मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, ०१ साउन २०८०, २१ : ०१
सोमबार, ०१ साउन २०८०

आज २०८० साउन १ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा कर्मचारीहरु पक्राउ परेपछि मुख्यसचिवमाथि ‘प्रेसर’ बढाउँदै सचिवहरु, कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा, ललिता निवास प्रकरणमा सञ्चारसचिव लगायत ४ जनाको रिट ‘हेर्दाहेर्दै’मा, सार्वजनिक यातायातको भाडा घट्यो, राजधानीमा राप्रपाको धार्मिक पदयात्रा, सेयर बजार परिसूचक उक्लियो, महाधिवेशनको तयारीमा जुट्दै रास्वपा लगायत छन् ।

१. कर्मचारीहरु पक्राउ परेपछि मुख्यसचिवमाथि ‘प्रेसर’ बढाउँदै सचिवहरु
विभिन्न काण्डमा कर्मचारीहरु पक्राउ परेपछि मन्त्रालयका सचिवहरुले मुख्यसचिवमाथि ‘प्रेसर’ बढाएका छन् । यस्ता घटनाले कर्मचारीको मनोबल खस्किने भन्दै सचिवहरुले मुख्यसचिवको ध्यानाकर्र्षण गराउनका साथै कर्मचारीलाई निशाना बनाउने कार्य निरुत्साहित गर्नुपर्नेमा जोड दिएको बताइन्छ ।


२. कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा
सत्तारुढ दल नेपाली कांग्रेसको मंगलबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय भएको छ । सोमबार पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीसहितको बैठकले केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको हो ।

३. ललिता निवास प्रकरणमा सञ्चारसचिव लगायत ४ जनाको रिट ‘हेर्दाहेर्दै’मा
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सुनुवाइ नसकिएपछि ती रिट निवेदन मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।


४. सार्वजनिक यातायातको भाडा घट्यो
सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागु गरेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो । 

५. राजधानीमा राप्रपाको धार्मिक पदयात्रा
राष्ट्रिय प्रजातन्त्र पार्टीले मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गरेको छ । राप्रपाका नेता कार्यकर्ता सोमबार मैतीदेवी मन्दिरमा भेला भएर कलशसहित पशुपति मन्दिरसम्म धार्मिक पदयात्रा गरेका हुन् ।

६. साउने सोमबार पशुपतिसहित शिव मन्दिरमा घुइँचो
साउनको सोमबार शिवको पूजाआराधना गरिन्छ । सोही क्रममा सोमबार काठमाडौंस्थित पशुपति मन्दिर लगायत देशका विभिन्न भागमा रहेका शिवालयमा भक्तजनहरुको घुइँचो लागेको छ ।

७. सेयर बजार परिसूचक उक्लियो
साउन महिनाका लागि बैंकको ब्याजदर परिवर्तन भएसँगै यसको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढ्दै २१ सय ४४.१६ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन यस्तो सूचक १२ अंकले बढेको थियो ।  

८. महाधिवेशनको तयारीमा जुट्दै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने तयारी सुरु गरेको छ । रास्वपाले आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न गर्ने भएको हो ।

९. आयल निगमको डिजेल भण्डारण क्षमता बढ्यो 
करिब २ दशकपछि नेपाल आयल निगमले आफ्नो डिजेल भण्डारण क्षमता विस्तार गरेको छ । सोमबार पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह उदघाटन भएको हो ।

१०. वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण शुल्य बढाइयो
वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य परीक्षण शुल्क बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप