आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
फिचर

कतारका यासिन मामा : हातमा ॐ हृदयमा अल्लाह !

शनिबार, ३० असार २०८०, ११ : ३४
शनिबार, ३० असार २०८०

झ्याप्प दाह्री पालेका यासिन मामाको दायाँ हातमा ट्याटु खोपिएको छ — ॐ । हृदयमा भने उनले अल्लाह (मुसलमानले मान्ने ईश्वर)लाई सजाएका छन् ।

अक्सर उनको शिरमा ढाकाटोपी छुट्दैन । अनुकूल मिलेसम्म उनी नेपाली दौरा–सुरुवालमै सजिन रुचाउँछन् । खाडी मुलुक कतारको राजधानी दोहाका गल्लीमा नेपाली पहिचान झल्काउने पोसाकमा घुम्न पाउँदा उनलाई गर्वको अनुभूति हुन्छ ।

बाग्लुङको एक हिन्दु परिवारमा जन्मिएका खगबहादुर खत्री कतार पुगेर ‘यासिन मामा’ बनेका हुन् । उनलाई अहिले खगबहादुर नाममा कुनै मोह छैन, उनमा मोह छ त केबल ‘यासिन मामा’ प्रति । त्यसैले त कतारमा ‘खगबहादुर खत्री’ गुमनाम हुँदा यासिन मामा भने प्रवासी नेपालीहरुमाझ प्रिय र परिचित छन् ।

कतारमा रहेका नेपालीले गएको २७ जुनमा दोहास्थित डिप्लोम्याटिक क्लबमा एक कार्यक्रमको आयोजना गरेका थिए, जहाँ यासिन मामा पनि उपस्थित थिए ।

प्रवासी नेपालीलाई समस्या पर्दा होस् या कतारमा रहेका नेपालीले कुनै कार्यक्रम आयोजना गर्दा होस्, यासिन उपस्थित भएकै हुन्छन् । कतारमा उनको जागिरे र समाजसेवी जीवन राम्रैसँग चलिरहेको छ ।

 ‘दिनमा आठ घन्टा काम गर्छु र आठ घन्टा समाजसेवामा बिताउँछु,’ ५२ वर्षीय यासिन अनुहार र आवाजमा आत्मसन्तुष्टिको भाव ल्याउँदै भन्छन्, ‘नेपाली समुदायका लागि आफूले सकेको सहयोग गर्न पाउँदा खुसी लाग्छ ।’

कतारमा रहेका नेपालीको सुखदुःखमा सहभागी हुँदै यासिनले दोहामा दुई दशक बिताइसकेका छन् । उनी पहिलोपटक सन् १९९६ मा कुवेत पुगेका थिए ।

 यासिन सानै हुँदा बाग्लुङबाट उनको परिवार नवलपरासीको कावासोतीमा बसाइँ सरेको थियो । त्यहीँ एसएलसी सम्म पढेपछि उनी भविष्य खोज्दै रोजगारीका लागि बिदेसिन थालेका हुन् ।

सन् २००० मा उनी कामकै खोजीमा कतार पुगे । कतार पुगेको नौ वर्षपछि उनलाई सरकारी जागिर मिल्यो । यो बीचमा उनी कतारकै निजी कम्पनीमा कार्यरत थिए ।  सन् २००९ मा उनले कतारी पुलिसमा र कतारको सरकारी विद्युत् प्राधिकरणमा सँगै अप्लाई गरेका थिए, दुवैमा नाम निस्कियो । यतिखेर उनी विद्युत् प्राधिकरणमा जागिरे छन् ।

yasim mama 1

हातमा ॐ र अल्लाहको कथा

भारतको दिल्लीमा दाइहरू बस्ने हुँदा खगबहादुर किशोरकालमा दिल्ली आउजाउ गरिरहन्थे । सन् १९८५ मा दिल्लीस्थित लालकिल्ला पुगेका बेला उनले ॐ को महिमा सुन्न पुगे र हातमा ट्याटु खोपाइहाले ।

खगबहादुर खत्री यासिन मामामा बदलिएको भने सन् २००७ देखि हो । यो नाम उनले मुस्लिम धर्म अपनाएर राखेका हुन् ।

उनका अनुसार कुरानमा यासिन भन्ने एउटा सुरा (श्लोक) छ, त्यसलाई दिल भनिन्छ । आफूलाई दिलदार झल्काउन उनले यो नाम रोजे । यतिसम्म त ठीकै छ, मामाचाहिँ किन जोडियो ?

नमाज पढ्न मस्जिद जाँदा कतिपयले उनको हातमा खोपिएको ॐ लाई लिएर प्रश्न गर्छन् । उनले आफ्नो वास्तविकता बताउँदा कोही खुसी हुन्छन् त कोही आश्चर्यचकित ।

उनले आफ्नो मामालाई जीवनमा जम्मा एकपटक मात्र देख्न पाएका रहेछन् । ‘मामा’ नाता उनलाई निकै प्रिय लाग्छ । त्यसैले नाममा उनले मामा जोडे ।

अर्कोतिर उनले जोकोहीलाई भान्जाभान्जीको साइनो लगाउँछन्, ताकि मामा साइनो र सम्बन्ध सुन्न र गुन्न पाइयोस् । ‘अहिले मलाई चिन्ने धेरै नेपालीले मामा भन्नुहुन्छ र खुसी लाग्छ,’ उनी भन्छन्, ‘भावनाको नाताको पनि बेग्लै अर्थ र महत्त्व छ ।’

धर्मै परिवर्तन गर्नुपर्ने उनलाई कुनै बाध्यता आइलागेको होइन, यो उनकै विवेकसम्मत निर्णय हो । सन् २००४ मा इराकमा १२ नेपालीको विभत्स हत्या हुँदा उनी मर्माहत हुन पुगेका थिए । त्यस घटनापछि हिन्दु–मुस्लिमबीच द्वन्द्वको स्थिति समेत सिर्जना भएको थियो । ‘त्यस घटनाले मलाई धर्मबारे बुझ्न र सोच्न प्रेरित समेत गर्‍यो ।

350143497_211758905010599_7035325075958071750_n

 साँच्चिकै धर्ममा के छ त भनेर मैले किताब खोजेर पढ्न थालेँ,’ उनी भन्छन्, ‘करिब तीन वर्षजति मैले धर्मसम्बन्धी अनेक ग्रन्थहरू अध्ययन गरेँ । जसले जुन धर्म माने पनि ईश्वर एकै हुन् भन्ने बोध भयो । इस्लाम धर्मका पुस्तक पढ्दै जाँदा मलाई अल्लाहप्रति विश्वास जाग्न थाल्यो र म मुस्लिम बनेँ ।’

अहिले उनी दोहाका मस्जिदहरूमा आफ्नो दायाँ हातको ॐ लाई आकाशतिर फर्काएर आफ्नो मनको अल्लाह खुसी बनाउन जमिनतिर शिर निहुराइरहेका हुन्छन्, अर्थात् नमाज पढिरहेका हुन्छन् ।

नमाज पढ्न मस्जिद जाँदा कतिपयले उनको हातमा खोपिएको ॐ लाई लिएर प्रश्न गर्छन् । उनले आफ्नो वास्तविकता बताउँदा कोही खुसी हुन्छन् त कोही आश्चर्यचकित ।

 ‘हरेक धर्ममा केही राम्रा केही नराम्रा मान्छे हुने नै भए । राम्रो ज्ञान भएको मान्छे ॐ देखेर यो अरु धर्मबाट हाम्रोमा आएछ भनी खुसी हुन्छन्,’ उनी भन्छन्, ‘कतिले आपत्ति जनाउँछन् । कसैले ॐ लेखेर नमाज पढ्दा राम्रो हुँदैन भन्छन् ।’

धर्म परिवर्तन गरेपछि सुरुमा उनलाई परिवारले सहज रूपमा लिएन ।  यतिसम्म कि श्रीमती नै बेस्सरी रिसाइन्, पछि उनै मुस्मिल हुन पुगिन् । ‘तीन वर्षजति मलाई घरतिरबाट धेरै गाह्रो भयो, प्रेसर भयो, तर भावनाले जित्ने कुरा रहेछ,’ उनी भन्छन्, ‘अहिले मेरा पाँच दाजुभाइसहितको ७० जनाको परिवारबाट मलाई कुनै अप्ठेरो छैन । आफन्तहरूबाट पहिलेजस्तै सहयोग र सद्भाव छ ।’

उनको बुझाइमा, धर्मलाई एक कुनामा राखेर हेर्ने हो भने मानिसको महत्त्व कर्मले बढ्छ ।

यासिनको बुझाइमा हरेक व्यक्ति आफूले चाहेको धर्म मान्न स्वतन्त्र छ । ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ,’ उनी भन्छन्, ‘मैले सानोमा श्रीस्वस्थानीको कथा वाचन गरेँ । म हिन्दु हुँदै बाबुआमा बित्नुभयो र हिन्दु संस्कार अनुरूप काजकिरिया गरेँ । यत्ति हो, अहिले मेरो आस्था इस्लाम धर्ममा छ ।’

आफू हिन्दु धर्ममा हुँदा त्यतिबेला पनि आफूले गर्नुपर्ने दायित्व सबै पूरा गरेको उनको भनाइ छ ।

देशमै छँदा उनको आस्था कम्युनिस्ट विचारधाराप्रति थियो । अझै पनि उनीमा कम्युनिस्टप्रतिको मोह सकिएको छैन । अहिले उनी नेकपा एकीकृत समाजवादी निकट प्रवासी एकता मञ्चमा आबद्ध र क्रियाशील छन् । साथै दुई दशकदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा पनि छँदै छन् ।

उनको बुझाइमा, धर्मलाई एक कुनामा राखेर हेर्ने हो भने मानिसको महत्त्व कर्मले बढ्छ । ‘कतार संसारकै युनिकमध्येको एउटा देश हो । यो धनी पनि छ । यहाँ धर्म, जात जे भएपनि केही फरक पर्दैन,’ उनी भन्छन्, ‘यहाँ कर्म (सीप) जसले जानेको छ, उसलाई इज्जत गरिन्छ ।’

71660073_907106126329504_1013333336615026688_n

देश चिनाउन साइकलयात्रा

यासिन आफूलाई विश्व साइकलयात्रीका रूपमा समेत चिनाउन चाहन्छन् । सोही अनुसार उनले आफ्नो कर्म पनि गरिरहेकै छन् ।

 सन् २००० मा साइकलयात्री लक्ष्मण सापकोटासँग भेट भएपछि उनको रुचि साइकल यात्रामा बढ्न थालेको हो । त्यसपछि अरु साथीहरूसँग मिलेर कामबाट फुर्सद मिलाउँदै उनले साइकलयात्रा गर्न थाले । अहिलेसम्म उनी साइकलमा विश्वका दुई दर्जनभन्दा बढी देश पुगिसकेका छन् ।

साइकलमा नेपालको राष्ट्रिय झन्डा फहराएर नेपाली पहिरनमा घुम्न पाउँदा उनलाई शान्तिको अनुभव हुन्छ ।  ‘विश्व शान्ति, भ्रातृत्वको सन्देश फैलाउन र नेपाल देशलाई चिनाउन म साइकल यात्रामा लागेको हुँ । सगरमाथा र गौतम बुद्धको देश भनी चिनाउन धेरथोर भूमिका खेलेको छु,’ उनी भन्छन्, ‘यात्राका क्रममा अनेक दुःखकष्ट भोग्नुपरे पनि देश चिनाउन पाउँदा आनन्द लाग्छ । अब साइकलमै अस्ट्रेलिया र अमेरिका जाने योजना छ ।’ त्यसका लागि आफूले आवश्यक तयारी गरिरहेको र छिट्टै योजनाले सार्थकता पाउने उनको विश्वास छ ।

उनका तीन सन्तान (दुई छोरा एक छोरी) सबै आफ्नो खुट्टामा उभिन सक्ने भइसकेका छन् । आगामी दिनमा समयले साथ दिए केही गरिब विद्यार्थीलाई पढाउने उनको योजना छ । समय मिलेमा सगरमाथा चढ्ने समेत उनको योजना छ । उनी भन्छन्, ‘साइकलमा विश्व फन्को लगाउने यात्रा भने गरिरहनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप