मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
कलाकार

‘अब आफूले निर्देशन गरेको फिल्ममा अभिनय गर्दिनँ’

शनिबार, ३० असार २०८०

कलाक्षेत्रमा मेरो परिचय अभिनेता र निर्माताको रूपमा छ । तर, पछिल्लो समय म निर्देशकको रूपमा चिनिई रहेको छु । मेरो विविध परिचय भए पनि म आफूलाई खासमा अभिनेताको रूपमै चिनाउन चाहन्छु । अभिनेताकै चिनारीमा खुसी हुन्छु ।

फिल्म ‘बगान’ निर्देशन गरेको कारण मेरो निर्देशकको रूपमा चर्चा भएको हो । तर, म आफूलाई भने फिल्म ‘बगान’को निर्देशक भन्दा पनि सूत्रधार भन्न रुचाउँछु ।

स्वप्निल नीरवले लेख्नु भएको एउटा कथा जुन भन्नुपर्ने थियो, त्यो मैले समाजसम्म ‘बगान’मार्फत श्रव्य दृश्यसहित पुर्‍याउन खोजेको हो । त्यसकारण अहिले पनि म फिल्मको सूत्रधार भन्छु आफूलाई ।

निर्देशक (सूत्रधार) को रूपमा पहिलो फिल्म लाग्दै गर्दा व्यस्तता निकै बढ्दो रहेछ । निर्देशनको जिम्मेवारी यति गाह्रो हुन्छ भनेर मैले कहिल्यै सोचेको थिइन । नेपालको मात्र होइन, विश्वमै जति निर्देशक छन् । जसले फिल्म बनाउनुहुन्छ । सबैलाई सम्मान गर्न चाहन्छु कि उहाँहरूले यति गाह्रो काम गरिरहनु भएको रहेछ । 

भनिन्छ, कतिपय विषय त्यस्ता हुन्छन्, जबसम्म आफूलाई पर्दैन, तबसम्म थाहा हुँदैन । त्यो सही रहेछ । ८ महिनादेखि सबै काम छोडेर म ‘बगान’को चक्करमा हिँडिरहेको छु ।

अभिनेताको रूपमा चिनिएँ, अब निर्देशकको रूपमा चिनिन्छु भनेर होमिएको होइन म । एउटा राम्रो कथा फेला पारेँ, यो कथा समाजमा भनिनुपर्छ लाग्यो । कथा आफैले भन्न सक्छु होला, मानिसको मन जित्न सक्छु होला भन्ने लाग्यो । निर्माण टिम, कलाकारसँग कुरा गर्दा सबै मप्रति सकारात्मक पाएँ । त्यसैले, होमिएँ निर्देशनमा ।

कहीँ नभएको परिपाटी

अहिले जस्तो नेपाली फिल्मको निराश समय मैले कहिल्यै देखेको थिइनँ । एक भारतीय फिल्मको विवादपछि कुनै पनि हलमा दर्शक छैनन् । आशा गरेका केही पनि चलेनन् । मलाई फिल्मको विषयमा डर यही हो । तर ‘बगान’मार्फत दर्शक हलमा बोलाउन सक्छु भन्ने लागेको छ ।

‘फिल्म बनाउनु भन्दा प्रचारप्रसार गाह्रो छ,’ धेरैको मुखबाट सुनको हो यो । त्यो साँच्चिकै रहेछ । यहाँको परिपाटी त्यस्तो रहेछ । अहिले भर्खर भित्रिएका र पुरै जीवन यो क्षेत्रमा समर्पित गरेकाको विषयमा मिडियाका साथीहरूले हेर्ने दृष्टिकोण फरक हुन्छ भन्ने सोच्थे । तर, केही अपवादलाई छाडेर भन्ने हो भने त्यो पाइन ।

अहिलेका धेरै पत्रकार मेरो अभिनय प्रवेश भन्दा कान्छा छन् । जो ४ दशकदेखि अभिनयमा छ, उ निर्देशकको रूपमा आउँदैछ, राम्रो विषय ल्याउँदैछ । यसलाई सहयोग गरौँ भन्ने भावना पाइएन । रियालटी शोमा अन्तर्वार्ता दिन जाँदा पैसा तिर्नु परेको छ । संसारमा नचलेको परिपाटी हाम्रो देशमा चलेको रहेछ ।

अन्य देशमा कलाकार रियालिटी शोमा बोलाउँदा पारिश्रमिक दिन्छन् । हाम्रोमा हामीले तिर्नुपर्छ । त्यसले दुःख महसुस हुँदो रहेछ । सबैको रोजीरोटीको सवाल होला तर अन्य र मलाई एउटै तुलोमा तुलना गर्न त मिल्दैन नि ।

हामी छौ र मिडियाका लागि कन्टेन्ट छ । भोलिका दिनमा हामी भएनौ, नेपाली फिल्म बनेन भने उहाँहरूको काममा पनि असर त पक्कै गर्ला ।

यो एउटा क्रान्ति हो 

बुधबार ‘बगान’को प्रिमियर भयो । प्रिमियरमा सबैबाट तारिफ मिलेको छ । फिल्म हेरेर जुन हिसाबले सहभागीले तारिफ गर्नु भएको छ । एउटा क्रान्ति निम्तिने कुरा गर्नु भएको छ । त्यसले सन्तुष्टि मिलेको छ ।

कतिले करिश्मा मानन्धरको अर्को रूप देखियो भनेका छन्, कतिले डेब्यु अभिनेत्री प्रमिला कार्की श्रीमान् निर्माता भएकोले सरोज खनालले खेलाएको सोचेका होलान् । फिल्मले यो कुरोमा मुख थुनिदिन्छ ।

saroj khanal

जसको निर्देशनमा मैले अभिनय गरेँ, मेरा सबै सिनियर निर्देशक प्रिमियरमा बोलाएको थिएँ । सबैले राम्रो भने । शतप्रतिशत कसैको पनि हुँदैन । मेरो पनि छैन । तर, पहिलो चोटी बनाएको फिल्ममा ‘वा’ भन्ने छ ।

मैले उठाएको विषय कठिन नै हो । यस्तो विषयमा फिल्म बनाउन गाह्रो हुँदो रहेछ । प्रिमियरमा रुचाएको हिसाबले उत्साहित भने छु । मलाई के चाहिँ लागेको छभने एक दर्शक हलमा आए भने उहाँले दुई पठाउनु हुन्छ । अर्थात् माउथ पब्लिसिटीले दर्शक बढाउँछ । 

यो सुरुकै दिन इनिसिलको व्यवसाय गर्ने, हानेर हाउसफुल हुने फिल्म होइन । त्यो मैले सोचेको पनि छैन । मैले निर्मातालाई यो कुरो क्लियर पनि गर्दिएको छु ।

मेरो फिल्मको पहिलो हाफ भन्दा दोस्रो हाफमा अझै राम्रो छ भनेर दर्शकले भनेका छन् । फिल्मको फम्र्याट नै यही हो । पहिलो हाफमा क्यारेक्टर स्थापित गर्दैमा सकिन्छ । फिल्मको मुल मुद्दा हुने सेकेन्ड हाफमै हो ।

भोक मेटिएकै छैन

‘बगान’को लेखनसमेत म आफैले गरेको हो । अरुलाई राम्रो नदेखेर, विश्वास नभएर भने होइन । मैले कथा दिएर लेख्नका लागि केहीलाई दिएको थिएँ । उहाँहरूले ड्रामेटिक बनाउन खोज्नु भयो ।

फिल्ममा एक ब्यक्तिले मुक्काले दश जान ढल्छ । रियल लाइफमा त्यो हुँदैन । जो मुक्का खान्छ, त्यो पनि केही हदसम्म सक्षम हुन्छ । फिल्ममा त्यसरी देखाउने मेरो सोच थियो । लेखकको सोचसँग मेरो सोच मिलेन । फिल्ममा रियल देखाउन भनेर आफैले लेखे ।

अहिले फिल्मको कथाको चौतर्फी तारिफ भएको छ । मलाई लाग्छ, अहिले एकल महिलाले भोग्ने जीवन भन्दा पहिलेको सतिप्रथा ठिक थियो । किनभने अहिले एकल महिला पीडामा पलपल मरेर बाँच्न बाध्य छन् । यो कथा कसैले भन्न जरुरी थियो । कसैले आँट गरेनन्, मैले गरे ।

यो कथा भन्न ठिक हो होइन, त्यो थाहा छैन । त्यो भन्नैपर्छ भनेर एउटा क्रान्ति छेड्न खोजेको हो । यो फिल्ममार्फत् ठूलो परिवर्तन नहोला, एक दुई प्रतिशत मानिसको सोचमा परिवर्तन भयो भने म सफल हुन्छु । मैले राम्रो काम गरेछु भन्ने ठान्छु । 

यसबाट परिवर्तन अवश्य हुन्छ । किनभने प्रायः फिल्म, नाटक र राजनीतिमा हामी समस्या मात्र देखाउँछौ । यो फिल्ममा मैले समाधान दिएको छु । ‘बगान’ फिल्मको राम्रो पक्ष त्यही हो ।

नयाँ पुस्ताको सोचमार्फत् मैले फिल्मबाट समाज परिवर्तनका लागि बन्दुक पड्काएको छु । जुन वर्तमानको माग हो । फिल्म रिलिजपछि एकल आमा रहेका घरपरिवारले उहाँको विषयमा एक पटक सोच्नु हुनेछ । यो मेरो विश्वास हो ।

मैले पनि फिल्म दर्शकसँग बसेर हेर । केही कमी कमजोरी पनि देखे । त्यो देखिन भने अर्को पटक मैले कसरी सुधार्ने   ? अहिलेसम्म अभिनय गरेर दर्शकबाट वाहवाही पाएको हो । अव फिल्म निर्देशनबाट पनि मिल्छ भन्ने विश्वस्त छु ।

फिल्ममा मैले पनि अभिनय गरेको छु । त्यो सोचेकै थिइन । फिल्मका लागि भुवन केसी छनौटमा थिए । उहाँ विकास बोर्डको अध्यक्ष बन्ने चक्करले धेरै पर्खिदा पनि समय दिन सक्नु भएन । ५०÷६० जनाको युनिट लिएर सधँै कुर्ने कुरो पनि भएन । युनिटमा दैनिकीमा काम गर्ने पनि थिए । जसलाई काम रोकियो भने खान मुस्किल पथ्र्याे । अर्को युनिटमा जान पनि सक्दैन थिए ।

यसरी सबै विचार गर्दा र रोलमा पनि फिट हुने भएकोले अभिनय गरेँ । फिल्मका लागि म जस्तै परिपक्व हिरो चाहिन्थ्यो । जसमा भुवन केसी, धिरेन शाक्य, रमेश उप्रेती हुन सक्थे । मैले अर्को सोच्ने समय पाइन ।

मैले एकल महिलाको लागि फिल्म निःशुल्क हेर्ने व्यवस्था गरेको छु । उहाँहरूको कथामा फिल्म भएकोले सम्मान दिएको हो । फिल्मले उहाँहरूको आयु बढाउँछ । आफूले भोगेको जीवन भन्दा राम्रो जीवनका लागि सोच्न सक्छन् ।

फिल्मबाट पहिले त रिभ्युको आस गरेको छु । त्यसपछि  व्यवसाय । फिल्म धेरै बजेटको होइन । म लामो समयदेखि यो क्षेत्रमा काम गरेकोले बजार थाहा छ । कतिसम्म खर्च गर्दा निर्माता सुरक्षित हुन्छ भनेर ध्यानसहित बनाएको छु । फिल्म चल्छ ।

फिल्मको व्यवसाय जे भए पनि आगामी दिनमा पनि म यस्तै फिल्म गर्छु । जस्तो पायो, त्यस्तो निर्देशन गर्दिन । किनभने फिल्मले मनोरञ्जन दिनुपर्छ, त्यो सही हो । हाम्रो मुलकमा विभिन्न विकृति विसङ्गति र कुरीति पनि धेरै छन् ।  त्यो फिल्ममा मिसाएर चेतनाको बिगुल पनि त फुक्नुपर्छ ।

आगामी दिनमा भने आफूले निर्देशन गरेको फिल्ममा अभिनय गर्दिन । दुई विधा एउटैले गर्न गाह्रो हुने रहेछ । जे गरे पनि एउटा गर्छु । दुईमध्ये एक रोज्नुपर्दा अभिनय रोज्छु । किनभने अभिनयको मेरो भोक अझै मेटिएको छैन ।

खनालसँग रातोपाटीका लागि कुबेर गिरीले गरेको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया