गाँजाको पकेट क्षेत्रमा डीआईजी राणाको ‘कफी खेती’ अभियान
मकवानपुर । भौगोलिक हिसाबले विकट राक्सिराङ गाउँपालिकाको अधिकांश क्षेत्रमा अवैध रुपमा गाँजा खेती हुने गरेको छ । भिरालो जमिन, सिँचाइको असुविधाका कारण सो क्षेत्रको केही स्थानमा रैथाने बाली उत्पादन भए पनि अधिकांश स्थानमा अवैध मानिएको गाँजा र अफिम खेती हुने गरेको छ ।
कानुनतः बन्देज रहेको गाँजा, अफिम खेती गरेको पाइएमा कानुन अनुसार कैद तथा जरिवाना हुने व्यवस्था छ । लागूऔषध ऐनले २५ वटा बोटसम्म गाँजा लगाउनेलाई तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ भने २५ बोटभन्दा बढी लगाउनेलाई ३ वर्ष कैद वा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
अफिम खेतीतर्फ २५ बोटसम्म अफिम खेती लगाउनेलाई १ देखि ३ वर्ष कैद र ५ देखि २५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ भने २५ बोटभन्दा बढी अफीम खेती लगाउनेलाई ३ देखि १० वर्ष कैद र २५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । त्यसका बाबजुद राक्सिराङमा ठुलो मात्रामा गाँजा खेती हुने गरेको छ ।
भौगोलिक विकटताका कारण सो क्षेत्रमा एक सिजनमात्र कृषि उत्पादन हुने गर्दछ । वर्षा यामका ३ महिनामा मात्र राक्सिराङमा कृषि उत्पदान हुन्छ । अन्य ९ महिना भने ज्यालादारीमै जीविकोपार्जन गर्न बाध्य हुन्छन् त्यहाँका नागरिक ।
राक्सिराङमा लगाइएका रैथाने बाली (कोदो, फापर, मकै) लगायतका उत्पादनले त्यहाँका बासिन्दालाई ६ महिना पनि थेग्न मुस्किल पर्छ । जसका कारण उनीहरु अवैध रुपमा गाँजा र अफिम खेती गर्न बाध्य हुने गरेका छन् । राक्सिराङका माथिल्लो पहाडी भेगमा ठुलो मात्रामा गाँजा खेती हुने गरेको छ । कम समयमा निकै नाफा आर्जन हुने भएपछि सो पालिकाका सबैजसो वडामा गाँजा खेती हुने गरेको छ ।
उक्त परिस्थिति अन्त्यका लागि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणाको अगुवाईमा राक्सिराङमा गाँजा, अफिम खेतीको विकल्पको रुपमा कफी खेतीलाई गर्ने प्रेरित गर्ने कार्यक्रम कार्यान्वयन गरिएको छ । डीआईजी राणाको अवधारणा अनुसार प्रदेश प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्तर्गत गाँजा खेतीलाई नियन्त्रण गर्न राक्सिराङ जस्ता गाँजा उत्पादनको पकेट क्षेत्रहरुमा वैकल्पिक नगदे बालीलाई प्रोत्साहन कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।
मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा बुधबार राक्सिराङ वडा नम्बर–५ को बोटबरी, डाँडेचुरे र बुफुम लगायतका स्थानमा करिब १ हजार ५०० कफीका बिरुवा रोपिएको थियो भने थप १३ हजार ५०० वटा बिरुवा विभिन्न कृषि समूहबाट वितरण गरिएको थियो । राक्सिराङका ५ वटा कृषि समूहबाट करिब २५० कृषकलाई उपलब्ध हुने गरी सो बिरुवा वितरण गरिएको हो ।
चितवनको राप्ती नगरपालिका–२ का धनबहादुर मास्केले आफ्नै लगानीमा सुरु गरेको कफी खेतीलाई गाँजाको विकल्पको रुपमा प्रयोग गर्ने उद्देश्य अनुसार प्रदेश प्रहरी कार्यालयले अभियानको रुपमा अघि बढाएको हो । स्थानीय नागरिकलाई विकल्प रुपमा कफी खेतीतर्फ आकर्षित गरी गाँजा खेती र कारोबारमा संलग्न हुनबाट जोगाउन सकिने भएकाले अभियान सञ्चालन गरिएको डीआईजी राणाले बताइन् ।
दीर्घकालीन उत्पादन दिने र नागरिकहरुको आर्थिक उपार्जनमा निकै सहयोगी हुने भएकाले कफी खेतीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । सो कार्यमा पालिकाले उचित ध्यान दिएर मल, कृषि प्राविधिकहरुको व्यवस्थापन गर्न पहल गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकाले गाँजा खेतीको विकल्प खोजिरहेको अवस्थामा कफी खेतीको अवधारणाले थप सहजता प्रदान गरेको बताए । उनले बजारीकरणमा समेत सघाउ पुग्ने गरी ल्याइएको कफी खेतीलाई विस्तार गरी पालिकाको सबै स्थानमा पुर्याउने बताए ।
कृषकहरुलाई तालिम, बाली बिमा, कृषि ऋण, प्राविधिक सहयोग उपलब्ध गराएर कफी खेतीको उत्पादनमा आकर्षित गर्ने उनको भनाइ छ ।
यसरी सुरु भयो कफी खेती अभियान
राप्तीको गड्यौलीमा सुपरमार्केट, होटल, रेष्टुरेन्ट तथा हस्पिटल व्यवसायमा संलग्न धनबहादुर मास्केले पहिलो पटक राप्ती–१ परेवाकोटमा आफ्नै जग्गामा कफी खेतीको सुरुवात गरे । राप्ती र मकवानपुरका ती स्थानको माटो परीक्षण पश्चात कफी खेतीको सम्भावना पुष्टि भएपछि ब्राजिलबाट बिउ आयात गरेर खेती गर्न सुरु गरिएको मास्केले बताए ।
बिस्तारै उनी राप्तीका कृषकहरुसँग जोडिदै थिए । सोही क्रममा मास्केको भेट डीआईजी राणासँग भयो । मास्केको कामप्रति सकारात्मक देखिएकी डीआईजी राणाले सो कामलाई चितवन र मकवानपुरमा गाँजाको विकल्पको रुपमा खेतीको रुपमा विस्तार गर्न पहल गर्ने निधोका साथ अभियान अघि बढाइन् ।
मास्केले तयार गरेको कफीका बिरुवा चितवनको एउटा र राक्सिराङका ५ वटा वडामा रोपिएको छ । ती स्थानमा ३ लाख वटा कफीका बिरुवा रोपिएको मास्केले बताए । आफ्नै खर्चमा तयार पारेको कफीका बेर्ना स्थानीय किसानहरुलाई सहभागी गराएर समूह निर्माण गरी वितरण गरिएको उनको भनाइ छ ।
उनका अनुसार एउटा कफीको बेर्ना तयार गर्न ३० रुपैयाँ खर्च लाग्छ । कफीका बिउ, बेर्ना तयार गर्दा लागेको खर्च, ज्याला लगायतका सम्पूर्ण व्यवस्था आफैँले गरेर निःशुल्क रुपमा कृषकहरुलाई वितरण गरिएको उनले बताए ।
‘सुरुवातमा ब्राजिलबाट प्रतिकिलो ५ हजार २०० रुपैयाँ लागतमा एक क्विन्टल बिउ आयात गरी प्राथमिकताका रुपमा राप्तीको परेवाकोट र मकवानपुरको राक्सिराङलाई राखेर काम सुरु गरिएको हो । राप्ती–१ को १८० रोपनी जग्गामा कफी रोपिएको छ । हालसम्म करिव ९० लाख रुपैयाँ लगानी भएको छ,’ मास्केले भने ।
कफी रोप्नेमात्र नभई बजारीकरणको पनि उचित योजना निर्माण गरेको उनले बताए । उत्पादित कफी प्रशोधन गरी विदेश निर्यातको सम्भावना रहेको उनको भनाइ छ । उत्पादित कफी बोटबाटै १०० रुपैयाँमा खरिद गरी बजारमा पु¥याउन सकिने उनले बताए ।
प्रतिरोपनी जग्गामा १०० बोट बिरुवा लगाइने र प्रतिबोट न्यूनतम १० किलो कफी उत्पदान हुने मास्के बताउँछन् ।
अहिले रोपिएको कफीको बिरुवाले २ वर्षमा उत्पादन दिन सुरु गर्ने र लगातार ३५ वर्षसम्म उत्पादन हुने मास्केले बताए । ३५ वर्षपछि कफीको बोटलाई कटान गरी पुनः ३५ वर्षसम्म उत्पादन गर्न सकिनेछ ।
प्रङ्गारिक मल प्रयोग गरेर कफीलाई रसायनरहित रुपमा उत्पादन गर्नुपर्ने उनले बताए । जैविक मलहरुको प्रयोग गरी कफी उत्पादन गर्दा बजारीकरणमा समेत उचित मूल्य प्राप्त हुने उनको भनाइ छ । कफीका बिरुवा २ फिटको दुरीमा लगाइने भएका कारण यसको बीचमा बेसार, अदुवा लगायतका अन्य नगदेवाली लगाउन सकिने मास्केले बताए ।
गाँजासहित एक वर्षमा राक्सिराङका ७ जना पक्राउ
गाँजा र अफिम कारोवारमा संलग्न भन्दै एक वर्षमा राक्सिराङ गाउँपालिकाका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा मात्र गाँजा खेतीको धेरै प्रभाव रहेको राक्सिराङका ७ जना प्रहरी नियन्त्रणमा परी हाल कैदीबन्दीको जीवन बिताइरहेका छन् ।
सो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजासहित ३ भारतीयलाई समेत पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ६८८ किलो गाँजा र ६ किलो अफिम बरामद गरेको छ ।
प्रहरीले सो आर्थिक वर्षमा मकवानपुरबाट १५३ वटा लागुऔषध सम्बन्धी मुद्दामा २४४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ हजार २५ किलो गाँजा बरामद गरेको छ भने १६ किलो अफिम बरामद गरेको छ ।
प्रहरीका अनुसार हालसम्म लागूऔषध सम्बन्धी मुद्धामा ३८६ जना कैदीबन्दी भिमफेदी कारागार र भरतपुर कारागारमा छन् भने लागुऔषध मुद्दामा संलग्न ३५१ जना फरार छन् । फरारमध्ये राक्सिराङका मात्र ५२ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
-
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य
-
सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून
-
त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द