गत आवमा चिडियाखानाको आम्दानी रु १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन
काठमाडौँ । अर्थिक वर्ष २०७९–८० मा जावलाखेलस्थित सदर चिडियाखानाले रु १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार ६ सयले अवलोकन गरेका थिए । त्यसबाट रु १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै यहाँको मुख्य आम्दानीको स्रोत हो ।
यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा रु तीन करोड बढी हो । गत आर्थिक वर्षका लागि रु २० करोडको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा तीन करोड कम आम्दानी गरेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा आठ लाख ४३ हजार छ सय ३० ले चिडियाखानाको अवलोकन गर्दा रु १४ करोड १८ लाख ४२ हजार आम्दानी भएको थियो । विगतका तीन वर्षमा कोरोनाका कारण अवलोकनकर्तामा कमी आएकाले आम्दानी कम भएको थियो । गत आवमा उलेख्यरूपमा अवलोकनकर्ता आएकाले आम्दानी बढेको सूचना अधिकारी कोइरालाको भनाइ छ ।
कोरोनाको त्रास हटेसँगै दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । अवलोकनकर्ता बढेकाले विगत वर्षमा भन्दा यस वर्ष बढी आम्दानी भएको हो । अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलबभत्ता र जीव, जनावरलाई खाना खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।
चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव, जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गरेका हुन् । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)