कुसुन्डा भाषा संरक्षणका एक्ला अभियन्ता
काठमाडौँ । २०७८ सालको जनगणनाअनुसार नेपालमा सबैभन्दा कम बोलिने भाषाको सूचीमा कुसुन्डा रहेको छ । तथ्याङ्कअनुसार २३ जना वक्ता भनिए पनि कुसुन्डा भाषा लगभग लोप भएको भाषा हो । किनकि अहिले मातृभाषाका रूपमा दोहोरो संवाद गर्न सक्ने वक्ताहरू नै छैनन् ।
पछिल्लो समय भाषा प्रशिक्षण लिएर २० जना वक्ता तयार भए पनि उनीहरूका लागि कुसुन्डा भाषा दोस्रो भाषा हो । यद्यपि जनगणना २०६८ अनुसार देशभर कुसुन्डाहरूको सङ्ख्या २७३ थियो । तर, उक्त समय ज्ञानीमैया कुसुन्डा एक मात्र मातृभाषा वक्ताका रूपमा थिइन् ।
२०७६ माघ ११ गते ज्ञानीमैयाको देहान्त भएपछि कुसुन्डा भाषा लोप भयो भनियो तर पछि भाषावीद् प्राडा माधव पोखरेलले उनीभन्दा प्रखर कुसुन्डा वक्ता रोल्पाकी कमला खत्री र दाङका प्रेमबहादुर शाही पनि हुन् भनेका थिए ।
कुसुन्डा जातिलाई सबैभन्दा पहिले चिनाउने व्यक्ति हड्सन हुन् भन्छन् प्राडा माधव पोखरेल । त्यस्तै अस्ट्रियाका मानवशास्त्री राइन्हार्टले कुसुन्डा जाति र भाषाबारे सबैभन्दा पहिले झस्काउने सूचना दिएको पोखरेल बताउँछन् । त्यसपछि मात्र यो भाषाको अध्ययन अनुसन्धान सुरु भएको देखिन्छ ।
कुसुन्डा भाषा लोप हुनबाट बचाउन लागिपरेका एक व्यक्ति हुन्– दाङदेउखुरीका अध्येता उदय आले । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण आले २०७० देखि निरन्तर यो भाषा संरक्षण, संवद्र्धनमा लागेका छन् ।
यसरी सुरु भयो कुसुन्डाबारे अध्ययन
त्रिचन्द्र क्याम्पसमा अङ्ग्रेजी साहित्य अध्ययन सकेर आले गृहजिल्ला दाङ फर्किएर लमहीमा बसे । त्यहाँ उनले पार्ट टाइम पढाउँदै स्थानीय पत्रिका ‘देउखुरी साप्ताहिक’ मा काम सुरु गरे । पछि सो पत्रिकामा उनी सम्पादक पनि भए । एकदिन ज्ञानी मैया सेनका छोरा प्रेमबहादुरले उनलाई भेटेर आफ्नो समुदायको समाचार प्रकाशन गर्न अनुरोध गरे ।
प्रेमबहादुरले आफूहरू अल्पसङ्ख्यक भएको, आफ्नी आमा मात्र सो भाषाको वक्ता भएको र यो भाषासम्बन्धी कार्यक्रम हुँदा देउखुरी साप्ताहिकलगायतका पत्रिकालाई समाचार दिँदा पनि प्रकाशन नगरेको गुनासो आलेलाई सुनाए ।
यसपछि आलेले कुसुन्डा भाषा संस्कृतिसम्बन्धी समाचार देउखुरी साप्ताहिकमा प्रकाशित गरे । त्यो समाचारले राष्ट्रिय तहसम्म महत्त्व पायो । त्यसपछि जिल्लाका अन्य पत्रिकाहरूले पनि त्यस्ता समाचारलाई प्राथमिकता दिन थाले । अनि आले कुसुन्डा भाषाको अनुसन्धानका लागि गाउँ पसे ।
लमहीमा एक जना मात्र वक्ता ज्ञानीमैया सेन छन् भन्ने आलेले थाहा पाएपछि उनलाई भेट्न गए । ज्ञानीमैयाँसँग सम्पर्क गरेर कुसुन्डा भाषाको अध्ययन अगाडि बढाए ।
“उहाँसँग सम्पर्क गरेर शब्द सङ्कलन गरेँ । त्यस क्रममा केही पुराना शब्द पनि सम्झनुभयो,” आले भन्छन्, “ती शब्दलाई कुसुन्डा– अङ्ग्रेजी र नेपाली तीनवटा भाषामा ‘कुसुन्डा जाति र शब्दकोश’ तयार पारेँ ।” आलेको यो पुस्तक विसं २०७४ मा प्रकाशित भयो ।
कुसुन्डा भाषामा प्रशिक्षण
यो कृति प्रकाशनको केही समयपछि भाषा आयोगले लोपोन्मुख भाषाहरू बचाउन केही कार्यक्रमहरू तय गर्यो । सन् २०१९ मा कुसुन्डा, कुलुङ र ब्राह्मु, तीन भाषाको भाषा पुस्तान्तरण कक्षा सञ्चालन गर्ने तयारी भयो ।
यसै क्रममा भाषा आयोगले कुसुन्डा भाषाका लागि केही गर्न सकिन्छ कि भनेर आलेलाई छलफलका लागि बोलायो ।
“तात्कालीन भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थी सरले लोपोन्मुख भाषा जसरी पनि जोगाउनुपर्छ । यसमा तपाईंले अध्ययन पनि गरेको, समुदायलाई पनि चिनेको हुँदा सजिलो पनि हुन्छ, प्रतिफल पनि आउँछ भन्नुभयो,” आलेले भने, “अनि पहिलो चरणको कक्षा ज्ञानीमैयाको घरमै गरेँ ।” नयाँ भाषा सञ्चालन गर्न केही कठिनाइ भए तर त्यस भाषाकी प्रमुख वक्ता ज्ञानीमैया सेनको सहयोग पाएपछि आलेलाई निकै राहत भयो ।
पहिलो चरणमा उनले २० जना विद्यार्थी भेला गरेर भाषा कक्षा सञ्चालन गरे । ती २० जनामध्ये १७ जना कुसुन्डा समुदायकै थिए । तर कुसुन्डा विद्यार्थीलाई पनि यो भाषाका शब्दहरू थाहा थिएन । उनीहरूलाई सुरुदेखि नै सिकाउनुपर्ने अवस्था थियो भन्छन् उनी ।
पहिलो चरणमा भाषा आयोगले ९० घण्टाको पाठ्यभारको कोर्स तयार पारेको थियो । त्यो ९० घण्टाको पहिलो चरणमा शब्द परिचयलाई आधार बनाएर अध्यापन सुरु गरे । सो अनुसार आलेले करिब ३०० शब्द र तिनका अर्थहरूबारे विद्यार्थीलाई सिकाए ।
ज्ञानीमैयाको घरमा डेढ घण्टा पढाउँथे आले । अध्ययनपछि विद्यार्थीहरू ज्ञानीमैयासँग सो भाषामा छलफल गर्थे । यो निकै उपलब्धिमूलक भएको आले बताउँछन् । तर २०७६ माघ ११ गते ज्ञानीमैयाको देहान्त भयो अनि अन्तक्रिया तुहियो ।
त्यसपछि भाषा प्रशिक्षणको दोस्रो चरण सुरु हुँदा नहुँदै कोरोना महामारी फैलियो । समूहमा उपस्थित हुन नमिल्ने भएपछि रोकियो । कोरोना केही मत्थर भएपछि महेन्द्र मावि धर्ना दाङमा आलेले दोस्रो र तेस्रो चरणको भाषा कक्षा सञ्चालन गरे । त्यहाँ आवासीय रूपमा कक्षा सञ्चालन भयो । चौथो चरणको कक्षा २०७९ चैतमा समाप्त भएको छ ।
चार चरणसम्म भाषा सिकेपछि विद्यार्थी यो भाषामा सामान्य संवाद गर्न सक्ने भएका छन् । “ती विद्यार्थीमध्ये ५ जना विद्यार्थी धेरै राम्रा छन्,” आले भन्छन्, “यिनीहरूले आफ्नो परिचय आफ्नै भाषामा दिन सक्ने, सामान्य कुराकानी गर्न सक्ने, प्रश्न गर्न र जवाफ फर्काउन सक्ने भइसकेका छन् ।” यी पाँच जनामा तीन जना कुसुन्डा समुदायका र २ जना गैरकुसुन्डा छन् ।
हिमा कुसुन्डा पनि आलेले पढाएका विद्यार्थीभित्र पर्छिन् । “हिमाले हजुरबाबाट सिकेका दुईवटा शब्द थिए, बाँकी मैले नै प्रशिक्षण दिएको हुँ,” आलेले भने, “अहिले उनी बोल्न सक्ने भएकी छन् ।”
उनीहरूको प्रस्तुति र भाषिक सिकाइप्रति उनी सन्तुष्ट छन् । शून्य अवस्थाबाट भाषा सिक्न सुरु भएका विद्यार्थीले यतिको उपलब्धि गर्नु निकै महत्त्वपूर्ण कार्य भएको आले बताउँछन् ।
व्यक्तिगत प्रयास
आलेले गेमेहाक (वन राजा) पुस्तक प्रकाशित गरेका छन् । यो कृति कुसुन्डा जातिको एथ्नोग्राफीसँग सम्बन्धित छ । यसभित्र कुसुन्डा समुदायको भाषाको अहिलेसम्म भएका कामहरू, भाषा प्रशिक्षण, उपलब्धि, अहिलेसम्म स्वदेशी, विदेशीले के विषयमा कस्तो अध्ययन गरे भन्ने सूचना यसमा छ ।
‘कुसुन्डाको चित्रकथा’ आलेले तयार पारेको अर्को पुस्तक हो । यसभित्र कुसुन्डा समुदायको चित्रहरू समेटिएको छ । त्यसको चिनारी कुसुन्डा, अङ्ग्रेजी र नेपाली तीनै भाषामा छ ।
कुसुन्डाबारे आलेको सोजाक (नमस्ते) भन्ने अर्को पुस्तक हो । यो कुसुन्डा र नेपाली भाषामा प्रकाशित छ । यसमा कुसुन्डा भाषा सिक्न केही शब्द र वाक्यहरू पनि छन् ।
आलेले ‘द अन टोल्ड टेल अफ कुसुन्डा’ वृत्तचित्र पनि निर्माण गर्दैछन् । २५ मिनेटको सो कथामा उनले पढाएका विद्यार्थीहरूसँगको संवाद पनि समेटेका छन् ।
भाषा आयोगले उनले लेखेका दुईवटा पाठ्यपुस्तक प्रकाशन गरेको छ । आलेको ‘कुसुन्डा गिपन’ (कुसुन्डा भाषा) पुस्तक भाषा आयोगले पाठ्यसामग्रीका रूपमा प्रयोग गरेको हो । यो पुस्तकमा कुसुन्डाहरूको पृष्ठभूमिमा रचिएका कथा, कविता, निबन्धहरू नेपाली अनुवादसहित राखिएका छन् । यो पुस्तक उनले कुसुन्डा भाषाका विद्यार्थीलाई भाषिक अभ्यासका लागि तयार गरेका हुन् ।
शब्दकोश निर्माण
आलेले ज्ञानीमैयालाई कुसुन्डा भाषाको स्रोतका रूपमा लिएर अध्ययन गरेका । “स्रोत व्यक्ति त ज्ञानीमैया नै हो,” उनले भने, “अन्य सन्दर्भ स्रोतहरू पनि जुटाएर शब्द सङ्कलन गरी उहाँसँग रुजु गर्ने काम गरेँ ।”
यो शब्दकोश प्रकाशनका लागि सरकार र स्थानीय निकायसँग सहयोगको अपेक्षा पनि उनले राखेका थिए तर मिलेन । अनि उनले व्यक्तिगत खर्चमा नै प्रकाशन गरे । पुस्तक राम्ररी बिक्री भयो । आफ्नो प्रकाशन खर्च र लगानी उठेको उनी बताउँछन् ।
यसमा कुसुन्डा भाषाको अन्तर्राष्ट्रिय फोनेटिक अल्फाबेट (आईपीए) चार्ट पनि आलेले निर्माण गरेका छन् । त्यसका लागि ध्वनि पनि ज्ञानीमैयासँगै लिएका हुन् । यसले यो भाषाको उच्चारण व्यवस्थाबारे राम्रो ज्ञान दिन्छ ।
ज्ञानीमैया र कमला दुई जना दिदी बहिनी हुन् तर यी दुईको भाषामा केही भिन्नता भएको आले बताउँछन् । त्यही भएर कमलाले बोल्ने कुसुन्डा भाषालाई भाषिका हो भन्छन् उनी । “कतिपय उच्चारण फरक छ, कतिपय शब्द नै फरक छ,” उनी भन्छन्, “ज्ञानीमैया दाङ बस्नुहुन्थ्यो, कमला रोल्पा, त्यसैले भाषामा फरक आयो ।” आलेले यी दुई वक्ताको छुट्टाछुट्टै नाममा अध्ययन गरेका छन् ।
शब्द तहका केही मातृभाषी वक्ता
आमाको काखबाट कुसुन्डा भाषा सिकेकी भनेकी ज्ञानी मैया मात्र थिइन् भन्छन् आले । पछि भारतबाट कमला खत्री आइन् । अहिले यो भाषा बुझ्न सक्ने एकजना मात्र वक्ता कमला (५० वर्ष) हुन् । रोल्पाकी उनी अहिले दाङ बस्छिन् ।
त्यस्तै, प्रेमबहादुर शाही घोराही–१८, दाङमै बस्छन् । शाहीले ४०÷५० शब्द र सीमित वाक्यहरू भन्न सक्छन् । उनी अर्धवक्ता हुन् । त्यस्तै देउखुरी सिक्टाका गोविन्द सिंह ठकुरीलाई पनि ४०÷५० वटा शब्दहरूको मात्र जानकारी छ ।
यस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा गुञ्जबहादुर शाहीले पनि २५÷३० वटा शब्द भन्न सक्छन् बताउँछन् आले ।
यीबाहेक मातृभाषा कक्षामा सहभागी भएकाहरूमध्ये कतिपयले हजारभन्दा बढी शब्द जानेका छन् । आलेका अनुसार यति शब्द जान्नु भनेको त एकदमै बोल्न सक्ने हुनु हो, उनीहरूलाई व्याकरण पनि थाहा छ ।
कुसुन्डाको सङ्ख्या
कुसुन्डाहरूको तथ्याङ्कगत हिसाबले हेर्दा जनगणना २०६८ मा २७३ जना भनिएको थियो । कुसुन्दाहरुको आधिकारिक संस्थाका प्रतिनिधिसँग आले प्रत्येक कुसुन्डाका घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्दा कुसुण्डाको सङ्ख्या १६२ जना मात्र फेला पार्न सके ।
जनगणना २०६८ मा कुसुन्डा मातृभाषी वक्ता २८ जना देखाइएकोमा २०७८ मा २३ जना भनेर तथ्याङ्कमा छ । तर, आलेका अनुसार १० वर्ष पहिले २ जना वक्ता रहेकोमा अहिले भने एकजना मात्र वक्ता रहेका छन् ।
अहिले चार वर्ष भाषा सिकेका विद्यार्थीलाई मातृभाषी वक्ता मान्न सकिँदैन भन्छन् आले । कुसुन्डा भए पनि उनीहरूले दोस्रो भाषाका रूपमा यो भाषा सिकेका हुन् । त्यसैले, तथ्याङ्क विभागले यसलाई सेकेन्ड लेङ्ग्वेजमा राख्नुपर्ने धारणा आलेको छ ।
“दोस्रो भाषा जानेकोमा १७ जना कुसुन्डा, तीन जना गैरकुसुन्डा मैले पढाएका विद्यार्थी, एक दुई जना अर्धवक्ताले पनि जान्दछन् अनि म जान्दछु,” आले भन्छन्, “२५÷२६ जनाले सेकेन्ड लेङ्ग्वेजका रूपमा कुसुन्डा भाषा बोल्छन् ।” त्यसैले, अहिलेको तथ्याङ्क विश्वासिलो नभएको आलेको भनाई छ ।
कुसुन्डा बसोबास क्षेत्र
आलेले अध्ययन गर्दा कुसुन्डाको मूल थलो गुल्मीको बल्कोटलाई थम्याए । किनकि ज्ञानीमैया सेनले पनि यसै ठाउँलाई नै मूल थलो मानेकी थिइन् । यहीँबाट एउटा समूह पश्चिमतिर गएको आले बताउँछन् । त्यो समूह अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेतसम्म पुगेकाले यी जिल्लामा कुसुन्डाको उपस्थिति अझै छ ।
गुल्मीबाट पूर्वतिर आउने समूह पाल्पा, स्याङ्जा, कास्की, लमजुङ, गोरखा र तनहुँसम्म कुसुन्डा पुगेका छन् । “अहिले बसाइँका हिसाबले तनहुँमा राजा मामाको एक घर छ, उनी पनि अर्धवक्ता हुन् । उनमा पनि त्यस्तै ४०÷५० वटा शब्दको ज्ञान छ,” आले भन्छन्, “राजा मामाका एक जना छोरी छिन्, उनले पनि केही शब्द जानेकी छिन् ।”
त्यस्तै, गोरखाको तेह्रकिलोमा चेतनारायण कुसुन्डा, उनकी श्रीमती र दुई जना छोरा छन् । उनीहरूले बुवाआमासँगै कुसुन्डा भाषा सिकेका हुन् तर उनीहरूसँग भाषिक ज्ञान त्यति धेरै छैन ।
आलेका अनुसार कुसुन्डाको मात्र होइन, राउटेको क्षेत्र भनेको जुम्लादेखि प्युठानसम्म हो, दाङदेखि फर्किहाल्छन्, त्यहाँबाट पार गर्दैनन् । चेपाङ पनि त्रिशूली तर्दैनन् । त्यस्तै कुसुन्डा पनि तनहुँदेखि पूर्व र सुर्खेतभन्दा पश्चिम जाँदैनन्, यो यिनीहरूको टेरिटोरी हो ।
लोप भयो कुसुण्डा संस्कृति
कुसुन्डा संस्कृति लोप भइसकेको छ । किनभने यिनमा जङ्गलमा रहँदा बस्दाका संस्कृति अहिले छैन । “वनजङ्गलमै हुर्किएकी ज्ञानीमैया सेन जीवित रहँदासम्म केही अवशेषहरू थिए, अनुभवहरू थिए,” आले भन्छन्, “उहाँले विभिन्न चाडपर्व मनाउँदा त्यो तरिकाहरू अपनाउनुहुन्थ्यो ।” अब जङ्गलमा बसेका प्रेमबहादुर शाही मात्र छन्, उनीबाहेक घुमन्ते जीवन विताउने अरू नभएको बताउँछन् आले ।
यो समुदायका धेरैले अन्तरजातीय विवाह गरेका छन् । कुसुन्डा केटाहरूले अरू समुदायका केटीहरूसँग र केटीहरूले पनि अन्य समुदायका केटाहरूसँग विवाह गरेपछि अधिकांश मौलिक संस्कृति लोप भएको अवस्था छ ।
कुसुन्डा समुदायमा शाही, सेन र खान मुख्य गरी तीनवटा थर छन् । शाहीको सेनका छोराछोरीसँग बिहेवारी चल्छ । अहिले भाषा सिकेका केही केटीहरू छन् । यिनीहरूमा विवाह हुन सक्यो भने अझै केही समय भाषा संस्कृति अस्तित्वमा रहन सक्छ । तर एकअर्कामा मेल खाने किसिमको वरवधु नहुन सक्छन् । यसले पनि समस्या सिर्जना भएको छ ।
भाषा संरक्षणको उपाय
यो भाषाको संरक्षणका लागि भाषा प्रशिक्षण दिँदै वक्ता सङ्ख्या बढाउन सकिन्छ । तर, यसलाई कसरी निरन्तरता दिने भन्ने मुख्य चुनौती छ ।
कुसुन्डाहरू दाङदेउखुरी, प्युठान, सुर्खेतलगायत ६÷७ जिल्लामा छरिएर रहेका छन् । कुनै पनि ठाउँमा यो समुदायको चार पाँचवटा भन्दा बढी घर भएको बस्ती छैन । यसले गर्दा जानेको भाषा पनि आपसमा संवाद गर्न पाउँदैनन् । भाषा भनेको अन्तक्र्रिया हो, बोलिदिने र सुनिदिने वक्ता चाहिन्छ । यो अवस्थामा जसले सिक्यो, उसमै सीमित भएको अवस्था अहिले छ ।
भाषा आयोगले लोपोन्मुख हुन लागेका कुसुन्डालगायत तिलुङ, ब्राह्मु, दुरा, भाषाबारे केही कार्य गरेको छ तर यो सीमित समयका लागि मात्र हो । यो भाषिक सिकाइका समयमा निकै जानेको जस्तो हुने तर केही ग्याप हुँदा सबै बिर्सने स्थिति छ । सधैँ अभ्यास गर्ने वातावरण छैन । यसलाई दैनिक जीवनमा प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ ।
“कुसुन्डाहरूको बसाइँ फरक फरक ठाउँमा भएको हुनाले उनीहरू एकै ठाउँमा नबसेसम्म यो भाषा जोगाउन गाह्रो छ,” आले भन्छन्, “यसका लागि कुसुन्डाको एकीकृत बस्ती निर्माण गर्नु आवश्यक छ ।”
कुसुन्डाको १६२ जना भनेको ३०÷४० घरपरिवार हुन् । कुसुन्डा बस्ती बनाउन राज्यका लागि त्यति ठुलो समस्या होइन । यो समुदायका कसैको अझै आफ्नो घर जग्गा नभएकाले ऐलानी जग्गामा बस्दै आएका छन् । त्यसैले, सङ्ख्या अलि बढी भएको दाङकै कुनै ठाउँमा एकीकृत बस्ती निर्माण गर्नुपर्ने धारणा आलेको छ ।
“४० परिवारलाई एक एकवटा घर र पाँच पाँच कट्ठा जमिन आफ्नो भाषा संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्नु भनेर दिइनुपर्छ,” आले भन्छन्, “यसका लागि कुसुन्डा समुदायले पनि एकीकृत हुने चाहना राख्नुपर्छ । सरकारले यी सबैलाई एकै ठाउँमा राखिदिए उनीहरूको आपसी सम्बन्ध, भाषिक तथा सांस्कृतिक अपनत्व वृद्धि हुने, आफ्ना पुर्खाहरूको खोजी कार्यमा संलग्न हुन सक्छन् ।’