कमैयाका हिरोहरू : कुनैबेला मालिकका बाख्रा चराए, अहिले हेडमास्टर
धनगढी । पश्चिम नेपालको पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका हजारौं कमैया परिवारमा २०५७ साउन २ गते उल्लास छाएको थियो । सरकारले सो दिन कमैया मुक्तिको घोषणा गरेपछि दासताको जञ्जिरबाट उन्मुक्त भएका उनीहरुको उल्लासको सीमा थिएन । यद्यपि मुक्त भएको २२ वर्ष वितेपछि कमैया पुनस्र्थापनाको कार्यले पूर्णता नपाउँदा उनीहरु निराश पनि छन् ।
कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ कमैया पृष्ठभूमिबाट आएका केही अनुहारहरु समाजको नेतृत्व गर्न सफल भएका छन् । हजारौंलाई शिक्षाको ज्योति बाँडेर समाजमा उदाहरणीय बनेका छन् । यहाँ कैलाली र कञ्चनपुरका त्यस्तै केही पात्रहरुको खोजीनीति गरिएको छ ।
छेग्रहुवाबाट हेडमास्टर बने सीताराम
सीताराम चौधरी (४२), कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् ।
जमिनदारको घरमा जन्मजात कमैया बसेका बुवा बुझावन डंगौरा थारू र आमा सुमित्रा देवी थरुनीका जेठा छोरा सीताराम छेग्रहुवा (बाख्रा चराउने) जीवन हुँदै हाल आफू पढेकै विद्यालयमा प्रधानाध्यापक छन् ।
एक ताका पढाइ खर्च जोहो गर्न गाउँ–गाउँ डुलेर चन्दा संकलन गरेका उनी हाल हजारौं बालबालिकालाई शिक्षाको ज्योति बाँडिरहेका छन् ।
कैलारी गाउँपालिका–६ बेनौली घर भएका सीतारामका बाजेको देहान्तपछि उनका सानो बाजेले भएको जग्गा बेचे । पुरानो थातथलो सामरचौरा भए पनि बस्ने ठाउँ नै नभएपछि उठीबास भयो । त्यसपछि उनका परिवारको कमैया जीवन सुरु भएको उनी बताउँछन् ।
उनका बुवा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली गरी धेरै ठाउँका जमिनदारकहाँ कमैया बसे । जहाँ–जहाँ बुवा आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु उनीसहित ४ दाजुभाईको नियति थियो ।
२०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो । पश्चिम तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित हजारौं कमैयाहरु मुक्त भए । तर सीतारामका बुवा भने मुक्त हुन सकेनन् । कमैया नै रहे ।
२०४४ सालमा बेनौली गाउँमा विद्यालय स्थापना भयो । सीतारामका उमेरका सबै बालबालिका विद्यालय जान थाले । उनी भने जमिनदारका बाख्रा चह्राउँथे । २०४७ सालताका बेनौलीको अपरम्पार प्राथमिक विद्यालयको प्रधानाध्यापक दामोदर बस्नेत भए । उनै बस्नेत र केही गाउँकै व्यक्तिले उनलाई स्कूल भर्ना गरिदिए । अनि सुरु भयो उनको स्कुले जीवन ।
पढाइमा अति नै मेहनती र तीक्ष्ण बृद्धि भएका उनलाई केही महिनामै कक्षा बढुवा गरियो । कक्षा ५ को जिल्ला बोर्ड परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । उप्पलो शिक्षा अध्ययनको लागि उनी जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना भए ।
उनको मेहनत र लगनशीलताले निकै प्रभावित भएका विद्यालयका तत्कालीन प्राधानाध्यापक विनय कुमार चौधरीले उनको विद्यालय शुल्क, ड्रेसलगायतको व्यय भार वहन गरिदिए । पछि उनै विनय चौधरीले उनलाई धनगढीको मोडर्न एरा स्कूलमा कक्षा ९ कक्षा भर्ना गरिदिए । त्यहाँको बसोबासलगायत सबै व्ययभार समेत उनले नै लिए ।
२०५६ सालमा एसएलसी परीक्षामा पनि उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । द्वन्द्वकालमा विनय चौधरी विस्थापित भएपछि उनी आफै भाइहरुको सहयोग लिदै क्याम्पस भर्ना भए । तर क्याम्पसको खर्च जोहो गर्न उनलाई धौ धौ भयो । अनि भित्री मनले चन्दा उठाउन अह्रायो ।
‘मेरो दिमागमा चन्दा उठाएर त हेरौं भन्ने आयो । मानसिक रुपमा तयार भएँ । गल्ली–गल्ली पुगें । धेरैलाई कुरा सुनाएँ । केहीले सहयोग गरे’, उनी सम्झिन्छन्, ‘सबैभन्दा ठूलो सहयोग तत्कालीन गदरिया गाविस अध्यक्ष सन्तराम चौधरीले गर्नुभयो । उहाँले आफूले पाउँदै आएको भत्ता बापतको रकम सहयोग गर्नुभयो । त्यसपछि गदरियाकै वडाध्यक्ष प्रेमबहादुर चौधरी, गाविस मुखिया ठागुराम चौधरीलगायतले मलाइ सहयोग गर्नुभयो । उहाँहरुलाई कहिल्यै विर्सन सकिदैन ।’
२०५९ सालमा कक्षा १२ उत्तीर्ण भएपछि उनी शिक्षण पेशामा सक्रिय भए । आफू पढेकै विद्यालय मोडर्न एरामा पढाउन थाले । फुर्सदको बेला ट्युसन पढाए । अन्ततः उनी पढ्दै पढाउँदै अंग्रेजी भाषामा स्नाकोत्तरसम्म शिक्षा हासिल गर्न सफल भए ।
बायाँ हातले लेख्ने अभ्यास
२०७५ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका उनी बझाङको महादेव माध्यमिक विद्यालयमा नियुक्त भए । तर, शिक्षण पेशाको जिम्मेवारीकै क्रममा उनी आफ्नो दाहिने हात समेत गुमाउन पुगेका छन् ।
उनी एकदिनको सडक दुर्घटना सम्झिन्छन्, ‘कोभिड महामारीले लकडाउन चलिरहेको थियो । बस चलेको थिएन । विद्यालयकै कामको सिलसिलामा म र हेडसर मोटरसाइकलमा बझाङबाट धनगढी फर्किदै थियौं । २०७७ असार २२ गते राति धनगढीको निर्माणाधीन ६ लेन सडकमा मोटरसाइकल दुर्घटनामा प¥यौ । विद्युतको पोलले मेरो दायाँ हात च्यापियो । अप्रेसनको क्रममा हात गुमाउन पुगे ।’
अस्पतालको बेडबाटै उनी अर्को बायाँ हातबाट लेख्न अभ्यास गर्न थाले । बिस्तारै उनको लेखनको रफ्तार र हेन्डराइटिङ पुरानै लयमा फर्किएयो ।
जनता माध्यमिक विद्यालय, गदरिया, कैलालीबाट एसएलसी सकाएका उनी हाल सोही विद्यालयमा प्रधानाध्यापक छन् । उनी अब आफ्नो विद्यावारिधि गर्ने योजना रहेको सुनाउँछन् ।
जीवनमा संघर्ष सबैभन्दा ठूलो कुरा रहेको बताउँदै उनले सरकारको मुख मात्रै ताकेको भए आफू यो स्थानमा पुग्न नसकिने बताउँछन् । जुन कारण शिक्षा आर्जनलाई जोड दिइ संघर्ष गर्नुपर्न उनको जोड छ ।
स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य
कमैयाको जञ्जिरबाट उदाएको अर्को नाम हो, स्माइल चौधरी । यनको खास नाम हो बन्सीराम डंगौरा थारू ।
बहुमुखी प्रतिभाका धनी स्माइलको पेशाको कुनै निश्चित दायरा भने छैन । उनी कुशल शिक्षक, प्राचार्य, प्रशासक, सामाजिक अभियन्तादेखि कुनै बेलाका राजनीतिकर्मीसमेत हुन् ।
मेहनत गरे कसैको मुख ताक्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका स्माइलको विगत पनि निकै कहालीलाग्दो छ ।
कैलालीको गोदावरी नगरपालिका–१ जित्तलपुर मुक्त कमैया शिविर स्थायी घर भएका स्माइल (४०) का बुवा पल्टु डंगौरा र आमा तुलसी डंगौरा थरुनी जन्मजात कमैया थिए ।
उनी जन्मिनुभन्दा पहिले उनका बुवा १७ जनाको परिवारको गर्जो टार्न साहुबाट १५ हजार सौंकी (ऋण) लिएका थिए । तर लिएको सौकी कहिल्यै तिर्न सकेनन् । पछि सोही सौकी तिर्न जमिनदारलाई जग्गाजमिन बेचे । यसरी उनको बुवाको कमैया जीवन सुरु भयो ।
स्माइल भन्छन्, ‘म जति बेला जान्ने बुझ्ने भएँ, त्यति बेला मेरो बुवा अनि दाई धनीराम चौधरीलाई कमैया भएको पाएँ । पछि मैले पनि उहाँहरुसँग मालिकको काम गर्नुपर्यो ।’
राति राति रिक्सा चलाएर पढेँ’
विभिन्न ठाउँमा कमैया बस्दै जाँदा उनका बुवा र दाई धनगढी बडहाराका जमिनदारको घरमा कमैया बसे । जमिनदारका छोराछोरीसँगै स्माइललाई नजिकैको नवदुर्गा प्राथमिक विद्यालयमा भर्ना गरियो । अनि सुरु भयो उनको स्कुले जीवन ।
कक्षा ५ सम्म नवदुर्गामै पढेका उनी कक्षा ६ र ७ भने धनगढीकै त्रिनगर माविमा पढे । उनका बुवा र दाई अत्तरिया फर्केपछि कक्षा ६ र ७ को विद्यालय खर्च जोहो गर्न उनलाई निकै ठूलो संघर्ष गर्नुपरेको थियो ।
विगत स्मरण गर्दै उनले भने, ‘बुवा र दाई अत्तरिया फर्केपछि पढ्नकै लागि आफन्तकहाँ बस्न थाले तर खर्च जुटाउन गाह्रो भयो । दिनभरि स्कूल पढ्थे, स्कूल विदापछि राति अवेरसम्म रिक्सा चलाउँथे । त्यही पैसाले कापी कलम किन्थे । स्कुलको शुल्क तिर्थे ।’
पछि उनी पनि अत्तरिया फर्केर ग्वासी माध्यमिक विद्यालयबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसताका उनलाई कक्षा ८ देखि १० सम्मको अध्ययनमा अत्तरियाका शिक्षक रामेश्वर विकले सहयोग गरेको उनी सम्झिन्छन् । विक हाल बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापक छन् ।
शिक्षा प्राप्तीको लागि निकै संघर्ष गरेका उनी पूर्वाञ्चल विश्वविद्यालयबाट डेभलमेन्ट स्टडीबाट स्नातकोत्तर गरेका छन् ।
अध्ययनसँगै उनले शिषण पेशा सुरु गरे । कैलालीको चौमालामा २०५८ सालमा आनन्द प्रावि स्थापना गरे । जहाँ उनले मुक्त कमैयालगायतका बालबालिकाहरुलाई पढाए ।
उनको शिक्षा पेशामा मात्रै सक्रियता रहेन । सन् २००३ देखि २०१० सम्म कमैया प्रथा उन्मुलन समाज नामक् गैरसकारी संस्थाको उनी कार्यक्रम संयोजक भइ ७ वर्ष काम गरे ।
२०६४ सालको पहिलो सविधानसभा सदस्य निर्वाचनमा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमार्फत् उम्मेदवारी दिएका थिए ।
काममा निकै लगनशील उनी नेपालकै प्रतिष्ठित चौधरी ग्रुपमा म्यानेजरदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रशासकको रुपमा काम गरे । उनी हाल अत्तरियास्थित एभेरेष्ट एकेडेमीका प्राचार्य छन् ।
त्यस्तै, युथ एलाइन्स फर डेभलपमेन्ट (याड) संस्थाका प्रमुखसँगै थारू भाषाको पहिलो दैनिक पत्रिका ‘पहुरा थारू दैनिक’ का प्रकाशक पनि हुन् ।
मालिकको कुकुरले खाएको भाँडामा भात खाने दुर्गा, पछि सभासद
कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर बिचफाँटाकी दुर्गा खुना (५०) जब जमिनदारको भोटे कुकुरले खाना खाइसकेपछि त्यही भाँडामा बचेकोे खानाले पेट भरेको दिन स्मरण गर्छिन्, तब उनी एकाएक भक्कानिन पुग्छिन् ।
९ वर्षकै उमेरदेखि कमलरी भएकी खुनालाई ती अतितका पलहरुले बारम्बार घोचिरहन्छ । र, त्यो दास प्रथारूपी कमैया, कमलरी प्रथाविरुद्ध आवाज उठाउन बल पुगिरहेको हुन्छ ।
कमलरी भएको पहिलो वर्ष नै मालिकले ढाडै भाँचिने गरी बाँसको भाँटाले हिर्काए, तब ती क्षणका आफ्नै चित्कार आज पनि उनको कानमा गुञ्जिन्छ । र, शोसक समान्तहरुको शोषण र अत्याचार विरुद्ध निरन्तर उभिन उत्प्रेरित गरिरहन्छ उनलाई । फलतः उनी मुक्तकमैया बस्तीको नेता हुँदै संविधान सभा सदस्यसम्मको यात्रा तय गरिसकेकी छिन् ।
जमिनदारको घरमा जन्मजात कमैया बसेका बुवा छेद्दु खुना र आमा गुल्टी खुनाको कोखबाट दुर्गा खुनाको जन्म बेलौरी नगरपालिकाको टेरर्हुवा गाउँमा भयो । ९ वर्षकै उमेरमा बुवाको मृत्यु भएपछि उनी र ३ भाइ टुहुरा भए । अनि उनी आमासँगै जमिनदारको घरमा कमलरी बसिन् ।
उनी सुरुमा पिपलाडीका विनोद विष्टको घरमा कमलरी बसिन् । पढ्ने र खेल्ने उमेरमा कमलरी बसेकी उनी जमिनदारको घरमा कहिल्यै राम्रोसँग खान पाइनन् ।्
‘मैले राम्रोसँग कहिल्यै खान पाइनँ । सुरुमा घरको भोटे कुकुरले खाना खान्थ्यो । त्यसपछि त्यही थाल धोएर बचेको रहलपलह खाना मैले खान्थे ।’ कमलरी जीवनका तीता पलले भाव विह्वल हुँदै भन्छिन्, ‘म सानै थिएँ, काम भने धेरै हुन्थ्यो । काम गर्न सकिएन भने कुटपिट गरी साह्रै यातना दिन्थे ।’
बुवाको देहान्तपछि उनको परिवारको कन्तविजोग भयो । ३ भाइमध्ये कान्छो भाइ उपचार नपाउँदा मुटुको क्यान्सरले बिते । एकल बनेकी आमा बुक्रही, आफू कमलरी र दुई भाइ सानैदेखि मालिकका छेग्रहुवा (बाख्रा चराउने) भए ।
स्कुलको मुख देख्नुपर्ने समयमा उनले अरुका घरका जुठा भाँडा माझ्ने र उनीहरूकै सेवामा दिन बिताउनु प¥यो । मालिकका बच्चाहरूलाई स्कुल लैजान तयार गर्ने, उनीहरूलाई खाना खुवाउने, घर सफाइ गर्ने र घर मालिकका वृद्ध ८० वर्षका बुवालाई खाना खुवाउनेदेखि उनको दिसापिसाबसमेत सोहोर्ने उनको दिनचर्य बन्यो ।
दुर्गाको मालिकका बुबा गर्मी याममा काठमाडौं र जाडो याममा कञ्चनपुर नै बस्थे । एकदिन मालिकका वृद्ध बुबाले दुर्गाको काम देखेर उनलाई आफूसँग पठाइदिन भने । तर, दुर्गा धान राख्ने भकारीमा लुकेर बसिन् । रिसाएका मालिकले बाँसको भाँटाले ढाडमा हिर्काउँदा उनी सख्त घाइते भइन् । धन्न घर मालिक्नी राम्री थिइन् र उनलाई अस्पतालसम्म पु¥याइन् ।
सो घटनाले आफूलाई अन्याय सहनु हुन्न भन्ने सिकाएको उनी बताउँछिन् । अब यसरी कमलरी नबस्ने सोच उनमा आयो । उनले भनिन्, ‘मैले सानो गल्तीमा त यति कुटाइ खाँदैछु भनेपछि भोलि के पो होला ? अब म जसरी पनि यहाँबाट मुक्ति पाउनुपर्छ भनेर सोच त्यो बेलादेखि नै बनाएँ ।’ तर सोचेको सबै कहाँ पुरा हुन्छ र ?
वर्षको २५ सय तलब
१८ वर्षकी भएपछि उनको विवाह भयो । विवाहपछि उनी श्रीमान्सँग मिलेर काम गर्न थालिन् । गर्भवती हुँदा पनि आरामले बस्न र खान भने कहिल्यै पाइनन् । मालिककै घरमा उनका तीन सन्तान जन्मिए ।
उनी त्यसबेला वर्षको २५ सय मात्रै तलब पाएको बताउँछिन् । २०५७ समा कमैया मुक्तिपछि छुट्कारा त पायौ तर जीवन सहज भएन । मालिकले घरबाट निकालिदिए ।
त्यही दिनदेखि आफ्नो परिवार र समाजको लागि केही गर्नुपर्छ भन्ने सोच पलायो । मुक्त कमैया समाजले सुरुमा बस्ती कमिटी सदस्य पछि क्षेत्रीय अध्यक्ष हुँदै कमैया महिला जागरणको जिल्ला अध्यक्ष बनायो ।
माओवादीले दोस्रो संविधान सभा ताका मुक्त कमैया समाजबाट व्यक्ति दिनुपर्यो भनेपछि समाजले नै उनलाई सिफारिश गर्यो । यसरी उनी संविधान सभा सदस्य भइन् ।
दुर्गाले थपिन्, ‘सदनमा पुगेर सुरुमै मैले मुक्त कमैयाको पुनर्स्थापनाको लागि आवाज उठाएँ । तर अझै धेरै काम हुनै बाँकी छ । सबैले परिचयपत्र पाउन सकेका छैनन् । अझै आवाज उठाइरहेकी छु ।’
मुक्त कमैयाका लागि अझै ५० प्रतिशत काम गर्न बाँकी रहेको उनी सुनाउँछिन् । उनका अनुसार ‘एक घर एक रोजगार’ अभियान पूरा हुन सकेको छैन । अझै पनि मुक्त कमैया, कमलरी र बुक्रही पुनर्स्थापनाका लागि उनी लागिरहेकी छिन् ।
गाउँ निकाला गरिएका दिपु बने अभियन्ता
कैलालीको लम्की–चुहा नगरपालिका–१, बलचौरका ३५ वर्षीय दिपु चौधरीलाई अहिले आफ्नो विगतको जीवन सम्झेर सपनाझैं लाग्छ ।
कमैया बुवासँगै जमिन्दारहरूकहा“ गोठालो भएर बाल्यकाल विताएका दिपुले आफ्नो जीवनमा यस्तो परिवर्तन आउला भन्ने कल्पना पनि गरेका थिएनन् ।
उनले भने, मेरो बाबा कैयौ जमिन्दारकहा“ गरी करिव ५० वर्षसम्म कमैया बस्नु भयो । सात वर्ष जति त मै पनि गोठालो बसे । ती दिन निकै कष्टकर थिए । न पेटभर खाना पाइन्थ्यो, न पुरै जीउ छोप्ने लुगा नै ।’
उनी आफ्नो जीवनकालमा जमिनदारका निकै ज्यादति भोगको बताउँछन् । उनी सम्झिन्छन्– ‘टीकापुर नगरपालिका–५, घिया र बाघमारा गाउ“मा जमिन्दारको घरमा काम गर्दाको बेला सानो निहुँमा मेरो परिवारलाई गाउ“निकाला गरिएको थियो । हाम्रो परिवारलाई सहयोग गर्नेलाई बनकस (बाबियो) को कोर्राले कुट्ने उर्दीसमेत जारी भएको थियो ।’
२०५७ साल साउन २ गते सरकारले कमैया मुक्ति घोषणा ग¥यो । त्यो दिन उनको परिवारलाई पश्चिमबाट सूर्य उदाएझैँ लाग्यो । उनको परिवार विभिन्न मुक्त कमैया शिविर चहार्दै अन्त्यमा २०६५ सालमा बल्चौर शिविरमा आइपुग्यो । बाल्यकालमा आफैले ब“धुवा जीवन भोगेका दिपु अहिले सबै प्रकारको दासताका अवशेष निमिट्यान्न पार्न कस्सिएका छन् ।
उनी तत्कालीन मुक्त कमैया पुनस्र्थापना समस्या समाधान आयोगकोसदस्य भई कमैया पुनस्र्थापनाको क्षेत्रमा कार्य गरिसकेका छन् ।
दिपुको पढ्ने इच्छा
बाल्यकालमा बुवासँगै जमिन्दारको घरमा गोठालो बस्न बाध्य उनमा सानैदेखि पढाईप्रति लगाव थियो । उनको लगाव देखेर शिक्षिका शान्ता सिंह (कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी धर्मपत्नी) ले कमैया मुक्ति हुनु अगाडि नै जमिन्दारको घरबाट मुक्त गराएर स्कूल भर्ना गरिदिएकी थिइन् ।
‘मेरो आमा, गुरुआमा सबै उहा“ (शान्ता) नै हो’ स्कूल जीवन स्मरण गर्दै उनले भने– ‘सरहरू (शिक्षक) ले परीक्षामा मैले ल्याएको प्राप्ताङ्क देखेर कक्षा अपग्रेड गरिदिनु हुन्थ्यो । हालसम्म छात्रवृत्ति कोटाबाटै अध्ययन गर्दै आए“ ।’ उनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नाकोत्तर उत्तीर्ण गरेका छन् ।
त्यस्तै, एलएलबी अध्ययनरत उनी २०७९ माघमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी हाल बैतडीमा स्थायी शिक्षक छन् ।