मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

नवौँ महिला विश्वकप आजदेखि : न्युजिल्यान्ड र नर्वेबीच उद्घाटन खेल

बिहीबार, ०४ साउन २०८०, ०७ : ४०
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण बिहीबारदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदैछ । प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा खेलिने छ । पहिलो दिन बिहीबार नै आयोजक अस्ट्रेलिया र आयरल्यान्डबीच सिड्नीमा अर्को खेल हुनेछ । 

कुनै पनि दुई राष्ट्रले संयुक्त रुपमा महिला विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो । दुई छुट्टाछुट्टै क्षेत्रीय महासंघले विश्वकप फुटबल आयोजना गर्न लागेको पनि यो पहिलो पटक हो । यसअघि पुरुष विश्वकप पनि दुई छुट्टाछुट्टै क्षेत्रीय फुटबल महासंघले आयोजना गरेका छैनन् । अस्ट्रेलियन एसियाली फुटबल महासंघको सदस्य हो । न्युजिल्यान्ड भने ओसेनिया फुटबल महासंघको सदस्य हो । 

यसैगरी महिला विश्वकपको नवौं संस्करणमा सहभागी टोलीको संख्या पनि बढाइएको छ । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । नवौं संस्करणमा भने सहभागी टोलीको संख्या बढाएर ३२ पुर्याइएको छ । 

महिला विश्वकपको नवौं संस्करणमा एसियाबाट ६ राष्ट्र सहभागी छन् । अफ्रिकाबाट चार राष्ट्र छनोट भएका छन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट चार राष्ट्र सहभागी हुनेछन् । दक्षिण अमेरिकाबाट तीन, ओसेनियाबाट एक र युरोपबाट ११ राष्ट्र सहभागी हुँदैछन् । थप तीन राष्ट्रको टुंगो भने इन्टर कन्फिड्रेसन प्ले अफ प्रतियोगिताबाट लागेको हो । 

नवौं विश्वकपको समूह ‘ए’ मा न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा रहेका छन् । समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । 

यसैगरी समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा रहेका छन् । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना रहेका छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन् । 

समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछ । 

महिला विश्वकपको नवौं संस्करणका खेलहरु अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने भएको छ । यसअघि महिला विश्वकपका खेलहरु यति धेरै सहरमा खेलाइएको थिएन । यस पटक महिला विश्वकपका लागि विश्व फुटबल महासंघ (फिफा) ले पुरस्कार राशीमा पनि उल्लेख्य बृद्धि गरेको छ । 

यस पटक रुसलाई भने छनोट प्रतियोगिता नै खेल्न दिइएन । सन् २०२२ को डिसेम्बरमा रुसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध हटाइएको थियो । त्यसअघि प्रतिबन्धित औषधि प्रयोग गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो । तर, प्रतिबन्ध हटाइएपछि पनि रुसलाई महिला विश्वकपको छनोट खेल्न दिइएन । रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली फुटबल महासंघ (यूईएफए) ले रुसलाई विश्वकप छनोट खेल्न नदिएको हो । नवौं महिला विश्वकपको फाइनल खेल भने अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा खेलाइने कार्यक्रम रहेको छ । 
००००

पहिलो संस्करण
महिला विश्वकपको पहिलो संस्करण चीनले आयोजना गरेको थियो । पहिलो संस्करण सन् १९९१ को नोभेम्बर १६ देखि ३० तारिखसम्म खेलाइएको थियो । प्रतियोगिताका खेलहरु ६ वटा रंगशालामा खेलाइएको थियो । 

पहिलो संस्करणमा १२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । चीन, नर्वे, डेनमार्क, न्युजिल्यान्ड, अमेरिका, स्विडेन, ब्राजिल, जापान, जर्मनी, इटाली, चाइनिज ताइपेई र नाइजेरियाले प्रतियोगितामा भाग लिएका थिए । 

प्रतियोगिताको फाइनलमा अमेरिकाले नर्वेलाई २-१ गोलले हराएको थियो । प्रतियोगितामा स्विडेन तेस्रो र जर्मनी चौथो भएका थिए । अमेरिकाकी मिचेल एकर्स सर्वाधिक गोल गर्ने खेलाडी बनेकी थिइन् । उनले प्रतियोगिता अवधिभरमा कुल १० गोल गरेकी थिइन् । उनले ‘गोल्डेन सु’ जितेकी थिइन् । 

1st

अमेरिकाकी क्यारिन जेनिङ्सले गोल्डेन बल पाएकी थिइन् । ‘फिफ फेयर प्ले अवार्ड’ भने जर्मनीले पाएको थियो । पहिलो विश्वकपमा कुल २६ खेल भएको थियो । प्रतियोगिता अवधिभरमा कुल ९९ गोल भएको थियो । 
००००
दोस्रो संस्करण
महिला विश्वकपको दोस्रो संस्करण सन् १९९५ मा स्विडेनमा आयोजना भएको थियो । जुन ५ तारिखमा सुरु भएको विश्वकप जुन १८ तारिखमा सकिएको थियो । प्रतियोगितामा १२ राष्ट्रले सहभागिता जनाएका थिए । 

दोस्रो संस्करणका खेलहरु पाँचवटा रंगशालामा खेलिइएको थियो । प्रतियोगिताको फाइनलमा नर्वेले जर्मनीलाई २-० गोलले हराउँदै उपाधि चुमेको थियो । प्रतियोगितामा अमेरिका तेस्रो र चीन चौथो भएका थिए । चौथो स्थानका लागि भएको खेलमा अमेरिकाले चीनलाई २-० गोलले हराएको थियो ।

2nd

प्रतियोगिता अवधिभरमा कुल २६ खेल भएको थियो । दोस्रो संस्करणमा कुल ९९ गोल भएको थियो । प्रतियोगितामा नर्वेकी एन क्रिस्टिन एरोनेसले सर्वाधिक ६ गोल गरेकी थिइन् । उनले ‘गोल्डेन सु’ पाएकी थिइन् । नर्वेकै हेज रिल्सेले सर्वोत्कृष्ट खेलाडीका रुपमा ‘गोल्डेन बल’ पाइन् । ‘फिफ फेयर प्ले अवार्ड’ भने स्विडेनले पाएको थियो ।
००००
तेस्रो संस्करण

महिला विश्वकप फुटबलको तेस्रो संस्करण सन् १९९९ मा अमेरिकाले आयोजना गरेको थियो । तेस्रो संस्करण जुन १९ देखि जुलाई १० तारिखसम्म सञ्चालन भएको थियो । तेस्रो संस्करणमा सहभागी टोलीको संख्या बढाएर १२ बाट १६ पुर्याइएको थियो ।

तेस्रो संस्करणका खेलहरु अमेरिकाका आठवटा रंगशालामा खेलाइएको थियो । प्रतियोगिताको फाइनलमा अमेरिकाले चीनलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधि चुमेको थियो । निर्धारित र थप गरिएको समय खेल गोलरहित बराबरीमा सकिएको थियो । 

महिला विश्वकपमा अमेरिकाले जितेको यो दोस्रो उपाधि थियो । तेस्रो संस्करणमा ब्राजिल तेस्रो र नर्वे चौथो भएका थिए । तेस्रो स्थानका लागि खेलाइएको खेलको निर्णय पनि पेनाल्टी सुटआउटबाटै भएको थियो । पेनाल्टी सुटआउटमा ब्राजिल ५-४ गोलले विजयी भएको थियो । 

प्रतियोगिताका क्रममा कुल ३२ खेल भएको थियो । सहभागी टोलीले प्रतियोगिता अवधिभर कुल एक सय २३ वटा गोल गरेका थिए । उक्त विश्वकपमा ब्राजिलकी सिसी र चीनकी सन वेन संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने । 

ब्राजिलकी सिसी र चीनकी सन वेनले प्रतियोगितामा सात÷सात गोल गरेका थिए । दुबै खेलाडीले संयुक्त रुपमा ‘गोल्डेन सु’ पुरस्कार पाए । तेस्रो महिला विश्वकपमा चीनकी सन वेन सर्वोत्कृष्ट खेलाडी पनि घोषित भइन् । उनले ‘गोल्डेन बल’ पनि पाइन् । ‘फिफ फेयर प्ले अवार्ड’ भने चीनले पाएको थियो । 
००००
चौथो संस्करण

महिला विश्वकपको चौथो संस्करण पनि सन् २००३ मा अमेरिकामै आयोजना भएको थियो । त्यसैले अमेरिका लगातार दुई पटक महिला विश्वकप आयोजना गर्ने राष्ट्र पनि बनेको थियो । चौथो संस्करण सेप्टेम्बर २० देखि अक्टोबर १२ तारिखसम्म खेलाइएको थियो ।

चौथो संस्करणमा पनि १६ वटा राष्ट्रले सहभागिता जनाएका थिए । चौथो संस्करणका खेलहरु अमेरिकाका ६ वटा रंगशालामा खेलाइएको थियो । प्रतियोगिताको उपाधि भने जर्मनीले जितेको थियो । जर्मनीले फाइनलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोलले हराएको थियो । 

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । प्रतियोगितामा अमेरिका तेस्रो भएको थियो । तेस्रो स्थानका लागि खेलाइएको खेलमा अमेरिकीले क्यानडालाई ३-१ गोलले हराएको थियो । 

प्रतियोगिताका क्रममा कुल ३२ खेल भएको थियो । सहभागी टोलीले प्रतियोगिता अवधिभर कुल एक सय सात गोल गरेका थिए । प्रतियोगितामा जर्मनीकी बिर्गिट प्रिन्जले सर्वाधिक सात गोल गरिन् । उनले पाँच गोलका लागि पास पनि उपलब्ध गराएकी थिइन् । उनले ‘गोल्डेन सु’ पुरस्कार पाइन् ।

चौथो महिला विश्वकपमा जर्मनीकी प्रिन्ज नै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन् । त्यसैले ‘गोल्डेन बल’ पुरस्कार पनि उनकै भागमा परेको थियो । ‘फिफ फेयर प्ले अवार्ड’ भने चीनले पाएको थियो । 

चौथो संस्करणदेखि दुईवटा पुरस्कार थप गरिएको थियो । पहिलो पटक प्रदान गरिएको सर्वोत्कृष्ट गोलरक्षकको पुरस्कार जर्मनीकी सिल्की रोटेनबर्गले पाएकी थिइन् । पहिलो पटक नै प्रदान गरिएको ‘मोस्ट इन्टरटेनिङ टिम’ को पुरस्कार पनि जर्मनीले नै पाएको थियो ।
००००
पाँचौं संस्करण

महिला विश्वकप फुटबलको पाँचौं संस्करण सन् २००७ मा पुनः चीनमा फर्किएको थियो । यसअघि चीनले पहिलो संस्करण पनि आयोजना गरेको थियो । पाँचौं संस्करणका खेलहरु सेप्टेम्बर १० देखि ३० तारिखसम्म खेलिइएको थियो । 

यस पटक पनि प्रतियोगितामा १६ वटा राष्ट्रले नै सहभागिता जनाएका थिए । प्रतियोगिताका खेलहरु चीनका विभिन्न पाँचवटा सहरमा खेलाइएको थियो । पाँचौं संस्करणको उपाधि जर्मनीले जितेको थियो । जर्मनीले दोस्रो पटक महिला विश्वकपको उपाधि हात पारेको थियो ।

प्रतियोगिताको फाइनलमा जर्मनीले ब्राजिललाई २-० गोलले हराएको थियो । जर्मनीले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । प्रतियोगितामा अमेरिका तेस्रो भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा अमेरिकाले नर्वेलाई ४-१ गोलले हराएको थियो ।

प्रतियोगिता अवधिभरमा कुल ३२ खेल भएको थियो । सहभागी टोलीहरुले प्रतियोगितामा कुल एक सय ११ गोल गरेका थिए । पाँचौं विश्वकपमा ब्राजिलकी मार्टा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले कुल सात गोल गरेकी थिइन् । उनले ‘गोल्डेन सु’ पुरस्कार पाइन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले पाउने ‘गोल्डेन बल’ पुरस्कार पनि मार्टाले नै हात पारिन् । ‘फिफ फेयर प्ले अवार्ड’ भने नर्वेले पायो । जर्मनीकी नदाइन एन्जेरर सर्वोत्कृष्ट गोलरक्षक बनिन् । ‘मोस्ट इन्टरटेनिङ टिम’ को पुरस्कार ब्राजिलले पायो । 

उपाधि जर्मनीले जिते पनि अधिकांश पुरस्कारमा भने ब्राजिलले कब्जा जमाएको थियो । यो संस्करणमा एउटा थप पुरस्कार पनि दिइएको थियो । त्यो पुरस्कार थियो, ‘गोल अफ दि टुर्नामेन्ट’ अर्थात प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट गोल । त्यो पुरस्कार ब्राजिलकी मार्टाले पाएकी थिइन् । उनले सेमिफाइनलमा अमेरिकाविरुद्घ ७९औं मिनेटमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 
००००
छैटौं संस्करण

महिला विश्वकपको छैटौं संस्करण सन् २०११ मा जर्मनीमा आयोजना भएको थियो । दुई पटक उपाधि जितिसके पनि जर्मनीले त्यसअघि महिला विश्वकप आयोजनाको अधिकार पाएको थिएन । छैटौं संस्करणका खेलहरु जुन २६ देखि जुलाई १७ तारिखसम्म खेलाइएको थियो ।

छैटौं संस्करमा पनि सहभागी टोलीको संख्या भने १६ नै थियो । प्रतियोगिताका खेलहरु जर्मनीका विभिन्न नौवटा सहरमा खेलाइएको थियो । यति धेरै सहरमा महिला विश्वकप आयोजना गरिएको यो नै पहिलो पटक थियो ।

प्रतियोगिताको उपाधि भने जापानले जितेको थियो । एसियाली राष्ट्रले महिला विश्वकपको उपाधि जितेको यो पहिलो पटक थियो । प्रतियोगिताको फाइनलमा जापानले अमेरिकालाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराएको थियो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रतियोगितामा स्विडेन तेस्रो भएको थियो । तेस्रो स्थानका लागि खेलाइएको खेलमा स्विडेनले फ्रान्सलाई २-१ गोलले पाखा लगाएको थियो । प्रतियोगितामा कुल ३२ खेल खेलाइएको थियो भने सहभागी टोलीले कुल ८६ गोल गरेका थिए । 

प्रतियोगितामा जापानकी होमारे सावा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले पाँच गोल गरेकी थिइन् भने एक गोलका लागि पास उपलब्ध गराएकी थिइन् । उनले ‘गोल्डेन बल’ पुरस्कार पाइन् । यो संस्करणदेखि ‘गोल्डेन सु’ लाई ‘गोल्डेन बुट’ पुरस्कार नाम दिइएको थियो ।

सर्वोत्कृष्ट खेलाडीका रुपमा ‘गोल्डेन बल’ पुरस्कार पनि जापानकी होमारे सावाले नै पाएकी थिइन् । सर्वोत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने ‘गोल्डेन ग्लोभ’ पुरस्कार भने अमेरिकाकी होप सोलोले पाएकी थिइन् । अस्ट्रेलियाकी क्याट्लिन फुर्ड सर्वोत्कृष्ट युवा खेलाडी घोषित भइन् । 

यसैगरी ‘फिफा फेयर प्ले अवार्ड’ जापानले पायो । ‘गोल अफ दि टुर्नामेन्ट’ को पुरस्कार अमेरिकाकी एबी वाम्बाचले पाइन् । उनले ब्राजिलविरुद्घको क्वार्टरफाइनल खेलमा अतिरिक्त समयमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
००००
सातौं संस्करण

महिला विश्वकपको सातौं संस्करण सन् २०१५ मा क्यानडामा आयोजना भएको थियो । प्रतियोगिता जुन ६ देखि जुलाई ५ तारिखसम्म खेलाइएको थियो । यो संस्करणदेखि टोलीको संख्या बढाएर २४ पु¥याइएको थियो । यसअघि महिला विश्वकपमा १६ टोलीले मात्र सहभागिता जनाउँथे ।

प्रतियोगिताका खेलहरु क्यानडाका ६ वटा सहरमा खेलाइएको थियो । सातौं संस्करणको उपाधि अमेरिकाले जितेको थियो । अमेरिकाले महिला विश्वकपको उपाधि चुमेको यो तेस्रो पटक थियो । फाइनलमा अमेरिकाले जापानलाई ५-२ गोलको फराकिलो अन्तरले हराएको थियो । 

प्रतियोगितामा इङ्ल्यान्डले तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई १-० गोलले हराएको थियो । प्रतियोगिता अवधिभरमा कुल ५२ खेल भएको थियो । सहभागी टोलीहरुले कुल एक सय ४६ गोल गरेका थिए । 

जर्मनीकी सेलिया सासिच र अमेरिकाकी कार्ली लोयडले सर्वाधिक ६÷६ गोल गरेका थिए । सेलिया सासिचले ‘गोल्डेन बुट’ र कार्ली लोयडले ‘सिल्भर बुट’ पुरस्कार पाए । अमेरिकाकी कार्ली लोयड प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ‘गोल्डेन बल’ पुरस्कार पाइन् । 

सर्वोत्कृष्ट गोलरक्षकका रुपमा अमेरिकाकी होप सोलोले ‘गोल्डेन ग्लोभ’ पुरस्कार पाइन् । ‘फिफा फेयर प्ले अवार्ड’ फ्रान्सले पायो । सर्वोत्कृष्ट युवा खेलाडीको पुरस्कार क्यानडाकी कादिसा बुचाननले पाइन् । अमेरिकाकी कार्ली लोयडले गरेको गोलले उत्कृष्ट गोलको पुरस्कार पायो । उनले जापानविरुद्घको फाइनल खेलको १६औं मिनेटमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

महिला विश्वकपको यो संस्करणमा एउटा गजबको कीर्तिमान पनि बनेको थियो । महिला विश्वकपको यो संस्करणले दर्शकको कीर्तिमान बनाएको थियो । फिफाले आयोजना गर्ने कुनै पनि विश्वकपका खेलहरु त्यति धेरै दर्शकले हेरेका थिएनन् । उक्त विश्वकप कुल १३ लाख ५३ हजार पाँच सय ६ जना दर्शकले हेरेका थिए । प्रत्येक खेल हेर्ने दर्शकको सँख्या औसतमा २६ हजार २९ रहेको थियो । 
००००
आठौं संस्करण

महिला विश्वकपको आठौं संस्करण सन् २०१९ मा फ्रान्सले आयोजना गरेको थियो । फ्रान्सले पहिलो पटक महिला विश्वकप आयोजनाको अधिकार पाएको थियो । प्रतियोगिताका खेलहरु जुन ७ देखि जुलाई ७ तारिखसम्म खेलाइएको थियो । 

अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि २४ वटा टोली सहभागी भएका थिए । प्रतियोगिताका खेलहरु फ्रान्सका नौवटा सहरमा खेलाइएको थियो । आठौं संस्करणको उपाधि पनि अमेरिकाले नै चुमेको थियो । महिला विश्वकपमा अमेरिकाले जितेको यो चौथो उपाधि थियो ।

अमेरिकाले फाइनलमा नेदरल्यान्ड्सलाई २-० गोलले हराएको थियो । प्रतियोगितामा स्विडेनले तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा स्विडेनले इङ्ल्यान्डलाई २-१ गोलले हराएको थियो । 

प्रतियोगितामा कुल ५२ खेल खेलाइएको थियो । प्रतियोगिता अवधिभर कुल एक सय ४६ गोल भएको थियो । अमेरिकाकी मेगन रापिनो, अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्यान्डकी एलिन ह्वाइट संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनीहरुले ६-६ गोल गरेका थिए ।

मेगन रापिनोले ‘गोल्डेन बुट’, एलेक्स मोर्गनले ‘सिल्भर बुट’ र एलिन ह्वाइटले ‘ब्रोन्ज बुट’ पुरस्कार पाएका थिए । अमेरिकाकी मेगन रापिनोले सर्वोत्कृष्ट खेलाडीका रुपमा ‘गोल्डेन बल’ पुरस्कार पनि पाएकी थिइन् । नेदरल्यान्ड्सकी सारी भान भिनेन्दलले सर्वोत्कृष्ट गोलरक्षकका रुपमा ‘गोल्डेन ग्लोभ’ पुरस्कार हात पारिन् । 

जर्मनीकी जिउलिया जिविन प्रतियोगिताको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भइन् । फ्रान्सले ‘फिफा फेयर प्ले अवार्ड’ पायो । ब्राजिलकी क्रिस्टिनले गरेको गोललाई उत्कृष्ट गोलको पुरस्कार प्रदान गरिएको थियो । क्रिस्टिनले समूहगत चरणमा अस्ट्रेलियाविरुद्घको खेलको ३८औं मिनेटमा गरेको गोललाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।  
००००
मार्टा सर्वाधिक गोलकर्ता 

महिला विश्वकपको इतिहासमा हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी ब्राजिलकी मार्टा हुन् । उनले हालसम्म विश्वकपमा १७ गोल गरेकी छन् । जर्मनीकी बिर्गिट प्रिन्ज र अमेरिकाकी एबी वाम्बाचले १४-१४ गोल गरेका छन् । अमेरिकाकी मिचेल एकर्सले १२ गोल गरेकी छन् । ब्राजिलकी क्रिस्टिन, चीनकी सन वेन र जर्मनीकी बेटिना विगम्यानले ११-११ गोल गरेका छन् । 

यसैगरी हालसम्म महिला विश्वकपमा सर्वाधिक गोल गर्ने राष्ट्र अमेरिका हो । अमेरिकाले हालसम्म एक सय ३८ गोल गरेको छ । जर्मनीले एक सय २१ र नर्वेले ९३ गोल गरेका छन् । स्विडेनले ७१ र ब्राजिलले ६६ गोल गरेका छन् । चीनले भने ५३ गोल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप