पोस्टर टाँसेको भन्दै फिल्म ‘बगान’लाई महानगरको तिरायो ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रमा जथाभाबी रूपमा फिल्मको पोस्टर टाँसिएको भन्दै निर्माण संस्था नेपाली वेबसाइट मिडिया हाउस प्रा.लिलाई महानगरले उक्त जरिवाना तिराइएको फिल्मका वितरक रिच इन्टरटेन्मेन्टका प्रमुख करण क्रेजी श्रेष्ठ बताए ।
करणका अनुसार ‘फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोर मैला गरेबापत जरिवाना’ नेपाली वेबसाइट मिडिया हाउस प्रा.लीद्वारा जरिवाना तिरिएको रसिदमा उल्लेख छ ।’
‘बगान’ फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गरेको हो । रिच इन्टरटेन्मेन्टका प्रमुख करण क्रेजी श्रेष्ठले महानगरले पूर्वाग्रही शैलीमा पोस्टर टाँसेकोमा कारबाही गरेको प्रतिक्रिया दिएका छन् ।
‘हामीले अघिल्लो मंगलबार काठमाडौँमा फिल्मको पोस्टर टाँसेका थियौँ, आज आएर हामीलाई ‘पचास हजार रुपैयाँ’ तिराइयो’, श्रेष्ठले भने ‘एक सातासम्म नगर प्रहरी के हेरेर बसेका थिए, यसअघि अन्य कुनै पनि फिल्मलाई पोस्टर टाँसेको आधारमा किन जरिवाना तिराइएन ?’ फिल्मका पोस्टर हामीले कहाँ लगेर टाँस्ने ?’ वितरण श्रेष्ठले भने।
‘बगान’ ले एकल महिलाको विषय उठाएको, निर्माताको खर्चमा देशैभरीका एकल महिलालाई निशुल्क फिल्म हेर्ने व्यवस्था मिलाएर समाजसेवा गरिरहेको वितरण श्रेष्ठको तर्क छ ।
‘हामी चलचित्रकर्मी महानगरपालिकाको सौन्दर्य बढाउन जे गर्नुपर्छ, त्यो गर्न तयार छौं’, श्रेष्ठले थपे ‘त्यसका लागि नगरपालिकाले पनि हामीलाई विकल्प दिनुपर्यो, कि पोस्टरका लागि डिजिटल बोर्डको व्यवस्थापन गर्नुपर्यो ।’ हचुवाको भरमा कारबाही गर्नु न्यायसङ्गत नभएको करणको भनाई छ ।
गत शुक्रवारदेखि प्रदर्शनमा आएको सरोज खनालद्वारा निर्देशित ‘बगान’ले दर्शकको मन जितिरहेको छ । फिल्ममा फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ । फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।