काठमाडौँ महानगरपालिकाको बजेट पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नगरसभामा पेश गरेको बजेट आज सर्वसम्मतले पारित भएको छ । कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । आज बसेको नगरसभाको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र शाहले निर्णयार्थ पेश गरेपछि बजेट पारित भएको हो ।
महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो । महानगरपालिकाले ल्याएको रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।
यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल आज सकाएर नगरसभाबाट पारित भएको हो ।
चालु अवाको भन्दा आगामी आवका लागि कामपाले रु करिब १४ करोडले बढी बजेट ल्याएको छ । आगामी आवमा बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ । पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्श ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।
चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले बजेटमा स्थान पाएका छन् । आगामी आर्थिक वर्षका लागि कामपालाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।
महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरिएको छ । महानगर स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो
-
डलरको भाउ बढेको बढ्यै, कसको मूल्य कति ?
-
एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक
-
स्पेनिस ला लिगा : गेटाफे २-० ले विजयी