४५ प्रतिशत महिलाले मात्र खान्छन् आइरन चक्की : रक्तअल्पताले कुपोषण बढ्ने खतरा
काठमाडौँ । धनुषाकी मीरा यादव ४ महिनाको गर्भावस्थामा छिन् । उनी बिहानै ६ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न घरहरूमा आलोपालो सरसफाइमा तल्लीन हुनुपर्छ । पहिलो बच्चा गर्भमा आएपछि उनमा खुसीको सीमा छैन । यद्यपि गर्भवती भएपछि बच्चा जन्मिँदासम्म ८ पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ, आइरन चक्की गर्नुपर्छ भन्नेमा उनी अञ्जान छन् ।
यस्तै, पेसाले सीमा चन्द (नाम परिवर्तन) पत्रकार हुन् । गर्भवती हुनुअघि, गर्भवती हुँदा, सुत्केरी भएपछि उनले सेवन गर्दै आएको आइरन चक्की सरकारले निःशुल्क उपलब्ध गराउँछ भन्ने जानकारी उनलाई थिएन । उनले भनिन्, ‘निजी क्लिनिकमा स्वास्थ्यकर्मीले लेखिदिएपछि किनेर खाएँ । निःशुल्क पाउँछ भन्ने थाहै थिएन ।’
गर्भवती तथा सुत्केरीले अनिवार्य आइरन चक्की सेवन गर्नुपर्छ । निःशुल्क रूपमा सो चक्की पाइन्छ भन्ने पूर्ण रूपमा जानकारी नहुँदा रक्तअल्पता, पुड्को, कुपोषित लगायतका बच्चा जन्मिने हुँदा परिवारसँगै देशलाई घाटा लाग्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार गर्भवती र सुत्केरीले थाहा नपाएर, थाहा पाएर तथा थाहा पाएर पनि आइरन चक्की नखाने तीनथरी रहेका हुन्छन् ।
नेपालमा गर्भवतीमध्ये ४५–४६ प्रतिशत गर्भवती महिलाले मात्रै आइरन सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ । निःशुल्क उपलब्ध हुँदै आएको आइरन सेवन नगर्दा जन्मिने बच्चा कुपोषित, कम तौल, पुड्कोपनको जोखिम हुने पोषणविद् सस्मिता पौडेल सुनाउँछिन् ।
यस्तै, किशोरीहरू तथा बच्चामा आइरन नपुगेमा बौद्धिक विकास, काममा एकाग्रता, शारीरिक तथा मानसिक रूपमा समस्या देखिने उनले बताइन् । शरीरमा आइरनको कमी हुँदा रक्तअल्पता हुन्छ । रक्तअल्पता भएका महिलाबाट जन्मिएको बच्चामा विभिन्न स्वास्थ्य समस्यासम्बन्धी खतरा रहने उनको भनाइ छ ।
सहरमा सेवन गर्ने कम
विशेष गरी रक्तअल्पता शरीरमा रगतको कमी भई, आइरनको कमी हुँदा लाग्ने गर्छ । नेपालमा रक्तअल्पता हुने दर ४३ प्रतिशत पुगेको छ । पाँच वर्ष मुनिका ३३ प्रतिशत बालबालिकामा रक्तअल्पता देखिएको छ । प्रजनन उमेरका महिलाहरूमा रक्तअल्पता हुने दर २५ प्रतिशत पुगेको छ ।
यहाँ १० देखि १९ वर्षका किशोरीलाई वर्षमा २६ हप्ता आइरन चक्की सेवन गराउने कार्यक्रम रहेको छ । महिला तथा बालबालिकाको रक्तअल्पता नियन्त्रण गर्न राष्ट्रिय रणनीति २०६४ ल्याइएको छ । तर, रक्तअल्पता कम गर्ने नीति ल्याइए पनि सफल हुन सकेको छैन ।
शाखाका प्रमुख थापाले आइरन खरिद गर्ने, वितरण गर्ने, जनचेतना फैलाउने जिम्मेवारी प्रदेश, स्थानीय तहलाई दिएकाले तल्लो तह अझै बढी जवाफदेही र जिम्मेवार बन्न आवश्यक रहेको जिकिर गर्छन् ।
आमा र बच्चा स्वस्थ रहन गर्भमा बच्चा बसेपछि उसको वृद्धि विकास कसरी हुन्छ ? कहिले, कति पटक गर्भ जाँच गर्ने जस्ता कुरा थाहा पाउन अत्यन्त जरुरी रहेको उनले बताए ।
स्मार्टफोन चलाएर विश्व भरका गतिविधिको जानकारी लिने तर बच्चा गर्भमा आएपछि आमा र बच्चाको शारीरिक, मानसिक रूपमा स्वस्थ रहनका लागि सर्च नगर्ने तथा ध्यान नदिने प्रवृत्ति कायम रहेको प्रमुख थापा बताउँछन् ।
ग्रामीण भेग, त्यसमाथि विकट स्थानका महिलाहरूले स्वयंसेविकाले भनेको मान्ने, स्वास्थ्य चौकी गई आइरन चक्की लिने तर तुलनात्मक रूपमा सहरी क्षेत्रका स्वास्थ्य संस्थामा यसका लागि पुग्ने दर कम रहेको उनी सुनाउँछन् ।
सहरी क्षेत्रमा निःशुल्क उपलब्ध गराइएको आइरन गुणस्तरीय हुँदैन भन्ने भ्रम रहेको उनको भनाइ छ ।
‘जनमानसमा सरकारले निःशुल्क वितरण गरेपछि राम्रो हुँदैन, खानुहुँदैन भन्ने भ्रम छ,’ उनले भने, ‘सेवन गरे पनि हुन्छ, नगरे पनि हुन्छ भन्ने गलत धारणाले भविष्यमा सन्ततिलाई रक्तअल्पताको बिरामी बन्न बाध्य बनाइँदैछ ।’
कति हप्तासम्म कति चक्की खाने ?
प्रमुख थापाका अनुसार गर्भावस्था र सुत्केरी भएपछि २२५ आइरन फोलिक एसिड सेवन गर्नुपर्छ । गर्भवती भएपछि १८० चक्की सेवन गर्नुपर्छ भने सुत्केरी भएपछि ४५ दिनसम्म सो चक्की सेवन गर्नुपर्छ ।
यस्तै, १० देखि १९ वर्षका किशोरीलाई वर्षमा २६ हप्तासम्म आइरन चक्की खुवाउने गरिन्छ ।
आइरन फोलिक एसिड सेवन गरेपछि गर्भावस्था, सुत्केरी, किशोरीलाई सामान्य स्वास्थ्य समस्या देखिन सक्ने पोषणविद् पौडेलले बताइन् । सो चक्की सेवन गर्ने केहीलाई वाकवाकी लाग्ने, कब्जियत हुने, कालो दिसा आउने लगायतका स्वास्थ्य समस्या देखिने तर यसलाई सामान्य ठान्नुपर्ने उनले बताइन् ।
के छ लक्ष्य प्राप्तिमा ?
पाँच वर्ष मुनिका ३३ प्रतिशत बालबालिकामा रक्तअल्पता देखिएको छ । यसलाई सन् २०३० सम्ममा १०.० प्रतिशत झार्ने सरकारको लक्ष्य राखिएको छ । प्रजनन उमेरका महिलाहरूमा हुने रक्तअल्पता हुने दर नेपालमा २५ प्रतिशत छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि २०३० सम्ममा १०.० प्रतिशत पुर्याउने सरकारको लक्ष्य छ ।
महिला तथा बालबालिकाको पोषण अवस्था सुधारका लागि प्रदेश तथा स्थानीय तहले आन्तरिक श्रोतका साथै उपलब्ध अनुदानको कम्तिमा १५ प्रतिशत रकम लगानी गर्नुपर्ने उल्लेख गरिएको, सोहीअनुसार रक्तअल्पता बढ्न नदिन ध्यान दिनुपर्ने उनले बताए ।
स्थानीय सरकारले ९८ प्रकारका औषधि खरिद गर्दा आइरन चक्कीलाई उच्च प्राथमिकतामा राखी किशोरी, गर्भवती र सुत्केरीलाई अनिवार्य रूपमा सेवन गराउन उनको सुझाव छ ।
यस्तै, रक्तअल्पता देखिनुका मुख्य कारण प्रमुख कारण दैनिक आहारमा आइरनयुक्त खानाको कमी भएको पोषणविद् पौडेलले बताइन् । त्यसैले, आइरन चक्कीसँगै खानपानमा सुधार ल्याउन प्रत्येक दिन साग, तरकारी, गेडागुडी, फलफूल, माछा, मासु, अण्डा नियमित रूपमा खान उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा
-
‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
-
फ्राइडे रिलिज : ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’