रेडी ट्रेड प्रालिले मगाएको थियो ब्रेक प्याडमा ‘सुन’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।
‘ब्रेक प्याड’ १६० सेट मगाउने कम्पनी हो– ‘रेडी ट्रेड प्रालि ।’ सो कम्पनीको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । ब्रेक प्याडभित्र लुकाएको अवस्थामा करिब ८० देखि १ सय किलो सुन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले रातोपाटीलाई बताए ।
रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले रातोपाटीलाई बताए ।
भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे छानबिन गर्न समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
अवैध सुन ल्याउने गिरोहमा संलग्न आरोपमा भारतस्थित पुरानो दिल्ली घर भएर काठमाडौँ बस्ने ५३ वर्षीय थाप्तेन छिरिङसहित ६ जनालाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । बरामद सुनको तौल पनि यकिन गर्न बाँकी रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले बताए ।
राजस्व अनुसन्धान विभागको टोलीले तस्करीमा संलग्न गिरोहले बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान लागेको अवस्थामा बुधवार साँझ सुन बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह