विश्व क्रिकेटमा वेस्ट इन्डिजको उत्थान र पतनको कथा
काठमाडौँ । कुनै समय विश्व क्रिकेटमा दबदबा थियो वेस्ट इन्डिजको । भिभ रिचर्डस, एन्डी रोबर्टस, क्लाइभ लोइड, केथ बोयस, रोय फ्रेड्रिक्स, माइकल होल्डिङ जस्ता प्रभावशाली खेलाडीको बलियो जगमा उभिएको यो क्यारेबियन टोलीले कुनै समय विश्व क्रिकेट हल्लाएको थियो ।
त्यसैको प्रतिफल थियो आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सुरुको दुई संस्करणमा वेस्ट इन्डिज निर्विकल्प च्याम्पियन बनेको थियो । सन् १९७५ मा पहिलो विश्वकपको उपाधि चुमेको वेस्ट इन्डिजले सन् १९७९ मा सम्पन्न दोस्रो संस्करणमा समेत कसैलाई छेउछाउ ढिम्किन दिएन ।
पहिलो संस्करणमा समूहगत चरणदेखि नै अपराजित रहेको वेस्ट इन्डिजले फाइनलमा बलियो अस्ट्रेलियालाई १७ रनले हराएको थियो । वेस्ट इन्डिजको कतिसम्म दबदबा थियो भने पहिलो विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा माथिल्लो पाँच स्थानमा तीन जना त वेस्ट इन्डिजकै बलर परेका थिए । क्यारेबियन टोलीका ब्रेन्डन जुलियन र केथ बोयसले १०–१० विकेट लिएका थिए भने एन्डी रोबर्टसले आठ विकेट हात पारेका थिए ।
अब चर्चा गरौँ दोस्रो विश्वकपको । दोस्रो विश्वकपमा पनि वेस्ट इन्डिज अपराजित रहँदै उपाधिसम्म पुगेको थियो । समूहगत चरणमा वेस्ट इन्डिज र श्रीलङ्काबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले विश्व क्रिकेटको जननी राष्ट्र इङ्ल्यान्डलाई ९२ रनको फराकिलो अन्तरले हराएको थियो ।
उक्त विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो र दोस्रो स्थानमा वेस्ट इन्डिजकै खेलाडी थिए । गोर्डन ग्रिनिजले चार खेल खेल्दै सर्वाधिक दुई सय ५३ रन बनाएका थिए भने भिभ रिचर्डसले समान खेल खेल्दै दुई सय १७ रन बटुलेका थिए । सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि वेस्ट इन्डिजका माइकल होल्डिङ आठ विकेटसहित पाँचौँ स्थानमा थिए ।
त्यसपछि सन् १९८३ मा सम्पन्न विश्वकपको तेस्रो संस्करणमा पनि वेस्ट इन्डिजको प्रदर्शन अब्बल थियो । तर अन्तिम समयमा आएर वेस्ट इन्डिज उपाधिबाट चुकेको थियो । समूहगत चरणका ६ मध्ये पाँच खेलमा विजयी भएको वेस्ट इन्डिज फाइनलसम्म पुगेको थियो ।
समूहगत चरणको एउटा खेलमा वेस्ट इन्डिज भारतसँग पराजित भएको थियो भने अर्को खेलमा भारतलाई हराएको थियो । संयोगले फाइनलमा पनि वेस्ट इन्डिजले भारतलाई नै प्रतिद्वन्द्वीका रूपमा पाएको थियो । तर फाइनलमा वेस्ट इन्डिजलाई भारतले ४३ रनले हराएको थियो ।
त्यसपछि भने यो क्यारेबियन टोली कहिल्यै एकदिवसीय विश्वकपको फाइनलसम्म पनि पुग्न सकेन । विश्वकपको फाइनलमा पुग्न नसके पनि विश्व क्रिकेटमा भने वेस्ट इन्डिजको दबदबामा कुनै कमी आएको थिएन । एकदिवसीय होस् वा टेस्ट क्रिकेट वेस्ट इन्डिजको उत्कृष्ट प्रदर्शन कायमै थियो ।
सन् १९८७ मा एकदिवसीय विश्वकपको चौथो संस्करण आयोजना हुँदासम्म वेस्ट इन्डिजको टोलीमा रिची रिचर्डसन, रोजर हार्पर, प्याट्रिक पिटर्सन, कर्टनी वाल्स, कार्ल हुपर जस्ता प्रतिभाशाली खेलाडीको उदय भइसकेको थियो ।
ब्रायन लाराको उदय
त्यसपछि सन् १९९२ को पाँचौँ विश्वकपमा वेस्ट इन्डिजको टोलीमा विश्व क्रिकेट थर्काउने दुई शक्तिशाली खेलाडीको पदार्पण भयो– बलिङमा कर्टनी एम्ब्रोस र ब्याटिङमा ब्रायन लाराका रूपमा । ब्रायन लारा यस्ता क्रिकेटर थिए, जसले लामो समय आईसीसीको ब्याटिङ वरीयताको पहिलो स्थानमा अन्य ब्याट्सम्यानलाई ढिम्किनसम्म दिएनन् ।
यसका अतिरिक्त विश्व क्रिकेटका थुप्रै कीर्तिमान पनि उनले आफ्नो नाममा लेखाएका छन् । राष्ट्रिय टोलीमा स्थान बनाउनुअघि नै उनले सन् १९८७ मा युथ च्याम्पियनसिपमा चार सय ९८ रनको पाली खेलेर कीर्तिमान बनाएका थिए । उनले अघिल्लो वर्ष कार्ल हुपरले बनाएको चार सय ८० रनको कीर्तिमान तोडेका थिए ।
आफूले खेलको पाँचौँ टेस्टमै सन् १९९३ को जनवरीमा अस्ट्रेलियाविरुद्ध दुई सय ७७ रनको पाली खेलेर उनले विश्व क्रिकेटलाई आफ्नो अद्भुत क्षमताको परिचय दिएका थिए । लाराकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला पनि वेस्ट इन्डिजले २–१ ले जितेको थियो ।
लारा पहिलो श्रेणीको क्रिकेट र टेस्ट क्रिकेटमा सर्वाधिक एकल रन बनाउने खेलाडी पनि हुन् । उनले सन् १९९४ मा डरहमविरुद्धको खेलमा वार्विकसियरका लागि अविजित पाँच सय एक रनको उत्कृष्ट पाली खेलेका थिए । टेस्ट क्रिकेटमा भने उनले सन् २००४ मा इङ्ल्यान्डविरुद्ध अविजित चार सय रन बनाएका थिए ।
पहिलो श्रेणीको क्रिकेटमा पाँच सय एक रनको कीर्तिमान बनाउँदा लाराले लगातार चार सय ७४ मिनेटसम्म क्रिजमा टिकेर चार सय २७ बलको सामना गरेका थिए । उनले तीन सय आठ रन त छक्का र चौकाबाट मात्रै बटुलेका थिए । यस क्रममा उनले १० छक्का र ६२ वटा चौका प्रहार गरेका थिए ।
इङ्ल्यान्डविरुद्धको टेस्टमा अविजित चार सय रनको कीर्तिमान बनाएपछि वेस्ट इन्डिजका यी महान खेलाडीले भनेका थिए, ‘कीर्तिमानहरू तोडिनैका लागि बन्छन् ।’ तर दुर्भाग्य सक्रिय खेलजीवनबाट बिदा लिएको १६ वर्ष बितिसक्दा पनि उनले बनाएको कीर्तिमान विश्व क्रिकेटका कुनै हस्तीले तोड्न सकेका छैनन् । उनले सन् २००६ को नोभेम्बर २७ मा पाकिस्तानविरुद्ध अन्तिम टेस्ट र सन् २००७ को अप्रिल २१ तारिखमा इङ्ल्यान्डविरुद्ध अन्तिम एकदिवसीय खेलेका थिए ।
विश्व टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका लारामात्र यस्ता खेलाडी हुन्, जसले आफ्नो नामबाट खोसिएको सर्वाधिक रनको कीर्तिमान पुनः आफ्नै नाममा फर्काएका थिए । उनले सन् १९९४ मा इङ्ल्यान्डविरुद्ध तीन सय ७५ रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा पारेका थिए । तर सन् २००३ मा जिम्बाबेविरुद्ध तीन सय ८० रन बनाउँदै अस्ट्रेलियाका म्याथ्यु ह्याडेनले लाराको नाममा रहेको उक्त कीर्तिमान खोसेका थिए । त्यसपछि सन् २००४ मा लाराले पुनः उक्त कीर्तिमान आफ्नै नाममा फर्काएका थिए ।
कर्टनी वाल्स र क्रिस गेलले धानेको विरासत
लारालाई नै पछ्याउँदै रिड्ली ज्याकोब्स, जिमी एडम्स, शिवनारिन चन्द्रपौल, स्टुअर्ट विलियम्स, फिल सिमोन्स, कर्टनी वाल्सजस्ता प्रभावशाली खेलाडीहरूले पनि क्यारेबियन टोलीमा आफ्नो स्थान बनाएका थिए । यी खेलाडीहरूले पनि वेस्ट इन्डिज क्रिकेटको साख जोगाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।
त्यसैको प्रतिफल हो, चार वर्षको बीचमा वेस्ट इन्डिजले दुई पटक टी–ट्वान्टी विश्वकपको उपाधि चुमेर विश्व क्रिकेटमा आफ्नो दबदबा अझै कायम रहेको सन्देश दिएको थियो । क्यारेबियन टापु राष्ट्रहरूको सामूहिक टोली वेस्ट इन्डिजले सन् २०१२ मा पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । टी–ट्वान्टी विश्वकपको चौथो संस्करणको फाइनलमा वेस्ट इन्डिजले श्रीलङ्कालाई ३६ रनले हराएको थियो ।
त्यतिबेलासम्म वेस्ट इन्डिजमा लारा युगको अन्त्य भइसकेको थियो भने क्रिस गेल युगको उदय हुँदै थियो । वेस्ट इन्डिजलाई पहिलो टी–ट्वान्टी विश्वकपको उपाधि जिताउन आक्रामक ब्याट्सम्यान गेलसँगै ड्वेन स्मिथ, जोन्सन चार्लेस, मार्लोन सामुएल्स, ड्वेन ब्राभो, काइरन पोलार्ड, ड्यारेन सामी (तात्कालीन कप्तान), दिनेश रामदिन, रवि रामपौल, सुनील नारिनलगायतका खेलाडीले महत्त्वपूर्ण योगदान गरेका थिए ।
सन् २०१६ मा वेस्ट इन्डिजले दोस्रो पटक टी–ट्वान्टी विश्वकपको उपाधि उचालेको थियो । टी–ट्वान्टी विश्वकपको यो छैटौँ संस्करण थियो । वेस्ट इन्डिजले फाइनलमा इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो । त्यतिबेला पनि वेस्ट इन्डिजको टोलीमा चार वर्षअघिकै खेलाडीहरूको बाहुल्य थियो ।
दोस्रो पटक टी–ट्वान्टी विश्वकपको उपाधि जितेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले एउटा गजबको कीर्तिमान पनि बनाएको थियो । त्यतिबेलासम्म कुनै पनि राष्ट्रले दुई पटक एकदिवसीय विश्वकप र दुई पटक टी–ट्वान्टी विश्वकपको उपाधि जित्न सकेको थियो ।
यस्तो सफलता चुम्ने वेस्ट इन्डिज एक मात्र राष्ट्र थियो । सन् २०१६ मै वेस्ट इन्डिजले आईसीसी यू—१९ विश्वकपको उपाधिसमेत आफ्नो पोल्टामा पारेको थियो । सन् २०१६ पछि भने वेस्ट इन्डिज फेरि कहिल्यै न टी–ट्वान्टी विश्वकपको न त यू—१९ विश्वकपकै फाइनलमा पुग्न सक्यो ।
त्यसअघि सन् २००४ मा यो क्यारेबियन टोलीले आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि पनि चुमेको थियो । सन् २००६ मा भएको च्याम्पियन्स ट्रफीमा पनि वेस्ट इन्डिज फाइनलसम्म पुगेको थियो । तर फाइनलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा आठ विकेटले हराएको थियो ।
सुरु भयो अधोगतिको यात्रा
त्यसपछि सन् २०१९ को विश्वकपसम्म आइपुग्दा क्रिस गेल, रामनरेश श्रवण, साई होप, निकोलस पुरन, सिमरन हेटमायर, जासन होल्डर, आन्द्रे रसेल, कार्लोस ब्राथवेटजस्ता क्यारेबियन खेलाडी उत्कर्षमा थिए । तर यतिबेलासम्म वेस्ट इन्डिजको क्रिकेटमा भने अधोगतितर्फको यात्रा प्रारम्भ भइसकेको थियो ।
एकताका विश्व क्रिकेटमा एकछत्र राज गरेको यो क्यारेबियन टोली यतिबेला भने इतिहासकै सबैभन्दा खराब क्षणसँग जुधिरहेको छ । पछिल्लो समय साई होपको कप्तानीमा रहेको वेस्ट इन्डिजको टोलीमा जोन्सन चार्लेस, रोस्टन चेज, जासन होल्डर, अल्जारी जोसेफ, ब्रान्डन किङ, कायले मायर्स, किमो पल, निकोलस पुरन, रभम्यान पोवेललगायतका खेलाडी छन् ।
तर घरेलु क्रिकेटमा देखिएको विवाद, राष्ट्रिय क्रिकेट बोर्डका पदाधिकारीहरूको बेवास्ता, खेलाडीहरूमा अनुशासनको कमी, छनोट समितिका सदस्यहरूको अदुरदर्शी निर्णय, फ्रेन्चाइज क्रिकेटप्रति खेलाडीहरूको बढ्दो मोह, छोटो ढाँचाको क्रिकेटको बढ्दो लोकप्रियता जस्ता केही यस्ता कारण हुन्, जसले पछिल्लो समय क्यारेबियन क्रिकेटलाई रसातलमा पुर्याउन मलजल गर्दै आएको छ ।
पछिल्लो समय अवस्था कतिसम्म दयनीय छ भने क्यारेबियन क्रिकेट टोली एकदिवसीय विश्वकपमा छनोटसम्म हुन सकेन । यसअघि लगातार १२ वटा एकदिवसीय विश्वकप खेलेको वेस्ट इन्डिज पहिलो पटक १३ औँ संस्करणमा अनुपस्थित हुने छ । पक्कै पनि क्यारेबियन टोलीका क्रिकेट पारखीका लागि त्यो सबैभन्दा निराशाजनक क्षण हुने छ ।
आफूभन्दा निकैपछि अन्तर्राष्ट्रिय क्रिकेटमा उदाएका राष्ट्रहरूले विश्वकप खेलिरहँदा वेस्ट इन्डिजले भने बाहिर बसेर टुलुटुलु हेर्नुपर्ने अवस्था छ । एकदिवसीय विश्वकपको १३ औँ संस्करण आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदै छ ।
आगामी विश्वकपका लागि अन्तिम दुई टोलीको चयन गर्न यही जुन—जुलाईमा जिम्बाबेमा छनोट प्रतियोगिता आयोजना भएको थियो । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली विश्वकपमा चयन हुने प्रावधान थियो । तर छनोट प्रतियोगितामा वेस्ट इन्डिजले यति निराशाजनक प्रदर्शन गर्यो कि अङ्क तालिकामा समेत पाँचौँ स्थानमा समेटिन पुग्यो ।
अन्ततः छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलङ्का र नेदरल्यान्ड्स आगामी विश्वकपमा स्थान बनाउन सफल भए । वेस्ट इन्डिजत तालिकामा स्कटल्यान्ड र जिम्बाबेभन्दा पनि तल पर्यो ।
खेलाडीको विवाद र बोर्डको बेवास्ता
खेलाडीहरूको विवाद र त्यहाँको क्रिकेट बोर्डको अपरिपक्व निर्णय नै वेस्ट इन्डिजको क्रिकेट अधोगतितर्फ लाग्नुको प्रमुख कारण हो । वेस्ट इन्डिजका क्रिकेट खेलाडीहरूले लामो समयदेखि आफ्नो सेवा–सुविधाका विषयमा आवाज उठाउँदै आएका छन् ।
अहिले पनि क्यारेबियन टोलीका खेलाडीहरू विश्व क्रिकेटलाई चुनौती दिने क्षमता राख्छन् । तर त्यहाँको क्रिकेट बोर्डले भने खेलाडीहरूको मागप्रति बेवास्ता गर्दै आएको छ । क्रिकेड बोर्ड खेलाडीहरूको मागप्रति पूर्ण रूपमा उदासीन देखिन्छ ।
यसको विपरीत क्यारेबियन क्रिकेट बोर्ड खेलाडीहरूलाई नै आपसमा लडाएर त्यसको फाइदा उठाउने धुनमा देखिन्छ । त्यसैको प्रतिफल हो बेलाबखत क्यारेबियन टोलीका खेलाडीबीचको आपसी मतभेद ।
त्यसैले क्षमतावान् खेलाडीहरू राष्ट्रिय टोलीमा अटाउने गरेको पाइँदैन । समग्र क्यारेबियन क्रिकेट नै बोर्डको यस्तो अविवेकपूर्ण नीतिको सिकार बन्न पुगेको देखिन्छ । सिमरन हेटमायर, एभिन लेविस, फाबियन एलन जस्ता खेलाडीहरू टोलीमा पर्दैनन् ।
खेलाडीहरूमा फ्रेन्चाइज लिगप्रतिको आसक्ति
वेस्ट इन्डिजको क्रिकेट पछाडि पर्दै जानुको अर्को कारण खेलाडीहरूमा फ्रेन्चाइज क्रिकेटप्रतिको लगाव बढ्दै जानु पनि हो । विश्वका विभिन्न भागमा आयोजना हुने फ्रेन्चाइज क्रिकेटप्रति क्यारेबियन खेलाडीहरू बढी नै लोभिएको पाइन्छ ।
यसको प्रमुख कारण भनेका घरेलु क्रिकेटले खेलाडीको माग सम्बोधन गर्न नसक्नु र विदेशी फ्रेन्चाइज लिगमा पैसाको खोलो बग्नु नै हो । समग्रमा क्यारेबियन खेलाडीहरूले पछिल्लो समय आर्थिक पक्षलाई बढी जोड दिने गरेका छन् ।
त्यसैले वेस्ट इन्डिजका खेलाडीहरू लामो ढाँचाको क्रिकेटभन्दा पनि छोटो ढाँचाको क्रिकेटमा बढी अभ्यस्त बन्दै गएका छन् । टेस्ट र एकदिवसीय क्रिकेटमा गतिलो प्रदर्शन गर्न नसक्ने क्यारेबियन खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) वा यस्तै छोटो ढाँचाको अन्य प्रतियोगितामा भने उत्कृष्ट प्रदर्शन गर्छन् ।
फ्रेन्चाइज क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनबाट खेलाडीले पैसा र प्रशंसा दुवै एकसाथ बटुल्न पाउँछन् । तर यस्ता २० ओभरका फ्रेन्चाइज प्रतियोगिताले लामो ढाँचाको क्रिकेटमा खेलाडीको प्रदर्शनलाई क्रमशः खस्काउँदै लगेको उनीहरू पत्तो नै पाउँदैनन् वा यसतर्फ उनीहरू आँखा चिम्लन्छन् ।
हालै जिम्बाबेमा सम्पन्न विश्वकप छनोटकै कुरा गर्दा पनि वेस्ट इन्डिजले विश्वकप छनोटको तयारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सँग अभ्यास खेल खेलेको थियो । तर त्यो अभ्यास खेलमा विश्वकप छनोट खेल्ने टोलीका ६ जना प्रभावशाली खेलाडी सहभागी भएनन् ।
कायले मायर्स, जासन होल्डर, रभम्यान पोवेल, अल्जारी जोसेफ, रोमारियो सेफर्ड र अकेल होसैन यूएईविरुद्धको अभ्यास खेलमा सहभागी भएनन् । त्यतिबेला उनीहरू भर्खर भारतबाट आईपीएल खेलेर फर्किएका थिए । त्यसैले उनीहरूलाई आराम दिइएको थियो । जब कि राष्ट्रिय टोली त्यतिबेला विश्वकप छनोट जस्तो महत्त्वपूर्ण प्रतियोगिताको तयारीमा थियो ।
राष्ट्रिय टोलीमा कप्तान फेर्ने होड
निरन्तर राष्ट्रिय टोलीको कप्तान फेरिरहने प्रवृत्ति क्यारेबियन क्रिकेटमा देखिएको अर्को समस्या हो । यो प्रवृत्तिले पनि वेस्ट इन्डिजको क्रिकेटलाई फाइदाभन्दा बढी हानि नै पुर्याएको देखिन्छ ।
क्यारेबियन क्रिकेट टोलीमा कुनै पनि कप्तान लामो समयसम्म आफ्नो भूमिकामा सक्रिय हुन पाउँदैन । एउटा कप्तानले आफ्नो भूमिकासम्म राम्ररी बुझ्न नपाउँदै बोर्डले अर्को कप्तान नियुक्त गरिसकेको हुन्छ ।
यो प्रवृत्तिले पनि क्यारेबियन क्रिकेटलाई अस्थिर बनाएको छ । त्यही कारणले कप्तानहरू पनि आफ्नो जिम्मेवारीप्रति संवेदनशील हुँदैनन् । रोस्टन चेजदेखि साई होपसम्म वा निकोलस पुरनदेखि काइरन पोवेलसम्म यस्तै प्रवृत्ति दोहोरिँदै आएको छ ।
कुनै एउटा शृङ्खलामा कप्तान बनेर गएको खेलाडी अर्को शृङ्खला सुरु हुँदासम्म त्यो जिम्मेवारीबाट हटिसकेको हुन्छ । त्यसैले पनि विश्व क्रिकेटका धुरन्धरहरू वेस्ट इन्डिज क्रिकेटको यो प्रवृत्तिलाई ‘म्युजिकल चेयर’ को नाम दिएर व्यङ्ग्य गर्छन् ।
पक्कै पनि कप्तानको जिम्मेवारी पाउने खेलाडीले क्षमतावान् र अनुभवी हुनु आवश्यक छ । कप्तानको भूमिकामा रहने खेलाडीले टोलीका अन्य सबै सदस्यलाई मिलाएर लैजाने क्षमता राख्नुपर्छ । समग्रमा कुनै पनि खेलमा कप्तानको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
तर क्यारेबियन क्रिकेटमा भने यो जिम्मेवारीलाई अत्यन्तै हचुवाको भरमा लिने गरेको पाइन्छ । त्यसैले पनि पछिल्लो समय विज्ञहरूले अस्थिर बन्दै गएको क्यारेबियन क्रिकेटलाई यसतर्फ ध्यान पुर्याउन सुझाव दिँदै आएका छन् ।
हचुवाको भरमा टोली छनोट
क्यारेबियन क्रिकेट इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुग्नुको अर्को कारण टोली छनोट पनि हो । वेस्ट इन्डिजको राष्ट्रिय टोली छनोट गर्दा कुनै निश्चित मापदण्ड अपनाइएको पाइँदैन ।
कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोली छनोट गर्दा बोर्डले एउटा मापदण्डलाई पछ्याउने गरेको छ भनेलगत्तै अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोली चयन गर्दा फरक मापदण्ड अपनाएको पाइन्छ ।
यो प्रवृत्तिका कारण पनि क्षमतावान खेलाडी टोलीभन्दा बाहिर रहने र तुलनात्मक रूपमा कमजोर खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउने गरेको पाइन्छ । पक्कै पनि यो प्रवृत्तिले टोलीको प्रदर्शनमा नाकारात्मक असर पारिरहेको हुन्छ ।
सामान्यतः अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोली छनोट गर्दा सबैभन्दा पहिले कुन ढाँचाको खेल हो भन्ने कुरालाई छनोटकर्ताले ध्यान दिनुपर्ने हुन्छ । सबै ढाँचाको प्रतियोगिताका लागि सबै खेलाडी उत्तिकै निपुण हुँदैनन् ।
तर क्यारेबियन टोली छनोटमा यस्ता विषयलाई खासै वास्ता गरिँदैन । छनोटकर्ताहरूले टोली छनोट गर्दा छोटो समयमा खेलाडीहरूले गरेको प्रदर्शनलाई मात्र आधार बनाउने गरेको पाइन्छ । खेलाडीहरूको दक्षता र उनीहरूले खेल्न सक्ने पोजिसनको विषयमा छनोटकर्ताले खासै ध्यान पुर्याएको पाइँदैन ।
ब्याटिङ र बलिङमा सामञ्जस्यताको अभाव
कुनै समय वेस्ट इन्डिजको क्रिकेट ब्याटिङ, बलिङ र फिल्डिङ हरेक क्षेत्रमा अब्बल थियो । तर पछिल्लो समय क्यारेबियन टोलीमा ब्याटिङ र बलिङमा कुनै सामञ्जस्यता पाइँदैन । कुनै प्रतियोगितामा ब्याटिङ पक्ष बलियो देखिन्छ भने लगत्तै अर्को प्रतियोगितामा बलिङ पक्ष हाबी हुन पुग्छ ।
समय क्रमसँगै विश्व क्रिकेटमा पनि केही फरकपन थपिएको छ । पछिल्लो समय राष्ट्रिय टोलीहरूमा ब्याटिङ र बलिङभन्दा पनि अलराउन्डर खेलाडीलाई प्राथमिकता दिने गरिन्छ । कुनै समय सातौँ नम्बरमा आएका ब्याट्सम्यानले क्रिजमा टिक्नसम्म पनि ठूलै सङ्घर्ष गर्नुपथ्र्यो ।
तर अहिले विश्व क्रिकेटमा अलराउन्डरहरूको प्रभावका कारण आठौँ वा नवौँ नम्बरमा आउने ब्याट्सम्यान पनि गतिलै रन बनाएर पेभेलियन फर्किने गरेका छन् । तर क्यारेबियन टोलीले भने यो पक्षलाई पनि बेवास्ता गर्दै आएको पाइन्छ ।
अघिल्ला केही ब्याट्सम्यान आउट हुनासाथ क्यारेबियन टोली हतास अवस्थामा पुग्ने गरेको देखिन्छ । त्यस्तै बलिङमा पनि तीव्र गतिका बलर र स्पिनरहरूबीच टोलीमा तालमेल मिलाउन सकेको पाइँदैन । पछिल्लो समय वेस्ट इन्डिजको टोली कुनै पनि पक्षबाट सन्तुलित देखिँदैन ।
विश्वकप छनोट प्रतियोगितामै पनि वेस्ट इन्डिजको फिल्डिङ त झनै निराशाजनक देखिएको थियो । वेस्ट इन्डिजले विश्वकप छनोटको समूहगत चरणको खेलमा मात्र १० वटा महत्त्वपूर्ण क्याच छाडेको थियो । अमेरिकाविरुद्धको खेलको सुरुमै वेस्ट इन्डिजले गजानन्द सिंहको क्याच छोडेको थियो ।
त्यतिबेला गजानन्दले खातासम्म खोलेका थिएनन् । अन्ततः सुरुमै जीवनदान पाएका गजानन्दले अविजित १०१ रन बनाएर वेस्ट इन्डिजका बलरहरूलाई हालयकायल पारेका थिए । धन्न त्यो खेलमा वेस्ट इन्डिज ३९ रनले विजयी भएको थियो । यसबाट पनि अनुमान गर्न सकिन्छ, ब्याटिङ र बलिङ मात्र होइन, वेस्ट इन्डिजको फिल्डिङ पनि अत्यन्तै फितलो बन्दै गएको छ ।
साख जोगाउन ब्यापक सुधारको खाँचो
समग्रमा भन्दा आफ्नो विगतको साख जोगाउन क्यारेबियन टोलीमा ब्यापक सुधारको खाँचो देखिन्छ । यसका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प छैन । बोर्ड पदाधिकारीहरूले पनि आफ्नो व्यवहारमा सुधार ल्याउन आवश्यक छ ।
घरेलु क्रिकेटमा देखिएको विवाद, राष्ट्रिय क्रिकेट बोर्डका पदाधिकारीहरूको बेवास्ता, खेलाडीहरूमा अनुशासनको कमी, छनोट समितिका सदस्यहरूको अदूरदर्शी निर्णय, फ्रेन्चाइज क्रिकेटप्रति खेलाडीहरूको बढ्दो मोह, छोटो ढाँचाको क्रिकेटको बढ्दो लोकप्रियता, टोलीमा देखिएको असन्तुलन जस्ता विषयले नै अहिले क्यारेबियन टोलीलाई अप्ठ्यारोमा पारेको हो ।
वेस्ट इन्डिजका पूर्वखेलाडी कार्ल हुपरले पनि फ्रेन्चाइज क्रिकेटकै कारण वेस्ट इन्डिजको साख खस्किँदै गएको दाबी गरेका छन् । वेस्ट इन्डिजको टोली पहिलो पटक एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएपछि हुपरले त इन्डियन प्रिमियर लिग (आईपीएल) कै कारण वेस्ट इन्डिजको क्रिकेट बिग्रिएको आरोपसमेत लगाएका थिए ।
‘वेस्ट इन्डिजको क्रिकेट खस्किनुमा फ्रेन्चाइज प्रतियोगिताको ठुलो हात छ । खासगरी आईपीएलले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रा युवा खेलाडी पनि यसैमा रमाएका छन् । राष्ट्रिय टोली उनीहरूको रोजाइमा पर्न छाडेको छ । सुनील नारिन, क्रिस गेल, काइरन पोलार्ड जस्ता खेलाडी यसको ज्वलन्त उदाहरण हुन् । अनि यो सबै पैसाको खेल हो,’ हपुर भन्छन् ।
त्यसैले सबैभन्दा पहिले समस्याको सामाधान खोज्न यिनै विषयमा घोत्लिनु आवश्यक देखिन्छ । सबैभन्दा ठुलो प्रश्न त क्रिकेट पदाधिकारीहरूमाथि नै उठ्छ । किनभने सुधारको थालनी गर्ने जिम्मेवार व्यक्ति भनेकै घरेलु क्रिकेटका पदाधिकारी हुन् ।
कस्तो टोली हो वेस्ट इन्डिज ?
धेरैलाई लाग्न सक्छ वेस्ट इन्डिज एउटा छुट्टै राष्ट्र हो । तर वास्तविकता त्यस्तो होइन । वेस्ट इन्डिज कुनै छुट्टै देश नभएर विभिन्न देशहरूको समूह हो । क्यारेबियन क्षेत्रमा रहेका विभिन्न राष्ट्रहरूको सामूहिक क्रिकेट टोली हो वेस्ट इन्डिज ।
खासगरी अङ्ग्रेजी भाषी क्यारेबियन क्षेत्रका ससाना टापु राष्ट्रहरूका नागरिक क्रिकेट भनेपछि हुरुक्कै हुन्छन् । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १५ वटा क्यारेबियन राष्ट्रबाट वेस्ट इन्डिज क्रिकेट टोलीमा खेलाडी चयन गरिन्छ ।
वेस्ट इन्डिजको क्रिकेट टोलीमा जोडिएका प्रमुख क्यारेबियन राष्ट्रहरू जमैका, गुयना, ट्रिनिडाड एन्ड टोबागो, बार्बाडोस, एन्टिगुवा, डोमिनिका, ग्रानडा, डोमिनिका, एन्टिगुवा एन्ड बर्बुडा, सेन्ट किट्स एन्ड नेभिस हुन् ।
क्यारेबियन क्षेत्रको क्रिकेटलाई नेतृत्व गर्ने निकाय क्रिकेट वेस्ट इन्डिज हो । क्रिकेट वेस्ट इन्डिजमा खासगरी बार्बाडस, गुयना, जमैका, लिवार्ड आइल्यान्ड, ट्रिनिडाड एन्ड टोबागो र विन्डवार्ड आइल्यान्ड गरी ६ वटा क्रिकेट सङ्घ आबद्ध छन् । यी ६ वटा क्रिकेट सङ्घभित्र पनि अन्य ससाना टापु राष्ट्रहरूका थुप्रै क्रिकेट सङ्घ जोडिएका छन् ।
क्यारेबियन क्षेत्रमा अश्वेतहरूको बाहुल्य छ । इतिहासको कुनै कालखण्डमा उनीहरू चर्को रङ्गभेदी व्यवहारको सिकार बनेका थिए । त्यसैले उनीहरूले विगतदेखि नै क्रिकेटलाई आफूहरूमाथि थिचोमिचो गर्नेहरूलाई खेल मैदानबाट जवाफ फर्काउने गतिलो माध्यका रूपमा लिँदै आएका छन् । पछिल्लो समय क्यारेबियन क्षेत्रमा रहेका राष्ट्रहरूको कुल जनसङ्ख्या करिब ६० लाख रहेको अनुमान गरिएको छ ।
यस्तो छ वेस्ट इन्डिजको क्रिकेट इतिहास
वेस्ट इन्डिज क्रिकेटको इतिहास निकै पुरानो छ । वेस्ट इन्डिजको टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नै १३० वर्षभन्दा लामो समय बितिसकेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सन् १८९० मा वेस्ट इन्डिजको क्रिकेट टोली तयार पारिएको थियो ।
त्यतिबेला क्यारेबियन राष्ट्रको भ्रमणमा रहेको इङ्ल्यान्डसँग खेल्न वेस्ट इन्डिजको टोली तयार पारिएको थियो । त्यसपछि सन् १९२६ मा वेस्ट इन्डिज क्रिकेट बोर्ड इम्पेरियल क्रिकेट कन्फरेन्समा आबद्ध हुन पुगेको थियो । इम्पेरियल क्रिकेट कन्फरेन्स नै हालको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रारम्भिक स्वरूप हो ।
इम्पेरियल क्रिकेट कन्फरेन्स सन् १९०९ मा स्थापना भएको थियो । अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका इम्पेरियल क्रिकेट कन्फरेन्सका संस्थापक सदस्य हुन् । सन् १९२६ वेस्ट इन्डिज त्यसको चौथो सदस्य बन्न पुगेको थियो ।
सन् १९६५ मा इम्पेरियल क्रिकेट कन्फरेन्सको नाम परिवर्तन गरेर इन्टरनेसनल क्रिकेट कन्फरेन्स राखिएको थियो । त्यसपछि सन् १९८७ मा दोस्रो पटक नाम परिवर्तन गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) राखिएको हो ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले सन् १९२८ मा टेस्ट राष्ट्रको मान्यता पाएको थियो । त्यसपछि आधिकारिक रूपमा वेस्ट इन्डिजको क्रिकेट टोलीले टेस्ट प्रतियोगिता खेल्न थालेको थियो । अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिकापछि वेस्ट इन्डिज टेस्ट मान्यता पाउने चौथो राष्ट्र पनि हो ।
सन् १९३० को प्रारम्भसम्म वेस्ट इन्डिजले ब्रिटिस उपनिवेशका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिनिधित्व गथ्र्यो । सन् १९३० पछि मात्र वेस्ट इन्डिज क्रिकेट महासङ्घले छुट्टै अस्तित्व लिएर प्रतियोगिता खेल्न थालेको हो ।
दोस्रो विश्व युद्ध सुरु हुनुअघि वेस्ट इन्डिजले सन् १९३९ मा इङ्ल्यान्डविरुद्ध टेस्ट शृङ्खला खेलेको थियो । दोस्रो विश्व युद्ध समाप्त भएपछि वेस्ट इन्डिजको टोलीबाट गेरी गोमेज, जर्ज हेड्ली, जेफरी स्टोलमेयर, फोफी विलियम्सलगायतका खेलाडीले पहिलो प्रतियोगिता खेलेका थिए । उनीहरूमध्ये केही खेलाडीले दोस्रो विश्व युद्ध सुरु हुनुअघि पनि टेस्ट क्रिकेट खेलेका थिए ।
सन् १९४८ मा वेस्ट इन्डिजका लेग स्पिनर विल्फ्रेड फर्गुसन एउटै टेस्ट क्रिकेटमा १० विकेट लिने पहिलो बलर बनेका थिए । इङ्ल्यान्डविरुद्धको उक्त टेस्टमा उनले दुई सय २९ रन खर्चिएर ११ विकेट लिएका थिए । सोही वर्षको अन्त्यतिर वेस्ट इन्डिजका हाइनेस जोन्सनले पनि इङ्ल्यान्डविरुद्धको टेस्टमा ९६ रन खर्चिएर १० विकेट लिएका थिए ।
वेस्ट इन्डिजले टेस्ट क्रिकेटमा सन् १९५० को जुन २९ तारिखमा पहिलो पटक इङ्ल्यान्डलाई हराएको थियो । उक्त टेस्ट इङ्ल्यान्डको लर्डसमा खेलिएको थियो । त्यसपछि सन् १९५० को अगस्त १६ मा वेस्ट इन्डिजले पहिलो पटक इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खला ३–१ ले जितेको थियो । उक्त टेस्ट शृङ्खला इङ्ल्यान्डको दी ओभलमा खेलिएको थियो ।
सन् १९६० को दशकसम्म वेस्ट इन्डिजको क्रिकेट टोलीमा ब्रिटिस खेलाडीहरूकै बाहुल्य रहेको पाइन्छ । त्यसपछि भने क्रमशः वेस्ट इन्डिजको टोलीमा अश्वेत खेलाडीहरूले वर्चस्व जमाउन थालेका थिए । वेस्ट इन्डिज टोलीको कप्तानमा फ्रान्क वरेल र गेरी सोबर्सको आगमन भएपछि त यो शृङ्खला झनै बढ्दै गएको पाइन्छ ।
सन् १९७० को दशकको अन्त्यतिर वेस्ट इन्डिजले क्लाइभ लोयडको कप्तानीमा विश्व क्रिकेटमा तहल्का मच्चाएको थियो । विश्व क्रिकेटमा वेस्ट इन्डिजको दबदबा सन् १९८० को दशकसम्मै चल्यो । त्यो समयमा चार जना तीव्र गतिका बलर र केही उत्कृष्ट ब्याट्सम्यानले वेस्ट इन्डिजलाई सफलताको चुचुरोमा पुर्याएका थिए । सन् १९७६ मा वेस्ट इन्डिजका तीव्र गतिका बलर माइकल होल्डिङले ओभल टेस्टमा इङ्ल्यान्डविरुद्ध १४९ रन खर्चिएर १४ विकेट लिएका थिए । वेस्ट इन्डिजका कुनै पनि बलरले टेस्ट क्रिकेटमा गरेको यो उत्कृष्ट प्रदर्शन थियो । सन् १९८४ मा त वेस्ट इन्डिजले लगातार ११ वटा टेस्ट जितेर कीर्तिमान नै बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित
-
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
-
किसुन’जीको १०१औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
अमेरिकी डलरको भाउ स्थिर, युरो, साउदी रियाल, कुवेती दिनारको मूल्य बढ्यो, कसको कति ?
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो