आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
पुस्तक चर्चा

युवराज मैनालीको ‘दृष्टि: दृष्टिकोण’माथि एक दृष्टि

शनिबार, ३० असार २०८०, ०९ : ३९
शनिबार, ३० असार २०८०

समालोचक युवराज मैनालीको निरन्तर लेखन यात्राले करिब पाँच दशक लामो अविच्छिन्न यात्रा पार गरिरहेको छ । २०३५ सालमा तन्नेरी पत्रिकामा ‘एउटा लास लम्किँदैछ सुनसानको रातमा’ कथाको माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेका मैनालीले कथा, लघुकथा, हाँस्यव्यङ्ग्य जस्ता सिर्जनाबाट नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान बनाइसकेका छन् । 

यसका साथै समालोचनाको विधामा त उनले विशिष्टता नै हासिल गरेका छन् भन्दा फरक परोइन । २०४२ सालमा उनले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, लैनसिंह वाङदेल, विजय मल्ल, रमेश विकल, पारिजात जस्ता नेपाली साहित्यमा स्थापित प्रतिष्ठित साहित्यकारका साथै नयाँ पुस्ताका धीरेन्द्र मल्ल र गोपी मैनाली जस्ता प्रतिभाका कृतिलाई लिएर ‘केही प्रतिभा केही प्रवृत्ति’ प्रकाशन गरे । 

२०६९ सालमा समको पौराणिक नाट्य कौशलमा महान् नाटककार बालकृष्ण समको प्रसिद्ध नाटक प्रल्हाद र ध्रुवको मूल्याङ्कन एउटै कृतिमा गरेका छन् । २०७० मा ‘कर्मयोगी देवकोटा’ महाकाव्यको विश्लेषणमा श्रीहरि फुयाँलको कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण र मूल्याङ्कनसमेत गरिएको छ । यसबाहेक थुप्रै फुटकर समालोचना र समीक्षाका माध्यमले उनले नेपाली समालोचनामा विशिष्ट योगदान पुर्‍याएका छन् । 

विभिन्न संघ—संस्थामा आबद्ध युवराज मैनाली अहिलेका समालोचकहरू मध्ये प्राध्यापकीय शैली भन्दा निकै फरक ढङ्गले समालोचना गर्ने व्यक्ति हुन् । 

२०७९ सालमा साझा प्रकाशनबाट उनको ‘दृष्टि: दृष्टिकोण’ नामक समालोचना सङ्ग्रह प्रकाशन भएको छ । ३ सय २० पृष्ठमा विस्तारित प्रस्तुत समालोचनामा नयाँ पुराना कृति र कृतिकारलाई लिएर समालोचना गरिएको छ । २९ शीर्षकमा विभाजित कृति विभिन्न दृष्टिकोणले महत्त्वपूर्ण लाग्छ ।

वि.सं १९९६ सालमा जन्मिएका विनोद अश्रुमालीदेखि लिएर २०३० सालका रवीन्द्र समीरसम्मका कृतिले यसमा स्थान पाएका छन् । मुक्तक, फुटकर कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास, निबन्ध, र नियात्रासम्म समावेशी किसिमले यसमा विश्लेषण गरिएको छ । 

विनोद अश्रुमाली, क्षेत्रप्रताप अधिकारी, चट्याङ मास्टर, बाजुराम पौडेल, राधेश्याम लेकाली, श्रीहरि फुयाँल, दुबसु क्षेत्री, राम लामा अविनाशी, लालगोपाल सुवेदी, ठाकुर शर्मा, तीर्थ अधिकारी र कलानिधि दाहालका मुक्तक, कविता, खण्डकाव्य र महाकाव्यमा विश्लेषण गरिएको छ । 

यस्तै, नाटकमा जगदीश घिमिरेको एकाङ्की सन्तानमाथि विश्लेषण गरिएको छ । निबन्धमा युवराज नयाँघरेको ‘नीलडाम’, खगेन्द्र लुइँटेलको ‘बाह्र वर्षपछि हनिमुन’को को रौंचिरा विश्लेषण गरिएको छ । हास्यव्यङ्ग्यमा नरेन्द्र राज पौडेल र विमल भौकाजीका व्यङ्ग्यहरुको हाँस्यव्यङ्ग्य शैलीमै विश्लेषण छ । 

त्यस्तै, कथामा अनिता तुलाधर, माया ठकुरी, विजय चालिसे र किशोर पहाडीको कथाबारे मूल्याङ्कन गरिएको छ । उपन्यासमा कृष्ण धरावासीका दुई उपन्यास र नयनराज पाण्डेको ‘उलार’ उपन्यासमाथि चर्चा गरिएको छ । लघुकथामा अच्युत घिमिरे र रविन्द्र समीरलाई विषय बनाइएको छ । 

समालोचना आफैंमा जटिल विधा हो । साहित्यमा सबैभन्दा कम लेखिने र कम पढिने विधा पनि हो । समालोचक विवेकपूर्ण तटस्थ र निष्पक्ष हुनुपर्छ । कृतिको आधारभूमि पहिल्याउँदै गुण, दोषलाई चिरा चिरा पार्दै स्रष्टाको सिर्जनाको मूल्य निरूपण गर्नु चुनौतीपूर्ण कार्य हो । यस कार्यलाई समालोचक मैनालीले धेरै हदसम्म सचेत रहेर कृतिको मूल्य निरूपण गर्ने कार्य गरेका छन् । 

विभिन्न कालखण्डमा लेखिएका यी समालोचनामा मैनालीका शैलीगत पृथकता, भाषागत भिन्नता र मूल्याङ्कनमा पृथकपन समेत भेटिन्छन् । कुनै कुनै २२ पृष्ठसम्म लामा समालोचना यसमा छन् भने कुनै कुनै मात्र तीन, चार पृष्ठका समालोचना पनि छन् । 

प्रस्तुत कृतिमा सबैभन्दा बढी पृष्ठ कलानिधि दाहालको कविताको समालोचनामा खर्च गरिएको छ भने सबैभन्दा कम ‘चट्याङ गीता’ र क्षेत्रप्रताप अधिकारीको ‘रहर लागेर’ लाई दिइएको छ । 

बाल साहित्यमा गङ्गा कर्माचार्यको दशैं उपन्यासलाई रोजिएको छ । मुक्तकीय जुनकिरीको पिलपिल ‘एक अञ्जुली जुनकिरी’ शीर्षक समालोचनामा कवि विनोद अश्रुमालीको कविता सङ्ग्रह ‘एक अञ्जुली जुनकिरी’को विश्लेषण गरिएको छ । त्यसमा अहिलेका पुस्ताले विर्सिसकेका प्रतिभालाई स्थान दिइएको छ । समकालीन कविहरूसँग तुलना गर्दै अश्रुमालीको साहित्यिक योगदानमाथि प्रकाश पारिएको छ । 

‘अकविता’का कवि क्षेत्रप्रताप अधिकारी शीर्षकमा प्रसिद्ध कवि तथा गीतकार स्वर्गीय क्षेत्रप्रताप अधिकारीका प्रमुख प्रवृत्तिको मूल्याङ्कन गरिएको छ । उनका कविताका प्रमुख विशेषता र प्रवृत्तिलाई ठम्याइएको छ । ‘रहर लागेर’मा पनि क्षेत्रप्रताप अधिकारीको राष्ट्रियता, देशभक्ति जस्ता विशेषतालाई देखाइएको छ । 

‘सन्तान नाटक’मा जगदीश शीर्षकमा लेखकले आख्यानकार, निबन्धकार जगदीश घिमिरेको कम चर्चा भएको विषय नाटकलाई लिएका छन् । 

वरिष्ठ कथाकार माया ठकुरीको ‘गमलाको फूल’को विश्लेषण फूलजस्तै विवशता र फुलजस्तै समाजको परिकल्पना शीर्षकमा गरिएको छ । ‘यो दशैंमा चङ्गा चेट घुम्दैछु म मङ्कीस्टेट’मा वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको चर्चित मङ्कीस्टेट हास्यव्यङ्ग्यको विश्लेषण गरिएको छ । रित्तो शहरभित्रका रित्ता पनहरुमा वरिष्ठ कथाकार अनिता तुलाधरको रित्तो शहरको विश्लेषण गरिएको छ । 

सन्तुलित विश्वको परिकल्पनामा ‘विज्ञानको कैदी’मा वरिष्ठ साहित्यकार विजय चालिसेको विज्ञान कथालाई विषय बनाइएको छ । विज्ञान कथा साहित्यमा उनको स्थान निर्धारण गरिएको छ । 

‘चट्याङ गीता एक दृष्टि’मा चट्याङ मास्टरको चर्चित कृति ‘चट्याङ गीता’माथि हाँस्यव्यङ्ग्यात्मक शैलीमै विश्लेषण गरिएको छ । 

‘बालपन र जुनकिरी’ महाकाव्यमा कवि बाजुराम पौडेलको जुनकिरी महाकाव्यलाई पहिलो बाल महाकाव्यको रूपमा हेरिएको छ । बाजुरामका काव्य चेतनाको समेत विश्लेषण गरिएको छ । ‘प्रकृतिमा मान्छे’ भित्रको मानवतावादी स्वरमा कवि ठाकुर शर्मा भण्डारीको मुक्तकलाई विषय बनाइएको छ र उनलाई राम्रो मुक्तककारको रूपमा हेरिएको छ । 

नवीन विषयमा ‘गौराङ्ग’ खण्डकाव्यमा हरिभक्त सिग्देलको गौराङ्ग खण्डकाव्यलाई विषयमा राखिएको छ । त्यागी, निस्वार्थी बाबा गौराङ्गलाई विषय बनाइएकोमा हरिभक्त सिग्देलको खण्डकाव्यलाई नवीन विषय मानिएको छ । ‘गङ्गाका छालमा भिज्दा भिज्दै’मा गङ्गा कर्माचार्यको बाल उपन्यासको चर्चा गरिएको छ । चर्चाका क्रममा बाल साहित्यको सामान्य इतिहासको समेत सङ्केत गरिएको छ । 

नेपाली कथ्य परम्पराभित्र किशोर पहाडीलाई पर्गेल्दा शीर्षकमा किशोर पहाडीका दुई कृति बाँच्नु र बाँचेकाहरू र घर खण्डहरलाई विषय बनाइएको छ । किशोर पहाडीलाई ती दुई कृतिका आधारमा कथामा नेतृत्व गर्न सक्ने ठहर गरिएको छ । 

यसैगरी, तीर्थराज अधिकारीको काव्यिक परिसिलनमा तीर्थराज अधिकारीका प्रकाशित चार कविता संग्रहको विश्लेषण गरिएको छ । उनको कवितामा माटो, समाज, थिति र बदलिँदो परिस्थितिलाई देखाइएको कुरा प्रकाश पारिएको छ । ‘स्वअङ्कुशभित्र निरङ्कुशतामा घोत्लिँदा’मा राधेश्याम लेकालीको निरङ्कुशता कवितामा उनका केही कमीकमजोरीलाई केलाउँदै शैलीमा सचेत गराइएको छ । अनिदो आँखामा जागरणको बिगुलमा श्रीहरि फुयाँलको कवित्वको क्रमिक रूपमा संक्षिप्त विश्लेषण गर्दै ‘अनिदो आँखा’लाई हेरिएको छ । 

धरावासीका दुई उपन्यासका दुई धार शीर्षकमा शरणार्थी र राधालाई विश्लेषण गरिएको छ । यथार्थ र श्याम व्यङ्ग्यात्मक अभिव्यक्तिमा डा.लुइँटेलको नियात्रा कलामा वरिष्ठ समालोचक भाषाविद् प्राध्यापक डा.खगेन्द्र लुइँटेलको व्यक्तित्वलाई प्रकाश पार्दै उनको नियात्रा ‘बाह्र वर्ष पछि हनिमुन’ शीर्षकको विश्लेषण गरिएको छ । 

‘जसको जोत उसको पोत’का भौकाजीमा विमल भौकाजीको व्यङ्ग्य चेतनालाई आधार बनाइएको छ । अश्वमेध यज्ञका घोडाहरूको सन्देश शीर्षकमा दुबसु क्षेत्रीको कविताको दार्शनिक चेत र बौद्धिक पक्षको विश्लेषण गर्दै समसामयिक साहित्यमा यसको स्थान निर्धारण गरिएको छ । 

पिल्सिएको परदेशी मन भित्रको सेरोफेरोमा विदेशको रमझमले समेत खुसी हुन नसकेको विदेशिएका नेपालीहरूको पीडा पक्षको विश्लेषण गरिएको छ । उलार भित्रको उभारमा उपन्यासकार नयनराज पाण्डेलाई आञ्जलिक परिवेशमा हेरिएको छ । ‘दरिलो इन्द्रिय छैटौँ इन्द्रिय’मा विद्याप्रसाद घिमिरेको प्रबन्धलाई विश्लेषण गरिएको छ । ‘नीलडाम’ भित्रको नयाँघरेमा निबन्धकार नयाँघरेको शैलीलाई मुख्य आधार लिँदै नयाँ घरेलाई राम्रो निबन्धकारको रूपमा हेरिएको छ । उनको उज्ज्वल भविष्यलाई ठम्याइएको छ । 

त्रिकोणात्मक परिवेशभित्र ‘रोटीको दन्त्यकथा’मा लाल गोपाल सुवेदीको लघुकवितालाई विषय बनाइएको छ । स्वदेशी परिवेश, विदेशी परिवेश र नौलो परिवेशमा ती कवितालाई विश्लेषण गरिएको छ । 

शिखर चढिरहेको मान्छेभित्रको मान्छे अवलोकन गर्दामा अच्युत घिमिरेको लघुकथालाई हेर्दै उनमा लघुकथाको सम्भावना देखिएको तर पूर्णता नपाएको विषय उठाइएको छ । ‘समीरभित्रै पहाड समीरभित्रै अणु’मा रवीन्द्र समीरका शैली, विषय, भावका दृष्टिले समीरलाई राम्रो लघुकथाकारको रूपमा चिनाउन खोजिएको छ । 

समग्रमा प्रस्तुत कृति दृष्टि: दृष्टिकोण विभिन्न कोणबाट महत्त्वपूर्ण छ । यसमा बौद्धिक भाषाशैलीको प्रस्तुति छ । समालोचना कस्तो हुनुपर्छ भन्ने प्रस्तुत कृतिले स्पष्ट पार्दछ । कृतिभित्र समाविष्ट प्रत्येक समालोचनामा विषयको उठानमा ऐतिहासिक पृष्ठभूमिसँग जोड्दै समालोचनामा औँल्याएर छर्लङ्ग पारिएको छ । कृतिको आधारभूमि स्पष्ट देखाइएको छ । 

छनौट गरिएका कृति र सिर्जनाहरूमा मिहिन ढङ्गबाट अध्ययन, अनुसन्धान गरी समालोचकीय दृष्टिकोण प्रस्तुत गरिएको छ । विधागत समावेशिता र पुरानादेखि नयाँ सर्जकसम्मका कृति र तिनका प्रवृत्तिलाई औँल्याइएको छ । समालोचकीय दृष्टिकोणका सबै पक्षहरू यसमा उपयोग गरिएको छ । 

यति हुँदाहुँदै पनि सरलताको अभाव, कतैकतै हास्यव्यङ्ग्यकार मैनालीको प्रभाव र बौद्धिकताका नाममा साधारण पाठकलाई ध्यान कम दिइएको स्पष्टै देख्न सकिन्छ । प्राडा खगेन्द्र लुइँटेलको नियात्राको मूल्याङ्कन गर्दा उनको सबै व्यक्तित्वमा व्यापक रूपमा ल्याएर उनलाई मात्र विशिष्ट बनाउन खोजिएको हो कि जस्तो पनि भान हुन आउँछ । 

युवराज मैनाली जस्ता समालोचकले निष्पक्षतामा अलिकति ध्यान नपुर्‍याएको हो कि भन्ने देखिन्छ । जे होस्, प्रस्तुत कृतिले समकालीन नेपाली समालोचनामा विशिष्ट स्थान राख्दछ र मैनालीका पूर्वप्रकाशित समालोचनाभन्दा यो निकै खारिएको, माझिएको र परिपक्व रूपमा आएको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पराज गिरी
पुष्पराज गिरी
लेखकबाट थप