राजपाल यादवमाथि जब खसेको थियो दुःखको पहाड, श्रीमतीको निधनपछि फिल्ममा प्रवेश
बलिउडमा प्रतिभाशाली अभिनेता र हास्यकलाकारको कुरा आउँदा राजपाल यादवको नाम धेरैको मुखमा आउँछ । उनले आफ्नो दुई दशक लामो करियरमा थुप्रै फिल्ममा आफ्नो अभिनयले धेरै दर्शकलाई मनोरञ्जन दिलाए । ‘ढोल’, ‘चुपके चुपके’, ‘हंगामा’, ‘फिर हेरा फेरी’, ‘भूल भुलैया’, ‘खट्टा मीठा’ जस्ता फिल्ममा उनको अभिनयलाई अहिले पनि धेरैले याद गर्छन् । पर्दामा सबैलाई हँसाउने यी अभिनेताको जीवन निकै सङ्घर्षपूर्ण रह्यो ।
राजपाल यादवको व्यावसायिक जीवनबारे त धेरैलाई थाहा छ तर उनको निजी जीवनबारे भने धेरै अञ्जान छन् । आज यी हास्यकलाकारको जीवनको त्यो पाटोबारे जानकारी दिँदै छौँ जसबारे उनी खासै चर्चा गर्दैनन् । उत्तर प्रदेशको शाहजहांपुरमा जन्मिएका यी अभिनेतामाथि २० वर्षको उमेरमा नै दुःखको पहाड खस्यो ।
हालै एक अन्तरवार्ताका क्रममा उनले पहिलो श्रीमतीको मृत्यु हुँदा आफू भर्खर २० वर्षको भएको बताए । छोरी जन्माउने क्रममा जटिलताका कारण उनको मृत्यु भएको थियो । उनले श्रीमती र छोरीलाई भेट्न जाँदा श्रीमतीको पहिल्यै मृत्यु भइसकेको भन्ने थाहा पाए ।
श्रीमतीको मृत्यु भएपछि उनी गहिरो शोकमा भए । उनी रातदिन छोरीको भविष्य के होला भनेर सोच्ने गर्दथे । सन् १९९१ मा यो शोकबाट निस्कनका लागि उनले नेशनल स्कुल अफ ड्रामामा भर्ना लिएको बताए । पढाई पूरा गरेपछि इन्डस्ट्रीमा आफूलाई स्थापित गर्नका लागि उनले निकै सङ्घर्ष गर्नुपर्यो ।
बने कमेडी किङ
१३ वर्षसम्म ठक्कर खाएपछि उनको मेहनतले रङ ल्यायो र उनले फिल्म ‘जङ्गली’ बाट राम्रो पहिचान पाए । त्यसपछि बिस्तारै बिस्तारै राजपाल यादव बलिउडका ती नाम बने जो ९० को दशकको लगभग हरेक कमेडी फिल्मको हिस्सा भए ।
परिवारले साथ दिए
फिल्ममा पहिचान बनाए पछि उनको भेट क्यानडामा बस्ने राधासँग भयो । केही समयपछि यी दुई विवाह बन्धनमा बाँधिए । आफ्नो अन्तरवार्तामा श्रीमतीको तारिफ गर्दै उनले आमाबुवापछि उनकी श्रीमतीले नै उनलाई सबैभन्दा धेरै समर्थन गरेको बताए ।
कामको कुरा गर्ने हो भने राजपाल यादवलाई अन्तिम पटक नेटफ्लिक्सको फिल्म ‘कटहल’ मा देखिएको थियो । त्यस अघि यी अभिनेता कार्तिक आर्यन र कियारा आडवाणीको फिल्म ‘भूल भुलैया टु’ मा देखिएका थिए ।