झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता
झापा । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा.सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे ।
नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान–प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.यादवले बताए । क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान–प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ ।
राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । “क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उनले भने, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ । हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।”
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिए ।
सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्राडा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताए । झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि