शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

निबन्ध : माटो महिमा

सोमबार, ०१ साउन २०८०, १४ : २३
सोमबार, ०१ साउन २०८०

प्रायः हामी भन्ने गर्छौँ माटो माटो नै हो तर यो भन्ने कुरा मात्र हो । वास्तवमा माटो मात्र चाहिँ होइन । जीवनको मूलभूत आधार भनेकै माटो हो, जुन पञ्चतत्वको पहिलो तत्त्वमा पर्छ ।

 अब प्रश्न उठ्न सक्छ यो पञ्चतत्व भनेको आफैँमा हो चाहिँ के ? तर नआत्तिनुस् यो पनि त्यति गाह्रो कुरा होइन ।

 प्रकृतिमा जुन पाँच किसिमका तत्त्व छन् तिनै तत्वहरू नै पञ्चतत्व हुन्, जसमा क्रमशः पृथ्वी, जल, तेज, वायु र आकाश पर्छन् । चराचर जगत् बनाउने पनि यिनै हुन्, अड्याउने र टिकाउने पनि यिनै हुन् । यिनै पञ्चतत्वमध्ये जसलाई पृथ्वी भनिएको छ, त्यही नै माटो हो । यसो त पृथ्वीमा धेरै चीज छन् । तथापि मूल आधार भने माटो नै हो । माटो भएर नै ती सब भएका हुन् ।

पञ्चतत्वहरू क्रमशः एकपछि अर्को सूक्ष्म हुँदै गएका हुन्छन् । जस्तो पृथ्वी अर्थात् माटो स्थूल छ, जसलाई प्रत्यक्ष आँखाले देख्न सकिन्छ । दोस्रो स्थानमा जल आएको छ । यसको पनि स्वरूप स्थूल छ, जसलाई प्रत्यक्ष देख्न र छुन सकिन्छ । तेस्रो तत्त्व तेज हो । यो पनि अपेक्षाकृत स्थूल नै हुन्छ । तेजको स्वरूप कस्तो हुन्छ यसै भन्न त सकिन्न तर यस्तै हुनुपर्छ भनेर अनुमानसम्म लगाउन सकिने स्थान भने प्रशस्तै छ । 

चौथो तत्त्व भनेको वायु तत्त्व हो । यसलाई प्रत्यक्ष देख्न सकिन्न । तथापि अनुभव गर्न भने राम्रैसँग सकिन्छ । पाँचौँ तत्त्वमा आकाश तत्त्व पर्छ । यो भनेको विशुद्ध त्यस्तो तत्त्व हो, जसलाई न देख्न सकिन्छ न अनुभव नै गर्न सकिन्छ । यस आलेखमा यिनै पञ्चतत्वमध्ये माटोको बारेमा चर्चा केन्द्रित गर्ने प्रयास गरिएको छ ।   

सामान्य आँखाले हेर्दा माटो केही पनि होइन । कुनै चीज समाप्त भयो, सकिएर गयो भन्ने उदाहरण दिँदा वा दिनुपर्दा माटोको नाम लिने गरिन्छ । जस्तै माटो सरी भयो, माटो भएर गयो यस्तैयस्तै तर माटो स्वयंमा त्यस्तो केही नभएको चीज भने होइन । अपितु सबै चीज हो । किनभने यो हामी सबैको जीवन हो । जीवनदायी तत्त्व हो । हामी सबैलाई माटोले नै बनाएको छ, माटोले नै चलाएको छ, माटोले नै खेलाएको छ । 

चराचर जगत् माटोबाटै उठेको हुन्छ र माटोमै पुगेर बिलाएको हुन्छ । उत्थान विन्दु पनि यही प्रस्थान विन्द् पनि यही । तर्कशास्त्रीहरूले यसलाई गन्ध गुण भएको तत्त्व भनेका छन् । यद्यपि सरसरती हेर्दा माटोमा गन्ध हुन्छ भनेको सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नुपर्दैन । माटोबाट उत्पन्न भएको चीज माटो नै हो, माटो नै हुन्छ, जसमा धेरथोर गन्ध भएकै हुन्छ । त्यसैले उसलाई गन्ध गुणवाला भनेको हो । 

माटोबाट अन्न, फलफूल तथा दही, दूध उत्पन्न हुन्छ । तिनै अन्न, फलफूल तथा दूध दहीले हाम्रो जीवन बनाउँछ, बचाउँछ । यस अर्थमा हाम्रो जीवनको स्रोत भनेकै माटो हो । अब प्रश्न उठ्न सक्छ त्यतिसम्म त बुझियो जीवनको स्रोत माटो रहेछ तर स्वयं माटोको स्रोत चाहिँ के हो त ? यो भने अलि अमूर्त प्रश्न हो । आखिर सारा जीवनको स्रोत बनेको वा बन्न सक्ने माटो आफैँ चाहिँ आएको कहाँबाट हो त ? उसको स्रोत कुन हो र कसरी उत्पन्न भएको हो ? तर न आत्तिनुस् । यो पनि त्यति कठिन प्रश्न होइन । प्रस्टै छ माटोको स्रोत माटो नै हो, जसलाई अलिकति गहिरिएर विचार गर्नुभयो भने आफैँ अनुभूत गर्न सक्नुहुन्छ ।  

यद्यपि अन्न, दूध, दही, फलफूल, रुख, बिरुवा, वनस्पति लगायत सारा जीवजन्तुको शरीर कुहिएर पनि माटो बन्छ । यस अर्थमा तपार्ईँ तिनीहरूलाई नै माटोको स्रोत हुन् कि भन्न पनि सक्नुहुन्छ तर यो पनि आधा मात्र सत्य हो, पूरा सत्य होइन । पूरा सत्य त यही हो कि माटोको स्रोत माटो नै हो । तिनै माटो नै हामीलाई आवश्यक पर्दा विभिन्न स्वरूपमा प्रकट हुन्छ र काम सकिएपछि माटोमै गएर बिलाउँछ, माटोको मूलरूपमै एकाकार हुन्छ । माटोबाटै आयो, माटोमै बिलायो । 

मात्र के हो भने प्रकृतिको अनमोल वरदानको रूपमा प्राप्त भएको माटोलाई प्रयोग गर्न जानिएन भने दूषित हुन्छ, विषाक्त बन्छ र दुःख पाइन्छ । प्रयोग जानियो भने सदुपयोग भएर सुवास फैलिन्छ । त्यस्तै संरक्षण गर्न सकिएन वा जानिएन भने बगेर खेर जान्छ र दुःख पाइन्छ । संरक्षण गर्न सकियो भने उर्वर बनेर सुख दिन्छ । त्यसैले माटोलाई माटो मात्र ठानेर व्यवस्था गर्नु हुँदैन । अन्यथा यो भन्दा ठुलो मूर्खता अर्को हुँदैन, हुने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप