बालकथा : खरायोको बुद्धिमानी
धेरै पहिलेको कुरा हो । एउटा जङ्गलमा निकै शक्तिशाली सिंह बस्थ्यो । सिंह प्रजातिका जनावरहरू यसै पनि हिंस्रक हुन्छन् । उनीहरूको स्वाभाव नै त्यस्तै हुन्छ । हिंस्रक नबनी वा हिंसा नगरी जीवन धान्नै सक्दैनन् । त्यसमा पनि त्यो सिंह अलि बढी नै हिंस्रक थियो । प्रायः जनावरहरूको विशेषता के हुन्छ भने उनीहरू भोलिका लागि भनेर सञ्चित गर्दैनन् र भोलिका निम्ति शिककार पनि गर्दैनन् । एक पेट खान्छन् बाँकी जस्ताकोतस्तै छाडिदिन्छन् । कुनै पनि सिंहले एक पटक पेट भरेपछि सितिमिति पुनः भोक नलागुन्जेल अर्को शिकार गर्दैैनन् तर त्यो सिंह भने बढी नै सनकाहा थियो । सनक चडेको बेला भेटेजति सबैलाई क¥यापकुरुप पार्न पनि बेर लगाउन्नथ्यो । त्यसैले उसलाई देख्ने बित्तिकै जङ्गली जनावरहरू डरले थर्कमान हुन्थे ।
एक दिनको कुरा हो उसले कुनै तिखो सिङ भएको जनावरको शिकार गरेको थियो । उनीहरूको जातै त्यस्तै छानेर र केलाएर नखाने, जेजस्तो मिल्छ जस्ताकोतस्तै चपाउने । यसमा ऊ मात्र अपवादमा पर्ने कुरै भएन । अघिपछि त चलेकै थियो । यस्तो जनावरको शिकार कति गरेको थयो कति तर यस पटक चाहिँ के तजबीज मिलेन छ कुन्नि शिकारको सिङले घोचेर नराम्रोसित घाइते भयो । त्यसपछि त के चाहियो र उसै त कुन कानमा सुन भइहाल्यो । कुनै अतुलनीय कुराको उदाहरण दिनुप¥यो भने बहुलाएको बाँदरलाई चर्कने कमिलाले टोकेजस्तो भन्ने गरिन्छ । बाँदरको जात यसै पनि चकचके । त्यसमाथि बहुलाएको पनि छ र चर्कने कमिलाले टोकेको पनि छ भने कस्तो होला । यहाँ पनि यस्तै भएको थियो । एक त सनकाहा सिंह त्यसमाथि शिकारको सिङले घोचेर घाइते भएको किन खपिसक्नुहुन्थ्यो र ।
जङ्गलको राजा भएकाले पूरा जङ्गलमा उसकै राज चल्थ्यो । उसकै हुकुम चल्थ्यो । जे भन्यो त्यस्तै हुन्थ्यो । त्यसैले उसले यस्तो ऐलान जारी ग¥यो कि आजका दिनदेखि सिङ्धारी जनावरले यस ठाउँमा बस्न पाउने छैनन् । यो मेरो अन्तिम आदेश हो । यदि कसैले अटेर गर्छ भने उसले त्यसको राम्रो नतीजा भोग्नुपर्नेछ ।
सिंह राजाबाट आएको यस्तो अप्रत्यासित आदेशबाट जङ्गलका सिङधारी जनावर सबै झस्के । यसै विषयलाई लिएर उनीहरूको समूहमा आपतकालीन मिटिङ बस्यो र विषयवस्तुमाथि गम्भीर छलफल गरियो । अन्ततः सो स्थान छाडेर जान नै उपयुक्त ठानियो र सोही अनुसार निर्णय गरियो । यद्यपि मिटिङमा सिंहलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्ने कि भन्ने आवाज पनि नउठेको होइन तर त्यो जसरी उठ्यो त्यसैगरी सेलायो पनि । किनकि सिंहसमक्ष यस्तो प्रस्ताव लिएर जाने हिम्मत कसैमा थिएन ।
निर्णय अनुसार सबै एकएक गरी बसाइ सर्न थाले । अब फसाद प¥यो खरायोलाई, जो लामो समयदेखि तिनै सिङधारी जनावरको समूहमा बस्दै आएको थियो । यसो त उसको सिङ थिएन तर कान भने टाडाबाट हेर्दा सिङ जस्तै देखिन्थ्यो । त्यसैको आधारमा उसले सिङधारी जनावरलाई साथी बनाएको थियो । अर्थात् त्यस्ता जनावरको समूहमा बस्दै आएको थियो ।
सनकाहा सिंहलाई त्यति भए पुगिहाल्थ्यो । उसले यो मेरो सिङ होइन कान हो भनेर जति नै रोइकराइ गरे पनि उसलाई सुन्ने फुर्सद कहाँ हुन्थ्यो र । उसले बोलेपछि बोल्यो । राजाको अगाडि बाबाको दुहाई कसको के लाग्ने । त्यसैले खरायोले पनि अरू सँगै बसाइ सर्ने निधो ग¥यो ।
भनिन्छ अवसर आउँछ पर्खँदैन । यसको अर्थ हो जे गर्नु छ समय छँदै गर्नुपर्छ । समय घर्केपछि वा घर्कनासाथ थाहा हुन्न कसको अवस्था के हुन्छ । समय सकिएपछि पछुताउनुभन्दा पहिले नै उपयुक्त निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ । यहाँ खरायोले पनि त्यस्तै ग¥यो । उसको यही बुद्धिमत्ताका कारण सिंहको आक्रमणमा परी अकालमृूत्युको सामना गर्नुपरेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र