रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार
काठमाडौँ । आज २०८० असार ३१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा स्वचालित प्रणाली लागु भएसँगै घट्यो इन्धनको मूल्य, रास्वपा र राप्रपाले संसदीय प्रक्रिया नै नबुझेपछि.., सञ्चार सचिवसहितकालाई सोमबार अदालतमा पेस गर्न आदेश, श्रमिक फर्काइएको विषयमा अध्यागमन विभागको प्रस्टोक्ति, ‘भेप’मा सुन तस्करीबारे भन्सार प्रमुख पनि मुछिए, एमालेले जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने, सहकारी पीडित र श्रमिक संगठनको छुट्टाछुट्टै प्रदर्शन, आत्महत्या गरेका अभिनेता सारुकको मोबाइल परीक्षण रिपोर्ट कुर्दै प्रहरी लगायत छन् ।
१. स्वचालित प्रणाली लागु भएसँगै घट्यो इन्धनको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तय गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने निर्णय गरेसँगै इन्धनको मूल्य घटेको छ ।
२. रास्वपा र राप्रपाले संसदीय प्रक्रिया नै नबुझेपछि..
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय प्रक्रियामा अलमल हुँदा आइतबार प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना हुनुका साथै १५ मिनेटका लागि स्थगित हुन पुग्यो । दुवै दलका सांसदहरूले सभामुखको आसन घेराउ समेत गरे । तर बैठक रोकिएको बेला उनीहरूले कुरा बुझेपछि फेरि बैठक नियमित सुचारु भयो ।
३. सञ्चार सचिवसहितकालाई सोमबार अदालतमा पेस गर्न आदेश
ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार पुनः अदालतमा पेस गर्न सर्वाेच्च्ले आदेश दिएको छ । आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेस गर्न आदेश दिइएको हो । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार लगाउमा रहेका ६ वटा मुद्दा भएको र सरकार भ्याकेटमा समेत आएको कारणले आइतबार हेर्न नभ्याइएको हो ।
४. श्रमिक फर्काइएको विषयमा अध्यागमन विभागको प्रस्टोक्ति
अध्यागमन विभागले विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कुवेत जान लागेका नेपाली श्रमिकहरूले अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेस गरेका कागजातहरू शङ्कास्पद देखिएपछि प्रस्थान अनुमति नदिइएको स्पष्ट पारेको छ ।
५. ‘भेप’मा सुन तस्करीबारे भन्सार प्रमुख पनि मुछिए
‘भेप’ (इलेक्ट्रिक सिगरेट) मा लुकाएर तस्करी गरिएको सुन भन्सार कार्यालयकै नायब सुब्बाको मिलेमतोमा चोरी गरी बिक्री गरिएको प्रकरणमा नायब सुब्बाले कार्यालय प्रमुखमाथि नै गम्भीर आरोप लगाएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले जफत गरिएको भेप र त्यसभित्र रहेको सुन भेप ल्याउने चिनियाँ ब्यापारीलाई दिन आफूलाई निर्देशन दिएको विवादास्पद बयान नायव सुब्बा रेवन्त खड्काले दिएका छन् ।
६. एमालेले जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले अबदेखि कार्यकारी पदमा दोहोरो जिम्मेवारी नपाउने भएका छन् । यसअघि कार्यकारी पदमा दोहोरो जिम्मेवारी पाउँदा धेरैजसो नेता कार्यकर्ताले पद ‘होल्ड’मात्र गरेको र अपेक्षित ढङ्गले पार्टी र सरकारको काम नभएको विश्लेषणका आधारमा एमालेले अबदेखि यस्तो जिम्मेवारी नदिने निष्कर्ष निकालेको हो ।
७. सहकारी पीडित र श्रमिक संगठनको छुट्टाछुट्टै प्रदर्शन
रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको छ । यस क्रममा पाँच जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतवार काठमाडौंको माइतीघरमा भेला भइ सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।
८. आत्महत्या गरेका अभिनेता सारुकको मोबाइल परीक्षण रिपोर्ट कुर्दै प्रहरी
अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणको न्यायिक छानबिनका लागी चौतर्फी दबाब बढेको छ । तर, प्रहरीचाहिँ ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको छ । प्रहरी अधिकृतहरूका अनुसार मोबाइल परीक्षण रिपोर्ट आउन अझै केही दिन लाग्छ ।
९. नक्कली शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पक्राउ
भुटानी शरणार्था प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’को जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपमा उनलाई फेरि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।
१०. आर्थिक वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से
चालु आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन तर आर्थिक वर्ष २०७९÷८० को अन्तिम दिन आइतबार नेप्से सूचक १२.१६ अंकले बढ्दै २ हजार ९७।०९ अंकको विन्दुमा अडिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई