शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या

बुधबार, ०३ साउन २०८०, १५ : १२
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् । 

एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङ्ले जानकारी दिए । 

स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटकपटक रोकिएको काठमाडौँ उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ ।  

नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पारे । धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहर व्यवस्थापनमा रोक लगाइएको बताए ।    

यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुप¥यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताए । 

विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । फोहर व्यवस्थापनमा रोक लगाएपछि फोहरमैला व्यवस्थापन सङ्घले अदालतमा रिट दर्ता गरेको थियो । उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । 

अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरिरहेका छन् । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहर उक्त स्थानमा लाने गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप