १८ कठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीमा २० वर्षअघि मेरै भतिजाको डुबेर ज्यान गयो ।’  

पछिल्लो समय पोखरी संरक्षण, सम्बद्र्धन गर्न थालिएको छ । पोखरीलाई उत्पादमुखी बनाउन माछापालन थालिएको तुलसीप्रसाद पौडेलले जानकारी गराए । पौडेलका अनुसार राष्ट्रियसभा पूर्वसदस्य विदुर पौडेलले उपलब्ध गराएको अढाई लाख रुपैयाँले माछापालन र मिल सञ्चालनमा ल्याइएको थियो । माछापालन र मिल सञ्चालनको आम्दानी विद्यालय सञ्चालनमा खर्चिए पनि पछिल्लो समय माछापालनको आम्दानी पोखरी संरक्षण सम्बद्र्धनमा प्रयोग गरिएको छ । अहिले माछा ठेक्कामा दिएको छ । 

पोखरी संरक्षणका लागि दुई समिति बनेका छन् । सल्लेपोखरी संरक्षण समिति र सल्लेपोखरी निर्माण समितिले पोखरी संरक्षण सम्बद्र्धनका लागि काम गर्दै आएको छ । 

हिजोआज पोखरीको पानी घट्दै गएको छ । जेठ, असारपछि पानी भरिन्छ । त्यतिबेला पोखरीको आकर्षक देखिनु अस्वाभाविक होइन । हलेसी–तुवाचुङ नगरपालिका–९ सल्ले वडाध्यक्ष काशीराज राईले अशोकको बिरुवा हुर्कंदै गएपछि पोखरी झन् आकर्षक देखिने बताए । वडाध्यक्ष राईले भावी योजना सुनाए, ‘पोखरीबीच वा उपयुक्त ठाउँमा मन्दिर बनाइनेछ भने पोखरीवरिपरि बगैंचा निर्माण गरिनेछ । पोखरी संरक्षण सम्बद्र्धनका लागि हलेसी–तुवाचुङ नगरपालिका–९ सल्लेले पाँच लाख रुपैयाँ छुट्ट्याएको छ ।’ 

चार समुदायको बीचमा रहेको सल्लेपोखरीका समुदायविशेषको चाडबाड सल्लेपोखरी मनाउने व्यवस्था मिलाइए पलासको फूलमा सुगन्ध भेटेसरह हुनेछ । सल्लेपोखरी हलेसी–तुवाचुङ नगरपालिका खोटाङका प्राकृतिक सम्पत्तिमध्ये एक हो । सल्लेपोखरीजस्ता नगरपालिकाभित्र रहेका प्राकृतिक सम्पत्तिलाई पर्यटकीयस्थल बनाउन नगरपालिकाले विशेष चासोसाथ हेरेको हलेसी–तुवाचुङ नगरपालिका प्रमुख इबन राईले बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप