शेखचिल्लीको मूर्खता
संस्कृतमा एउटा सूक्ति छ– ‘विद्याधनं सर्वधनं प्रधानम् ।’ यसको अर्थ हो धनहरूमा विद्यारूपी धन नै सर्वोत्तम धन हो । विद्याले विनय दिन्छ । विनयले सज्जन बनाउँछ । सज्जनलाई सबैले मन पराउने भएकाले धन कमाउन सजिलो हुन्छ ।
अनि धन कमाएपछि धर्म र सुख प्राप्त गर्न सकिन्छ । तर, यथार्थ के हो भने विद्या पढेर मात्र पनि हुँदैन । त्यसलाई सही ढङ्गले व्यावहारिक बनाउन पनि जान्नुपर्छ । अन्यथा त्यसले कुनै काम गर्न सक्दैन । उल्टै सबैको गिल्ला र हाँसोको पात्र बन्न पुगिन्छ । नपत्याए तलको कथा पढेर भाइबहिनीहरू आफैँ प्रष्ट हुन सक्छन् ।
कथा त्यति बेलाको हो, जतिबेला भारतमा मुगलहरूको शासन थियो । एउटा गाउँमा शेखचिल्ली नामका मानिस बस्थे, जसको जन्म शेख परिवारमा भएको थियो । शेख परिवारमा जन्मेकाले सबैले उनलाई शेख भन्ने गर्थे । उनको परिवार गरिब थियो, बाबु सानैमा बितेका थिए । त्यसैले आमाले नै दुःख, कष्ट गरी हुर्काएकी थिइन् ।
उनी आफू गरिब भए पनि छोरालाई असल शिक्षा दिएर ठूलो मानिस बनाउन चाहन्थिन् तर शेख भने साह्रै सिल्ली स्वभावका थिए । उमेर बढ्दै गए पनि उनको स्वभाव उस्तै थियो । त्यसैले, आमाले तैपनि सुध्रिन्छ कि भनेर गाउँकै एउटा स्कुलमा भर्ना गरिदिइन् । गाउँ नजिकै रहेको सो स्कुलमा गाउँका थुप्रै बालबालिका पढ्थे ।
शेख दैनिक स्कुल त जान्थे तर पढ्नमा भने जिरो । एकोहोरो पाठ घोक्नुबाहेक केही आउँदैनथ्यो । तर जति घोके पनि पाठ कण्ठ हुँदैनथ्यो । त्यसैले, शिक्षकलाई एउटै पाठ पटक पटक दोर्याउनु पथ्र्यो । यत्तिकैमा एक दिन शिक्षकले केही बालबालिकाका साथमा राखेर वाक्य शुद्ध पार्ने सिकाउँदै भने–
केटो भए खान्छ भन्नुपर्छ भने केटी भए खान्छी भन्नुपर्छ । त्यस्तै केटो भए जान्छ भन्नुपर्छ भने केटी भए जान्छी भन्नुपर्छ ।’
बालबालिकाहरू त्यसैलाई दोर्याउन लागे ।
दुईचार पटक दोर्याएपछि शिक्षकले सोधे–
‘तिमीहरूले बुझ्यौ होइन त । केटा र केटीले खाँदा र जाँदा के भन्नुपर्ने रहेछ ?’
सबैले सामूहिक स्वरमा भने–
‘बुझ्यौँ गुरु !’
अरूले बुझ्यौँ भनेकाले शेखले पनि त्यसै भन्नुपर्ने होला भन्ने ठानी बुझ्यौँ भने ।
कक्षा समाप्त भयो । सबै आ–आफ्नो बाटो लागे । शेखले भने फर्कँदा बाटामा एउटा दर्दनाक दृश्य देखे, जहाँ पोखरीमा डुब्न लागेकी सानी केटी बचाऊ बचाऊ भनिरहेकी थिइन् । तिनको अवस्था देखेर शेखले उतार्न खोजे तर सकेनन् । एक्लै उनको वशमा छँदा पनि थिएन । त्यसपछि पोखरीमा सानी केटी चिल्लिछी भन्दै गाउँतिर दौडिए ।
पहिले त गाउँलेहरूले उनको कुरै बुझेनन् । जब पटक पटक त्यसैलाई दोर्याउन थाले, तब के भएको रहेछ हेरौँ न त भन्दै उनीहरू शेखको पछि लागे । ती केटी भने उनीहरू पुग्दा पनि बचाऊ बचाऊ भन्दै चिल्लाइरहेकी थिइन् ।
त्यति बेलासम्म केटीको हालत निकै दयनीय भइसकेको थियो । गाउँलेहरूले हत्तपत्त हातेमालो गरी उनलाई पानीबाट उतारे तर केटी भने त्यसपछि पनि चिल्लाइरहेकी थिइन् । त्यसैले शेखले हप्काउँदै भने–
‘लौ हेर, अहिले पनि यो त चिल्लिछी । भै गो नि त, अब पनि किन चिल्लिछी ?’
उनको कुरा सुनेर सबै हैरान भए । एउटाले त मुखै फोरेर भने–
‘त्यो भनेको के हो ? किन त्यसो भनिरहेका छौ ?’
उनको कुरा सुनेर शेखले भने–
‘लौ मार्यो, त्यति पनि थाहा छैन ? स्कुलमा शिक्षकले यस्तै त पढाएका छन् ।’
‘के पढाएका छन् ?’
‘यही कि केटो खान्छ, केटी खान्छी । केटो जान्छ, केटी जान्छी ।’
‘त्योसँग यसको के सम्बन्ध छ र ?’
‘छ नि किन छैन ।’
‘जस्तै ?’
‘जस्तै यही कि यदि केटो जान्छ र केटी जान्छी हुन्छ भने केटो चिल्लाउँछ र केटी चिल्लिछी किन हुँदैन ।’
उनको मूर्खतापूर्ण कुरा सुनेर सबै हाँस्न लागे । उनी भने त्यतिबेला पनि चिल्लिछी नै भनिरहेका थिए । त्यसैले, त्यस दिनदेखि उनको नाममा चिल्ली शब्द जोडिएर सबैले शेख चिल्ली भन्न थाले । पछि गएर उनी यही नामले अर्थात् शेखचिल्लीको नामले प्रसिद्ध भए ।
यो एउटा दृष्टान्त हो । पढ्नुको अर्थ पाठ घोक्नु मात्र होइन, अर्थ बुझेर मनन गर्नु पनि हो । र, सोही अनुसार व्यवहारमा उतार्नु पनि हो । जहाँ पनि विद्या पढेर पनि प्रयोग गर्न जानिएन भने यस्तै अवस्था हुन्छ ।