सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राध्यापक गुप्तोको ‘संस्कृति चिन्तन’ प्रकाशित

आइतबार, ३१ असार २०८०, ०७ : ४३
आइतबार, ३१ असार २०८०

काठमाडाैँ । प्रा.डा. अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध सङ्ग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ। शनिबार काठमाडौँमा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गरे ।

कार्यक्रममा लेखक सुवेदीलाई निबन्धकार÷पत्रकार दीपक सापकोटाले ‘पहिलेको काठमाडौँ र अहिलेको काठमाडौँ बीचको अन्तर’बारे सोधेको प्रश्नमा उनले पहिलेको काठमाडौँ लुप्त भइसकेको, तर अन्तरङ्गमा भने त्यो जीवितै रहेको बताए । यहाँका चलन, सांस्कृतिक जात्रा, परिकारलगायतले त्यो संस्कृतिलाई जीवन्त राखेको उनको भनाइ थियो । संस्कृतिको ‘टाइम फ्रेम’नहुने विश्वास गर्ने उनले पहिरन, संरचना, बनावट, रङ, ध्वनि र कालिक चेतनामा संस्कृति बाँचिरहने धारणा राखे ।

यसैगरी उप्रेतीले नेपाल जस्तो बहु सांस्कृतिक देशमा राष्ट्रिय संस्कृतिको मानक के हुन्छ भनेर सापकोटाले सोधेको प्रश्नमा एक घटनाको उदाहरण दिँदै प्रस्ट्याए, ‘जनकपुरमा पढ्ने एक विद्यार्थीले शिक्षकलाई सोधेछन्– राष्ट्रिय फूल लालीगुराँस कस्तो हुन्छ ? जवाफमा शिक्षकले भने– गुराँस गुलाफजस्तै एक प्रकारको फूल हो, तर त्यसमा गुलाफको बास्ना हुँदैन ।’ उप्रेतीले राज्यले खस संस्कृतिलाई राष्ट्रिय संस्कृति भनेर स्थापित गर्नु गम्भीर त्रुटि भएको आशय व्यक्त गरे । पछिल्लो समय समृद्धि र सहरीकरणको बहस भइरहेको र पूर्वाधार निर्माण नै विकास हो भन्ने भाष्य स्थापित भएकोमा उनले आपत्ति जनाए, ‘समृद्धिको बहसबारे विश्वभर विवाद छ । समृद्धि कसका लागि? समृद्धिसँग विकास जोडिएको हुन्छ, विकास कसका लागि? जिडिपी बढ्नुलाई मात्रै विकास मान्ने कि ह्याप्पिनेसलाई ?’  बहु सांस्कृतिक संस्कृति नै नेपालको भविष्य हुनुपर्ने उनको तर्क थियो ।

समालोचक लामाले सहर परिवर्तनशील भएको, तर स्मार्ट सहर नभई सांस्कृतिक सहर निर्माण गर्नुपर्ने बताइन् । लेखक गुप्तोले संस्कृतिसँग जोडिएको पर्यावरण चेतनालाई पनि पुस्तकमा उठान गरेको भनाई उनले राखिन् । ‘यसमा लेखकको आफ्नै शैली छ, चिन्तनको गहनता छ,’ उनले भनिन् ।

गुप्तोले आफू कलाको पाटोबाट संस्कृति चिन्तन बढी गर्ने बताए । ‘देवीमाथिमात्रै लेखिरहँदा अन्धविश्वासमाथि बढवा दिएको आरोप लाग्दैन?’ सापकोटाको प्रश्नमा जवाफमा गुप्तोले भने, ‘बीचमा देवतामाथि पनि लेख्न थालेको थिएँ । तर, देवता कोही रिसाहा, कोही भद्र तथा कोही राक्षस प्रवृत्तिका मात्रै लागे । त्यसैले लेख्नै छाडेँ। तर, देवीको अनन्त रूपमा म आकर्षित हुँदै गएँ।’

आफूले संस्कृतिलाई लेखका रुपमा नभई निबन्धका रूपमा प्रस्तुत गर्नुको कारणबारे गुप्तोले भने, ‘कलाले प्रश्न गर्छ, समालोचना गर्छ, धम्की दिन्छ । कलाको बाटोबाट हिँड्दा यसबाट मुक्त हुन सकिन्छ । त्यसैले कलाको बाटो लिएर संस्कृतिबारे 

लेख्छु ।’

संस्कृति चिन्तक तथा अध्येता गुप्तोको नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक ‘संस्कृति चिन्तन’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप