मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

केशव तुलाधरको बयान–‘ऋणधन गरेर ललिता निवासको जग्गा किनेको थिएँ’

सोमबार, ०१ साउन २०८०, २२ : ५५
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार बस्ने ५९ वर्षीय केशव तुलाधरलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान थालेको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा किर्ते गरेर हिनामिना गर्न तुलाधरले भूमिका खेलेको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

आइतबार नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनी १५ लाख धरौटी बुझाएका छुटेका थिए । छुट्नासाथ केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर अनुसन्धान थालेको हो । ब्यूरोका अनुसन्धान अधिकृतहरूका अनुसार तुलाधरविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्नुअघि तुलाधरसँग बयान लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतहरूसँग तुलाधरले त्यसबेला भनेका थिए–‘बैंकबाट ऋणधन गरेर ललिता निवासको जग्गा किनेको थिएँ ।’

तुलाधरको नाममा ललिता निवास क्याम्प भित्र २ रोपनी जग्गा देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । ‘ललिता निवास क्याम्प’ भित्र रहेको ६ कित्ता जग्गा आफूले विवेक कुमार सुवेदी र अगम ढुंगानासँग किनेको तुलाधरले बयानमा खुलाएका थिए ।

तुलाधरले अख्तियारमा भनेका थिए–‘२०६४ साउन ६ मा डिल्लीबजार मालपोत कार्यालयमा रजिस्ट्रेसन पास गरेर विवेक कुमार सुवेदी र अगम ढुंगानाबाट जग्गा लिएको हुँ । जग्गा किन्दा नियमपूर्वक रजिस्ट्रेसन पास गरेर सरकारी दस्तुर तिरेको छु ।’

ललिता निवासको जग्गा खरिद गर्दा आफूले साबिकको एन.ड.ई.पी. बैंकबाट ऋण लिएको तुलाधरले जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्–‘मेरो नाममा जग्गा कायम हुनुअघि त्यहाँको जग्गा सरकारी प्रकृतिका हुन् भनेर थाहा थिएन ।’

भू–माफियासँगको मिलेमतोमा आरोपितहरूले झुटा मोही खडा गरेर बालुवाटारको जग्गा हिनामिना गरेको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सरकारले अधिग्रहण गरिसकेको १४७ रोपनी जग्गा माफियासँग मिलेर आरोपितहरूले कनक शमशेरको नाममा ल्याएर त्यसपछि नामसारी गराएका हुन् । २०४३ सालमा कनक शमशेरको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप