मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
सभ्यता

विश्वका चार सभ्यता, प्रभुत्व कसको ?

शनिबार, ३० असार २०८०, १२ : ४२
शनिबार, ३० असार २०८०

परम्परागत रूपमा पश्चिमी गोलाद्र्धमा प्रयोग गरिए अनुसार ‘पूर्व’ र ‘पश्चिम’ शब्दहरूले यी दुवै कुनै न कुनै रूपमा समान महत्त्वका छन् भन्ने बुझ्न सकिन्छ । यद्यपि पूर्व र पश्चिमको अवधारणा १९औँ र २०औँ शताब्दीका निमित्त ज्यादा तर्कयोग्य हुन सक्थ्यो । वास्तवमा १९औँ शताब्दीअघि मानव इतिहासलाई कहाँ र कसरी व्याख्या गर्नुपर्ला भन्ने सुनिश्चित थिएन । ५०० ईसापूर्वसम्म विश्वले सभ्यताका चार प्रमुख केन्द्रलाई समर्थन गरेको थियोे भन्न सकिन्छ । ती  थिए — चिनियाँ, भारतीय, मध्यपूर्व र पश्चिमी सभ्यता । 

ग्रिक संस्कृतिका आयामहरूले पश्चिमी सभ्यता निर्माणमा भूमिका खेले । यी आयाम अन्ततः पश्चिमी सभ्यताकै केन्द्र बन्न पुगे । चार सभ्यतामध्ये पश्चिमी सभ्यता सैन्य शक्ति, सम्पत्ति र सम्भवतः परम्परागत संस्कृतिका हिसाबले कम प्रभावशाली थियो । पक्कै पनि यो पाँचौँ शताब्दीमा रोमन साम्राज्यको पतन पछि कमजोर भएको थियो । त्यस समयदेखि लगभग १५०० ईस्वीसम्म पश्चिम सभ्यताको केन्द्र ज्यादै प्रभावशाली रहन पुग्यो र यो अद्यापि कायमै छ । पश्चिमी सभ्यताले आफूलाई एक अलग सभ्यताका रूपमा पहिचानका अनेक आधारस्तम्भ बनाउन सकेको छ । 

लगभग ५०० ईसापूर्वदेखि ईस्वी १५०० सम्म सभ्यताका चार प्रमुख केन्द्रबीच सांस्कृतिक सन्तुलन कायमै थियो । यो सहस्राब्दीका दौरानमा प्रत्येक केन्द्रले सभ्य जीवनका लागि आ–आफ्नो विशिष्ट शैलीको विकास जारी नै राखे र प्रत्येकले आफ्नो संस्कृति फैलाउन पर्याप्त प्रयत्न गरिरहे । 

सभ्यताको प्रत्येक केन्द्रका बासिन्दाहरू अन्य केन्द्रहरूबारे सचेत हुँदा कहिलेकाहीँ अर्कै केन्द्रका मानिससँग व्यापार गर्थे र कहिलेकाहीँ तिनीहरूबाट उधारो र विनिमयका अन्य प्रक्रियासँग आबद्ध पनि हुने गर्थे । यी सम्पर्क पातला, साधारण र झन्डै झन्डै निर्दोष किसिमका पनि थिए । यसबाट कुनै पनि केन्द्रले व्यापारिक, सैन्य, राजनीतिक वा सांस्कृतिक रूपमा आफ्नो खास शक्ति र अस्तित्वमा कुनै टड्कारो चुनौती महसुस गरेका थिएनन् । यो लामो अवधिमा सभ्यताका अरू कुनै केन्द्रले पश्चिमी श्रेष्ठता वा प्रभुत्वका बारेमा कुनै प्रश्न उठाउनुपरेको थिएन । 

ग्रिक र रोमनहरूलाई निकट–पूर्वी संसारका बारेमा कतिपय कुरा थाहा थियो । विशेष गरी फारसी साम्राज्य, अलेक्जेन्डर द ग्रेट र यसको पतनपछि बनेका उत्तराधिकारी राज्यहरूका बारेमा उनीहरूलाई धेरै कुरा थाहा थियो । यद्यपि भारत र चीनको बारेमा उनीहरूलाई धेरै कम थाहा थियो र उनीहरूलाई जुन कुराको बारेमा जानकारी थियो, त्यो धेरै सही थिएन । यद्यपि ग्रिक विद्वान् हेरोडोटसले भारतका बारेमा केही कुरा रिपोर्ट गरेका थिए तर ग्रिकहरूले उपलब्ध अधिकांश जानकारी त्यहाँका लेखकबाट लिएका थिए । ती लेखकले सिन्धु उपत्यकामा अलेक्जेन्डरको अभियानहरू वर्णन गरेका थिए । 

तिनीहरूले भारतलाई धनी, धेरै सुन र बहुमूल्य पत्थरहरूको स्रोत भएको र गर्मी बढी हुने ठाउँको रूपमा वर्णन गरेका थिए । यस्तै, उनीहरुले भारतका ठूला नदी, मनसुन, मयुर र सुन्दर पन्छीहरू, बहुविवाह, अनि सतीप्रथाको पनि वर्णन गरेका थिए । 

भारत मसलाको स्रोत हो भन्ने कुरा रोमनहरूलाई थाह थियो । चीन रेशमको स्रोत हो भन्ने रोमनहरू जान्दथे । रोमनहरूले प्रयोग गरेका चाँदीका सामान र सिक्काहरूमा सम्भावित एसियाली प्रभावको अनुमान पनि गरिएको छ । सम्भवतः नव–प्लेटोनिजम् र एरिस्टोटलियन दर्शनमा बौद्ध धर्मको केही प्रभाव पनि छन् भन्ने पनि ठानिएको छ । लगभग चौथो शताब्दीदेखि अथवा रोमन साम्राज्यको पतन हुनुभन्दा अघिको १३औँ शताब्दीको उत्तराद्र्धमा चीनबाट मार्को पोलोको फर्केपछि भने युरोप वा पश्चिमले भारत र चीनको बुझाइमा थोरै तथ्यपरक जानकारी थपेका थिए । 

रोमन साम्राज्यको पतनपछि पनि युरोप र एसियाका बीच कुनै सीधा व्यापार थिएन । अनि प्रत्यक्ष अवलोकनद्वारा माथि सुनाइएका कथा परीक्षण गर्ने अवसर थिएनन् । सातौँ शताब्दीतिर इस्लामको उदय भएपछिको झन्डै एक सय वर्षपछि (आठौँ शताब्दीमा) युरोप र एसियाको अलगाव पूरा गर्न प्रयत्नहरू भएका थिए । यी शताब्दीहरूको दौरान न ग्रिकहरूबाट विरासतमा आएका पुराना कथालाई मिथकबाट तथ्य छुट्ट्याउन थोरबहुत प्रयत्न गरिए । यी कथालाई पुनः सुनाइयो र यिनबाट सारतत्त्व खिच्ने प्रयास पनि गर्न थालियो । 

यिनै कथामा अहिले खासगरी मुख्य मूलकथामा तीनवटा किंवदन्ती थपिएका छन् ः १) पौराणिक अलेक्जेन्डरको वीरगाथा मनाउने कथाहरू, २) सेन्ट थोमस द एपोस्टलको भारतको मिसनरी यात्रा र उनीपछिका सहिदहरूको रिहर्सल गर्नेहरू, ३) युरोपेली शासकले मुस्लिमविरुद्ध गठबन्धन गर्ने सपना देखेका प्रिस्टर जोन लगायतको वीरता र सम्पन्नताको वर्णन गर्ने गाथा । 

एसियाबाट युरोपमा ल्याइएका बहुमूल्य एसियाली उत्पादनहरू देखेर युरोपेलीहरू एसियाको छविलाई विदेशी र रहस्यमय संसारको रूपमा लिने गर्थे । उनीहरू एसियालाई धेरै धनी र अत्यन्तै टाढाको संसार होला भन्ठान्थे । 

१३औँ शताब्दीको दौरान चलिरहँदा एसियामा मंगोल साम्राज्यको उदय भएपछि युरोप वा पश्चिम अनि चीनको बीचमा भएका प्रत्यक्ष यात्राको परिणामस्वरूप सम्पर्कले गति लिएको थियो । मंगोलहरूको सफलताले युरोपेली शासकलाई पनि मुस्लिमहरूका विरुद्धमा पूर्वी सभ्यताभित्र अर्को कुनै शक्तिशाली सहयोगी खोज्ने आशालाई पुनर्जीवित गर्‍यो । सन् १२४० र १२४१ मा पोल्यान्ड र हंगेरीमा गरिएका विनाशकारी मंगोल आक्रमणहरूले पनि युरोपेलीहरूको उत्साहलाई कम गर्न सकेन । पहिले नै १२४५ मा क्रिस्तानी पोपले काराकोरम नजिकैको मंगोल मुख्यालयमा प्लानो कार्पिनीको जोनको नेतृत्वमा एउटा दूतावास पठाएका थिए । 

युरोप र एसियाको बीचमा सम्पर्कको एउटा प्रस्थान बिन्दुका रूपमा काम गरेको उक्त दूतावासले आगामी शताब्दीमा अन्य धेरै संख्यामा राजदूत, मिसनरी र व्यापारीले पछ्याए, तीमध्ये धेरैले पूर्वी एसियामा देखेका र भोगेका चिजहरूका बारेमा लेखेका थिए । 

यीमध्ये इटालीका मार्को पोलोले गरेको अन्वेषण र खोजलाई सबैभन्दा व्यापक र भरपर्दो मानिन्छ र एसियाका सम्बन्धमा लेखिएका मध्ययुगीन रिपोर्टहरूलाई युरोपभरि सबैभन्दा व्यापक रूपमा वितरण गरिएको थियो । १२६४ मा मार्कोपोलो पहिलोपटक कुब्ला खाँको दरबारमा आइपुग्दा त्यतिबेला बेइजिङलाई क्याम्बालुक भनिन्थ्यो । यो क्याम्बालुक भर्खरै स्थापना भएको नयाँ राज्य थियो र कुब्ला खाँ आफ्नो साम्राज्यको शासन यहीँबाट गर्थे भनिन्छ । 

मंगोल काल (चीनमा युआन राजवंश, १२६०–१३६८) को समयमा धेरै अन्य विदेशीलाई जस्तै मार्कोपोलोलाई पनि खानको सेवामा लगियो । तिनीहरूले मङ्गोल प्रशासनमा १७ वर्षसम्म काम गरेका थिए । यस अवधिभरि मार्कोपोलोले चीनभरि व्यापक रूपमा यात्रा गरे । युरोप फर्किएपछि उनले पश्चिममा चीनको पहिलो विस्तृत विवरण प्रस्तुत गरेका थिए । उनको विवरण मुख्यतया प्रत्यक्ष अवलोकन र अनुभवको आधारमा तयार पारिएको थियो । 

१६औँ शताब्दीको मध्यअघि युरोपमा चीनका बारेमा कुनै गतिलो विवरण देखापरेको थिएन । मार्को पोलोले चीनलाई १३औँ शताब्दीको संसारमा सबैभन्दा धनी, सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको भूमिको रूपमा वर्णन गरेका थिए । 

चिनियाँ संस्कृतिका बारेमा उनको बुझाइ न्यून हुँदाहुँदै पनि उनले चीनका विभिन्न सहर, नहर, जहाज, शिल्प, उद्योग र उत्पादनका बारेमा सही र प्रशंसनीय ढङ्गले वर्णन गरेका थिए । उनले दक्षिणपूर्वी एसिया हुँदै सुमात्रा, सिलोन र भारतको पश्चिमी तटसम्मको आफ्नो यात्रा विवरणसहित यात्रामा भेटेका मार्ग, भूआकृति र मानिसका विवरण प्रस्तुत गरेका थिए । मङ्गोल साम्राज्यको पतनपछि  चीनमा मिङ राजवंशको स्थापना भएको थियो, यसपछि भने युरोप र चीनबीचको प्रत्यक्ष सम्बन्ध टुट्न पुग्यो । १४५४ मा कन्स्टान्टिनोपलको पतन हुन पुग्यो र नजिकैको पूर्वमा टर्की साम्राज्यको स्थापनाले युरोप र मध्यपूर्व अनि भारतबीचको पुरानो सम्बन्धलाई बाधा पुर्‍याउन थाल्यो ।

यसरी बाहिरी संसारसँग युरोपको सम्पर्क एकपटक फेरि पूर्ण निषेध हुन पुग्यो । यो सम्बन्धविच्छेद १५औँ शताब्दीका वर्षहरूमा युरोपले अफ्रिकाका तटीय क्षेत्रहरूमा समुद्री मार्ग खोलेपछि भने पुनस्र्थापित हुन सक्यो । यस अवधिमा कुनै पनि युरोपेलीले चीन भ्रमण गरेको देखिँदैन । केही थोरै मात्र यात्रा विवरणहरूले भारत र दक्षिणपूर्वी एसियाका बारेमा जनाएका छन् । तीमध्ये मानववादी पोगियो ब्राकोलिनीले १४४१ मा लेखेका यात्रा वर्णन अनि निकोलो डे कोन्टीको यात्रामा आधारित भारतसम्बन्धी लेखिएका यात्रा साहित्यले युरोपेलीलाई एसियाका विषयमा थप सूचनाहरू पश्चिमी ज्ञानको भण्डारमा थपिएका छन् । 

वास्तवमा पुरातन ग्रिक साहित्यको पुनः खोजका लागि पुनर्जागरणकालका मानवतावादीहरूले एसियाली साहित्यको ज्यादै उत्साहजनक खोजी गर्न थालेका थिए । यही उत्साहका साथ ईस्वी १५०० भन्दापहिले सांस्कृतिक सन्तुलनको लामो युगमा धेरै महत्त्वपूर्ण प्राविधिक र वैज्ञानिक आविष्कारहरू अन्य सभ्यता केन्द्रहरूबाट पश्चिममा सरेको देखिन्छ । यी प्राविधिक र वैज्ञानिक ज्ञान खास गरेर चीन र भारतबाट युरोपेली भौगोलिक क्षेत्रमा सरेका थिए । प्रविधिको स्थानान्तरण सामान्यतया क्रमिक रूपमा हुने गर्छ ।

पूर्वबाट सरेर गएका यी आविष्कारको ज्ञान सामान्यतया आफ्नो उत्पत्तिका बारेमा कुनै स्पष्ट विचारबिना पश्चिममा स्थापित भइरहेका थिए । धेरैजसो आधारभूत टेक्नोलोजीहरूले युरोपेलीलाई सन् १५०० तिरबाट एसियामा सीधा यात्रा गर्न र पछि विश्वव्यापी रूपमा युरोपेली प्रभुत्व बढाउनतर्फ आफ्नो मार्च सुरु गर्न सक्षम बनायो ।

पहिले एसियाली केन्द्रहरूमा परिचित भएका र पछि मात्र युरोपमा ल्याइएका वा अपनाइएका सबैभन्दा महत्त्वपूर्ण प्राविधिक ज्ञान स्थानान्तरण भएका चिजहरूमध्ये गनपाउडर, चुम्बकीय कम्पास, मुद्रण र कागज बनाउने प्रविधि हुन् । यी सबै चीनमा उत्पन्न भएका थिए । तिनीहरूमध्ये कुनै पनि चिजको माइग्रेसन भएको मार्ग पूर्णरूपमा स्पष्ट छैन र यसैले तिनीहरूमध्ये कुनै चिजको पनि स्वतन्त्र आविष्कारको सम्भावनालाई पूर्णरूपमा अस्वीकार गर्न सकिँदैन । 

उदाहरणका लागि गनपाउडर सन् १०५० सम्म चीनको हो भनेर चिनिन्थ्यो, तर गनपाउडर १३औँ शताब्दीको मध्यसम्म युरोपमा देखापरेको थिएन । सन् १०८८ मा सेन गुआद्वारा लिखित ११औँ शताब्दीको चिनियाँ पुस्तक मेङ क्यु बी तान (ड्रिम पुल एसेज) मा चुम्बकीय कम्पासको पूर्ण रूपमा वर्णन गरिएको थियो । त्यसपछि गनपाउडर १२औँ शताब्दीको उत्तरार्ध वा १३औँ शताब्दीको सुरुतिर युरोपमा प्रयोग हुन थालेको थियो । 

प्रायः युरोपेलीहरूले गनपाउडरका बारेमा अरबहरूबाट सिकेका हुन सक्छन् । गनपाउडर वा कम्पासको तुलनामा चिनियाँबाट सिकिएको भनिएको प्रिन्टिङ प्रविधिका विषयमा बढी बहस भएको छ । चीनमा सातौँ शताब्दीमा वुड–ब्लक प्रिन्टिङ प्रयोग भएको थियो र कागजको आविष्कार धेरैपहिले भएको थियो भन्ने मानिन्छ । पहिलोपटक विश्वमै मुद्रित भनिएका पुस्तक नवौँ शताब्दीको मध्यतिर चीनमा देखापरेका थिए । यो कुरा जोहानेस गुटेनबर्गले सन् १४४५ मा पश्चिममा मुद्रणको आविष्कार गर्नुभन्दा ६ शताब्दी अघिको हो ।

ब्लक प्रिन्टिङ सम्भवतः युरोपमा मङ्गोलकालमा मुद्रित खेल कार्ड र कागजी पैसाको परिचयबाट परिचित भएको थियो । मध्ययुगीन यात्रीहरूले प्रायः यी कुरा उल्लेख गरेका छन् । चिनियाँ वर्णनहरू धेरै संख्यामा भएका कारण चिनियाँहरू एकल एकाइको रूपमा कुँदिएको काठका पृष्ठ–आकारका ब्लकहरूबाट मुद्रण गर्न रुचाउन थाले ।

युरोपेलीले छिटै टाइप गर्न सकिने आधुनिक प्रविधि विकास गरेको हुँदा केही विद्वान्लाई चीनको भन्दा यो एक अलग आविष्कार हो भनेर विश्वस्त हुन बल पुग्यो । यद्यपि, चिनियाँहरूले ब्लक प्रिन्टिङलाई प्राथमिकता दिएको भए पनि उनीहरूले ११औँ शताब्दीको सुरुमा स्वचालित किसिमको प्रिन्टिङ मेसिनको विकास गरे । यी आधारभूत आविष्कारमध्ये कुनै पनि आविष्कारलाई अलग–अलग क्षेत्रमा विकास गरिएका चिज भनेर मानिएको छैन । यसबाट के कुरा बुझ्न सकिन्छ भने पूर्वआधुनिक कालमा पूर्व भनेर चिनाइएका भौगोलिक क्षेत्रहरू पनि आविष्कार र प्रविधिका जानकार थिए भन्ने तथ्य प्रस्ट हुन्छ । विज्ञान र औषधिको क्षेत्रमा पनि पूर्वको खोज उल्लेखनीय रहेको मानिन्छ ।

वास्तवमा आधारभूत आविष्कारका सीपहरू एसियाबाट युरोपमा बसाइँ सरेर गएको प्रतीत हुन्छ । युरोपेली पुनर्जागरण काल सुरु भएपछि साहित्य, संस्कृति, यन्त्र र वैज्ञानिक खोज र चासाहरूको पुनर्निर्माण गर्ने काम अति तीव्रताका साथ सुरु भएपछि १८औँ , १९औँ र करिब–करिब २०औँ शताब्दीको मध्यसम्म युरोपेली महादेशले संसारका अन्य भौगोलिक क्षेत्रहरूलाई आफ्नो वर्चस्वमा राखेको थियो । सन् १९९० को दशकबाट साभ्यतिक वर्चस्वको नयाँ मानक पुनः एसियाली भूगोलतर्फै सरेको देख्न सकिन्छ । सन् १६०० र १८०० को बीचमा पश्चिमले आफ्नो परम्परागत संस्कृतिमा वैज्ञानिक रूपान्तरणको अनुभव गरेपछि त्यहाँ ईश्वरवादी दृष्टिकोणलाई मानवतावादी, तर्कसंगत, वैज्ञानिक दृष्टिकोणले प्रतिस्थापन गर्न थाल्यो । 

युरोपले विकास गरेको विज्ञानलाई उसले मूलतः युद्ध र यसको तयारीमा लगाएको हुनाले उसले प्रकृति, समाज, कृषि, व्यापार उद्योग, राजनीतिभन्दा माथि अर्थात् सबैभन्दा माथि युद्धलाई राखेको छ । 

युरोपले खोज गरेको ज्ञान र प्रविधिलाई विश्व विजेता बनाउन सक्ने गरी परीक्षण गराउन सक्ने चिज हो ः उसको सांसारिक लगाव र सांस्कृतिक साम्राज्यका सञ्जालहरू । 

युरोपको परम्परागत सोच र चर्चमाथिको विश्वास पद्धतिलाई वैज्ञानिक क्रान्ति, ज्ञान र औद्योगिक क्रान्तिसँग जोडेर हेरेपछि उसका साम्राज्यवादी महत्त्वाकांक्षाका जरा कहाँ गाडिएका छन् भन्ने रहस्य बुझ्न धेरै असहज छैन । यस रूपान्तरणले विगत दुई शताब्दीमा पश्चिमी राष्ट्र–राज्यहरूलाई विश्वव्यापी प्रतिस्पर्धात्मक साम्राज्यहरू स्थापना गर्न सक्षम बनाएको छ । 

यसरी पश्चिमी सभ्यताले सभ्यताका अन्य सबै केन्द्रमा प्रभुत्व जमाउन सक्यो । पश्चिमी संस्कृतिको विश्वव्यापी प्रभुत्व अझै पनि महसुस गर्न सकिन्छ । प्रभावशाली मानिएको पश्चिमी संस्कृतिको विजयले शताब्दियौँदेखि मानिएका विभिन्न भौगोलिक सभ्यताको भिन्न स्वरूप र रूपरेखालाई राम्ररी नै नामेट पारेको भान हुन्छ । यसले भिन्नताको सांस्कृतिक पूर्व–पश्चिम प्रवाहलाई उल्टाएको छ र विश्वका सबै परम्परागत संस्कृतिहरूलाई खतरामा पारेको छ । यसरी एसियाली ज्ञानद्वीपबाटै महत्त्वपूर्ण आधारभूत प्राविधिक तत्वहरू उधारो लिई फैलिएको पश्चिमी सभ्यताको सन्जाल वर्तमान परिप्रेक्ष्यमा एसियासँगै प्रतिरक्षात्मक हुँदै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द पौडेल
गोविन्द पौडेल
लेखकबाट थप