बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

चलचित्र बगान हेर्न हलमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी

बुधबार, ०३ साउन २०८०, १२ : १७
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ हेर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हलमा पुगेकी छन् । सुनधारास्थित सिभिल मलमा रहेको क्युएफएक्स सिनेमा हलमा मङ्गलवार राति पूर्वराष्ट्रपति भण्डारीसहित राजनीतिक दलका नेताहरू, वरिष्ठ कलाकार, साहित्यकार, विश्लेषकलगायतले बगान हेरेका हुन् । 

अभिनयमा सदाबहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात् पूर्वराष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिइन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जुन विषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सोही विषय ‘बगान’ले उठाएको बताए । पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै उनले सोही विषयलाई सशक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको बताए । 

पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैँ पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताइन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बगान आमाछोरी नै आएर हेर्नुपर्ने बताए । ‘नारीमाथि भइरहेको अन्यायको विषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाइएको छ, सबैको मनले स्वीकारेको छ,’ श्रेष्ठले भने, ‘महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान् बितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदै छ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।’

वरिष्ठ कलाकार हरिवंश आचार्यले बगानको विषय नै मुटु छुने रहेको बताए । ‘जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो विषय नै त्यस्तै छ,’ आचार्यले भने । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नवअभिनेत्री प्रमीला कार्की र अभिनेत्री मानन्धरको तारिफ गरे । 

वरिष्ठ कलाकार किरण केसीले चलचित्रमा धेरै पटक रुवाएको भन्दै अभिनेत्री कार्कीको प्रशंसा गरे । 

निर्देशक तुलसी घिमिरेले बगानको विषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताए । यो चलचित्रले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उनले बताए । 

संविधानविद् डा भीमार्जुन आचार्यले नेपाली समाजमा संवेदना हराउँदै गएको अवस्थामा समाजको संवेदनशील विषय उठान भएको बताए । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आम नेपालीले यो चलचित्र हेर्न अनुरोध गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप