सशस्त्रले निकाल्यो एसएसपीदेखि सहायक हवल्दारसम्म बढुवाको सूचना

काठमाडौं । सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालेको छ ।
सूचनाअनुसार सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि एकै पटक सूचना प्रकाशन गरिएको छ ।
प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा बढुवाको लागि सूचना प्रकाशन गरिएको छ । आइतबार लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।
आइतबार १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएका सिसम–७ का निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् ।
२०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछन् ।
विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुने डिएसपी थापाले जानकारी दिए । ‘विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ’ डिएसपी थापाले भने– ‘सशस्त्रमा विगत केही वर्षयता सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवा हुन लागेको हो ।’