सुर्तीजन्य वस्तु बिक्री वितरण रोक्न महानगर असफल
विराटनगर । विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि सुर्तीजन्य वस्तु (रजनीगन्धा, तुलसी, भोला, गुट्खा र खैनी) विक्री वितरणमा रोक लगाएको छ । तर, विराटनगरको मुख्य बजार मानिने ट्राफिक चोकको एक पसलमा माग्ने बित्तिकै खुद्रा पसलेले रजनीगन्धा र तुलसी निकालेर दिए । तर, उनले भने, ‘लुकाएर लानु, यहाँ नखानु ।’
उनले अगाडि भने, ‘बिक्री गर्नमा रोक लगाएको छ । अझै भारतबाट आएकालाई त कडा जरिमाना ठोक्छ । विक्री गरेको थाहा पायो भने ५० हजार जरिमाना लिन्छ अरे ।’ ‘अनि भरे त सकिन्छ होला नि किन्न पाइँदैन होला है,’ भन्ने उनको प्रश्नमा उनले भने, ‘होइन होइन पाउन चाहिँ पाइन्छ । नेपाली उत्पादन पनि पाइन्छ । भारतीय उत्पादन पनि पाइन्छ । तर, तपाईँले खाएको देख्यो भने पनि ५ हजार जरिमाना लिन्छ । लुकाएर खानु होला ।’ तर, उक्त निर्णय कार्यान्वयन नभएको उक्त घटनाबाटै प्रस्ट हुन्छ ।
महानगरपालिकाले नगर परिषदबाट निर्णय गराएरै सूर्तीजन्य सबैथरी पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाएको हो । यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
उक्त निर्णय कार्यान्वयन भएको भनिए पनि सेवनकर्ताका लागि सुर्तीजन्य वस्तु खरिद गर्नका लागि कुनै समस्या छैन । ‘यो सबै भन्ने कुरा हुन् । कार्यान्वयन गर्ने भनेको ३ दिन भयो । कसैलाई कारबाही भएको सुन्नुभएको छ ?,’ विराटनगरका एक ग्राहकले भने, ‘किनबेचमा कुनै रोकटोक छैन । पहिले जुन पसलमा पाइन्थ्यो । अहिले पनि त्यो पसलमा पाइन्छ ।’ उनीजस्तै अर्का प्रयोगकर्ताले भने, ‘भोला, गुट्खा अभाव नै छैन । तर, सहज उपलब्धता पनि छैन ।’
तीन दिन अगाडिकै जस्तो सडकमा भोला गुट्खा खाएर फालिएको प्लास्टिकहरू जथाभाबी देख्न सकिन्छ । यस्तै कतिपय अफिसका सिँढीहरूमा भोला खाएर फालिएका प्लास्टिकका टुक्रा अझै भेटिन्छ । यसले पनि खानेहरूका लागि खरिद गर्न धेरै असहज भएको देखिँदैन ।
‘यो प्रतिबन्ध भनेको नखानेहरूका लागि हो,’ विराटनगरका बब्लु मिश्रले भने, ‘सुर्ती पनि पाइन्छ, भोला, गुट्खा सबै पाइन्छ ।’ विराटनगरमा १२ वर्षदेखि नशालु पदार्थहरू विक्री वितरणमा रोक लगाउनु पर्ने माग राख्दै आएका फणीराज नेपालले पनि महानगरले लगाएको प्रतिबन्ध प्रभावकारी नदेखिएको बताए ।
‘मानिसको स्वास्थ्य बिगार्ने सबै खालका नशालु पदार्थ रोक्नुपर्छ भनेर हामीले ०६८ सालदेखि सुरु गरेका हौँ । तर, अमेरिकाजस्ता मुलुकमा पनि लुकिछिपी पाइन्छ भने यहाँ नपाउने कुरै भएन । नगरप्रमुखले गरेको राम्रो कुरा हो । तर, संघीय सरकारले उत्पादन गर्न उद्योग खोल्न दिने । तर स्थानीय सरकारले विक्री गर्न नदिने भनेर रोकिन्छ भन्ने नै छैन,’ नेपालले भने, ‘गत असारको ३०, ३१ गते र साउनयता कुनै फरक छैन । यो हल्ला गर्ने कुरा मात्रै हो । नगरपालिकाले सुक्ष्म रुपले हेर्ने बुझ्ने, अनुगमन गर्ने काम गरेकै छैन । यसरी कसरी रोकिँदैन ।’
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने भोलाको प्याकेट, रजनीगन्धा तुलसीको प्याकेट र खैनीको प्याकेटमा प्रतिबन्ध लगाएको बताए । ‘भोलाको प्याकेट, रजनीगन्धा तुलसीको प्याकेट र खैनीको प्याकेटमा हामीले प्रतिबन्ध लगाएका छौं । पानमा प्रतिबन्ध छैन । तर, पान पसल अगाडि पान खाएर थुक्न चाहिँ पाइँदैन,’ कोइरालाले भने ।
विराटनगरमा गुट्खा र सुर्तीजन्य उद्योगहरू नरहेको बताउँदै उनले अबका दिनमा त्यसखालका उद्योगलाई नवीकरण पनि नगर्ने र नयाँलाई अनुमति पनि नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’