मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
शंकास्पद वस्तु प्रकरण

सिनामंगलका सुन व्यापारीसँग आरोपितले मागेका थिए ५ लाख

बुधबार, ०३ साउन २०८०, २० : २५
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगल स्थित ताराहल चोकमा एउटा सुन पसल छ । ‘खोटाङ हलेसी सुन चाँदी पसल’को सटरमा बुधबार बिहान शंकास्पद बस्तु भेटियो । सैनिक टोलीले शंकास्पद बस्तुलाई डिस्पोज गरेको छ । शंकास्पद बस्तु बम हो या होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न आरोपमा रौतहटको माधव नारायण नगरपालिका–८ घर भएका खजान्ती पासवानलाई प्रहरीले पक्राउ गरेको छ । शंकास्पद बस्तु राख्नेले केही दिनअघि सुन पसल सञ्चालकलाई ५ लाख माग्दै फोन गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।

‘खोटाङ हलेसी सुनचाँदी पसल’का सञ्चालक हुन् मोहन विक । पसलको बोर्डमा उनको मोबाइल नम्बर थियो । अपरिचित व्यक्तिले सो नम्बरमा फोन गरेर ‘५ लाख नदिए कारबाही गर्ने’ धम्की विकलाई दिएका थिए ।

‘तर्साउने उद्देश्यले शंकास्पद बस्तु राखेको देखिन्छ,’ एसपी रिजाल भन्छन्, ‘तर्साएपछि पैसा आउँछ भन्ने मनसाय देखिएको छ, त्यसबारे अनुसन्धान हुँदैछ ।’

प्रहरी नियन्त्रणमा रहेका आरोपित पासवानले आफूलाई मोबाइल दिएर कसैले बम राख्न लगाएको बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘काम गर्ने मान्छे हुँ, बम राख्न लगाउनेलाई चिन्दिनँ ।’ 

बुधबार बिहान ९ बजेर ४७ मिनेटमा आफ्नो पसलको सटरमा ‘यहाँ आरडीएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला’ भन्ने हस्तलिखित पर्चा र शंकास्पद बस्तु देखेपछि सुन पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद बस्तु डिस्पोज गरेर अवशेष परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको एसपी रिजालले बताए । उनले भने, ‘घटनास्थलमाा नेपाल उत्थान क्रान्तिकारी पार्टीको हस्तलिखित पर्चा भेटिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप