डा.धीरेन्द्र झा जन्मजयन्ती : मैथिली साहित्यमा योगदान धेरै चर्चा कम
जनकपुरधाम । नेपालमा आधुनिक मैथिली साहित्यको प्रचार र प्रसार गर्ने कार्यमा संलग्न साहित्यकार डा धीरेन्द्र झा धेरैका लागि परिचित नाम हो । नेपालमा रहेका एक सय २३ भन्दा बढी भाषामध्ये आजपर्यन्त दोस्रो धेरै बोलिने मैथिली भाषी साहित्यकारहरूका बीचमा त उहाँ एक ‘अग्लो’ व्यक्तित्व हो ।
त्यसका अतिरिक्त नेपालमा मैथिली साहित्यको औपचारिक पठनपाठन सुरु गर्ने एक कुशल गुरु (प्राध्यापक), गीत र कवितामा सीमित मैथिली साहित्यमा कथा, उपन्यास, महाकाव्यजस्ता बहुविधाहरूमा लेखन तथा लेख्न उत्प्रेरित गर्ने एक विराट प्रतिभाशाली साहित्यकारका रूपमा उनको परिचय छ ।
डा.झा त्रिभुवन विश्वविद्यालयमा मैथिली भाषा र साहित्य पठनपाठन गर्ने उद्देश्यले स्थापित मैथिली विभागको संस्थापक प्रमुख पनि हो । त्यसैले नेपाली मैथिली साहित्यमा अहिले जति पनि उम्दा सिद्धहस्त साहित्यकार हुन्, उनीहरूको यो स्थानका लागि झाको योगदान कुनै न कुनै रूपमा जोडिएको छ ।
यति महत्त्वपूर्ण व्यक्तित्व झा र उनको योगदानबारे अहिले भने त्यति धेरै चर्चा हुँदैन । अरु दिन त छोडौँ, जुलाई १४ अर्थात झा जन्मेको दिनमा समेत उनको नाममा कहीँ कतै कार्यक्रम, चर्चा र सम्झना भएको पाइँदैन । शुक्रबार झाको जन्मजयन्ती थियो तर सामाजिक सञ्जालमा केही व्यक्तिहरूले झाको सम्झना गरे पनि यस क्षेत्रमा कुनै औपचारिक वा अनौपचारिक कार्यक्रम भएको सुनिएन ।
“झा नै नेपालमा मैथिली साहित्यको एक मुख्य आधारस्तम्भ हो । एउटा तपश्वीजस्तै मैथिली साहित्यको विकासका लागि उहाँले गरेको तपश्याले नै मैथिली साहित्य समृद्ध बनेको छ”, वरिष्ठ साहित्यकार वैद्यनाथ चौधरीले भने, “तर दुःख लाग्छ उहाँलाई सामाजिक सञ्जालमा दुई चार जनाले सम्झिनेबाहेक कुनै कार्यक्रम हुँदैन । कुनै चर्चा परिचर्चा हुँदैन । यति चाँडै उहाँलाई बिर्सनु हुन्थेन हामीले ।”
वरिष्ठ पत्रकार एवं प्राध्यापक श्यामसुन्दर शशिले शुक्रबार झाको जन्मजयन्ती भए पनि कुनै औपचारिक कार्यक्रम हुन नसकेको बताए । “नेपाली मैथिली साहित्यका एक विराट व्यक्तित्व साहित्यकार झाको आज जन्मजयन्ती हो । औपचारिकरूपमा सम्झिने कुनै गतिविधि भएन । मलाई पनि नरमाइलो लागिरहेको छ”, शशिले भने ।
शशिका अनुसार साहित्यकार झाको जन्म भारतको मधुवनी जिल्लाको लोहनामा सन् १९३४ जुलाई १४ मा भएको थियो । सुरुदेखि नै मैथिली, हिन्दी र अङ्ग्रेजी गरी तीन भाषामा साहित्य रचना गर्ने झा नेपालमा सन् १९६१ मा प्रवेश गरेका हुन् । तत्कालीन समयमा जनकपुरका प्रतिष्ठित व्यक्तित्वहरूको अनुरोधमा रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुरमा अध्यापनका लागि नेपाल आएका झाले त्रिभुवन विश्वविद्यालयमा मैथिली विभागको स्थापना गर्न भूमिका खेले ।
धेरैले त्रिविको केन्द्रीय विभाग भनेपछि काठमाडौँ र केन्द्रीय क्याम्पस कीर्तिपुरलाई सम्झिन्छन् तर झाकै पहलमा तत्कालीन मिथिलाञ्चलको राजधानीका रूपमा रहेको जनकपुरस्थित राराब क्याम्पसमै मैथिली विभागको स्थापना गरिएको थियो ।
सो विभागका संस्थापक प्रमुख झाले करिब ३० वर्ष यहीँ बसेर अध्यापन र साहित्यको श्रीवृद्धिका लागि योगदान गर्नुभएको साहित्यकार हिमांशु चौधरीले जानकारी दिए । चौधरीले नयाँ पुस्तालाई साहित्य लेखनमा अभिप्रेरित गर्न डा झाले खेलेको भूमिका सधैँ स्मरणीय रहेको बताए ।
नेपाल आउनुअघि डा.झाले भारतमा व्याकरण लेखन, पत्रिकाको सम्पादन (बालपत्रिका धियापुता) लगायतका काम र अनेकौँ कथा, कवितासमेत प्रकाशन गरिसकेका थिए । वरिष्ठ पत्रकार शशिले भने, “उहाँ यहाँ आउँदा नेपालमा मैथिली भाषामा गीत, कविता लेख्ने साहित्यकार त हुनुहुन्थ्यो तर कथा, उपन्यास, महाकाव्य लेखनको थालनी उहाँकै योगदानको उपज हुन् । यसर्थमा उहाँ नेपालमा आधुनिक मैथिली साहित्यको सुरुआत गर्ने व्यक्तित्व हो ।”
विश्लेषक रोशन जनकपुरीले पनि झालाई आधुनिक मैथिली साहित्यको एक विश्वविद्यालयको सङ्ज्ञा दिँदै उनको सम्मानमा कञ्जुस्याइँ गर्न नहुने बताए । “नागरिकताको हिसाबले उहाँ भारतीय हो तर नेपालको प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयमा मैथिली भाषा साहित्यको पठनपाठनका लागि छुट्टै विभाग गठनमा उहाँको अतुलनीय योगदान छ । उहाँले नै नेपाली मैथिली साहित्यमा एउटा पुस्ता जन्माउनुभएको हो”, जनकपुरीले भने, “पछिल्लो समय त्यस्तो व्यक्तित्वको योगदानको जति चर्चा हुनु पथ्र्यो त्यति भइरहेको छैन । उहाँको सम्मान गर्नु हामी सबैको दायित्व हो ।”
राराब क्याम्पसमा ३० वर्षको अध्ययापन र अवकासपछि झा भारत फर्किनुभयो र सन् २००४ जनवरी ९ मा ६९ वर्षको उमेरमा उनको निधन भइसकेको छ । स्वर्गीय झाका विभिन्न कथा, कविता, उपन्यास र महाकाव्य गरी एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।
तीमध्ये कुहेस आ किरण, शतरूपा आ मनु तथा नवमन्दिर (कथासङ्ग्रह), भोरुकवा, कादो आ कोइला तथा ठुमुकि बहू कमला (उपन्यास), हैंगरमे टाङल कोट (कवितासङ्ग्रह), त्रिपुण्ड (महाकाव्य), काव्यशास्त्रक रूपरेखा (समीक्षा), करुणा भरल ई गीत हम्मर (गीतसङ्ग्रह) लगायत कृतिहरू बहुचर्चित छन् । जानकारहरूका अनुसार उनी मैथिली, नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा फुटकर रचना पनि गर्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा