शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
विकास मोडल बहस

चिनियाँ विकास मोडलको नेपालमा नक्कल गर्ने कि नगर्ने ?

शुक्रबार, २९ असार २०८०, २३ : ५८
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । राजधानीमा शुक्रबार चिनियाँ विकास मोडलबारे विचार विमर्श कार्यक्रमको आयोजना गरिएको छ । फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले चीनले हासिल गरेको अभूतपूर्व विकासको चर्चा गर्दै नेपालमा त्यसको सान्दर्भिकताबारे बहस गरेका हुन् ।

कार्यक्रमका वक्ता रहेका काठमाडौँ विश्वविद्यालयको ग्लोबल इन्गेजमेन्ट डिभिजनका कार्यकारी निर्देशक डा.उद्धव प्याकुरेलले चीनले पछिल्ला ४० वर्षमा हासिल गरेको प्रगतिलाई विश्व बैंकले समेत प्रशंसा गरेको जिकिर गरे । उनले चीनको विकासबाट नेपालले जनताको जीवनलाई सुरक्षित बनाउने कुरा सिक्नुपर्ने बताए । 

चीनले आर्थिक विकासको लक्ष्य निर्धारण गरेर त्यसलाई पुरा गर्न दृढ भएर अघि बढेको प्याकुरेलले सुनाए । ‘चीनले आर्थिक विकासमा धेरै राष्ट्रवादको नारा चाहिँदैन भन्यो । चीनले पुँजीमा अति राष्ट्रवाद देखाउँदैन । त्यसैले उसले चीन र ताइवानसँग समेत आर्थिक सहकार्य अघि बढ्यो,’ उनले भने, ‘हाम्रो नेपालमा चाहिँ ‘स्मल कन्ट्री सिन्ड्रोम’ रहेको छ । यसरी पुँजी आउँदैन ।’

तर, चीन वा अमेरिकाको विकासको ठ्याक्कै नक्कल भने गर्न नहुने उनको भनाई थियो । नेपालको परिवेश फरक भएकाले त्यहाँको विकासको मोडल नेपालमा ठ्याक्कै लागू गर्छु भन्नु भ्रम मात्र रहेको उनको जिकिर थियो ।  डा. प्याकुरेलले अब नेपालले कस्तो विकास चाहेको भन्ने विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

‘हामीले आर्थिक वृद्धि नै सबै कुरा हो भन्ने मोडल रोज्ने कि जनतालाई पनि आर्थिक विकास सँगसँगै लैजाने मोडल रोज्ने भन्ने बारेमा स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘आर्थिक वृद्धिदर उच्च हुनु मात्र विकास होइन । विकासमा जनतालाई पनि साथ लिएर अघि बढ्न सकेनौँ भने गरिबहरू झनै उत्पीडनमा पर्छन् । यसले द्वन्द्व बढाउँछ । त्यसैले जनतालाई साथ लिएर अघि बढ्नुपर्छ ।’

तर नेपालका राजनीतिक दलहरू राजनीतिक मोडलमा स्पष्ट भएपनि आर्थिक विकासको मोडलका विषयमा पनि अझै क्लियर नभएको प्याकुरेलको भनाई थियो । नेपालको बजेटको ठुलो हिस्सा सडकमा मात्र खर्च भइरहेको उदाहरण दिँदै उनले नेपालमा ‘सडक नै विकास हो’ भन्ने सोच रहेको उल्लेख गरे ।

यता, कार्यक्रमका अर्का वक्ता प्राध्यापक डा.बालमुकुन्द रेग्मीले भने प्याकुरेलको भनाइमा विमति राख्दै विकासको मोडल नक्कल गर्नुपर्ने बताए । उनले पहिले नै भएको कुरालाई प्रयोग नगरेर नयाँ बनाउँछु भन्नु पनि स्रोतको दुरुपयोग हुने जिकिर गरे । 

चीनले गरेको विकासको मोडललाई नेपालमा लागू गर्न सकिने उनको भनाई थियो । चीनले आर्थिक विकास गर्न अवलम्बन गरेको पुँजीवादी अर्थव्यवस्था, निजी व्यवसायलाई प्रवर्द्धन, बाहिर रहेका चिनियाँलाई लगानीका लागि गरेको आह्वान, औद्योगिक क्षेत्रको स्थापना, उद्योगहरूलाई कर मिनाहाको नीति, प्रविधि हस्तान्तरण, रिसर्च र इनोभेसनमा गरेको लगानी, कृषिलाई प्रवर्द्धन र कर छुट तथा प्रोत्साहन लगायतका नीति नेपालका लागि पनि सान्दर्भिक हुन सक्नेमा डा.रेग्मीले जोड दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले चीन ‘सुतेको जायन्ट उठेको’ बताउँदै अहिले उसले विश्वलाई हल्लाएको जिकिर गरे । चीनले हासिल गरेको विकास पश्चिमा राष्ट्रहरूलाई असह्य भएका कारण चीनविरोधी गतिविधि गर्नका लागि नेपाल गिनिपिग बन्न सक्नेमा सचेत गराए ।

उनले चिनियाँमा राष्ट्र निर्माणको जुनुन रहेको र त्यसलाई पुरा गर्न राष्ट्रिय एकताले काम गरेको जानकारी दिए । ‘चीनको नेतृत्वले सिङ्गो राष्ट्रलाई नै कमान्ड गर्न सक्यो । जनता र चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासनले चीनले विकासलाई अघि बढाउन सक्यो ।’ उनले चीनले कृषिको आधुनिकीकरण र खाद्य सुरक्षामा जोड लिएको विषय नेपालका लागि उदाहरण हुनसक्ने बताए । गरिबी निवारण गर्न चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना कमिटीहरूलाई सफलतापूर्वक गरेको परिचालनबाट धेरै कुरा सिक्न सकिने पोखरेलले बताए ।

‘नेपालमा भने हामी विकास र सार्वभौमिकतामा समेत विभाजित छौँ । विकासको प्राथमिकताको छनोटमा हामी स्पष्ट हुनुपर्छ । चीनको आफ्नो प्रकारको विकासको मोडल छ । विकासको भावलाई हामीले बुझ्न सक्नुपर्छ,’ उनले भने ।  
कार्यक्रमका अतिथि तथा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका कन्सुलर तु सिओलिनले नेपाल र चीनको मित्रताको बारेमा चर्चा गरेका थिए । उनले चीनले नेपाललाई लामो समयदेखि गर्दै आएको सहयोगको जानकारी दिँदै नेपालको विकास र उन्नतिलाई अघि बढाउन चीनले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

counciller

त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङले नेपालमा गरेको ऐतिहासिक भ्रमणका बेला थुप्रै सहयोगको घोषणा गरेको पनि उनले स्मरण गराए । उनले राष्ट्रपति सीले विश्वको विकासका लागि प्रस्ताव गरेको मोडलमा सबैलाई साथमा लिएर अघि बढ्ने उद्देश्य रहेको स्पष्ट पारे । राष्ट्रपति सीले अघि सारेको दिगो विकासको प्रस्तावबाट नेपालले पनि धेरै फाइदा लिन सक्ने काउन्सिलर सिओलिनको भनाई थियो ।

‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पुरा भएको छ । नेपालले पनि बीआरआईमा हस्ताक्षर गरेको छ । यसबाट व्यवहारिक सहयोग अघि बढेका छन् । ट्रान्स हिमालय सहकार्य अघि बढेको छ,’ उनले भने, ‘बीआरआईको उद्देश्य भनेकै मिलेर काम गर्ने, मिलेर अघि बढ्ने हो । देशको अर्थतन्त्रलाई अघि बढाउन बीआरआई प्रेरक शक्ति बन्न सक्छ ।’

कार्यक्रमको आयोजक फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालका महासचिव डा.कल्याण राज शर्माले चीनले कसरी अभूतपूर्व विकास गर्यो भन्ने विषयमा गहन विमर्श आवश्यक रहेको कुरा औँल्याए ।

 डा.शर्माले नेपाल विकासको मामिलामा धेरै पछाडि परिसकेकोमा चिन्ता व्यक्त गर्दै अब पनि हामी अगाडि बढ्न नसके नयाँ पुस्ताका लागि स्थिति भयावह हुने चेतावनी दिए । नेपालको विकासको प्रतिबद्धता ओठे मात्र हुने गरेकाले छिमेकी राष्ट्रले हासिल गरेको विकासबाट पाठ सिक्दै अब नयाँ ढङ्गले अघि बढ्नुपर्ने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप