पशुपन्छीका पहिचान नभएका रैथाने नस्ल कति छन् ?
काठमाडौँ । सात वर्षअघि (२०७३ सालमा) कास्की ढिकुरपोखरीका आमोद दाहालले पशुपक्षीका रैथाने नस्लको संरक्षण र संवद्र्धनका लागि परमादेशको आदेश माग गर्दै सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
रैथाने नस्ल संरक्षणका लागि चिन्ता र चासो प्रकट गरी अदालतमै निवेदन परेको यही पहिलो होला ।
उनका माग थिए — रैथाने जातका पशुपक्षीको संरक्षणका लागि तत्कालै कानुन निर्माण गर्नुपर्ने, स्थानीय जातका पशुपक्षीको विशेषता पहिचानका लागि खोज तथा अनुसन्धानका कार्य सञ्चालन हुनुपर्ने, पशुपक्षी पाल्नका लागि कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन हुनुपर्ने, हरेक तीन–तीन वर्षमा रैथाने जातका पशुपक्षीको गणना गरी तथ्यांक अधावधिक गरी सार्वजनिक गर्नुपर्ने, कम संख्यामा रहेका रैथाने जातका पशुपक्षीको आनुवांशिक स्रोतको संकलन गरी पशु आनुवांशिक बैंकमा सुरक्षित राख्नुपर्ने, लोपोन्मुख पशुपक्षीलाई विदेशी जातका पशुपक्षीसँग प्रजनन गराएर वर्णशंकर उत्पादन गर्ने कार्य तत्काल रोक्नुपर्ने आदि ।
यस मुद्दामा सरकारको जवाफ चित्तबुझ्दो ठहर्याई सर्वोच्चका तत्कालीन कामु न्यायाधीश दीपकराज जोशी र न्यायाधीश शारदाप्रसाद घिमिरेको इजलासले उक्त रिट निवेदन खारेज गर्यो र आदेशमा भन्यो, ‘रिट निवेदन खारेज हुने ठहर भए पनि निवेदनमा उठान भएका विषयवस्तुको अध्ययनबाट रैथाने जातका पशुपक्षीको संरक्षणका लागि हाल भइरहेको नीति, कार्यक्रम र कानुनी व्यवस्था पर्याप्त भए नभएको सम्बन्धमा अध्ययन गरी विपक्षी नेपाल सरकारमा प्रतिवेदन पेस गर्न तीनजना विशेषज्ञ सम्मिलित अध्ययन समितिको गठन गर्नु भनी विपक्षीहरुको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’
सरकारले २०७८ मा ‘राष्ट्रिय पशुपन्छी प्रजनन नीति’ ल्यायो । यस नीतिका तीन उद्देश्य छन् : १) उपयुक्त नस्ल सुधार पद्धतिको स्थापना । २) उपयुक्त नस्लमा आत्मनिर्भरताका लागि देशभित्र प्रजनन केन्द्र तथा स्रोत केन्द्रको स्थापना । ३) पशुपन्छीको आनुवंशिक स्रोत तथा जैविक विविधता संरक्षण र उपयोग गर्र्न उचित वातावरण सिर्जना ।
तेस्रो बुँदाले रैथाने नस्लको संरक्षण र उपयोगमा जोड दिएको छ । हामीकहाँ हालसम्म पशुपन्छीका २६ रैथाने नस्ल पहिचान भएका छन् । यहाँनेर नस्ल (ब्रिड) र प्रजाति (स्पेसिज)मा स्पष्ट हुनुपर्छ । जस्तो : गाई प्रजाति भयो भने यसका विभिन्न नस्ल हुन्छन् । कुनै स्थान विशेष वा वातावरणमा हुर्कंदै आएको नस्ल विशेषलाई रैथाने (इन्डिजिनस) नस्ल भनिन्छ ।
खासगरी घरेलु जनावरका समूहहरूको वर्णन गर्न बढी मात्रामा नस्ल शब्दको प्रयोग गरेको पाइन्छ भने प्रजाति शब्दको प्रयोग जनावरसँगै वनस्पति र सूक्ष्मजीवको वर्णनका लागि पनि गरिन्छ । हाम्रो समाज जातमा आधारित भएकाले नस्लको अर्थमा ‘जात’ शब्दको बढी प्रयोग भइरहेको देखिन्छ ।
रैथाने नस्ल
कृषिको प्रमुख आधार हो, पशुपालन । दूध, मासु, मल र श्रम (खेतबारी जोत्न, भारी बोक्न वा गाडा तान्न)का लागि हामीले पशुपन्छी पाल्दै आएका छौँ ।
पशुपन्छीमा ठाउँ विशेष वा वातावरण विशेषमा बाँच्ने वा हुर्कने विशेष गुण हुन्छ । आमोद दाहालले रिट निवेदनमा देशभर एक सय ८१ प्रजातिका स्तनधारी जनावर र ८५० प्रजातिका चुराचुरुंगी पाइने उल्लेख गरेका छन् । जैविक विविधताले धनी हाम्रो देशमा कति रैथाने नस्लका पशुपन्छी छन् भन्ने यकिन भने छैन । उदासिन खालको अनुसन्धान जारी नै छ भन्नुपर्छ ।
अहिलेसम्म अनुसन्धानबाट प्रमाणित भएका २६ रैथाने नस्लमा सबैभन्दा बढी (एक याकसहित सातवटा) गाईका नस्ल छन् । जसमा तराई, पहाडी, सिरी, अछामी, खैला, लुलु र याक पर्छन् ।
यस्तै भैँसीका चार नस्ल (तराई, लिमे, पारकोटे र गड्डी), बाख्राका चार (तराई, खरी, सिन्हाल र च्याङ्ग्रा), भेडाका चार (लामपुच्छ«े, कागे, बरुवाल र भ्याङलुङ), सुँगुरका तीन (हुर्रा, च्वाँचे र बामपुड्के), कुखुराका तीन (साकिनी, घाँटी खुइले र प्वाँख उल्टे) र घोडाको एक नस्ल (जुम्ली घोडा) पहिचान भएका छन् ।
राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार ललितपुरकी प्रमुख डा. नीना अमात्य गोर्खालीका अनुसार, खरी बाख्राका केही उपनस्ल वा प्रकारहरु पनि पहिचान भएका छन् । यद्यपि हामीकहाँ देशभर पहिचान नभएका रैथाने नस्ल धेरै हुन सक्छन् ।
‘२६ नस्ल मात्रै होइन, शुद्ध नस्ल अरु पनि हुन सक्छन् । विभिन्न ठाउँमा भिन्न–भिन्न आकार–प्रकारका भैँसी, सुँगुर, बाख्रा, भेडा, कुखुरा आदि देखिन्छन्,’ डा. नीना भन्छिन्, ‘सबैको अनुसन्धान भएको छैन ।’
पछिल्लो समय हामीकहाँ बालीमा उन्नत जात र पशुपन्छीमा नस्ल सुधारको अभ्यास र आवाज चर्को सुनिन्छ । पशुपन्छी प्रजनन नीति भन्छ, ‘नेपालका कुल घरपालुवा पशुपन्छीमध्ये नस्ल सुधार भई बढी उत्पादकत्व भएका गाईको संख्या करिब १५ र भैँसीको संख्या करिब ३५ प्रतिशत मात्र भएको हुँदा ठूलो संख्यामा पशुपन्छीको नस्ल सुधार गर्ने सम्भावना रहेको छ ।’
नस्ल सुधार भनेको के ?
नस्ल सुधार भन्नुको सामान्य अर्थ हो — बढी उत्पादन (दूध, मासु, सन्तान आदि) दिने नस्लको छनोट प्रक्रिया नै हो । नस्ल सुधार दुई किसिमले गर्न सकिन्छ — विदेशबाट उन्नत नस्ल ल्याई रैथानेसँग क्रस (वर्णसंकर) गराएर र राम्रो उत्पादन दिने रैथाने नस्लका भाले–पोथी छनोट गर्दै अर्थात् यस्ता बाबुआमाबाट सन्तान जन्माउँदै ।
नस्ल सुधार बढी उत्पादनकै लागि गरिने हो, तर बढी उत्पादन खोज्दै हामीले रैथाने नस्ललाई जोखिममा पार्नु हुँदैन । सदियौँदेखि स्थानीय हावापानी सहेर र रैथाने वनस्पति खाएर हुर्केका रैथाने नस्लमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । ‘यसर्थ विदेशबाट ल्याएका उन्नत नस्ललाई भन्दा रैथानेलाई प्रवद्र्धन गर्न आवश्यक छ,’ डा. नीना भन्छिन्, ‘सरकारका विभिन्न निकायले हातेमालो गरेर रैथाने नस्लको छनोट गर्न आवश्यक छ । छनोटले राम्रो उत्पादन दिने उन्नत नस्लको बढावा दिँदै जानेछ ।’
उनका अनुसार, पशुपन्छीबाट मासु–दूध लगायत उत्पादन कतिसम्म हुने भन्ने शरीरको आकार वा तौल र आहारविहारमा भर पर्छ । ‘रैथाने नस्लले शरीर हेरी जति उत्पादन दिन्छ, त्यसकै आधारमा अनुसन्धान र छनोट हुनुपर्छ । ५–६ सय किलोको होलस्टिन गाईले धेरै दूध दिन्छ, तर उसलाई दानापानी पनि त्यत्तिकै चाहिन्छ,’ डा. नीना भन्छिन्, ‘रैथाने नस्लमध्ये सिरी गाईलाई सबैभन्दा धेरै दूध (एक दिनमा ५–६ लिटर) दिने भनिन्थ्यो । हामीले त्यसलाई आवश्यक दानापानी दिएर (अप्टिमम म्यानेजमेन्ट)मा राख्दा दिनमै १२.१ लिटरसम्म दूध दियो । हाम्रो अध्ययनले रैथानेमा पनि क्षमता छ भन्ने देखायो ।’
उनका अनुसार, सन् २००० मा रिसर्च हुँदा रैथाने खरी नस्लको बाख्राको तौल ३९ किलोसम्मको पाइएको थियो । रिसर्चले यस्तो देखाएपछि सरकारले यसलाई बचाउने कार्यक्रम ल्याउन ढिलाइ नगर्नुपर्ने हो, तर सरकारले यस्तो कार्यक्रम ल्याएको देखिँदैन ।
हामीकहाँ मिश्रित नस्ल अर्थात् फरक–फरक नस्लका बाबु र आमाबाट जन्मेका पशु पनि छन् । जंगबहादुरको पालादेखि विदेशबाट साँढे ल्याएर क्रस गराएको भनिन्छ । सीमा क्षेत्रबाट के कति पशुपन्छीका नस्ल भित्रिए भन्ने कुनै लेखाजोखा छैन । यसरी जथाभावी क्रसिङ हुँदै जाँदा कतिपय मिश्रित हुन पुगे । यिनीहरुलाई पनि क्रसिङबाट कुनै एक नस्लमा अपग्रेड गर्न सकिने डा. नीना बताउँछिन् ।
क्रसिङ गर्नुको विधि र विज्ञान छ । क्रसिङ भन्नाले रैथाने र अन्यत्रबाट ल्याइएको नस्लबाट सन्तान जन्माउनु भन्ने बुझिन्छ । अन्यत्र वा विदेशबाट ल्याइएका नस्ल खास स्थान वा मौसम विशेषमा बाँच्न सक्ने गुणका हुन्छन् । तिनलाई रैथानेसँग क्रसिङ गराउँदै यहाँको हावापानीमा हुर्कन सक्ने नस्लको विकास गर्न सकिन्छ ।
चिसो ठाउँको नस्ल गर्मीमा र गर्मी ठाउँको नस्ल चिसोमा नसप्रन सक्छ, त्यसैले रैथानेसँग क्रसिङ गरिने हो । रैथानेसँग क्रस गराउँदा जन्मेको सन्तानमा दुवै (रैथाने र विदेशी) नस्ल ५०–५० प्रतिशत हुन्छ । यसरी जन्मेको सन्तानलाई पहिलेको विदेशीसँग क्रस गराइयो भने अब जन्मने सन्तान ७५ प्रतिशत विदेशी नै हुन्छ । यसरी क्रस गराउँदै करिब–करिब सय प्रतिशतको हाराहारीमा नस्ल सुधार वा शुद्ध गर्न सकिन्छ, तर सय प्रतिशत नै नै शुद्ध भन्ने हुँदैन । यसलाई अपग्रेडिङ भनिन्छ ।
रैथाने नस्ललाई समेत छनोट गरेर राम्रो नस्ल बनाउन सकिन्छ । छनोट भनेको रैथाने एउटै नस्लको भैँसीमा पनि बढी दूध दिने आमालाई छान्न सकियो । राँगोमा रोग सहने र खाइलाग्दो छान्न सकियो ।
राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रको पहिलो दायित्व रैथाने नस्लको पहिचान गर्नु हो । डा. नीनाका अनुसार, कुनै नस्ल पहिचान गर्न धेरै पक्ष केलाइन्छ वा अनुसन्धान गरिन्छ — बाहिरी रुपरंग (फिनोटिपिक), आकृति, आनुवंशिक विशेषता, स्थानीय वातावरण, उत्पादन (सन्तान के कति, दूध कति, मासु कति) आदिको अनुसन्धान गरेर निष्कर्ष निकालिन्छ ।
‘हामीले पशुको टिस्यु, रगत, रौँ, स्वाब आदि स्याम्पल संकलन गरेर परीक्षण गर्छौं । हामीसँग अत्याधुनिक र सुविधासम्पन्न ल्याब छैन । यद्यपि जसोतसो काम भइरहेको छ,’ डा. नीना भन्छिन्, ‘नस्ल पहिचानपछि पनि अन्य थुप्रै अनुसन्धान गर्न सकिन्छ । जस्तो : हिमाल, पहाड र तराईमा रैथाने भेडा पाइन्छ, उनीहरु भिन्न वातावरणमा बाँच्न सक्ने खुबी के छ भनी अनुसन्धान हामीले गर्यौँ । तिनीहरुमा छुट्टै किसिमको जिन रहेछ, जसलाई नोभेल मेकानिजम् भनिन्छ, जसले त्यस ठाउँमा हुर्कन–बाँच्न अनुकूल बनाउँछ । हिमालमा घाँस राम्रो हुँदैन तर पनि उनीहरु बाँचिरहेका हुन्छन् । बरुवाल, भ्यागलुङ आदिको शरीरमा फरक जिन छ ।’
अनुसन्धानका काम धेरै छन् तर अनुसन्धान गर्ने जनशक्ति कम छ र अनुसन्धान केन्द्रलाई बजेट समेत कम छ । कुर्सीमा बसेर कल्पनाका भरमा र लाइब्रेरीमा दुई–चारवटा पुस्तकको भरमा अनुन्धान हुँदैन, अनुसन्धानका लागि २४सै घन्टा फिल्डमै खटिनुपर्ने हुन सक्छ । यस्तो अवस्थामा राज्यले जनशक्ति, सेवा–सुविधा, स्रोत–साधन, बजेट आदिमा ध्यान दिनुपर्छ । डा. नीना राज्यले अनुसन्धानको महत्त्व नबुझेको हो कि भन्ने ठान्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव