सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
भेपमा सुन

सुन तस्करी र चोरीमा संलग्न ५ जनालाई थुनामा राख्न अदालतको आदेश

मङ्गलबार, ०२ साउन २०८०, १० : ४८
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । भेपको प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी विक्री वितरणमा संलग्न ५ जनालाई थुनामा पठाउने आदेश दिइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले हाल हिरासतमा रही प्रतिवादी बनाइएका ६ मध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको हो । 

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाई अदालतमा पेस गरेका ६ जनामध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएका हुन् । न्यायाधीश ढकालले सुन चोरी र विक्री वितरणमा संलग्न नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल तथा साहेब राव पाण्डुरङ मरगलेलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

 सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएका अमृत कार्कीलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ । 

२०७९ पुस १० गते फ्लाई दुबईबाट उडान नम्बर एफजेड–०५८७ मा नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र ठुलो मात्रामा सुन तस्करी गरी ल्याएका थिए । व्यापारिक प्रयोजनका लागि अवैध ढङ्गले ल्याएको भनी उक्त ‘भेप’ जफत गरियो । पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि विकसहित दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत व्यक्तिहरू सुन चोरी र विक्रीमा जोडिएका थिए । 

दिनेशले नासु रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए । तत्काल खुल्न आए अनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो । 

केन्द्रीय अनुसन्धान ब्युरोले लामो अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनका आधारमा सरकारले असार २७ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ९ जनालाई प्रतिवादी बनाइएकामा ३ जना प्रतिवादीहरू भने फरार रहेका छन् । 

यी हुन् सुन चोरीमा मुद्दा चलाइएका व्यक्तिहरू

वीरेन्द्रनगर नगरपालिका ५ स्थायी ठेगाना भई हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा नायब सुब्बा पदमा कार्यरत २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ स्थायी ठेगाना भई भन्सार कार्यालयको लिलाम सकार गर्ने लगायत काम गर्दै आएका ३२ वर्षीय दिनेश बस्नेत, धरान –२  सुनसरीका वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्रका ३९ वर्षीय साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका –६ का ३२ वर्षीय अमृत कार्की, काठेकोला गाउँपालिका –३, बागलुङका २२ वर्षीय सेक्युरिटी गार्ड निर्मलकुमार विकलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । 

त्यसैगरी दिनेशका भाइ २९ वर्षीय दिपेश बस्नेत, दिनेश र दिपेशका भिनाजु ४२ वर्षीय गोपाल सुवेदी र दिनेशका ससुरा बनेपा १० थापागाउँका ५५ वर्षीय रामकेशव थापा फरार छन् । उनीहरुविरुद्ध आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा काठमाडौँ जिल्ला  अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप