बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

अमेरिकी नागरिकता

शनिबार, ३० असार २०८०, ११ : ०८
शनिबार, ३० असार २०८०

बिहान नित्यकर्मपछि खेमराज गुरु बैठक कोठामा पसे । चिया आयो । 

“आज कलेज जाने होइन ?” गुरुले चियाको कप समातेर आफ्नो छेउमा बसेको नातिलाई सोधे । 

“म त जान छोडेँ हजुरबुबा,” उसले भन्यो । 

“म घरबाट कतै गएको छैन । के हुन थाल्यो । घरको कुनै खवर पत्ता पाउँदिन ।” मनमनै उनलाई घरमा महत्त्व दिन छाडिएको जस्तो लाग्यो । 

“अब बाहिर नगएसम्म केही हुँदैन । किन कलेज गएर समय बरबाद गर्ने ?” नातिले भन्यो ।

“पढाई छोडेपछि उता जान पनि समस्या होला नि ।” खेमराज गुरुले भन्नु भयो । 

“पहिला त एक दुई पटक स्टुडेन्ट भिसामा ट्राई गरेको भएन । अब त वर्किङ भिसामा प्रोसेस गर्दै छु । जे गरेर भए पनि बाहिर काम गर्नै जाने हो ।” नातिले भन्यो र चियाको अन्तिम घुट्की निलेर उठेर बाहिर गयो । 

गुरुले सोचे, हरिश्चन्द्रसँग हामीहरू पनि बर्मा गएको भए प्रजातन्त्र आउँथ्यो ? यसरी सबै बिदेसिएपछि प्रजातन्त्र त लोभी पापी र अपराधीहरूलाई भेडाको मासु हुन्छ । टिभी खोलेर समाचारमूलक कार्यक्रम हेर्न मन लाग्यो । निर्मला हत्याकाण्डको प्रसङ्ग चलिरहेको रहेछ । यस्तै  गरेर नमिता सुमिता काण्ड हुँदा तत्कालीन प्रतिबन्धित दलले गरेको आन्दोलन सम्झे । अहिलेका नेताहरूको हरकतले अब त बजारमा “... आऊ देश बचाउ’ पनि भन्न लागिसके । माइतीघरमा चाहिँदो, नचाहिँदो नारा लगाएको समाचार देखिन्छ । 

गुरुले चिन्तन गरी नै राखे, कति सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्र अब कसको पाउमा चढाउने हुन् । प्रजातन्त्रमा कानुनको शासन हुन्छ भनेर प्रशिक्षण गरेर हुर्काएको पीढीले अहिले  आफैँले आफू अनुकूलको कानुन बनाएर तानासाही शासन गर्न थाल्यो । उनलाई पिर पर्‍यो । समाचार हेर्न दिक्क लाग्यो ।

माथि बार्दलीमा उक्ले र सिद्धार्थ राजमार्गतिर हेर्दै बसे । पत्रिका पुर्‍याउने भाइले फुत्त आजको अखबार फालेर गयो । गुरुको चस्मा तल कोठामा नै परेछ । सर्सर्ती अखबारको भँगेरा टाउके अक्षरमाथि मात्र आँखा दौडाउन पाए । 

“बूढी गण्डकीमा प्रमुख पार्टीका शीर्ष नेता करोडौँको चलखेलमा... आफ्ना देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मन्त्रीहरू... गुलजार सहरको सुनसान सडक...संवैधानिक आयोगको पदाधिकारीमा दलीय भागबन्डा...प्रधान न्यायाधीश नभएको सर्वोच्च अदालत...” यस्तै यस्तै शीर्षक थिए । बूढाले भित्र पढ्न सकेनन् । 

भित्री समाचार पढ्न नपाए पनि भंगेराटाउके अक्षरबाटै केही अनुमान लगाउन सकिन्थ्यो । “हामीले गरेको आन्दोलन यसैका लागि थियो त ?” उनले दाह्रा किटे । 

बाहिर सडकतिर हेरे, एउटा बस राजमार्गमा पश्चिमबाट तीव्र गतिमा पूर्वतर्फ हुइँकियो । बससँगै उनको मन पनि तेज गतिमा विगततर्फ दौडिन थाल्यो । 

.......

जसरी यो बस आएर गयो, त्यसरी नै त्यसबखत पनि बेगले हुइँकिँदै आएको थियो । अहिलेको बस कहाँबाट आयो थाहा छैन तर त्यस बेला बुटवलबाट अघिल्लो दिन छुटेर स्याङ्जा बजार बास बसेर बिहान पोखरा हिँडेको थियो । 

सधैँ झैँ बस बिहान नौ बजे पुम्दी आइपुग्यो । फेदिखोला, ठुली बिँडीतिर दूध बेचेर फर्किएकाहरू रित्ता ट्यामी लिएर बसबाट झरे । अर्का थरी भरिएका ट्यामी लिएर बसमा चढे, छोरेपाटन र  बिरौटातर्फ बेच्नको लागि । 

अन्य यात्रीसँगै गुरु पनि बसमा चढे  । घुम्तीमा ओरालो लाग्दै बस छोरेपाटन झर्‍यो । बिरौटा बजारमा बुटवलबाट ल्याएको सामान ओरालेपछि बस पृथ्वीचोकतर्फ लाग्यो । आज सामान ओराल्न समय लागेकोले बसपार्क पुग्न केही ढिलो हुने भयो । 

गुरुको मन आत्तियो, “केही छैन १० मिनेट ढिलो हुने भयो, पहिलो घण्टी त भेटाउँछु ।” मन बुझाए । बस बसपार्क पुगेर रोकियो । 

बसबाट ओर्लिँदै गर्दा गुरुले हातको घडी हेरे । “ए पौने दस बजे नै ल्याएछ ।” गुरु ढुक्क भए । 

आफ्नो दैनिकी गुजाराको लागि यो शिक्षण पेसा अपनाए पनि गुरुको उद्देश्य, लक्ष्य र चिन्तन अर्कै थियो । प्रत्येक व्यक्तिले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्छ, विश्वले भोगेको लोकतन्त्र हामीले पनि भोग्न पाउनुपर्छ भनेर रातभर संगठनको काम गर्‍यो, दिनभर केटाकेटीहरूसँग करायो । 

पार्टीले जनमत सङ्ग्रहपछि पहिलो पटक देशव्यापी सत्याग्रह आन्दोलनको घोषणा गर्दै थियो । सम्पूर्ण कार्यकर्ता जुटाउनु थियो । हिजोमात्र आइपुगेको “नेपाल पक्कै बिउँझिन्छ, जय नेपालको नाराले” लेखेको पोस्टरहरू वितरण गर्न बाँकी नै थियो ।’ 

यतै पोखरामा नै भएको भए पनि सजिलो हुन्थ्यो होला, पुम्दी नै पठाएछन् । स्याङ्गजाको त भरपर्दो ठकुरी ड्राइभरमार्फत गोपालमानका घरमा पठाउँला तर फलेबास र बलेवाको पनि मलाई नै पठाएछन् । 

पार्टीले पनि हिँड्ने गोरुकै पुच्छर निमोठेजस्तै गर्छ । हुन त मलाई विश्वास गरेर पनि होला । बाटोघाटो छैन, कसलाई दौडाउनु ? कुश्माको हिराकाजी पनि आजभोलि तिखेढुङ्गातिरै छ, महादेव गुरुङ पनि गिरिजाबाबुसँगै भैरहवामा छ । धन्य उसलाई पठाउन बुद्धि पुर्‍याइयो र गिरिजाबाबुलाई जोगाइयो । पार्टीले आन्दोलन घोषणा गर्ने बेलासम्म समेत पोस्टर वितरण हुँदैन कि के हो ? गुरुको चिन्ता बढ्न थाल्यो । 

मनमा कुरा खेलाउँदा खेलाउँदै सेती पुल तरेको पत्तै भएन । तल भारतीय पेन्सन क्याम्प जाने र माथि अस्पताल जाने चोकको बाटो छेउको पोखरीको डिलमा आइपुगेर अमरसिंह चोकतर्फ हेर्दै गुरु अगाडि बढ्दै थिए । करिब २०० मिटर पर एकजना क्रस भयो । “यतिबेला म जस्तै हतारिएर हिँड्ने पक्कै तारा पाखे सर हुनुपर्छ ।” गुरुले अनुमान लगाए । 

अनायास उनको हात उठ्यो, उताबाट पनि अभिवादनस्वरुप हात उठ्यो । गुरुले मनमनै “जय नेपाल” भने पाखे सरले मनमनै सुने । त्यो अभिवादनभित्र एकछिनपछि परशुरामको आँखा छलेर ईसारा ईसारामै गर्नुपर्ने सल्लाह, लोभीपापीहरुबाट जागिर जोगाउनुको पीडा, प्रजातन्त्र प्राप्तिको लडाइँमा सँगै हिँड्ने प्रतिबद्धतालगायत थुप्रै विषयहरू थिए । 

बाटोदेखि तल बानियाको घरमा रेडियो बज्दै थियो । “पत्रकार पदम ठकुराठीमाथि घरमा सुतिरहेको अवस्थामा टाउकोमा गोली प्रहार ।” गुरुले मनमनै कुरा गम्न थाले “सुधारबादी पञ्चलाई समेत छोडेनन् भने हामीहरूलाई के गर्लान् खै ।”

......

“हजुरबुबा तपाईँको चस्मा,” नातिनीको सम्बोधनसँगै गुरु वर्तमानमा फर्के । उनले पत्रिका हेर्न लागे । भँगेरे टाउके अक्षरभन्दा साना अक्षरका विस्तृत समाचार पढ्दा उनको मन अझ खिन्न हुन गयो । हिजो प्रतिबन्धित समयमा देश र प्रजातन्त्रको लागि कटिबद्ध भएर लागेका तामाका मुनाजस्ता किशोर आज सबैभन्दा भ्रष्टाचारी देखिएका रहेछन् । पत्रिका बेरेर झ्यालमा राखे । टिभी हेर्न मन नलागेजस्तै उनलाई पत्रिका पनि पढ्न मन लागेन ।

“ए गुरु त माथि पो हुनु हुँदो रहेछ,” भन्दै गोपाल प्रसाद माथि आइपुगे । खेमराज गुरुको सहयोगी थिए गोपालप्रसाद कुनै बेला । प्रजातान्त्रिक आन्दोलनमा त खेमराज गुरुको दाहिने हात नै थिए । 

भर्खर बीस वर्षको हुँदा खेमराज गुरुले कति दौडाए उनलाई । फुर्तिलो शरीर गुरुको भनाई भुईँमा खस्न नपाउँदै उडिहाल्थ्यो । 

“ल गुरु मुख मिठो पार्नु,” लड्डुको प्याकेटबाट झिकेर गुरुलाई दिए । 

“के राम्रो समाचार छ हामी पनि सुनौँ न,” गुरुले सोधे । 

“कान्छो छोराले पनि अमेरिकाको सिटिजनसिप पाएछ,” गोपाल प्रसादले भने ।

पोखरा–७, मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप