शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

याक्खा जातिमा साउने सङ्क्रान्ति : अनिकाल भाग्यो, अब बाँचिन्छ

सोमबार, ०१ साउन २०८०, १० : ३८
सोमबार, ०१ साउन २०८०

सङ्खुवासभाको दक्षिणी र धनकुटाको उत्तरी क्षेत्र आदिवासी याक्खा जातिको पुख्र्यौैली थातथलो हो । ऐतिहासिक थुम (तत्कालीन प्रशासनिक इलाका) हरू दशमझिया, पाँचमझिया र पाँचखपन रहेको यस क्षेत्रमा याक्खा जातिको सघन बसोबास छ । याक्खा जातिभित्र करिब सय हाराहारी थर रहेका छन् । यद्यपि नागरिकतालगायतका कागजातमा भने नामको पछाडि देवान, जिमी जस्ता पदवीजन्य शब्द लेख्ने गरेको पाइन्छ ।

याक्खा जाति किरात समुदायभित्र पर्छ । याक्खा जातिले मनाउने मुख्य पर्व उधौली र उभौली नै हो । यसका अतिरिक्त तिहार, माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई पनि विशेष किसिमले मनाउने गर्दछन् । तिहार र यी दुई सङ्क्रान्तिलाई याक्खा जातिले आफ्नै शैलीमा मनाउने गरेको पाइन्छ । यी पर्वमा याक्खाहरूको मौलिकता, आस्था र मिथकसमेत जोडिएको छ । जीवन पद्धतिका अनेक अर्थहरू बोक्ने यस्ता मिथक र सामाजिकपनले यी पर्वहरू याक्खा समुदायमा खास बनेको छ । यसरी जीवन पद्धतिको विविध पक्षबारे उजागर गर्ने एक पर्व हो साउने सङ्क्रान्ति । साउने सङ्क्रान्ति मनाउने तौरतरिकामा याक्खा थुमपिच्छे केही भिन्नता रहे पनि यसको मूल मर्म भने समान छ ।

कृषि कर्ममा बिसौनी

आमनेपालीको जस्तै याक्खा जातिको पनि प्रमुख पेसा कृषि नै हो । खेतबारी र घाँसदाउराको अविच्छिन्न कृषिकर्ममा आधारित जीवनशैलीमा साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको पाइन्छ । याक्खाहरूले यस पर्वलाई विशेष रूपले मनाउने गर्दछन् । यो पर्व बहुप्रतीक्षितसमेत हुने गर्छ । खानपिन र फुर्सदका लागि पनि यस पर्वको पर्खाइ हुन्छ ।

सामान्यतः माघ–फागुन सुरु भएपछि वर्षभरिका लागि दाउराको जोहो गर्ने, बारी खनजोत गर्ने लगायतका काम सुरु हुन्छ । त्यपछि खेतीपातीको कामसमेत थालिएपछि गाउँघरमा कामको चाप बढेर जान्छ । झरीबादल झेल्दै खेतीपातीको काममा महिनौँसम्म भिड्दा लखतरान बनेको ज्यान र ‘रोपाइँको मैजारो कहिले सकुँला’को मानसिकतामा गुज्रेको कृषकका लागि साउने सङ्क्रान्ति बिसौनी पनि हो । याक्खा जातिमा पनि साउने सङ्क्रान्तिसम्म रोपाइँको मैजारो गर्ने नभए पनि मुख्य हिस्सा सक्ने लक्ष्य हुन्छ । मेलापात गरिरहँदा पनि दिनगन्ती चल्छ । साउने सङ्क्रान्तिको आगमनसँगै याक्खा गाउँबस्तीमा एक किसिमको उत्साह र रौनकता छाउँछ ।

सङ्क्रान्तिको भोलिपल्ट अर्थात् साउन २ गते राँकेको दिन याक्खाहरूले खेतबारीको काम गर्दैनन् । यस दिन खेतबारीमा पसे मात्र पनि खेतीबाली पहेँलिन्छ र सुक्छ भन्ने याक्खा समुदायमा मान्यता छ । खेतीपातीको जतिसुकै चटारो भए पनि यस दिन काम गरिँदैन, घरमै आराम गर्छन् । युवायुवतीहरू हाटबजार वा यस अवसरमा लाग्ने मेला भर्न जान्छन् ।

पितृको सम्झना र नयाँ बाली अर्पण

साउने सङ्क्रान्तिमा याक्खाहरूले पितृहरूको सम्झनासमेत गर्दछन् । खास गरी यस अवसरमा पोलेको मासु र जाँड चढाउने चलन छ । यसका साथै यो मौसममा पाकेको चैते धान र मकै लगायतका अन्नबाली तथा फलफूल पनि पितृहरूको नाममा चढाइन्छ । यसरी नचढाई खाएमा मुख बाङ्गिन्छ वा शारीरिक समस्या आउँछ भन्ने याक्खा समुदायमा विश्वास रहिआएको छ । मसान्तको बेलुकी वा सङ्क्रान्तिको बिहान गाउँ अनुसार फरक फरक समयमा यसरी पितृको सम्झना हुने गर्छ ।

अनिकाल धपाएर खुसीयाली

हरेक साउने सङ्क्रान्तिमा याक्खा समुदायले आफ्नो घरगाउँमा अनिकाल भागेको र सहकाल भित्रिएको घोषणा गर्छन् । सङ्क्रान्तिको दिन कुरिलो, भलायो, धोबीफूल लगायतको डाली तथा यस वर्ष पहिलो पटक फलेको काँक्रा, खुर्सानीलगायत फलफूललाई बाबियोको डोरीमा उनेर माला जस्तो बनाई घर वरिपरि सिउरिने प्रचलन छ । यति नगर्नेले कुरिलो र भलायोको डालीलाई मूल ढोकामाथि दायाँबायाँ सिउरिन भने छुटाउँदैनन् । यसो गरे घरमा ‘दोखिया नजर’ लाग्दैन भन्ने विश्वास छ ।

कुरिलो र भलायोको डालीलाई अगेनामा पोल्ने चलनसमेत रहेको तर यो हाल भने प्रायः लोप भइसकेको याक्खा जातिको संस्कार संस्कृतिका खोजकर्ता मागमान लिंखाको भनाइ छ । उनका अनुसार यसरी पोल्दा निस्कने धुवाँ बर्खाको समयमा हुने लुतो लगायतका छालाजन्य रोगका लागि लाभकारी हुने याक्खाहरूमा मान्यता थियो ।

सङ्क्रान्तिको दिन साँझमा भने हरेक घरबाट अनिकाल धपाइन्छ । अन्न भण्डारदेखि लिएर घरको हरेक कुनाकाप्चासम्म नाङ्लो ठटाएर नजिकको दोबाटोसम्म ‘अनिकाल जा, सहकाल आइजा’ भन्दै अनिकाल धपाउने चलन छ । यसपछि घर घरमा सहकाल आएको मानिन्छ । 

‘अब बाँचिन्छ’

साउने सङ्क्रान्तिलाई ‘अब बाँचिन्छ है’ भनेर मनाउनु पर्ने याक्खा जातिको मान्यता छ । साउने सङ्क्रान्तिसँगै मकै पाकेको, फलफूलहरू फलेकाले अनिकाल पनि टर्न थालेको र कामको चाप पनि क्रमशः कम हुँदै गएको हुनाले अब बाँच्न सहज भएको भनाइ छ । यसअघि माघे सङ्क्रान्ति भने ‘अब मरिएला कि बाँचिएला’ भन्ने विरक्त भावसहित मनाइने गरिन्छ । माघे सङ्क्रान्तिपछि अन्नपात सकिएर अनिकाल लाग्न सुरु हुने, खेतीपातीको चाप बढ्ने र वर्षातको कठिनाइपूर्ण जीवन सुरु हुने भएकाले त्यस्तो भाव हुने गरेको हो ।

यसरी एक, दुई दिनको छोटो अवधिको पर्व भए पनि साउने सङ्क्रान्तिले याक्खा जातिमा विशेष स्थान बनाएको छ । कामको हिसाबले वर्षकै सर्वाधिक खटिनुपर्ने विशेष समयमा पर्ने यस पर्वले याक्खा गाउँबस्ती र जनजीवनमा ल्याउने रौनकता र उल्लास पनि विशेष नै हुन्छ । मूल थलोबाहिर स्वदेश तथा विदेशमा रहेका याक्खाहरूले पनि साउने सङ्क्रान्तिलाई उत्तिकै उल्लासका साथ मनाउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भीम देवान
भीम देवान
लेखकबाट थप