नीलो पेटिकोट
केदारनाथ यो सहरको मध्यमस्तर भन्दा तल्लो स्तरको एक पात्र । बेरोजगार होइन, रोजगारी छ । तर उसको पसिनाको ज्यालाले सहरको महँगीलाई जेनतेन टार्न मात्र पुग्थ्यो ।
डेराको बहाल, सरकारी स्कुलमा दुई भुराभुरी र बिहान बेलुकाको दालभात मात्र पुर्याउँदा पनि उसलाई त्यो काममा असाध्यै प्रेम थियो ।
कसैले कार्यालय सहायक, कसैले पियन त कसैले नोकरैसम्म भन्दा पनि लाखौँ बेरोजगार भएको यो काठमाडौँ सहरमा रोजगार त छु भन्दै मन बुझाउँथ्यो ।
शिशिर याम । भित्तामा झुन्ड्याएको पात्रोले छातीमा पुस महिनालाई च्यापिरहेको थियो । फलस्वरुप, बाहिर हुस्सुको बाक्लो पर्दा लागिरहेको थियो । केदारनाथ अफिस जाने तर्खरमा थियो । श्रीमती आइन् कोठामा र उसको सदाबहार स्वीटरको गला मिलाउँदै बोलिन्– ‘एउटा पेटिकोट किन्नुपर्ने, सबै पुराना भइसके ।’
‘कसले देख्या हुन्छ र पेटिकोट । भित्र लाउने त हो नि । के पुरानो, के नयाँ ?’ उसले कुरा टार्यो ।
‘त्यसो भनेर हुन्छ ? नयाँ लगायो भने जोश पनि नयाँ आउँछ । एउटा पेटिकोट किनेर ल्याउनुस् भरे असनबाट आउँदा ।’ श्रीमती कर्किन् ।
‘श्रीमतीको पेटिकोट किन्ने ठेक्का लिएर बसेको छु र ?’ केदारनाथ पनि कक्र्यो । श्रीमती निमेषको लागि केही बोलिनन् । केदारनाथले साइकल चलाउँदै सरासर आफ्नो अफिसको बाटो नाप्यो ।
आज अफिसका सबै सर, मेमहरू खाजा खान जाने क्रममा केदारनाथले दुई गिलास पानी अफिसमै स्वाट्टै पारेर कामलाई दोष दिएर अफिसमै अल्झिरह्यो । दुई गिलास पानीले केदारनाथको भोकलाई कुल्चयो, कुल्चेन त्यो केदारनाथ नै जानुन् ।
स्यानु स्यानु गुच्चाजस्तो दशवटा मम भन्दा दुई गिलास पानी आज उसको लागि भारी लाग्यो । सर, मेमहरू सबै खाजा खाएर फर्केर ‘तँ आज खाजा खान गइनस् ?’
यस प्रश्नको प्रत्युत्तरमा केदारनाथले सर, मेमहरूलाई आवाजमा साबिककै लय घोल्दै बोल्यो, ‘नयाँ खाजा घरमा छिरेको आज मम खासै स्वादिलो लागेन ।’ सर, मेमहरुले केदारनाथको कुरालाई भित्रभित्रै हाँस्दै पत्याए ।
साइकलको कान बटार्दै, सहरको कोलाहलमा सानु हिस्सा ओगटदै, कार्यालय आउने जाने क्रममा, असनको गल्लीलाई दिनको दुईपटक कुल्चेर हिँड्ने केदारनाथको दैनिकी थियो ।
केदारनाथले बेलुका घर फर्किने क्रममा श्रीमतीको पेटिकोटको माग झल्यास सम्झयो । असनमा पूरै बजार लागिरहेको थियो । मधेसीको दोकानमा पुग्यो । साहुजी पेटिकोट हेरौँ न भन्दा एउटा फुच्चेले विभिन्न रंगका पेटिकोटहरु भुइँभरि असरल्ल ओछ्यायो ।
केदारनाथले नीलो पेटिकोट छान्यो । बार्गेनिङ्ग गर्ने क्रममा दुई सय रुपैयाँमा दियो । उसले एउटा झोलामा पोका पार्यो अनि लुखुर लुखुर घरतिर आयो ।
घर पुग्दा साँझको सात बजिसकेको थियो । श्रीमतीसँग भात खाइवरी कोठामा आइ आफ्नो पोका फुकायो । उनले त्यो नीलो पेटिकोट ओल्टाइ–पल्टाइ हेरिन् र त्यो पेटिकोट लगाई ऐनामा खुब आफूलाई नियाल्न थालिन् ।
अनि केदारनाथको छेउ आई उसलाई कैले नबुनेको अँगालोको एक न्यानो स्वीटर बुनेर लगाइदिइन्, त्यो पनि शिशिर यामको मुटु कँपाउने जाडोमा राहत मिल्ने गरी ।
उनले केदारनाथको गालामा आफ्नो लिपिस्टिक पनि छापिन् । ज्यादै सुखको अनुभूति भयो । केदारनाथले सोच्यो, जाबो दुई सय रुपैँयाले पनि दाम्पत्य जीवनमा यस्तो खुसी ल्याउँदो रहेछ ।
ऊ आँखा बन्द गर्दैै सोचिरहयो, सुहागरात भन्दा मीठो रातलाई म के नाम दिऊँ ? अनि आफैले बिहान बोलेको वाक्य सम्झेर मुसुक्क हाँस्यो, कसले देख्या हुन्छ र पेटिकोट । भित्र लाउने त हो नि, के पुरानो, के नयाँ ?
आँखा यसो खोल्दा नीलो पेटिकोट कहीँ थिएन । बाँकी थियो त श्रीमती र केदारनाथ मात्र, खाटको एक कुनातिर गुजुल्टिएर थुप्रेको, पेटिकोटलाई मनमनै आभार व्यक्त गर्यो ।
सिरक तानेर दुबैलाई ढाक्यो ।
बिहान केदारनाथ ब्युँझिदा श्रीमतीलाई कोठामा देखेन । बरु नीलो पेटिकोट सिसाको शोकेसभित्र झुण्डिएको देख्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते