मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार

मङ्गलबार, ०२ साउन २०८०, २१ : ४५
मङ्गलबार, ०२ साउन २०८०

आज २०८० साउन २ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

कांग्रेस बैठकको पहिलो दिन

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । ११ महिनापछि बसेको बैठकको पहिलो दिनमा १० वटा एजेण्डा र चार वटा प्रतिवेदन पेस भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको फेसबुक पेजमार्फत बैठक प्रत्यक्ष प्रसारण भएको जानकारी गराउँदै बैठकमा एजेण्डा पेस गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई अनुमति दिएका थिए । 

महामन्त्री शर्माले पदाधिकारी र केन्द्रीय सदस्यका साथै फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शकलाई स्वागत गर्नुका साथै कमैया मुक्त घोषणा दिवसका अवसरमा बधाई साटेका थिए । २०५७ साल साउन २ गते नेपाली कांग्रेसका सभापति देशको प्रधानमन्त्री रहेका बेला कमैया मुक्त घोषणा भएको पनि उनले स्मरण गराए ।

उपसमिति गठन

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानका क्रममा रहेको ९एन–एकेडब्लू जहाजको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो । 

सीताप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।

दिवा खाजाको नाममा जङ्क फुड

 मोरङको रंगेली नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको नाममा जङ्क फुड दिने गरेको खुलेको छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङले गत असार २० गते गरेको अनुगमनका क्रममा रंगेली–६ मा रहेको पब्लिक माध्यमिक विद्यालयले जङ्क फुड खुवाउने गरेको खुलेको हो ।

लेखापालको पदावधि

नेपाल प्रहरीका लेखापालहरूको पदावधि घटाउने निर्णय गरिएको छ । अहिले कायम रहेको ८ वर्षको पदावधिलाई घटाएर ६ वर्ष कायम गरिएको हो । नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समिति (पिसिसि)ले सो निर्णय गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए ।

ज्येष्ठ नागरिकलाई सुविधा

सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक जेरियाट्रिक स्वास्थ्य सेवा मार्गदर्शन संचालन गरेको छ । जसअनुसार ज्येष्ठ नागरिकलाई सेवा प्रदानका लागि अस्पतालको संख्या थप गरी ६२ वटा पुर्‍याएको छ ।

आम्दानीभन्दा बढी खर्च

कोशी प्रदेश सरकारले गत आर्थिक वर्षको बजेटको अनुमानभन्दा ९ अर्ब ६८ करोड २२ लाख ५१ हजार २११ रुपैयाँ कम आम्दानी गरेको छ । खर्च भने आम्दानीभन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी गरेको छ ।

खनिज उत्खनन

हरिप्रसाद तिम्सिनाको ज्ञानेश्वरस्थित घरको आँगनमा ६० किलोको क्वार्ज (स्फटिक) राखिएको छ । यो क्वार्ज उनले २०७१ सालमा संखुवासभाको सभापोखरीस्थित क्वार्ज खानीबाट ल्याएका हुन् । 

विप्लव समूह अझै चुनौती

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको दुई वर्षभन्दा धेरै भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ फागुन २० मा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप